December 29, 2010

कुहिरोभित्रको काग

शर्मिला खड्का (दाहाल)
जनआन्दोलनको विशाल भीडमा म हराइरहेकी छु । सयौं, हजारौं, लाखौँ मानिसहरू नारा लाउँदै सभा हुने ठाउँमा भेला भइरहेका छन् । राजतन्त्रको निरङ्कुशताले नयाँ आयाम थपिदिएको छ, नेपाली अभिशप्त समाजमा । त्यसैले म पनि डोरिएकी छु यो आँसुको सागरमा । जुलुसबाहेक अरू सम्पूर्ण कुरा बन्द छ । हावा, पानी, पशुपन्छी सब स्थिर छन् । वरबाटै एउटा ठेलाको आडमा बसेर म हेर्दै छु सभातिर । नारा र जुलुसले चोक गुञ्जायमान छ । म भीडमा कतै परिचित आखा भेट्छु कि भनेर आँखा दौडाउँछु । आँखाहरू निराश हुन्छन् । अलिक पर ‘पत्रकार’ लेखिएको टिसर्ट लगाएको झुन्ड देख्छु । त्यसको छेवैमा रेडक्रस लेखिएको ब्यानरमुनि स्वयंसेवकहरू सेवा गर्न तल्लीन मुद्रामा उभिएका छन् । पत्रकारको भीडबाट एकजोर आँखाहरूले पछ्याएझैँ लाग्छ । ती आँखाहरू कालो चस्माभित्र कैद छन् । तर पनि हेराइ र शरीरको बनोटले मलाई पछ्याएझैँ लाग्छ । म यथावत् रूपमा ठेलामा अडेस लगाएर उभिरहेकी छु अनि हेरिरहेकी छु नेपाली हुनुको विडम्बना । एकपछि अर्को जुलुस कोणसभामा परिणत हुन्छन् । कार्यक्रम सञ्चालक शान्तिपूर्ण सभा गर्न सबैलाई आग्रह गरिरहेछ । एकछिनपछि एउटी कवयित्री कविता पाठ गर्छिन् ।
 राजपरिवारलाई गाली गरेको बाहेक अरू बुझिदनँ । म केही सतर्क हुँदै चारैतिर आँखा दौडाउँछु । किनभने कुनै पनि समय ढुङ्गामूढा बर्सेर भागदौड हुनसक्छ । फेरि पनि ती जोर आँखाले मलाई पछ्याइरहेका हुन्छन् । म त्यो हेराइलाई बेवास्ता गर्दै मन्त्रमुग्ध भई कार्यक्रमतिर ध्यान बटुल्छु ।
एकछिनमा लोकगायकको गीत बज्छ । आन्दोलनकारी हरू उत्तेजित हुँदै नाच्न थाल्छन् । म आफ्नै ठाउँबाट मौन समर्थन जनाउँछु । छरिएका धेरै मानिसहरू तान्छ त्यस गीतले, म सतर्कता अपनाउने क्रममा फेरि आँखा दौडाउँछु । फेरि उही आँखाले पछ्याएको