June 1, 2009

उपत्यका ठप्पमा सबै दंग


नेवा राज्यको माग राख्दै आज काठमाण्डौ बन्द गरेको खबर त तपाइहरुले सबै वेभ पत्रिकमा देख्नुभएको होला। पहिला पहिला काठमान्डौ बन्द हुंदा सोच्थे चारै तिरका मान्छे काठमाण्डौमा थुप्रेर बन्द गर्दैछन। बिचरा यांहाका बासिन्दालाइ कती दु:ख भएको होला। अझ भएन भनेर सिसा झ्याल फोर्ने,टायर बाल्ने आदीले त्याहांका बासिन्दालाइ कती दु:ख पुग्दो हो। तर आज भने त्यहीका बासिन्दाले आफ्नै घरको झ्याल फोर्ने देखी आफ्नै बाटोमा टायर जलाउने काम गरे।

दौतरीको जिमेलमा काठमाण्डौ बन्द सफल भएकोमा धेरै इमेल प्राप्त भइरहेका थिए। ति इमेलले मानौं तराइको द्वन्दले काठमाण्डौलाइ उछिनेको तर ढिलै भए पनि एकै दिनको बन्दले करिब करिब तराइकै सफलता प्राप्त गरेको छनक दिन्थे। अब काठमाण्डौबासी पनि गर्वले फुलेल हुने बेला आयो। उनिहरुलाइ पनि आफ्नो प्रदेशको अधिकारबारे ज्ञान आयो। मधेसी,लिम्बु पछि अब नेवारहरुलाइ आफ्नो इलाका खोज्न प्रेरणा मिल्यो। मगर र गुरुगंहरुले त उहिले माओबादीकलमा नै मगरात र तमुवान क्षेत्र भनेर घोषणा नै गरेका थिए। दसौं पूस्ता बिताएको मेरो गाउं उनिहरुको परिभाषामा तमुवान क्षेत्रमा पर्छ। भने पछि मेरो गाउंका बाहुन,क्षेत्री,कामी,दमाइ सबै तमुवान प्रेदेशमा पर्ने भए। भन्दा जात भात हटाउनु पर्छ भन्ने आन्दोलन भने जात जातको प्रदेश चाहिन्छ भन्ने। हामीमा गजबको बुद्दत्व छ।

बुद्दत्वको कुरा छोडेर बन्दकै कुरा गर्दा बास्तवमा आज काठमान्डौ बासीले आफ्नै घरमा आगो लगाएर आगो तापे। बन्द र हडतालको चपेटमा सधै पर्ने काठमाण्डौलाइ पूस्तौं बसेकाहरुले कसरी तहस नहस गर्नुपर्छ भनेर पाठ सिकाए। यो कुरा फोटो पत्रकार सबिन श्रेष्ठले पठाएको तस्वरि र बिबरणबाट स्पष्ट हुन्छ।

* प्रहरीले गुडाएको मोटरसाईकल रोक्न खोज्दा ललितपुरमा सुरक्षार्थ खटिएका स्थानीय प्रहरी र नेवारहरुबिच झडपको स्थिती ।
* ट्राफिक प्रहरी र नेपाल प्रहरीले चलाएको मोटरसाईकलको हावा फुस्काईयो ।
* संस्थानको गाडीमा प्रेसको स्टिकर ।
* बन्दको क्रममा ट्राफिक प्रहरीको लाईसेन्स र ब्लुबुक चेक ।
* साईकल यात्रीहरु समेतले हिड्नु पर्यो ।
* प्रेस स्टिकर टाँसेर मोटरसाईकलमा गुडाएका 'नक्कली पत्रकार'हरुमा आन्दोलनकारीको आक्रोश ।
* आन्दोलनकारी माझमा युनाईटेड मिसनका कर्मचारी ।
* फुटपाथ पसल र भित्री गल्लीका पसलहरु समेत बन्द ।
* सडकहरु खेल मैदानमा परिणत ।
* सञ्चार माध्यमका प्रतिनिधिलाई दुर्व्यवहार ।

नयां नेपाल बनेकोमा गर्व गर्ने हामीले यि नया समस्यालाइ कसरी झेल्ने हो कुन्नी? हामी अमेरीका,युरोपको सपना देख्छौं र सोमालिया,निइजेरियाली भन्दा तुछ्छ ब्यबहार देखाउंछौं। बुस र सुदलाइ गाली गर्छौं, अनि आफ्नै स्कुल, एम्बुलेन्स जलाउंछौं। हाम्रो बोलाइ र गराइमा समानता त छैन छैन, कसैले समानता छैन भन्यो भने मण्डले,अबसरबादी,प्रतिगामी आदी अंलंकार पहिराइहाल्छौं। साच्चै अहिलेको नया नेपालको जटिलतालाइ नेपालका नया प्रधान मन्त्री माधव नेपालले कसरी पार लगाउछन कुन्नी?



बिन्ती

आचार्य प्रभा
(अमेरिका )

बिन्ती छ है मेरो साथी तिम्रो सामु आइन
खुशी,हर्ष सङाल्नलाइ तिमी कँहा धाइन ...

मनले खोज्छ तिमीलाई सम्झनामा तिमी नै
झुठो बाचा दिनलाई मैले माया लाइन ...

त्रिषित छन नयन मेरा सुकेको छ आँत पनि
तिम्रो जस्तो त्रिष्णा मेट्ने अन्त साथ पाइन ...

तड्पिएरै बाँच्न पर्‍यो ,लेखनी नै यस्तै रैछ
तिम्रो साथ छाड्न लाई कसम मैले खाइन ...



हाम्रो ब्लगका ब्लगर केपी ढुंगानाको सेरोफेरो


ब्लग भित्र ब्लग दौतरीमा राख्ने जमर्को स्वरुप यस पटक हाम्रो ब्लगका (Hamroblog.com) ब्लगर के.पी ढुंगाना आउनु भएको छ। सधै अरुको बारेमा ब्लग लेख्ने के.पी जी आज आफ्नै बारेमा सोधिएका प्रश्नका उत्तर बिस्त्रितरुपमा दिनुभएको छ। आशा छ उहांका ब्लग पारखीलाइ उहां बारे अझ बढी जान्न मौका पाउनुहुनेछ। साथै नेपाली ब्लगहरुलाइ पनि यो संबादले सहयोग पुग्नेछ भन्ने आशा गरेको छु। अब लागौं के.पी जी को ब्लग सवाल जबाफ तिर।

१) हाम्रो ब्लग सबैको ब्लगकी तपाइको ब्यक्तीगत ब्लग?
पाठकको हकमा भन्नुहुन्छ भने नाम झै यो हाम्रो नै हो । तर कन्ट्रीव्युटरको रुपमा भन्नु भएको हो भने ब्यक्तिगत ब्लग हो । यसको नाम चयन र प्रारम्भ सबैको ब्लग बनाउछु भनेरै गरेको हो । तर फाट्टफुट्ट बोहक अन्य मित्रहरुको सामाग्री त्यत्ति आउंदैन । पाठकिय दृष्टीकोणमा त हाम्रो बन्न सफल भएको छ जस्तो लाग्छ मलाई

२) कसरी चढ्यो ब्लगर भन्ने भुत?
ब्लगर बन्ने भुत ज्ञानेन्द्र शाहले चढाइदिएका हुन । यदी उनले प्रत्यक्ष शासन चलाएर प्रेस स्वतन्त्रतामाथि त्यत्तिको अनुदार नबनेको भए सायद यत्ति चांडै म ब्लगको बाटोमा पक्कै हिड्ने थिइन । माघ १९ पछि देखेको लेख्न पाइएन । अब देखेको कुरो नलेखी चित्त पनि नबुझ्ने । लेखेको कुरो घरको भित्तामा राखेर पनि चित्त नबुझ्ने । के गर्ने होला भनेर सोध्दै खोज्दै जांदा ब्लगसंग जम्माभेट भएको हो

३) बिबहा पछी ब्लगले कम समय पाएको त छैन?
विवाहको समयमा करिव १५ दिन नियमित हुन सकिन ब्लगमा । तर त्यसपछि छैन । उही स्पीडमा छु म

४) हाम्रो ब्लगका पाठक त छोटो समयमै १५ करोड नाघेछन। काठमान्डौको मिटर क्याब जस्तो त होइन?
हा…हा…हा । मैले त यादै गरेको थिइन । गडबड भएछ । यत्रा पाठक पाइसकेको छैन मैले । एक जना मित्रको सहयोगमा काउन्टर राखेको थिए । कहिले साइड परिर्वतन भए कहिले ह्याकरले रुवाए । पाठक गणना मिटर राख्दा पुरानो पनि मिल्ने गरी राख्ने कि भनेको थिए । गडबड भएछ । अब सच्याउंछु

५) तपाइका पुराना सामाग्री त गायब भएछन नी। यसबारेमा आफ्नो अनुभव के छ,ब्लगरहरुलाइ के सल्लाह दिन चाहानुहुन्छ ?
हो पुराना सामागि्र सबै हराए । ह्याकरले हैरान बनाए । पहिलो पटक हैन तीन पटक भइसक्यो यस्तो भएको । ०६१ चैततिरवाट ब्लग शुरु गरेको हुं मैले । त्यो बेलामा ब्लगसममा ब्लग चलाउंथे । आफ्नै डोमेन र स्पेशको भुत सवार भएपछि २०६३ वाट ब्लगरनेपाल डटकम डटएनपी डोमेनवाट ब्लग शुरु गरे । ब्लगसम एकाउन्टको सामाग्री सार्नुपर्ला भन्दा भन्दै एकान्ट नै डिलेट भएछ । २ वर्षको महत्वपुर्ण सामाग्री हरायो । पछि ब्लगस्रनेपाल डटकम ब्लग आएपछि धेरै मित्रहरुले डोमेन झुक्किएको गुनासो आएपछि हाम्रोब्लग डट कम दर्ता गरेर ब्लग चलाउंन शुरु गरे । यसमा पनि २ पटक ह्याकरले दुख दिइसके । पहिलो आक्रमणवाट सामाग्री जोगाउन सफल भइयो । तर दोस्रो पटक पुन ह्याक गरी सबै सामाग्री ड्यामेज बनाइदिए । बढो दुःख लाग्यो । पुराना सामाग्री संग्रह गरेर राख्ने बानी थिएन । महत्वपुर्ण सम्पत्ति त्यसै नाश भयो । यि दुखपछि ब्लगमा राखेका सामाग्री बेलाबखत कम्प्युटरमा ब्याकअप बनाएर राख्नुपर्ने रहेछ भन्ने शिक्षा पाए । अन्य ब्लगर साथिहरुले ब्लगमा राखेको सामाग्री कम्प्युटरमा बेला बेला ब्याकअप गरेर राख्नु भएको छैन भने राख्नु होला । नत्र मैले जस्तै दुख पाउनुहुनेछ

६) नेपाली ब्लग बिचार सुचुचित गर्नुको साथै अनुचित रुपमा पनि दबाइन्छ भन्ने आरोप निकै चर्चित छ,हाम्रो ब्लगमा यस्तो भएको छ?
तपाइले भन्न खोज्नुभएको मैले अलि बुझिन । यदी प्रतिकृयाको कुरा गर्नु भएको हो भने अश्लिल प्रतिकृया बाहेक अन्य डिलेट गर्ने गरेको छैन । सधै प्रतिकृया मनिटर गरेर बस्न भ्याइदैन । त्यसैले २ वर्ष जति प्रतिकृया मोडरेटमा राखेको थिए । एक वर्ष भयो मोडरेट सिष्टम हटाएकोछु

७) नेपालका गोष्ठीको उदेष्य गोष्ठीको समाप्तसंगै समाप्त हुन्छन। तपाइको बनेपा गोष्ठीले कती ब्लगर जन्माए?
पत्रकारीता प्रशिक्षणको क्रममा अनलाइन पत्रकारीताको विषयमा ब्लगलाइ पनि मिसाएर आफ्नो अनुभव बाडेको थिए । त्यसो गर्दा बनेपामा बढो राम्रो प्रतिकृया पाइयो । केही साथिहरु नियमति सम्पर्कमा हुनुहुन्छ । उहांहरु प्रत्येक सम्पर्कमा ब्लगका बारेमा चासो देखाउनु हुन्छ । केही साथिहरुलाई साइबर क्याफेमा लगेर प्रयोगात्मक रुपमा समेत ब्लग साचालनको विधि सिकाएको थिए । तर उहांहरुले ब्लग शुरु गर्नु भयो कि भएन जानकारी पाएको छैन । बनेपापछि नुवाकोट पुगेर पनि अनलाइन पत्रकारीता र ब्लगको बारेमा अनुभव बाडेको थिए मैले । यि दुबै स्थानको प्रतिकृयावाट मैले के बुझे भने प्रविधिप्रतिको सहज पहुंचको अभावमा ब्लगको संख्या नबढेपनि ब्लग र ब्लगरको कुरा हुंदा साथिहरु अल्मलिएर बस्नुपर्ने अवस्था रहेन । यो पनि राम्रै उपलब्धी हुन जस्तो लाग्छ

८) ब्लगमा गाली र ताली आउदा कस्तो लाग्छ?
बढो रमाइलो लाग्छ । ब्लगको सुन्दर पक्ष भनेकै यही सहज अन्तरक्रिया नै त हो । समुहमा कुनै विषयमाथिको बहसले प्रवेश पाएपछि कसैले समर्थन गर्छन कसैले विरोध । जो सामान्य हो । त्यसमा पनि ब्लगमा जत्ति बढि अन्तरक्रिया हुन्छ ब्लग गर्ने उति उर्जा बढ्छ । नियमित ब्लगको उर्जा नै यही गाली त ताली हो जस्तो लाग्छ

९) अन्य ब्लगरसंग भेटमा के कुरा हुन्छ? प्राय भेटीने ब्लगर को हुन? कुनै रमाइलो गफ सुनाइदिनुहोस न?
ब्लगरसंगको भेटमा अरु के गफ हुनु त्यही ब्लगको नै त हो । ब्लगका सामाग्री अन्तराष्ट्रिय ट्रेन्ड नयां आएको ब्लग लगायतका विषय नै हाम्रो कुराको केन्द्रमा हुन्छ । प्राय भेट भइरहने ब्लगर माइसंसारका उमेश श्रेष्ठ र फिल्मी ब्लग चलाउने प्रवेश सुवेदी हुन । तर लामो समय भयो दुबैसंग श-शरिर भेट नभएको । फोनमा भने कुराकानी भइरहन्छ । दुबैसंगको भेटमा प्राय ब्लगको नै कुरा हुन्छ । उमेशसंग कुनै प्रविधि सम्बन्धी कुनै ब्लगलाइ अझ पपुलर बनाउने भनेर गनगन गरिरहछु म । प्रवेशसंगको भेटमा चै बढि ब्लग थिमको बारेमा कुरा हुन्छ । उमेशसंगको स्मरणिय कुरा भनेको चिया खाएर ब्लगर सम्बन्धी संस्थाहरुको गफ गर्दा गर्दै ब्लगान नाम जुरेको थियो । अनी हामी दुबैविच ब्लगानको अध्यक्षको बारेमा चर्काचर्की परेको थियो । म भन्ने उमेश अध्यक्ष बन्नुपर्छ उमेश भन्ने हैन म बाहिर बसेर सहयोग मात्र गर्छु । तर अहिले त ब्लगान नै एकादेश भइसक्यो । प्रवेशसंग भेट भयो कि पहिला नै आज चै नयां थिम खोजीदेन नभन है भनिहाल्छ

१०) कामभित्र पत्रकार काम बाहिर ब्लगर, घरै पिंडालु बनै पिंडालु जस्तो लाग्दैन?
हैन बढो रमाइलो लाग्छ मलाइ त । पत्रकारको रुपमा जुन भुमिका निर्वाह गरिन्छ त्यो सत प्रतिशत आफ्नो सोचाइ अनुसार हुन्न । आफुले ल्याएको सामाग्री आफुले चाहे जसरी पस्कन पाइदैन । धेरै हाकिमहरु हुन्छन । ब्लगमा त ढुक्क सबै काम आफैं गर्ने । चाहेको सामाग्री आफुलाइ जसरी मनपर्छ त्यसरी नै पस्कन पाइन्छ । हाकिम कामदार दुबै आफैं । समाचार खोज्दै हिड्नेक्रममा पाएका कति जानकारीहरु पत्रकारको रुपमा पस्कन सकिंदैन । जसलाइ ब्लग मार्फत बाड्न पाइन्छ । त्यसैले यसमा त झन मजा छ

११) तपाइ ब्लगर या पत्रकार भनेर चिनीनु परे कुन रोज्नुहुन्छ?
म त ब्लगरका रुपमा चिनिन चाहन्छु । खै के मोहनी लगायो यो शब्दले म ब्लगर भन्दा मनै आनन्द हुन्छ

१२)एक जुगमा एक दिन पक्कै आउंछ त्यस पछी के आएको अनुभव भयो?
मैले यो प्रश्नै बुझिन । कुन प्रशंगमा भनेको हो स्पष्ट भएन

१३)नेपालका अहिलेका नेता मध्य सब भन्दा जनतालाइ काम लाग्ने को हुन जस्तो लाग्छ?
अहिले त्यस्ता नेता जन्मीइसकेका छैनन । अहिलेका सबै काम चलाउ मात्र हुन । काम चलाउमा को टिकाउ को कमशल भन्ने मात्र हो ।

१४)नेपालमा शहिद किन फेसन भएको होला?
फेसन भन्दा पनि यो विकृती हो । राष्ट्रका लागि साच्चिकै बलिदानी दिएका माथिको अक्षम्य गद्धारी हो । अनी यो गद्धारी कुनै १० लाखको लोभमा भएका छन कुनै पार्टीगत स्वार्थमा ।

१५)हाम्रो ब्लगका सिफारीस ब्लग मध्य एउटै ब्लग सिफारिस गर्नुपरेमा कुन ब्लग सिफारिस गर्नुहुन्छ?
त्यस्तो छैन । एउटा मात्र स्वादको खाना खाएर ब्यक्ति अघाउंदैन नी । हो ब्लग पनि त्यस्तै हो जस्तो लाग्छ । फरक फरक स्वादका भयो भने मज्जै बेग्लै हुन्छ

१६)दौतरी ब्लग कस्तो लाग्छ,केही सुझाब छ कि तपाइबाट?
इन्टरनेटमा सामाग्री खोज्ने क्रममा दौतरीसंग मेरो भेट भएको थियो । पहिलो भेटमै राम्रो लाग्यो मलाइ र अहिले नियमित छिर्ने गर्छु म । सामाग्रीहरु राम्रा छन । तर अलि साहित्य बढि भयो कि जस्तो लाग्छ । ब्लगभित्रको ब्लग यसको चिनारी हो यसलाइ निरन्तरता दिनु होला । साजसज्जामा अलि ध्यान पुगेको छैन कि

१७) तपाइलाइ भन्न मन लागेको र दौतरीले सोध्न भुलेको केही कुरा छ कि?
विचार भावना असिमित हुन्छन । ति सबै एकै भेटमा कहां सकिन्छ र हैन ? मलाइ ब्लगभित्रको ब्लगका लागि सम्झनुभयो धेरै धेरै धन्यवाद । दौतरी सबैको दौतरी बन्न सकोस शुभकामना ।