October 20, 2008

कविताभित्र संसार अटेको हुन्छ

आचार्य प्रभा
(अमेरिका )
यौटा स्वछ पाना र कलमको
समागममा जन्मेको म कविता
म भित्र अक्षरहरुको खेती गरिन्छन
अनी ---समग्रमा म
भावनात्मक लहर बन्छु
त्यस लहर भित्र
ह्रृदय छुने भावना हुन्छ ,
कसैको चित्कार हुन्छ ,
पीडा हुन्छ ,बिश्व शान्तिको नारा हुन्छ /
प्रक्रीतिको सौन्द्रय बर्णन हुन्छ ,
आमाको ममत्व हुन्छ
नारीको बेदना हुन्छ
यथार्थमा ,
संसार अटेको हुन्छ /
म कवि हृदयको क्रन्दन हुन्छु
अनी हुन्छु, मनुष्यत्वको प्रतीक
राजनितीको पर्खालले पनि
मलाई छेक्न सक्दैन /
शत्रुताको भयले पनि मलाई
पलायन गर्न सक्दैन /
त्यसैले ---कबिता
गाइनेको गीत हुन सक्दछ ,
मैच्याङको डम्फु हुन सक्दछ ,
सोरठिको भाका हुन सक्दछ ,
धाननाचको ''पालाम ''हुन सक्दछ ,
दोहरिको ''लय''हुन सक्दछ
आखिर ---जे नै भए पनि
कबिता सहिद्को गाथा हुन सक्दछ ,
अस्मिता बेचिएकी चेलीको
चित्कार हुन सक्दछ ,
कबिता हर मर्मको आव्हान हुन सक्दछ ,
स्वच्छ भावनाको प्रस्फुटन हुन सक्दछ,
खाली पाना र कलमको अप्नत्वको
चिन्ह हुन सक्दछ ,
श्रीजनाको अमीट उदगार हुन सक्दछ ,
निस्वार्थ आत्माको देश प्रेमको
सकारात्मक् भावना हुन सक्दछ /


बोस्टनमा महाकवि देवकोटाको शतवार्षिकी

अक्टोबर १८ बोस्टन अमेरिका ।
बोस्टनवासी नेपालीहरुले आज यहाँ महाकवि लक्ष्मीप्रसाद देवकोटाका शतवार्षिकी मनाए । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोस्टन च्याप्टरको आयोजनामा भएको उक्त कार्यक्रममा वोस्टन वरपर रहेका साहित्यप्रेमी नेपालीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा हार्डभार्ड विश्वविद्यालयका प्राध्यापक डा‌. शिव गौतम, च्याप्टरका महासचिव शिव प्रकाश र कोषाध्यक्ष डा. उषा शर्माले महाकवि देवकोटाको व्यक्तित्व तथा कृतित्वका वारेका प्रकाश पार्नु भएको थियो । च्याप्टरका अध्यक्ष तथा अनेसासका केन्द्रीय उपाध्यक्ष भारती गौतमको सभापतित्वमा भएको सो कार्यक्रममा रमेश शर्मा अच्युत अधिकाएरी पेमानिमा शेर्पा गोकुल ढकाल महेश्वर पन्त सुश्री सृष्टिसुमन पन्त सावित्री नेपाल लगायतले आफ्ना रचना वाचन गर्नु भएको थियो भने ध्रुव धिमिरेले स्वर्गीय देवकोटाको यात्री कविता वाचन गर्नु भएको थियो ।


त्यसैगरि कार्यक्रममा सूर्यप्रसाद नेपाल अच्यतमणी पौडल र मुकुन्द अधिकारीले स्वर्गीय देवकोटा सम्बन्धी आफ्ना अनुभवहरु बताउनु भएको थियो ।
विगत केही वर्षदेखि बोस्टन क्षेत्रमा नेपाली साहित्यिक कार्यक्रको आयोजना गर्दै आएको अनेसास बोस्टन च्याप्टरले हाल नियमित रुपमा द्वैमासिक साहित्यिक कार्यक्रम पनि आयोजना गर्न थालेको छ ।

तस्वीर धन श्रेष्ठ बोस्टन ।