August 21, 2010

भिजिलान्तेवाद तर्फको यात्रामा मुलुक :

हिजो मात्र पशुपति शमशेर अध्यक्ष रहेको राप्रपाले पनि युथ भोलेण्टियर फोर्स गठन गरेको समाचार आएको छ । ७० नाघेका वा नाघ्न थालेका पशुपति शमशेर र लोकेन्द्र बहादुर चन्द जस्ता नेपाली राजनीतिका पाका खेलाडीहरूले नेपाली लोकलाई अनावरण गरेर पस्किएको यो फोर्सको गठनको आवश्यकता माथि विचरण गर्दा देशलाई अराजक भीडन्ततर्फ बलात् लैजान खोज्ने यस्तो अर्को एउटा फोर्सको कति आवश्यकता छ भन्ने कुरा उनीहरूले बुझेकै छैनन् ठान्न सकिन्न । अवश्य पनि आवश्यकताको सिद्धान्तले यसको आविष्कार गराएको नबुझ्नु पूर्वाग्रह ठानिन सक्छ । तर यो बुझ्न कुनै कठिनाइ भने छैन कि , आज जति पनि फोर्स , दस्ता र बाहुबली भिजिलान्ते संगठनको सिर्जना गर्नु पर्ने खाँचो महशूश गरिँदै छ , त्यसको प्रेरक तत्व भने अरू कोही नभएर माओवादीको बाहुबली संगठन ‘वाइसिएल’ नै हो । जसरी हिजो हिंसारत एउटा माओवादी समूह , आज नेपाल राज्यमा क्रियाशिल एक सय बीस खुद्रे हिंसावादी संगठनहरूको प्रेरक गुरू हो वा ‘जननी’ हो , त्यस्तै राजनैतिक पार्टी वा समूहले अस्तित्वरत रहन वा काम गर्न सक्ने हुन आफ्नै लिग, फोर्स, दस्ता वा भोलिण्टियर फोर्स गठन गरी तिनको सुरक्षा कवच भित्र रहेर काम गर्न पर्ने आवश्यकता ठान्न वाध्य हुनु र त्यसै गर्न पुग्नुमा सायदै माओवादी ‘वाइसिएल’ को कारक भुमिका रहेको कुरामा कसैको दुई मत होला ।