October 22, 2016

लोकमानको लंका जल्ला कि नजल्ला ?

लोकमान सिंह कार्की निकै चर्चाको बिषय बनेका छन हिजो आज। पत्रिका देखी सामाजीक संजालमा उनकै नाम मात्र देखिन्छ। नेपालका पार्टीहरु बिच केही समय ठेलम ठेल पछि लोकमान बिरु्द माहाअभियोगको मुद्दा दर्ता भएको छ। केही समय भयो ब्लग र नेपाली खबर प्रती बेखबर भएको। तर जता पनि लोकमानकै नाम देखेपछी केही जान्न खुल्दुली लाग्यो।

करीब ३ बर्ष अगी कांग्रेस,एमाले र माओबादी मिलेर उनलाई अख्तियारको प्रमूख बनाएका रहेछन। उनलाई प्रमूख बनाउंदा उत्तर या दक्षीणलाइ सोधेकी सोधेन थाहा भएन तर हाम्रा पार्टीहरु महत्वपूर्ण निर्णय गर्दा उत्तर या दक्षीणको आशिर्बाद पाउन सधैं आतुर हुन्छन। सोध्न पनि किन नसोधुन, नेताहरुको पूछ्छर माथी ठडिने की तल, त्यसको रिमोट काठमाण्डौकै दुतावासमा हुन्छ, रिमोटका लागी भारत या चीन सम्म जानु पर्दैन।

लोकमानको खवर खोज्दै जांदा थहा भयो उनको दशा डा. गोबिन्द केसीले निम्ताएका रहेछन। डा. केसीको कथा त सबै लाइ छर्लंगै छ, उनको बयान यांहा नगरौं। तर तिनै अनसन गरिरहेन डाक्टरलाई काम नलाग्ने, खुस्केट भने पछि केसीलाई सपोर्ट गर्ने बिबेकसील नेपालीहरुले लोकमानको पाइला पछाउन थालेछन। त्यो आगोमा घिउ थप्ने काम नेपाली मिडियाले गरेका रहेछन। अन्तमा सिजनल पोलिटीक्स खेल्न खप्पिस नेपाली पार्टीहरु लोकमानलाई कारबाही गर्ने कि नगर्ने भन्नेमा बिभाजन भएका रहेछन।

लोकमानको मुद्दाको गुदी माथी भनिए जस्तै हो भने उनलाइ महाअभियोग लगाउन पार्टीहरु तातेको ठिकै हो भन्न सकिन्छ। किनकी नेपाली पार्टीहरु जनताको सेवा गरेर होइनकी सस्तो लोकप्रियता समेलेर आफ्नो काम देखाउन चाहान्छन। लोकमानमाथी मुद्दा दर्ता भइसक्यो।  आर्थिक अपचलन गर्नेको सूचीमा नेपाल पाकिस्तानसंगै आफ्रीकी देशहरुको लेबलमा छ। ट्रान्पेरेन्सी इन्टरनेशनलको लिस्ट हेर्नेहो भने त नेपाल राम हैन रावणले भरिएको भन्ने देखिन्छ।
लोकमानको बारेमा देश गज्जबले बांडिएको छ मानौं संबिधान सभा पछिको दोस्रो ठूलो कुरा लोकमान सिंह कार्की नै हुन। चोरको सांची बिरालो। गैरकानूनी काममका ठेकेदार नेपाली पार्टीहरु लोकमान माथी खनिएको देख्दा अचम्मै लाग्छ।  अपराध गरेको भए लोकमान मात्र होइन राममान,तिर्थमान,हरिमान सबैलाइ कारबाही हुनै पर्छ। होइन भने  सारा नेपाल एउटै मान्छे माथी खनिएर फेसबुक, चियापसल, कपडापसल आदीमा समय खेर फाल्नु बेकार छ।

लोकमान सिंह कार्कीको लंका जल्ला कि नजल्ला त्यो त हेर्न बांकी छ, तर मार्क जुकरबर्गको फसबुकमा त लोकमानको लंका जलेर खरानी भैसक्यो।