October 17, 2009

ब्लग संबाद निर्मलमणि अधिकारीसंग


दौंतरीको ब्लग भित्र ब्लग स्तम्भमा नेपाली ब्लगरलाइ निम्ताउने गर्छौं। यसले ब्लगर बिच भाइचाराको कायम हुनुको साथै उदायमन ब्लगरलाइ थप परिचित गर्न मद्दत गर्छ। अत दौंतरी आफैमा ब्लग चौतारी भएकोले अन्य ब्लगरको सफलता नै दौंतरीको सफलता हो। यस पटक प्रध्यापन पेशमा संलग्न ब्लगर निर्मलमणि अधिकारीलाइ निम्ताएको छु। आउनुहोस वहाँसंगको कुराकानीमा लागौं ।

१ ब्लग लेख्ने रहर कसरी जाग्यो ?

सन् २००६ जनवरीदेखि ब्लगिङ् थालेको हुँ । त्यतिखेर म आमसंचार र पत्रकारिता प्राध्यापन गर्थेँ र अनलाइन न्यूजपोर्टलको सम्पादक थिएँ तर पत्रपत्रिकामा नियमित स्तम्भलेखनको काम भने बन्द गरिसकेको थिएँ । ब्लगका विशेषताबारे विद्यार्थीहरुलाई बताउँदा बताउँदै आफूलाई पनि यसले आकर्षित गरेको म सम्झन्छु ।

त्यतिबेला मैले मूलतः तीनवटा उद्देश्यहरु राखेर ब्लगिङ् सुरु गरेको थिएँ । एक विद्यार्थीहरुका लागि पाठ्यसामग्री तथा गृहकार्यहरु राखिदिन साइबरस्पेसलाई प्रयोग गरौँ भन्ने उद्देश्यले । दुई आफ्ना पूर्वप्रकाशित सामग्रीहरुलाई डिजिटल स्वरुपमा संरक्षण गर्न सकिने र नयाँ पाठकहरुसमक्ष पुर्याउनसमेत सकिने भएकाले । तीन केही समसामयिक टिप्पणी लेखियो भने त्यसलाई पनि पोस्ट गर्ने भनेर ।


२ तपाईँको ब्लग पूर्वतिर जाने भनिएको रहेछ पूर्वमा त्यस्तो के छ जो पश्चिममा छैन ?

यहाँ मैले पूर्व भनेर वैदिक हिन्दू विचारधारालाई जनाउन खोजेको हुँ । पूर्वमा धर्म अर्थ काम र मोक्ष यी चारैवटा पुरुषार्थलाई समान महत्व दिइने समष्टिकृत दार्शनिक संश्लेषण छ जुन पश्चिममा छैन ।

३ तपाईँको ब्लग धरातल कसरी फैलिएको छ ?

यतिखेर मेरा पाँचवटा ब्लगहरु साचालनमा छन् । मेरो पहिलो ब्लग http://nirmalamani.blogspot.com/ मा दार्शनिक धार्मिक सांस्कृति एवं सामाजिक सन्दर्भमा लेखिएका सामग्री छन् । अर्को एक ब्लग http://maharshidhaumya.blogspot.com/ मा मेरा साहित्यिक रचना समेटिएको छ । तेस्रो ब्लग http://nirmalam.blogsome.com/ मा नेपालमा जातीय भाषिक साम्प्रदायिक सवालबारे मेरा लेखहरु राखिएका छन् । चौथो ब्लग http://sadharanikarantheory.blogspot.com/ मा साचारसम्बन्धी मेरा मौलिक अनुसन्धानमूलक सामग्री राखिएका छन् । यसमा संख्यात्मक रुपमा सबै भन्दा थोरैवटा पोस्टहरु प्रकाशित छन् । पाँचौँ ब्लग http://adhikary.wordpress.com/ लाई मैले माथि उल्लेखित चारैवटा ब्लगहरुको समष्टिकृत साइटका रुपमा विकास गर्न खोजिरहेको छु ।

४ तपाईँको ब्लगको स्वरुप कसरी निर्धारण गर्नु भएको छ ?

यस प्रश्नको उत्तर माथि पनि केही मात्रामा आइसकेको छ । थप भन्नु पर्दा मेरो पहिलो ब्लग ज्योतिर्गमय- A Movement toward East मा धेरै समयसम्म विद्यार्थीहरुका लागि पाठ्यसामग्री तथा गृहकार्यहरु पूर्वप्रकाशित सामग्री तथा समसामयिक लेखोट यी सबैखाले सामग्री राखिन्थ्यो । पछि अन्य पोस्टहरु डिलिट् गरेर दार्शनिक धार्मिक सांस्कृति एवं सामाजिक सन्दर्भमा लेखिएका सामग्री मात्र राखिएको छ ।

५ धर्म अध्ययन अध्यापन लेखनमा के समानता असमानता भेट्नु भयो ?

मेरो दृष्टिबिन्दुबाट हेर्दा यी सबै मेरा कर्म हुन् त्यसैले उस्तै हुन् ।

६ धर्मलाई अफिम किन भनिएको होला ?

यो भनाइ अन्यत्रको सन्दर्भमा भनिएको हो भारतवर्षको सन्दर्भमा होइन । कार्ल माक्स्रले समाजको अध्ययन गर्ने क्रममा खासगरी पश्चिमा मुलुकमा धर्मका नाममा कतिपय अन्धविश्वासी कामहरु भएका र कट्टरता रहेका परिप्रेक्ष्यमा त्यसो भनेका थिए । भारतवर्षमा खासगरी वैदिक परम्परामा धर्म भन्नाले जीवनपद्धति बुझिन्छ ।

७ भगवानको अवतार साँच्चै हो कि यो रावणले रामलाई भनेजस्तो जादूगरी हो ?

दुवै कुरा हुन् । कतिपय अवतार साँच्चै हुन् भने कतिपयले जादूगरी वा अन्य शक्तिको आडमा अवतार भएको दाबी गरेर भ्रम फैलाउन सफलता पाएका पनि छन् ।

८ थुप्रै पुस्तक लेख्नुभएको छ सबैभन्दा सफल पुस्तक कुनलाई मान्नु हुन्छ ?

बजारको मापदण्डअनुसार भन्ने हो भने आमसाचार र पत्रकारिता नै सबैभन्दा सफल पुस्तक हो । यो पुस्तकको पहिलो संस्करण वि.सं. २०६० मा प्रकाशित भएको थियो र भर्खरै पाँचौँ संस्करण प्रकाशित भएको छ । पुनर्मुद्रणलाईसमेत हिसाब गर्दा यो धेरै नै बिक्री भएको पुस्तक हो । चर्चाका हिसाबले भन्ने हो भने आस्थाको शान्ति-युद्ध वि.सं. २०५७ ले राष्ट्रियसाथै अन्तर्राष्ट्रिय चर्चा पायो ।

९ पत्रिकामा लेख्दा र ब्लगमा लेख्दा कस्तो फरक अनुभव गर्नु हुन्छ ?

लेख्दाको अनुभूति उस्तै हो । सार्वजनिक भइसकेपछिको अवस्थामा पत्रिकाका सन्दर्भमा धेरै पाठकले पढेको पाइन्छ तर ती देशभित्रका मात्र हुन्छन् । ब्लगका सन्दर्भमा पाठक संख्या कम हुन्छ तर ती पाठकहरु संसारका विभिन्न ठाउँका हुन्छन् ।

१० विश्वको शक्तिशाली राष्ट्र अमेरिका अझै पनि In God We Trust भन्ने भनाइमा अडिग छ नेपालजस्तो अविकसित देश भने धर्मबाट टाढिँदै छ । यो गरिबी हो कि अज्ञानता ?

नेपालमा गरिबी अज्ञानता र हीनताभाष जस्ता आन्तरिक कारण र वैश्विक स्तरमा रचिएको व्यूहचक्र ग्राण्डडिजाइन का कारण धर्मद्रोही विचार र व्यवहारले मौलाउन पाएका हुन् । जसले आफ्नो धरातल मजबुतसँग टेक्छ उही शक्तिशाली हुन्छ । ढिलोचाँडो सबैले आफ्नो जरो नजगाई धरै छैन ।

११ नयाँ धर्मावलम्बीहरुको संख्या बढ्दै गइरहेको छ तर हिन्दूको संख्या जसका तस छ । यस्तो किन भएको ?

संख्या बढाउनुलाई नयाँ धर्मावलम्बीहरुले विशेष प्राथमिकतामा राख्ने गर्छन् । यसका लागि बाह्य सहयोग पनि जुटिरहेको हुन्छ । मूलबासीहरुले पत्तो नपाइन्जेल यस्तै हुन्छ ।

१२ धर्म र नैतिकतामा के फरक छ ?

धर्म बृहद् प्रणाली हो जसले समष्टि जीवनपद्धति बुझाउँछ । नैतिकता त्यसको अनिवार्य अंग हो । नैतिकताबिना धार्मिकता हुँदैन ।

१३ नेपालमा तन्त्रको बोक्रोमाथि बोक्रो थपिँदै जाँदा धर्म किन भने क्षीण हुँदै गइरहेको होला ?

धर्म त किन क्षीण हुन्थ्यो र त्यो तत्व त अक्षण्ण छ । मानिसहरु त्यसबाट टाढिने र त्यसको फलस्वरुप अधर्म अनैतिकता अशान्ति बढ्ने चाहिँ हुन्छ ।

१४ अन्य ब्लग कत्तिको सयर गर्नु हुन्छ कस्तो अनुभव छ तपाईँको ती ब्लगप्रति ?

गर्छु । कतिपय त नियमितजसो नै हेरिन्छ । तिनको सामान्यीकृत टिप्पणी गर्न सकिन्न । कतिपय आफ्ना उद्देश्यमा प्रष्ट छन् कतिपयले रहरै रहरमा गरिरहेका छन् ।

१५ तपाईँले दौँतरीलाई के सुझाव दिनु हुन्छ ?

मैले बेला बेलामा हेरिरहने साइटमध्ये यो पनि पर्छ । धेरै किसिमका पठनीय सामग्रीहरु समेटिएका छन् । यसलाई कायम राख्दै थप विविधता ल्याउन सकोस् ।

१६ तपाईँलाई भन्न मन लागेको तथा मैले सोध्न छुटाएको त्यस्तो केही कुरा छन् कि ?

ब्लगको उपयोगिताअनुसारको प्रतिफल हामीले लिन सकिसकेको स्थिति होइन अहिले । त्यसैले यसको दोहनलाई मात्रात्मक र गुणात्मक दुवै आयाममा वृद्धि गर्न थप गहकिला प्रयत्नहरु गरौँ ।