September 5, 2008

कामरेड प्रचण्डको बिबिसी अन्तर्वार्ता : यसको निहितार्थ

जनताको रगतले भिजेका आफ्ना हातहरू ओभानो पनि बन्न पाएका थिएनन् , माओवादीहरू सत्तासीन बन्ने परिस्थिति जुट्यो । फलत कामरेड पुष्पकमल दाहाल उर्फ कामरेड प्रचण्ड गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री बन्न पुग्नुभयो । वहाँले यो अकस्मात प्राप्त बोझ उठाउनु पर्दा स्वाभाविक असहजपन महशूस गरेको हुनुपर्छ , त्यसैले शपथ ग्रहण गर्दाका दिनमा पत्रकारहरूको जिज्ञासामा भन्नु भएको थियो ' म अति एक्साइटेड भएको छु, र मसंग अहिले बोल्ने शव्द पनि छैनन्' । तर पदारोहणको २ हप्ता बितिसक्दा, कामरेड दाहालको 'एक्साइटमेण्ट' सब्साइड भइसकेको भान भएको छ । यो किनभने , गएको हप्ता प्रधानमन्त्री दाहालले बिबिसी नेपाली सेवाका रविन्द्र मिश्रलाई एउटा लामो अन्तर्वार्ता दिनुभयो । यसो त अन्तर्वार्तामा कामरेड दाहालको भावुक व्यक्तित्वको धरातलमा बनेको जिम्मेवारीपन झल्किन्थ्यो भने , वहाँको 'एक्साइटमेण्ट' मा ' क्यारिड अवे' हुने कम्यनिष्ट धङधङी बोकेको उद्देश्य पनि छताछुल्ल बन्यो यो वार्ता मार्फत ।


कामरेड दाहाल-भट्टराईको माओवादी पार्टी भित्रको प्रभावसाली सिण्डिकेटले पछिल्ला दिनहरूमा रट लगाउने गरेको चामत्कारिक आर्थिक विकासको नेपाली-मोडेलको पुनर्खुलासा कामरेड दाहालले आफ्नो लफ्पाजि भरिएको वार्ताका दौरान पनि दोहोर्‌याउनु भयो । तर सदैव जस्तो, यो चामत्कारिक विकास रूपी कल्पनाको घैँटो फुटाल्ने आख्यान बाहेक यस्तो विकासको प्रामाणिक आधार, यसका लागि लगानीकर्ताहरूको खोजी, वातावरणको निर्माणदेखि अरू आवश्यक पर्ने यावत जरूरतहरूको तथ्य र आँकडागत उदाहरण पनि कतै दिन किचकिच गर्नु भएन । यस्तो लाग्छ, माओवादी मोडेलको यो भ्यागुतो जस्तो उफ्रने विकास , नेपालमा एकाएक माओवादी नेताहरुको मुखराविन्दबाट प्रकट हुने बित्तिकै छलाङ मार्दै अवतरण हुन पुग्ने हो । यो विकासे नेपालको कथा बिगत केही महिनादेखि नेपालमा सुनिँदै आएपनि, माओवादीका कुनै पनि नेताले , यो कसरी कारगर हुन पुग्ने हो भन्ने कुरामा माथापच्ची गर्न आवश्यक नै ठानेका छैनन् , कामरेड दाहालको पछिल्लो बिबिसी अन्तर्लापले पनि यसको निरन्तरता बाहेक नया कुरा केही दिएन । विकास र माओवादीले भन्ने गरेको 'चमत्कार' का लागि सोच र भावुकताको भन्दा ,व्यवहारिक योजना र प्रतिवद्दता अनि तिनको क्रियान्वयनको खावचो टड्कारो रहनेछ । हिजो द्वन्दका दिनहरूमा, नेपालमा खोलिएका बहुराष्ट्रिय र विदेशी कम्पनिहरूको अस्तित्व समाप्त पार्न अनि बनेका पूर्वाधारहरूको विध्वंश गर्न खर्चेको माओवादी ऊर्जा र माओवादीले अङ्गिकार गरेको राजनैतिक सिद्दान्तले बोकेको निजि पूँजी र पूँजीको परिचालन , बजारमुखी उदरवादी अर्थनीति बिरोधी एजेण्डा नै यो चमत्त्कारिक विकासको मार्गमा नम्बर १ अवरोधक हो ।

कामरेड प्रचण्डको यो अन्तर्वार्तामा देखिएको अर्को बिसंगत पक्ष भनेको उनको राजनैतिक मुद्दा सम्बन्धी स्वीकारोक्ति हो । विश्वमान्य उदारवादी लोकतन्त्रका पक्षमा खुलेर वितृष्णा जाहेर गर्न नसके पनि आफ्नो पार्टीको आशक्ति र अनुरक्ति एकाधिकारवादी कम्युनिष्ट शासन पद्दति नै हो भन्ने कुरा उनले प्रष्ट बताएका छन् , यो वार्तामा । तर वर्तमान लोकतान्त्रिक संसारको भाका र लयलाई समातेर उनीह बिगतमा आफ्नो पार्टी र अरू कम्युनिष्टहरूले भन्ने गरेको हिंसात्मक रूपले सत्ता कब्जा गर्ने कुरालाई नपक्रेर , लोकतान्त्रिक पद्दतिबाट कम्युनिष्ट राज्य व्यवस्थाको स्थापनातर्फ अघि बढ्ने चलाख तर्क प्रस्तुत गर्छन । यसका लागि उनको जिरह छ आगामी चुनाबमा उनको पार्टीले दुई तिहाइ मत ल्याउने छ र अन्त्यमा उनको लक्ष्य ९०% जनमत हासिल गर्ने हुनेछ । यसरी जनमत प्राप्त भएपछि जनवादी गणतन्त्र स्वत: अनुमोदित हुनेछ भन्ने प्रम दाहालको तर्क छ । सर्सर्ति हे्र्दा यो कुरामा बिमति राख्न पर्ने कुरा देखिन्न । ९०% बन्दा बढी जनताले चाहे भने त मुलुकमा जे कुरा लागू गर्दा पनि लोकतान्त्रिक पद्द्ति सम्मत भएको मान्न सकिन्छ । तर , के आधुनिक विश्वका कुनै पनि लोकतान्त्रिक मुलुकहरूमा दलगत प्रतिस्पर्धाको वातावरणमा एउटा दलले ९०% जनमत ल्याउन सम्भव छ ? के कतै यो भएको छ ? संसारका समुन्नत देशहरू र आदर्श लोकतान्त्रिक मानिएका मुलुकमा पनि यति विघ्न जनमत कुनै एउटा दल विशेष वा उसका नीति नियमका पक्षमा एकोहोरिएको छ भन्ने उदाहरण पाइँदैन । यस्तो विघ्न मत कसैले ल्याएको थियो भने केवल फलिपिन्सका पुर्व तानाशाह मार्कोस, बांग्लादेसका तानाशाह हुसेन एर्शाद र रोमानियाका निकोलाइ चाउचेस्कूले मात्र ल्याउन सकेको उदाहरण आधुनिक विश्वमा हामीले देखेका हौँ । सेना , मिलिसिया र बलको भरमा ९९% सम्म जन- मत हासिल गर्ने यी तानाशाहहरूको नियति तिनको त्यो अगाध जनअनुमोदनको भरमा पनि टिकेन , हामीले देखेका हौँ । यस्तो जनमत हासिल केवल देखावटी नौटमकी निर्वाचनहरूमा समा, दाम, दण्ड, भेदहरूको समष्टि शक्ति प्रयोग गरी प्राप्त भएको मात्र देखिन्छ । तर आधुनिक लोकतन्त्रहरूमा बहुमतले शासन दिने र अल्पमतको पनि समावेशी सशक्तिकरणमा विश्वास गरिने हुनाले साथै आवधिक जननिर्वाचनको माध्यमबाट मुलुकको शासन प्रशासन सञ्चालन गरिने हुनाले अनावश्यक प्रचण्ड बहुमतको दरकार नै त्यहाँ ठानिन्न । फेरि जनताको विचार पनि समय समयमा अनि नेता तथा दलहरूको कार्यव्यवहार अनुसार परिवर्तनीय हुने भएकाले एक पटक बहुमत प्राप्त हँदैमा सँधैका लागि अकाट्य हुनेछ भन्नु पनि मुर्खता हो ।

यदि कामरेड प्रचण्डको भनाइ र निहितार्थ बुझ्ने हो भने , अहिले हासिल राज्यको शासन र प्रशासनको भरपुर उपयोग गर्दै माओवादी दलको नियन्त्रणमा रहेको जनवादी गणतन्त्रतर्फ नेपाललाई बलात् लैजाने कुरामा वहाँको पार्टी र नेताहरूमा बिमति छैन, यो छ भने केवल हाम्रो बुझाइमा ।


माओवादिको विदेश नीति र चौतारिको गफ

केहि समय अगाडि चिनको ‘खेलकुद भ्रमण’ गरेर फर्केका प्रधानमन्त्री आगामी १४ सेप्टेम्बर देखी छिमेकी राष्ट्र भारतको भ्रमणमा जाँदैछन ।

यता हाम्रा प्रधानमन्त्री र माओबादि दल यो भ्रमणलाई लाजै नमानी उनको ‘पहिलो राजनैतिक भ्रमण’ भएको परिभाषित गर्न जोडतोडका साथ लागि परेको बेलामा भारतिय अनलाईन मिडियाहरुले भने प्रचण्डले परम्परा देखि चलि आएको ‘रिवाज’ लाई तोडि चिनको भ्रमण पहिले गरेकोले उनको भ्रमणले यस भन्दा पहिले गिरिजा कोईरालाले पाएको जत्ति सम्मान नपाउने कुरा उल्लेख गरि सकेका छन् ।

माओबादिले प्रचण्डको भ्रमणलाई ‘खेलकुद भ्रमण’ बनाउन गरेको कसरतले कुनै रंग नदेखाउने कुरा अब करिव करिव प्रष्ट भैसकेको छ । राजनैतिक विश्लेषकहरु यसपाला प्रचण्डले अघिल्लो पटक गिरिजा कोईरालाले पाएको जत्ती सम्मान नपाउने मात्रै हैन विमानस्थलमा स्वागत गर्न पनि भारतिय प्रधानमन्त्रि नजाने करिव करिव निश्चित भैसकेको बताउँछन ।

यो सबै प्रचण्ड र माओबादि नेतृत्वको ‘दुईवटा डुङ्गामा खुट्टा राख्न खोज्ने नीति’ को फल हो । पक्कै पनि चिन र भारतको सम्बन्धमा सन्तुलन राख्ने जरुरत नेपाललाई होला तर यसरी भुमिगत छँदा, कुनै निर्जन गाँउको चौतारिमा बसेर कार्यकर्तालाई हावा गफ दीएर ‘वाह! वाह!!’ बटुलेको जस्तो पाराले नेपालको विदेश नीति तय गर्न खोज्नु भनेको माओबादिको ठुलो भुल हो ।

त्यसो त नेपालको तात्कालिन स्थिति, आन्तरिक समस्या आदिलाई हेर्दा प्रचण्डले ओलम्पिक ताका चिनको भ्रमण नगरेकै भए पनि चीनले दागा धर्ने स्थिति भने पक्कै थिएन । तर ‘परम्परा तोडेर’ ‘हिरो’ भन्ने लालसाका कारण र विदेश नीति र अन्तराष्ट्रिय सम्बन्धलाई ‘चौतारिको गफ’ जस्तो हलुका आकलन गरेका कारण प्रचण्डले चीनको ‘खेलकुद भ्रमण’ को अबसरलाई छाडेनन् । अब भारत भ्रमणको समय नजिकिदैं जाँदा त्यसको परिणाम र गम्भीर भएर आएको ‘चौतारीको गफ’ का कारण माओबादिलाई हम्मे हम्मे परेको छ ।

जनतलाई जोस्याउन, भोट कमाउन वा आफूलाई परम राष्ट्रवादि भएको देखाउन जे जस्तो कुरा गरेपनि हामि चिन भन्दा भारतमा बढि निर्भर रहेको कुरा घाम जस्तै छर्लङग छ। यस्तो अबस्थामा पहिला चिनको भ्रमण गरेर ‘हिरो’ बन्न नखोजेको भए तात्कालिन स्थिति र आन्तरिक समस्याको कारंण चिनले सो बिषयलाई हाल भारतले जस्तो गरि गम्भिर रुपमा लिने थिएन । तर गाँउमा कत्ति कार्यकर्तालाई गफ दिएर ‘ठीक ठाँउमा’ ल्याएको थिए, त्यस्तै गफ दिएर भारतलाई पनि भुल्याउने छु भन्ने सोच र ‘खेलकुद भ्रमण’ को हाउगुजि देखाएर भारतलाई छक्काउने हल्का बिचारका कारण गरीएको भ्रमण हाल माओबादिलाई भालुको कन्पट साबित भएको छ ।

आशा गरौं यो घटनाबाट माओबादि नेतृत्वले विदेश नीति र अन्तराष्ट्रीय सम्बन्धलाई ‘चौतारिको गफ’ जस्तो हल्का लिने छैनन् र आगामि दिनमा जिम्मेबार दलका रुपमा अघि बढनेछन्।