July 19, 2008

राष्ट्रपती चुनावको झाँकी बारे

गणतन्त्र नेपालको पहिलो राष्ट्रपती चुनावको झाँकी देख्न सुन्न पाइयो र पार्टीहरु यती निर्लज्ज हिसाबले समिकरण फेरबदल गर्न सक्दा रहेछन भन्ने मलाई लागेको थिएन। एउटै पार्टीका नेताहरु एकै चोटी अलग अलग पार्टीहरुसंग मोलमोलाइमा लागेका रे। देशमा हडताल, चक्का बन्द रोकिएको छैन। एउटा साथीले भन्दै हुनुहुन्थ्यो-ट्र्याक्टरमा राख्ने तेल नभएर जमीन बांझै छ रे। हत्या अपहरण रोकिएको छैन तर हाम्रा नेताहरु काम कुरो एकातिर कुम्लो बोकी ठीमीतिर भने जस्तो संबिधान निर्माणको मूख्य मुद्धातिर ध्यान दिन छाडेर पदहरुको लुछाचुडाईमा लागेका छन। कसलाई के भन्ने, सबै उस्तै हुन्। मुख्य जिम्मेवार तीन पार्टीहरु नै गैर जिम्मेवार भएका छन। सर्पले आफूलाई निल्नै लागिसक्दा पनि जसरी भ्यागुताले झिङाको लोभ छोड्दैन, त्यसरीनै देश बर्बाद हुने अवस्थामा पुगि सक्दा पनि हाम्रा नेताहरु आफ्नो पार्टीको स्वार्थभन्दा माथि उठन सकिरहेका छैन।

कुनै समय आफैले गणतन्त्र नेपालको राष्ट्रपति तपाई बन्नूस् भनेर भनिएका गिरिजा अहिले कुन् कारणले राष्ट्रपतिको लागि योग्य भएनन्? फेरि संबिधान सभाको चुनाव सकेपछि म नेत्रित्वमा रहन्न, आरम गर्छु भन्नु हुन्थ्यो गिरीजा बाबू। जीवनको यो उत्तरार्धमा आएर पनि उंहालाई अझै किन त्यो खोपीको थपना राष्ट्रपति पदप्रति लोभ जागेको होला। न पार्टीका अन्य सदस्यले भो गिरिजा बाबू, तपाइ अब आराम गर्नुस् न भन्न सक्छन् न गिरिजा आफै छेउ लाग्छन्। एमालेमा त्यस्तै-झलनाथले किन माधव नेपाललाई राष्ट्रपतिको पदको लागि अगि सारेका हुन् कुनि। माधव नेपाल गिरिजा जस्ता उमेरले नेटो काटेका पनि होइनन्। पार्टीले चुनावमा सन्मानजनक सीट नल्याएकोमा नैतीकताको आधारमा राजीनामा दिएका न हुन। यिनको सक्रिय राजनैतीक जीवनको अन्त्य भैसकेको त छैन नि। भोलि एमालेको स्थिति सुध्रिन पनि सक्छ र यिनि प्रम हुन पनि सक्छन् नि। फेरि आफै चुनाव हारेको र पार्टीले पनि गतिलो परिणाम नल्याएकोमा नैतिकता बोध गरेर राजीनामा दिएको मान्छेले फेरि झलनाथको हुटहुटीमा परेर फेरि कुन नैतीकताको आधरमा यिनि राष्ट्रपति हुन कस्सिएका? दुई बर्ष राष्ट्रपती खाएपछी फेरी यिनी कसरी सक्रीय राजानीतिमा आउन सक्छन? भयो झलनाथजी, मलाई राष्ट्रपति चाहिएन, माओबादीलाई समेत स्वीकार्य अन्य कसैलाई अगाडी ल्याउनुस भनेर यिनी आफैले किन भन्न नसकेका? भलै प्रचण्ड र बाबुराम अलि समझदार् थिए तर माओबादीभित्रका वास्तविक कमान्डवाला मोहन बैध्य आदिहरुले कुनै पनि हालतमा माधव कुमार नेपाललाई राष्ट्रपति मान्न नसकिने भनेर दिन रात भनिरहदा किन नबुझेका? सहाना, सुवासचन्द्र वा रामप्रीत पासवानको कसैको नाम अगाडी ल्याएको भए कम्तिमा राष्ट्रपति पद एमालेको पोल्टामा पर्ने त थियो।

यहा निर केपी ओली र प्रदीप नेपालको भूमीका ले पनि काम् गर्यो। झलनाथ-बामदेवहरुलाई असफल् देखाउनु यि दुईको धरम नै हो र केपी ओलीलाई माधव माओबादीको समर्थनमा राष्ट्रपति बनेको यिनी कसरी देख्न सक्थे र? त्यसकारण कसरी हुन्छ माओबादीसंगको दूरी बढोस र समझ्दारी टुटोस भन्ने यिनको ध्याउन्ना रह्यो र यिनीहरुले भनिदिए-एमालेलाई राष्ट्रपति दिने भनिसकेपछि को राष्ट्रपति बनाउने भन्ने कुरो हाम्रो हो। यसो हेर्दा कुरो हो पनि तर यहि अडानमा रहिरहदा श्थितिले कोल्टा फेर्छ भन्ने हेक्का भएन। यसलाई पार्टी र माधव नेपालको प्रतिष्टाको बिषय बनाएर अकड्डिएर बस्नु हुने थिएन। भारतमा सोनिया गान्धी प्रम हुने भईन भनेर हिन्दु अतिबादीहरुले बबाल मचाए पछि कसरी उनी सरक्क पछि हटिन र मनमोहन सिंहलाई अगाडी ल्याईन्? मूर्ख देखि दैव पनि डराउनु पर्छ भन्छन् नि। अहिले भयो के, आफ्नो पोल्टामा परेको पद आफैले भोटहालेर अरुलाई अर्पण गर्न पर्यो, यो बिडम्बना होइन? फेरि फोरम जस्तो एउटा चरम अवसरबादी समुह,जसको कुनै राजनैतीक इतिहास नै छैन र जो देशलाई एउटा बिघटनको मार्गमा लैजान अग्रसर छ, त्यस्तासंग संबिधान सभाको अध्यक्ष पदको लागि हात मिलाउन पर्यो। किन चाहियो त्यो संबिधान सभाको अध्यक्ष पद? राष्ट्रपति, उपराष्ट्रपति र संबिधान सभाको अध्यक्ष पदको लागि यो अपबित्र गठबंधन त भयो भयो सरकार बनाउन यो गठबन्धन नरहोस। राष्ट्रपति र संबिधान सभा अध्यक्ष पदको चुनाव पछि सबैले यो तिक्ततालाई भूलुन् र माओबादीलाई अलग्याउने निति नलिउन्।होइन भने नया संबिधान् निर्माण हुन संभव हुदैन र फोरम जस्ताको भर परेर कुनै सरकार टिक्दा पनि टिक्दैन।


माओबादीहरुले सबैलाई जिल्ल्यायो भनेर मानिसहरु भन्दै थिए तर उनीहरु आफै जिल्लिए वा चिप्लिए।यदि कांग्रेस र एमालेले माओबादीप्रति धोकाको मेख मार्ने हिसाबले फोरमलाई च्यापेर सरकार बनाउन लागे भने प्रचन्ड भित्ताको राष्ट्रपति त भए भए, हावाको प्रधानमन्त्री पनि हुने छन्।तर आशा गरौं-कांग्रेस एमालेले त्यस्तो भूल नगर्लान्।

माओबादीमा प्रचन्ड र बाबुराम ठिकै मान्छे जस्ता लाग्छन्, छलफलमा आउछन्, कुरा सुन्छन्, सुनाउन्छन् र सहमतीमा आउन तयार हुन्छन् तर एमालेमा प्रदीप र ओली भएजस्तै माओबादीमा मोहन बैध्यहरु छन्, जो पर्दा पछाडीबाट प्रचण्ड र बाबुरामले गरेका सहमतीहरुलई उल्टाउने काम गर्छन्। पार्टीमा यस्ता ब्यक्तिहरु रहेसम्म देश सहमती र सहकार्यको बाटोमा जांदैन। यो राष्ट्रपति चुनाव खण्डले एउटा राम्रो के गरिदियो भने मधेशी गठबन्धनलाई केही कमजोर जरुर तुल्याएकोछ।फोरमले कांग्रेसका रामबरण यादवलाई र तमलोपा र सदभावनाले रामराजा प्रसाद सिंहलाई लाई भोटहालेछन्।


मलाई त २५ भोट बदर भएको कुरा सुनेर हांसो पनि उठ्यो, कस्ता सभासदहरु रहेछन त हाम्रो देशमा जो मतदान गर्न पनि जान्दैन र यिनीहरुले संबिधान निर्माणमा के भूमीका खेल्लान। हुन त यिनीहरु पार्टीले हात उठा भनेको बेलामा उठाउने न त परे। सभामा न छलफल हुन्छ, न बिमर्श, कुनै पनि मुद्धाको टुंगो पहिलेनै लागिसकेको हुन्छ र बैधानिकताको लागि मात्र त्यो हाउसमा ल्याइन्छ। त्यत्तिकै लागि भनेर यत्रो जम्बो संबिधान सभा किन चाहिएको होला जबकी भारत जस्तो बिशालए देशमा पनि लोकसभा यती ठुलो छैन।


यो नेमकिपा पार्टीको बिषयमा पनि केही भन्न मन लाग्यो। महत्वपूर्ण मुद्धाहरुमा मतदान गर्नुपर्ने बेला यसले जहिले पनि बहिस्कार गरेर हिड्छ। यो कस्तो गैरजिम्मेवार तरिका हो। चुनाव लडने, सभासद हुने, तलब पारीश्रमिक खाने तर आफ्नो कुरो संबोधन नभएको वा नसुनिएको भन्ने एउटा कुनै निहुं निकाल्यो अनी संसदसभामा मतदान नगरी चलिदियो।यिनीहरुले भोट नहाल्दैमा राष्ट्रपती निर्वाचित नहुने त होइन तर दुइ-दुई चोटी चुनाव गराउन पर्ने अवस्था त टल्थ्यो नि। यस्ता पार्टीहरु, जसले जहिले पनि बहिस्कार गरेर हिंड्नुछ, किन चुनावमा उठेर निर्वाचित भएर आउने?



राजनैतिक बेइमानीहरूको श्रृङ्खला: नेपालको दूर्दशा

नेपालमा विचित्र हुँदैछ । राजनीतिको बजारमा यति धेरै अस्थिरताका घटनाहरू एकपछि अर्को पटाक्षेप हुँदैछन् कि कतिबेला के हुन जाँदैछ खुट्याउन लगभग असम्भव छ ।


केही साता लामो रमिता पछि अस्ति समाचार आयो, माओवादी एमालेले समीकरण गरेर राष्ट्रपति र सरकार गठन कार्य अघि बढाउने भए । त्यो कुराको चर्चा निमेष भरमा फेरियो , अनि माओवादीले एमालेलाई धोकाको खाल्डोमा खसाएर तराईवादी पार्टीहरू संग माखेसाङ्लो जोडेको चर्चाले लगभग डेढ दिन बजार छायो । फेरि अकस्मात रातारात समीकरण परिवर्तन बन्यो र अब पछिल्लो समयमा आएर कुरा सुनिँदैछ कांग्रेस, एमाले र तराईवादी पार्टीले फेरि नया समीकरण बनाए रे ! यो कुरा पनि राष्ट्रपति र उपराष्ट्रपति चुनाबको अन्तिम परिणाम ननिस्किए सम्म भर वा विश्वास गरिहाल्न पर्ने खालको नहुन सक्छ । किनभने , अब मत खसाउने प्रतेक मतदाताको अन्तर्मनको निर्णय पनि थाहा पाउन पर्ने हुन्छ । गोप्य मतदान भए त कस्ले कता मत हाल्लान भन्न सकिन्न , चुनाबको परिणाम जता जान वा आउन पनि सक्छ । यो खासमा भन्ने हो भने एउटा महान प्रहसनको गाइजात्रा नै हो ।


यी अस्थिर घटनाक्रमहरूले एउटा कुराको दिशा प्रष्ट्याएको छ त्यो के भने , अब यही गाइजात्रे काइदाबाट संविधानसभाको मुख्य काम : नया संविधान लेखाउने र अनुमोदन गराउने हुन लगभग असंभव नै हुन गएको छ । यो स्थिति सिर्जना हुनुका पछाडि रहेका कारणहरूका बारे खोजी गर्दा , वर्तमान नेपाली राजनीतिका तीनवटा मुख्य पार्टीहरूको एकार्का प्रतिको चरम अविश्वास नै हो भन्ने कुरामा अत्युक्ति रहन सक्दैन । तर पनि केही महिना अघि सम्पन्न संविधानसभाको निर्वाचनमा सर्वाधिक स्थानमा जीत हासिल गर्न सफल नेकपा माओवादीले आँफूलाई जनताले सुम्पेको जिम्मेवारीलाई राम्ररी अपनाएर काम गर्न नसकेको कुरालाई नै अहिलेको घटनाक्रम हरूको कारक मान्नै पर्ने हुन्छ ।


माओवादी अहिले सबैभन्दा ठूलो दल बनेको छ र हिजो ऊ भन्दा ठूला रहेका र सत्ता सञ्चालनको अुभव पनि लिइसकेका एवं शान्ति प्रकृयामा उसका सहयोगी रहेका दलहरूलाई समेत पराजित गरेर बन्न पुगेको यो ठूल्याँइलाई उसले चिन्न सकेन । उसले हिजोको धाकधम्कि र ठुस्सिएर कुराहरू माग गर्ने खालको बिद्रोही दलको संक्रमणकालीन भूमिकाबाट बद्लिएको सन्दर्भमा पाएको जिम्मेवारीलाई या त बुझेन चाहेन वा बुझेन ।अत: आँफैले माग गरेको भनिएको संविधानसभा र त्यस्ले लेख्ने संविधानको महान अपेक्षालाई माओवादी स्वयं सम्मिलित बन्दै सत्ता भागबण्डाको झगडामा घटुवा गर्दिएको छ । ऊ जिम्मेवार छ र थियो भने , पदीय बाँडफाँडमा अलिकति ठूलो ह्रदय देखाउँदै कांग्रेस, एमाले र सकेसम्म अरू पनि ठुला साना दलहरूसंग सहकार्य गरेर राष्ट्रपति , सभामुख र सरकार गठनको प्रकृयामा परिपक्वता देखाउन सक्नु पर्थ्यो । यदि यो कुनै हालतमा सम्भव नबनेको स्थितिमा कमसेकम बामपन्थी एकताको दुहाइ दिएर भएपनि एमाले र अरू बामपन्थी दलहरूसंग संगै बढ्न सकेको भए जाती हुन्थ्यो । तर एमालेलाई अन्तिम समयमा धोका दिएर , उसले अत्यन्त अस्थिर र अविश्वासिलो राजनैतिक दलको रूपमा आँफूलाई स्थापित गर्‍यो ।


यी सबै घटनाक्रमहरूका बीच पनि , यो कुरा बुझ्नै पर्छ कि नेपाली राजनितिमा माओवादी, कांग्रेस, एमाले र तराईवादी पार्टीहरू मध्ये कुनै एकलाई पनि बाहिर राखेर सरकारको स्थिरता र नया संविधानको लेखन एवं अनुमोदन सम्भव नै छैन । यस्तोमा राष्ट्रपति उपराष्ट्रपतिको जीतहार क्षणिक रोमाञ्च र दीर्घकालीन अस्थिरताको कारक मात्र बन्न सक्छ किनभने नया संविधानको लेखन यो सभाको मुख्य एजेण्डा हो, जुन यी घटनाक्रम बीच तयति सम्भव देखिन्न ।जिम्मेवारीको कुरा गर्दा माओवादीले आँफू ठूलो दल बनेको चाल नै पाएन कि जस्तो देखिन्छ , तर अरू दलहरू पनि यसका हिस्सेदार भने पक्कै हुन नै । तैपनि ठूलो हुँदाका जिम्मेवारी चिन्नै नसक्नुमा माओवादीको बिद्रोह रोमाञ्च र कोरा क्रान्तिकारिता एवं राजनैतिक अपरिपक्वता अनि अनुभव शून्यता नै जिम्मेवार कारक रहेकोमा आशंका गर्नु पर्दैन ।

यस्तोमा , हेर्‍यो भने नेपाली राजनीतिलाई बाहिरियाहरूले ' राम राम भन्ने तर काँध थाप्न नसकिने' खालको मात्र देख्न सक्छन् ।