November 5, 2009

कामरेड !, के विदेशीकै ‘सहयोग’मा विदेशी हस्तक्षेप रोक्ने हो ?

त्यसो त देशमा अहिले अनेक आन्दोलन जारी छन । कहाँ, कस्ले, किन र कुन दिन, कसरी आन्दोलन गर्दैछन भन्ने वारेमा यकिन जानकारी त सायदै कसैसंग होला । विगतका दिनमा गाडिको ठक्करका विरुद्ध क्षतिपूर्ती पाउन आन्दोलन, ठक्कर हानेपछी क्षतिपूर्ती दिन नसक्नेको आन्दोलन र सधैकको यस्तै आन्दोलनबाट आजित भएकाहरुले आन्दोलन बन्द हुनपर्छ भनेर समेत आन्दोलन गरे ।

तर यो पोष्टमा चर्चा गरीन लागेको आन्दोलन भने कालो-झण्डा-तोडफोड हुँदैं अहिले चलेको नाचगान र ‘कब्जा’ आन्दोलनको हो ।

छोटो रुपमा केही समय अघिको नेपालको उतार चढाव हेर्ने हो भने, माओवादिको सरकार थियो, र देशका “खुख्खार” मानीएका नेता भएका दलहरु प्रतिपक्षमा । त्यसैबीच माओबादीको चरम महत्वाकांक्षा, अन्य दलको प्रतिपक्षमा बसेपछि सत्ताधारीको विरोध नै गर्नु पर्छ र सत्ताधारीलाई कुर्सिबाट खसाल्नु नै प्रतिपक्षको परम धर्म हो भन्ने पुरानो नीतिका कारण, अनि केही माओबादीका आफ्नै गल्ती, आफ्नो बारेमा रहेको ओभर ईष्टमेट र केही पर्दा पछाडिका अनेक तिकडमबाजी पछि माओबादी सरकारबाट निस्क्यो । पृष्ठभूमीमा जे जस्तो कुरा भए पनि र अगाडिका सोच जेसुकै रहेपनि आफ्नो स्थिती कमजोर देखिएपछि भएको माओबादीको बहिर्गमन भने पक्कै पनि नेपालको सन्दर्भमा एउटा राम्रै सुरुवात थियो ( नत्र अविश्वासको प्रस्ताब वा सांसद किनबेच नभै यस्ता परिवर्तन नेपालमा दुर्लभै थिए!)

सत्तामा छँदा जे जस्तो कुरा गरे पनि बाहिरिएपछि भने माओबादीले तीनका कुर्सी टुट्नुमा प्रतक्ष रुपमा विदेशी हात रहेको कुराको प्रचार प्रसार गरे ।

माओवादीको ‘सघर्षकाल’मा ( यसलाई उनीहरु जनयुद्धकाल भन्न रुचाउँछन—तर जताको मान्छे मरे पनि निमुखा नेपाली नै मरेका र त्यतिबेला र त्यो भन्दा धेरै देखी रजाँई गर्दै आएकासंग उनिहरुको आन्तरीक साँटगाँठ र लेनदेनका कारण कुनै पनि देश बेच्नेहरुलाई यो युद्धले केही असर नगरेकोले म यसलाई संघर्षकाल मात्रै भन्दै छु) उनीहरुको धेरै कुरासंग चित्त नबुझेपनि एउटा बिषयमा भने मलाई सधै माओवदीतर्फ आकर्षण रहेको थियो । उनीहरुका बोली, नारा र हौवा सुन्दा यस्तो लाग्थ्यो माओबादी भित्र एउटा ‘कट्टर राष्ट्रवाद’ छ ।

विस्तारै शान्ति सम्झ्यौताका नाममा सिट, अधिकार र शक्तिको बाँडफाड हुँदै गएपछि सो बिषयमा पनि उदांग हुँदै गयो । कामरेड प्रचण्डले पहिला ‘क्रमभंग’ गरेर चिनको भ्रमण गरेर तुरुन्तै फेरि सो भ्रमणलाई ‘खेलकुद भ्रमण’को संज्ञा दिने बित्तीक्कै धेरै कुरा खुलेका हुन ।

फेरि हालकै प्रसंगमा फर्कदाँ, माओवादिको सत्ता बहिर्गमनलाई सधैं विदेशिको दवाव र चलखेलको परिणाम बताईयो । अब, आफू पूर्ण शक्तिमा हुँदा र सत्तामा हुँदा नै यस्ता चलखेलको सामना गर्न नसकेर सत्ता बाहिरीनु पर्ने अबस्था थियो भने सत्ता बाहिर आएर कसरी सो चलखेल रोक्ने हो बुझी नसक्नुको थियो । जे होस माथी भने जस्तै सभासद किनबेच नगरी उनीहरु निक्ले जुन सकारात्मक भने थियो ।

त्यसपछि भयो दबाब, खिचातानी र आन्दोलनको सुरुवात ।

अब मुख्य बिषयमा प्रवेश गर्दा, माओबादीले देशमा चलीरहेको विदेशी चलखेललाई रोक्नु पर्ने मुद्दालाई मूल रुपमा उठाई रहेका थिए। हो, देशमा विदेशिको चलखेल रोक्ने कुरामा भने हामीले कुनै दल, व्यक्ति वा समुहको नामै नेहेरीकनै समर्थन गर्नुपर्छ जस्तो लाग्छ मलाई । निकै तयारी र तामझामका साथ आन्दोलनका खाका प्रकाशीत गरिए । हेलिकप्टर र प्लेन समेत चल्न नदिने गरी देश ठप्प पार्ने घोषणा भयो । त्यसबीचमा सरकार र जनताका तर्फबाट समेत आन्दोलन हैन वार्ताबाट समस्या सुल्झाउन आग्रह भएको धेरै खबरहरु आए । तर माओबादीले कतै कसैलाई टेर-पुच्छर लगाएनन ।

अचानक सुनियो, अघिल्लो हप्ता केही विदेशी महामहिमहरुसंग उनीहरुका कुरा भएछन । अनि खबर आयो “माओबादीले हवाई नाकाबन्दी फिर्ता लिए” । भाषामा विदेशीको आग्रह, आज्ञा वा आश्वासन जेसुकै भनिए पनि यो नाकाबन्दी रोकिनुमा खुल्ला रुपमा विदेशी शक्तिको हात रहेको कुरा प्रष्टै भयो ।

हुन त यो नाकाबन्दी फिर्ता हुनु नेपाली जनताको हिसाबले एकदमै स्वागतयोग्य कुरा हो । तर सत्तामा हुँदा विदेशीकै चलखेलबाट बाहिरिने र विपक्षमा हुँदा पनि उनकै ईशारमा नाच्ने प्रबृती बाँकी रहेसम्म केका आधारमा जनताले उनलाई सहयोग गर्ने हो ? । दक्षिणकाले हल्लाए हस्तक्षेप र उत्तर र पश्चिमकाले चलाए समझदारी वा सहयोगको नाम दिने हो भने भिन्दै कुरा हो। हैन भने कामरेड !, के विदेशीकै ‘सहयोग’मा विदेशी हस्तक्षेप रोक्ने हो त ?



गाऊँखाने कथा - ३२ (Nepali Gau Khane Katha)

 अपडेट: यस पटकको गाउंखाने कथामा अनुकराणत्मक शब्दहरको थुप्रो भएको ले उत्तर यो हो की त्यो
भन्ने निकै अन्यौल खडा गर्यो। यसो हेर्दा जांतो या मिल जस्तो लागे पनि सहि उत्तर भने लुगाको तान हो।
लुगाको तानमा घरी यताको काठ चलाइन्छ घरी उताको अनि बेला बेलामा धागो राख्ने काम गरिन्छ।
गाउंखाने उत्तरमा सहभागी सबैलाइ धन्यबाद। उत्तर मिलाउने पोस्तक जीलाइ हार्दीक बधाइ। पोस्तक जी
आफ्नो मन पर्ने गाउं माग्नुहोला।
------------------------------------------------------------------------------------------------------------------------
सँधै जसो सप्ताहान्तमा नेपाली लोक चलनमा चर्चित गाउँखाने कथा लिएर हाँजिर भएको छु।

खर्र वर खर्र पर, खर्र हा्ल्यो चारो, के हो?

यो गाउँखाने कथाको उत्तर पत्ता लगाएर गाऊँ माग्नुहोला। उत्तर जान्न गाह्रो परे अनुमान लगाएर भए पनि रमाईलो लिनुहोला। नेपाली भाषा र सामाजिक जीवनको मौलिकपन झल्काउने अन्य रमाईला सामग्री भए , प्रस्तुत गर्नुहोला।