March 8, 2010

बिहाबारी ४० वर्षपारि

लगनगाँठो कसूँला र ढुक्कले गृहस्थी जीवनमा बसूँला भन्ने विचारमा हुनुहुन्छ भने बेलैमा होसियार ! लगनपछिको पोते जसरी काम लाग्दैन, लगनअघिको फाइँफुइँ हतारो पनि बेकार हो । लगनगाँठो कस्नै छ भने ढुक्क हुनुस्, उमेरको ४० औँ फन्कोलाई छुनुस् । भोगेर पचाइसकेकाहरू बिहे गर्नुअघिको जोस बिहे गरिसकेपछिको होसमा पुगेर खर्ल्यामखुलुम् ढल्ने भएकाले चरैवेती चरैवेती अर्थात् बिस्तारै हिँड भन्छन् । तर उमेरको जोसमा केको बिस्तारै हिँड्ने कुराले टेरपुच्छर लाउला ? बिहेको लड्डु खाएर पनि पछुताउने नखाएर पनि पछुताउने खालको छ भने खाएरै पछुताऊँ भन्ने लागेर बुर्कुशी मारिहाल्न मन हुँदो हो धेरैलाई ।

तर पख्नुस् न, मन लाग्दैमा यहाँ के हुन्छ र ? पश्चिमका जर्ज बुस ठूलाबालाई इन्धन-सम्पदाले भरिपूर्ण र छिरिक्क तागत देखाउने देशहरूलाई आफ्नै मुठीमा किचिमिची पार्न मन लागेको थियो, उनी सफल भए ? उता जङ्गलको राज्यमा हङ्गामा मच्चाउने 'टाइगर'जस्तै डुक्रिएर आफ्नो जातीय हक खोज्न सिकारमा उत्रिने तमिल टाइगरका भिल्लुपिलाइ प्रभाकरण तमिल राज्यमा मस्तले राज गर्न चाहन्थे, उनी सफल भए ? त्यसैले मन हुँदैमा बिहे हुँदैन, बिहे हुने बेला हुन्जेल उमेर रहँदैन । जे जस्तो भए पनि नहुनु मामाभन्दा कानो मामा सही भने झैँ बिहे नै नहुनुभन्दा अधबैँसे उमेरमै भए पनि बैँसको रौनक बटुल्नु वेश हो ।

बिहेको कुरा गर्दा विवशताको कुरालाई छुटाउन मिल्दैन । विवशतालाई बिहेबारी र घरपरिवारको साक्खै दाजु भने हुन्छ । जुनसुकै कुरा विवशताको सामु पर्दा आदरभाव, डरले गर्दा लुचुक्क हुन्छन् । युवायुवतीलाई रहरलाग्दो कुतकुतीले पिरोल्ने बिहेको चक्कर ४० वर्षो अर्धबुढ्यौलीमा ठक्कर खानपुग्नुमा यही विवशताको हात बढी छ । अनेकौँ  घिसापटानमा बाँधिएको-तानिएको अबका मान्छेले भरिभराउँदो उमेरमै बिहे गर्नु सपनामा पनि नचिताए हुने स्थिति छ ।

मेसिनरी जिन्दगीमा दशतिरको तानातानीले बिहेको कुरा त परै जाओस्, आफू जिएको कुरा नै सम्झिन मुश्किल हुन्छ । मकै-भटमास मात्र पाइने देशमा गिजा मात्र खसरखसर रगड्ने थोते बूढाबूढी भर्खर बसाइ सरेर पुगे जस्तो 'न त गरिखानु ल त मरिजानु'को हत्तेमा जिन्दगी रुमलिन्छ । त्यस्तो च्यापाच्यापमा बिहे त कुन चरीको नाम ?

पढाइ पूरा गर, अझै माथिको इज्जतदार डिग्री र पुच्छर हासिल गर, जागिरको लागि आवेदन देऊ, केही हुन्छ कि भनी पर्ख, यता खुसामद गर उता रिझाऊ, गाउँको खेत बेचेर सहरमा एक टुक्रो घडेरी किन, त्यो सस्तोमा किनेको टुक्रोको दाम बढेपछि त्यो बेचेर अर्को जगेडा घडेरीमा पैसा फालिराख्ने जुक्ति गर । एवम् रीत चल्दै गर्छ । व्यापार-व्यवसाय गरिरहेको हो भने अर्कोको व्यवसायमा केही समय बिताऊ, केही समय त 'अनुभव' हासिल गर्नमै लागिहाल्छ, अरु थप योग्यता हासिल गर्न थप समय लगाऊ, त्यो सिकेको कुराले आफ्नो छुट्टै व्यवसाय चलाउन सक्छु भनेपछि त्यहाँबाट टाप कस । टाप कसेर आफ्नो उद्यम सुरू गरेर मात्र भएन, पहिले आफू अरूकोमा काम गरे जस्तै आफ्नोमा अरू कर्मचारी र कामदार राखेपछि रेखदेख गर, हिसाबकिताब मिलाऊ । आदि क्रमले बुढ्यौलीको घनघोर बहार आउन कुन आइतबारको कुरो भयो र ?