August 17, 2009

शान्तिगीत

व्यक्ति मात्र हैन यहाँ समाज र देश रोयो
युग बित्यो तर सदा दूर्भाग्यको राज भयो
समृद्दिको फल टिपी, बाँकि संसार पर पुग्दा
हालत हाम्रो निरिहता दु:ख पीडा भोग्दा भोग्दा।


सतहमा बग्दै जाँदा, चिप्लेँटीको धरापमा
अल्झिएर झर्दै जाँदा, निरन्तरको सरापमा
कैद बन्यो देश कस्तो, हारेको यो जीवन जस्तो
थितिबिति खोसिएको, कठै हाम्रो भाग्य कस्तो !


विनाशको एकलासे ध्येय बन्यो हाम्रो बाटो
बिग्रह र चित्कार नै व्यक्तित्वको अर्को पाटो
आक्रोशको आगो बाली दन्काउँदै आफ्नो मन
घृणा अनि हूंकारको झोला बन्यो हाम्रो तन ।


सलहको बथान बनी, सभ्यताको खेतबारी
जरैदेखि ठुट्याएर, खाइरा’छौँ कठैबरि
सन्त्रासको कोलाहल, दश दिशा तलमाथि
लखेट्दैछन् आँफ्नैहरू , संगै खेल्ने संगीसाथी ।


कर्म बन्यो हिंसा हाम्रो, आह्रिस आफ्नो पहिचान
मुक्ति खोज्यौँ , तर रोज्यौँ निरन्तरको घमासान
मान्छे हुन्न दुष्ट कोही , प्रवृत्तिलाई चिन्ने गरौँ
विचार अनि भावनामा समष्टिको जलप भरौँ।


स्वार्थ अनि बेइमानीको रोग व्याधी हटाएर
झूट, लूट, फूट, दम्भ बर्खे भेलमा बगाएर
सौम्यपन र स्निग्धता रोप्नुपर्छ वागभरि
ढिलो हुन्छ , समयले पर्खिँदैन केही गरी।


आँफै शत्रू जन्माएर आफ्नै बीचमा लड्नुहुन्न
मान्छे भर्‍याङ् बनाएर , स्वार्थनिम्ति चढ्नुहुन्न
सदावहार हुण्डरीको कति लड्ने मल्लयुद्ध ?
आऊ खोजौँ शान्ति अनि समृद्धिको एउटा बुद्ध।