October 27, 2009

ईन्टरनेट चलाऔं, दिमाग बढाऔं !!!

netmania केही समय अगाडि दौँतरीमै शुन्य समयजीले इन्टरनेट एडिक्टेडहरुलाई बिजुलिको झट्का दिएर उपचार गरिने कुरा लेख्‍नु भएको थियो । त्यसको केही समय पछि, सुरुमा रहर अनि आदत हुँदै नशाको रुप लिने ईन्टरनेट प्रयोगी (रोगी?) कालागि अमेरिकाको सिएटल र चिनका केही स्थानमा इन्टरनेटको लत छुटाउने पुनर्वास केद्रको समेत शुरूआत भैसकेको कुरा यस्तै पत्र-पत्रिकामा पढेको थिएँ।

अनलाईन च्याट, सोशियल नेटवर्किंग र यस्तै अन्य अनलाईन गतिविधिको नशा चुरोट, सुर्ती र रक्सी जस्तै बन्न थालेपछि यस्तै र अन्य यस्तै खालका समाचारका आधारमा, यो पुरै अन्तरजालोलाई तपाई पनि खराब मान्ने सुरमा हुनुहुन्छ भने एकैछिन पर्खनुस !।

भर्खरै सार्वजनिक गरिएका एउटा सोधका तथ्याङ्कले ईन्टरनेटका केही अपत्यारिला गुणहरु प्रकाशमा ल्याएको छ ।

युनिभर्सिटी अफ क्यालीफोर्नीयामा प्रोफेसर गेरि स्मलको टिमले गरेको अनुसन्धान अनुसार इन्टरनेटले शिथिल दिमागको लागि ‘टनिक’ को काम गर्छ । उनले ५५ देखि ७८ बर्ष उमेर समुहका महीला तथा पुरुषमा गरेको अध्ययनले सो कुराको पुष्टी भएको छ ।

अध्ययनमा सहभागी गराईएका व्यक्तिहरु मध्य आधालाई सामान्य दैनिक कार्य जे जस्तो गर्दै आएका थिए त्यत्तिकै छाडेको र आधालाई भने १५ दिनसम्म हरेक दिन एक घन्टा इन्टरनेट चलाउन लगाईयो । यो प्रयोग सुरु गर्नु भन्दा अगाडि सबै सहभागीको ब्रेन स्क्यान (functional magnetic resonance imaging) गरीएको थियो र पन्ध्र दिनपछि पून: सबैको ब्रेन स्क्यान गरेर हेर्दा, ईन्टरनेट चलाउनेहरुको दिमागको त्यो भाग जसले स्मरण गर्ने, सूचना संग्रह गर्ने र भाषाको ज्ञान राख्‍ने गर्छ, त्यो पहिला भन्दा बढि सक्रिय भएको पाईयो ।

ईन्टरनेटको प्रयोगले स्मरण शक्तिमा सुधार आउने र भुलने रोगबाट समेत छुटकारा दिलाउने बताईएको छ । जे होस जवानीमा नशा नै भएपनि उमेर ढल्केपछि भने दिनमा १ घन्टा इन्टरनेट चलाउनु लाभदायकै रहेछ कसो ?

(समाचार स्रोत: पत्र-पत्रिका र ईन्टरनेट)