September 13, 2009

गजल

दह्रो छैन भन्छन् चिप्लेला पाउ हजुरको
हार्दा'नि जित हुने हुन त दाउ हजुरको ।

वहाबको धार बुझी खियाउनु आफैँ अब
अरुको भर पर्दा डुब्ला नि नाउ हजुरको ।


अकथा

दुई वर्षअघि:
ऊ नेपालमै थियो। सहरको कुनै साइबर क्याफेबाट दिनको समयमा विदेशिएको साथीसँगै कुरा गर्दै थियो:
ऊ:         के छ, मस्ती होला नि तेरो त ?
उताबाट: मस्ती कि सास्ती ?
ऊ:         विदेश गएपछि के को सास्ती ?, सास्ती त हामी यहाँ बस्नेलाई पो हुन्छ !
उताबाट: हैन त्यस्तो हैन..., यहाँ पनि समस्या उही हो… ।
ऊ:         अनि कमाइ कति हुन्छ त ?
उताबाट:  ......., …
ऊ:          ...ओहो !..... त्यसो भए त मलाई पनि बोलाऊ न हो !...
उताबाट:  ...हैन कुरा त्यस्तो हैन ..., .... ....
नेपालमा अचानक बत्ती निभ्छ र  इन्टरनेट डिस्कनेक्ट हुन्छ । उताबाट लेखिएको सबै मेसेज उसले पढ्न सक्दैन ।


खुल्ला आकाश

  • यात्री शेखर
खुल्ला आकाश जूनतारा, गीतको लागि भाका होला ।
लाली गुराँस फुलिरहने, नवै रंगका पाखा होला ।

प्रकृतिको सिर्जनामा, सबै दङ्ग मख्ख पर्छन् ,
प्रकृतिकै उपहार हाम्ले साथ पा'का होला ।