September 1, 2009

दुनियाँ हल्लाउन खोज्दा

केहि दिन अघि पढेको ठरकिजीको दुई लाइनले गजबसंग मनमा प्रभाव पारेको थियो । अनि एकलव्यजीले टांसेको स्कोलार ट्याक्सी ड्राइभर डा. काइको ब्लगले (http://www.dautari.org/2009/08/blog-post_29.html) पनि मथिंगल खल्बल्याइरहेको थियो । यसै मेसोमा आज आफ्नो काम गर्ने अड्डामा पनि सानो तिनो बोतल सकाउने कार्यक्रम थियो र बोतलसंगै ठरकिजीको दुइ लाइन सम्झे :

साहस भने तिमी यो दुनियाँ हल्लाएर हेर ,
हैन भने एक बोतल रित्याएर, दुनीयाँ हल्लीएको हेर

बोतलहरु सकिए तर मेरो दुनिया हल्लाउने र हल्लिएको हेर्ने प्रयास यसरी सकियो :

दुनियाँ हल्लाउन सके,
दुनियाँ हल्लिएको नै देखें,

दुई तीन बोतल सिध्याएपछि अरुलाई हल्लाउने त कुरै छाडौं,
फगत आंफै हल्लिन थालें ।

संभवत नेपाली या भारतियहरुले जस्तै चाइनिजहरुले कम्पलेन (वा शिकायत) गर्ने गर्दैनन र पृष्ठभुमीका धेरै कुराहरु बाहिर आउने गर्दैनन । त्यसैले किन र कसरी डा. काइ मिङले आफ्नो कामबाट हात धुनु पर्यो भन्ने कुराहरु धेरैलाई थाहा हुन सक्दैन ।

संगै काम गर्ने २-३ जना चिनिया मित्रहरुसंग बोतल शुरु भए पछि यस विषयमा कुरा भयो । उनिहरुलाई यसबारेमा धेरै थाहा रहेछ , किनकि उनको विषयमा चिनिया ब्लग र समाचारहरुमा समेत प्रशस्त चर्चा रहेछ ।

सिंगापुरको मोलेकुलर बायोलोजी सम्वन्धी संस्थाहरुमा केहि वर्षदेखि पश्चिमा (अंग्रेजी मातृभाषा भएकाहरु) लाई धमाधम जागिर दिइएको रहेछ । अंग्रेजी मातृभाषा भएकाहरुको लेख र प्रकाशनको रेकर्ड अरुको भन्दा कैयौं गुणा बढि छ यो धेरैले मानि आएको र जग जाहेर कुरो हो । किनकि तपाईको लेखन शैली भड्काउ अर्थात “ग्ल्यामरस” छैन भने अचेल साइन्टिफिक जर्नलहरुले समेत तपाइका लेखहरु पहिलो पटकमै रिजेक्ट गरिदिन्छन । मेरो आफ्नै फिल्डमा पनि देखेको कुरा हो नेचर र साइन्सहरु समेत “इम्प्याक्ट राख्ने लेखको” बहानामा भारतीय न्युज च्यानल "आजतक" र "एनडिटीभी"को स्तरमा ओर्लन्छन भने “अनुसन्धान” भन्ने विषय पनि “ग्ल्यामर” को दुनियासंग दाज्न मिल्ने भइसकेको छ । हैन भने नेचर र साइन्सका प्रकाशनहरुमा किन अमेरिकि र बेलायतिहरुको वर्चस्व हुन्छ ?

साइन्स र नेचरले छापेका प्रोपागाण्डा आर्टिकलहरुको थुप्रो मैले पनि उदाहरणको रुपमा देखाउन सक्छु ।

हो चिनिया मित्रले प्रा. डा. काइ मिङको विषयमा त्यहि भने । उनी एउटा सफल वैज्ञानिक रहेछन र उनको सिंगापुरको हिसाबले वार्षिक औसत रुपमा वैज्ञानिक अनुसन्धानका लेखहरु प्रकाशित हुंदारहेछन । तर पश्चिमी “बोस”हरुको प्रवेश पछि पहिले देखि काम गर्दै आएकाहरुको जागिर खोसिने क्रम शुरु भएछ । त्यसै क्रममा प्रा. डा. काइभन्दा अगाडि पनि धेरै जनाको जागिर खोसिइसकेको रहेछ त्यसैले उनिहरु चिन वा अन्य देशतर्फ लागेका रहेछन । तर डा. काइका बच्चाहरु सिंगापुरको स्कुलमै पढ्ने भएका कारण उनी सिंगापुर छोड्न नसक्ने वाध्यात्मक परिस्थितिमा रहेछन । त्यसैले अन्तिम बिकल्पका रुपमा ट्याक्सी चलाउन लागेका रहेछन ।

अहिले सिंगापुरका अन्य रिसर्च संस्थाहरुमा पनि त्यहि हाल देख्न सकिन्छ । यसलाई “कन्सपिरेसी थ्योरीका” रुपमा लिनुस वा “प्रतिस्पर्धा”मा फेल भएको हिसाबले लिनुस वा सिंगापुर सरकारको “फितलो भिजन”का रुपमा लिनुस तर विज्ञान यहां असफल भएको छ । दर्जनौं अनुसन्धानका लेखहरुले अरुलाई बाटो देखाउने वैज्ञानिक आज आंफै बाटो बिराएर बांच्ने बाटो खोज्दैछ , के यो बिडम्वना हैन ?

बेलायतमा कुनैबेला एनएचएसका मेनेजर भएर बसेका एक जना नेपाली भलाद्मी दाइ हुनुहुन्छ, उहांले ५५ वर्षको उमेरमा अथाह बायो डाटा र एप्पलिकेसन फाल्दै “निर्वाणा”को जीवन बिताइरहेको पनि नजीकबाट देखेको छु । मैले देखेको र बुझेको कुरा धेरै देशका आप्रवासीहरुको लागि पश्चिमा देशहरुमा उनिहरुको छालाको रंग र मातृभाषाको एक्सेन्टले एउटा हैन धेरै पुस्तासम्म पक्कै पनि पीडा दिइरहनेछ ।

एकजना विद्वानको भनाइ थियो :

"In a lot of the research institutes now, performance is assessed a huge part by how much intellectual property churned out, as well as how much industry dollars brought in." यो भनाइलाई वैज्ञानिक साम्राज्यबादको रुपमा लिनुस या व्यापार तर नियत छर्लङ छ ।

सिंगापुर मात्रै हैन मलेशियादेखि मध्य एशियाका स्कुल युनिभर्सिटिहरु पनि अंग्रेजी भाषाका आयातित “गुरु”हरुका लागि सुम्पिएका छन । हुन नेपाली पनि विर्सेर पुरानै युगतिर फर्किन थालेको नेपाली समाजमा यस्ता कुराले अर्थ नराख्लान तर दुनियाँको अगाडि आफ्नो पनि अस्तित्व भनेर केहि गर्न खोज्ने नेपाल या चिन या अन्य एशिया देखि अफ्रिकासम्मका मान्छेहरुका लागि अंग्रेजी भाषाको दासत्व आफ्नै भूमीमा समेत लोप्पा ख्वाउन पछि पर्दैन भन्ने कुरा हेर्न डा. काईकै उदाहरण काफी नेपालीहरु नाक, रौं र आंफैले नजान्ने “मातृभाषा”को विवादमा रुमल्लिएको बेला "मेरो सहानुभुति र प्रोफेशनल भातृत्व" नेपाल भन्दा धेरै टाढासम्म फैलिएर डा. काइ मिङसंगै रहनेछ ।

यो विषयमा धेरै कुरा लेख्न मन थियो तर कति शब्द वा भावहरु अपाच्य हुन सक्लान भनेर आफ्नो कलमलाई थांती राख्नमै उचित ठाने र दुनिया हल्लिएको हेर्ने चक्करमा आंफै हल्लिन थाले । बांकी हल्लिन छाडे पछि भोलि तपाइहरुसंगको भेटमा !