June 14, 2009

तरुणी रात निरश बैँश

आचार्य प्रभा
(अमेरिका )
हरेक तरुणी रात उस्का आँखाहरुमा
इन्द्रेणी सपना बुनेर आउँदथे ,
त र अफसोच !उसको निरश बैँशले
त्यो इन्द्रेणी रङ्लाई केवल .......,
काल रात्री मात्र देख्दथ्यो ,
ती ..... कालरात्री प्रहरहरुले
उस्का तरुणी रातहरुलाई
निमोठ्दथ्यो,कुल्चन्थ्यो
ऊ निरीह बनेर मौन हुन्थी /
उस्का निर्धा पलहरुले
उस्लाई सुम्सुम्याउथे, माया गर्थे

त र त्यो त केवल उसकोलागी भ्रम मात्र हुन्थ्यो ,
ती निर्धा पलहरुले
न त उस्को चित्कार सुनेर
उस्लाई अङालोको स्पर्श दिन्थ्यो
न त उस्लाई एकान्तिकाको
मीठास नै दिन्थ्यो ,
बस... ऊ त निर्जन ठाउँको
एक्लो यात्री बन्दथी/
उस्का तरुणी रातहरुले उस्लाई
गिज्याउदथ्यो,धिक्कार्दथ्यो ,
उस्को निरश बैँशको खिल्ली उडाउदथ्यो
त र पनि ऊ मौन बन्दथी ,
निरीह बन्दथी,
किन नि ऊ बेसाहारा थिइ
निश्छल,निष्कपट अनी निमुखा थिइ
आखिर त्यो समयकी ऊ दासी थिइ /