October 29, 2008

नया नेपाल: जता बामदेव, उतै स्वाहा:

माओवादी छापामारहरूलाई राष्ट्रिय सेनामा समायोजन गर्न भनी धेरै माथापच्ची गरेपछि हिजो मात्र क्याबिनेटले एउटा विशेष समिति बनायो । तर , यसको गठनले समायोजनलाई समाधान तिर लाने कुरा भन्दा , कसरी माओवादीको अनुकूलताका लागि समिति बनाउने भन्ने कुरालाई बढी महत्व दिएको देखिन्छ । यसका कारणहरू निम्न छन्:

(१) कांग्रेस, एमालेको झलनाथ-बामदेव बाहेकको हिजो सम्मको संस्थापन पक्ष र अधिकांश अन्य दलहरूको मत थियो , समायोजन समितिको नेतृत्व माओवादीलाई दिइनु हुन्न । तर माओवादीले यो कुरालई माने झेँ गरी अरूलाई थाङ्नामा सुताउने चलाखी देखायो । माओवादीले नेतृत्व एमालेलाई दिए झैँ गरी , एमालेबाट सरकारका गृहमन्त्री रहेका बामदेवलाई यसको संयोजक तोकेर आफ्नै पक्षमा भरोसा लाग्दा खेलाडीको चयन गरेको छ । यसो गर्दा माओवादी नेतृत्वले एमालेका झलनाथ र बामदेव सम्मलाई विश्वासमा लिएको देखिन्छ भने यो कुराको बारेमा अन्यहरू नदारद नै रेहको पाइन्छ । यो कुराको छनक एमाले नेता के पी ओलीले आँफ्नो पार्टीलाई विशेष समिति मान्य नभएको बताएर सार्वजनिक पनि गरिसकेका छन् । वास्तवमा बामदेव गौतम स्वयं अत्यन्त ढुलमुले र अवसरवादी खालका छन् ।

कुनै समय संसदवादीहरूलाई बोकाको टाउको राखेर कुकुरको मासु बेच्नेहरू भन्ने बामदेव संसदवादी र सामन्तवादीहरूलाई एउटै खाल्डोमा पुर्नु पर्ने क्रान्तिकारी कुरा गर्थे भने अर्को पटक माओवादीलाई निमिट्यान्न पार्न सेनालई पूर्ण अधिकार दिँदै आतंककारी बिरोधी कडा कानूनको अपरिहार्यता देख्थे । आक्रोस र झोँक चलेका बेला पार्टी नै फुटालेर हिँड्ने नेता बामदेवले जब एमाले फुटालेर माले बनाए अनि केही समय पछि फेरि एमालेमा फर्के त्यतिबेला सम्म अधिकांस उनका अनुयायी माओवादीमा बिलीन भैसकेका थिए । जब, संविधानसभाको चुनावको चर्चा उत्कर्षमा थियो , बामदेवको माओवादीमा प्रवेश हुने हल्ला पनि उच्च थियो । तर उनी माओवादीमा पसेनन् बरू माओवादीकी एउटी सामान्य महिला प्रतिस्पर्धीसंग नराम्रो रूपमा पराजित हुन पुगे । तर यो पराजयले उनलाई त्यो कुरा दियो , जुन उनले जितेका भए पनि प्राप्त गर्न सक्दैनथे । उनी मन्त्रीमण्डलमा प्रधानमन्त्री पछिका दोस्रो नेता बन्न पुगे । उनी कति प्रभावशाली छन् भने स्वयं माओवादी नेता प्रम प्रचण्ड समेत मुलुकका विषयमा बाबुराममा भन्दा बामदेवमा भर पर्ने गरेका छन् रे ! अघिल्लो अंकको नेपाल साप्ताहिकले लेखेको छ प्रचण्डका भित्रियाको रूपमा बामदेवले नै मुलुक चलाउने काम गरिरहेका छन् भन्ने कुरा लेखिदिएको छ । यता बामदेव भने , एमालेमा आफ्नो स्थिति कमजोड रहेको बुझेका कारण पनि तलबितल परेमा माओवादीमा जम्प लगाउन तम्तयार नै छन् , यस्तोमा सेना समायोजनको नेतृत्व गरेर प्रचण्डलाई गुन लगाउन सकेमा बामदेवको स्थिति माओवादीमा पनि दह्रो हुनेछ भन्ने कुरामा द्विविधा पनि रहेन ।

(२) गठित विशेष समितिमा माओवादीका दुईजना मन्त्री हुनेछन् अनि स्वभाव, व्यवहार र सदासयताले माओवादीको पक्षमा देखिने गरेका बामदेव यसको संयोजक छन् । बाँकि २ वटा कोटा क्रमश: फोरम र कांग्रेसका लागि छुट्याइएको छ । अब यस्तो समितिमा बहुमत वा सर्वसम्मत कुन खालको निर्णयले काम गर्ने होला प्रष्ट भैसकेको छैन । यदी सर्वसम्मतिको खोजी हुने हो भने त, ढिलो भए पनि निचोड केही अर्थमा राम्रो हुन सक्ला यदि त्यसो भएन र बहुमतीय शैलिमा अघि बढ्यो भने त , जता बामदेव उतै स्वाहा: हुने परिबन्द पक्का छ । जसले जे भनोस् , यही समिति कायम रहने हो भने सेना समायोजनको कुंजी बामदेवको हातमा परेको भने साँचो हो ।

(३) अब बाँकि हेर्न लायक कुरा एउटै छ , यति बिघ्न प्रभावशाली बन्न पुग्नु भएका बामदेव गौतमले कस्तो जिम्मेवारी निभाउनु होला ! माओवादी नेतृत्वको सरकार गठन भएपछि , केवल बामदेव चर्चामा हुनुहुन्छ । किनभने वहाँले नाङ्गा नाच देखाउने नाइटबारहरूलाई कोदाली प्रहार गर्दिनुभो अनि फुटपाथे पसलवालाहरूलाई पनि सामन्तवादीले झैँ उठिवास गराइदिनुभो । बामदेवमा साक्षात कामदेवमा जस्तो आभा छ र वहाँले तिर छोड्दा हिजो पनि मान्छे हायल कायल भएकै हुन् । हिजो सरकार गिराउने प्रपञ्च गर्नेहरूलाई सुरा सुन्दरीमा मोहनी लगाउने कुरादेखि बैंककको यौन पर्यटनको स्वाद चखाउने सयर गराउँदै वशिभुत पार्ने खेलो होस् वा स्थानीय निर्वाचनमा सारा बिरोधीको पत्तासाफ गर्ने स्ट्राटेजी अवलम्बनमा होस् बामदेव अब्बल हुनूहुन्छ । वहाँको नाम प्रकाश टिवडेवाल र प्रतितपत्र घोटालाका कर्ताधर्तासंग मिल्न पुग्छ भने भ्रष्टाचारी नम्बर एकको खिताबमा पनि दर्ज हुन पुग्छ ( प्रदिप नेपालजीले टुँडिखेलमा सार्वजनिक गर्नभएको सूचिबाट साभार )। वहाँको नाम राजाको प्रियपात्र बनेको कुरादेखि माओवादीको भित्रीया बनेकोसम्म कुरामा जोडिएर उच्चरित हुन आइपुग्छ । वहाँ अकर्मण्य सरकारका एक मात्र कर्मशिल उप प्रधानमन्त्री त हुँदै हो , अब वहाँ सेना समायोजन विशेष समितिको संयोजक बनेर माओवादी छापामार र माओवादीको खाँतिरदारी गर्ने बामपन्थीदेव बन्नु हुने हो कि , यो कुरामा सन्तुलनको भूमिका निभाएर समायोजनको पेचिलो विषयलाई निष्कर्षमा लैजाने नेपालदेव बन्नु हुने हो हेरौँ । हेरौँ, दुईटा लाडाकु माओवादी मन्त्रीहरू र दुईटा गैरमाओवादी सदस्यको बीचमा बामदेवको भूमिका कसरी जम्ने हो । जे होस् अहिलेलाई जता जता बामदेव उतै उतै स्वाहा: हुने छाँट भने पक्कै देखियो ।