November 23, 2009

ब्लग गफ दिनेश राज ज्ञवाली संग

Dinesh Raj Gyawaliदौँतरी साझा ब्लग भएकोले अन्य ब्लगरहरुको वा समष्टिमा नेपाली ब्लग जगतको उत्थान नै दौँतरीको पनि सफलता हो । यसै प्रसंगमा, संसारभर छरिएर रहेका नेपाली ब्लगरहरुसंग भलाकुसारी गर्ने क्रममा यसपाला निम्त्याएका छौं केही बर्ष देखी जापानमा आफ्नै व्यबसाय गर्दै रहनु भएका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरका अध्यक्ष यबं अनेसासको मुखपत्र “अन्तर्दृष्टि”को सम्पादक मण्डलीमा समेत रही नेपाली भाषा-सहित्य र कलाको लागि योगदान गर्दै आउनु भएका ब्लगर श्री दिनेश राज ज्ञवाली जी लाई ।

अब लागौं वहाँसंगको ईमेल संबाद तर्फ:

ब्लग खोल्ने बिचार कसरी आयो, ब्लग सुरु गरेपछिको तितो मीठो अनुभवहरु सुनाउनुस न ?
पहिला रचनाहरु कोर्दा कपि या नोटबुकमा कोरिन्थ्यो तर तिनीहरुलाई जतन गरेर राख्न नसकिने भएकोले धेरै रचनाहरु हराए , अनि रचनाहरु २-४ जना साथिभाइ हरुलाई सुनाएर सहि कमेण्ट पनि नआउने ,आफूले सुध्रिनु पर्ने ठाउँहरु पनि पत्ता नलाग्ने ,रचनाहरु पुस्तक को रुपमा प्रकाशन गरेपनि सबै ठाउँ ,क्षेत्रका पाठकहरु सम्म पुर्याउन नसकिने आदि दुर्गुणहरु हटाउनको लागि उपयुक्त माध्यम भनेको ब्लग जस्तो लागेर ब्लग लेखन आरम्भ गरेको हुँ ।

मलाई कम्प्युटरमा सामान्य ज्ञान मात्र भएको हुनाले रचना पोष्ट गर्ने कुरादेखिनै समस्या परेको थियो । तर त्यतिबेला ब्लग चलाइरहनु भएका बसन्त गौतम लगायतका साथिहरु सँग सोधपुछ गरेको थिएँ । अझै पनि समस्या परेको कुराहरु अनि थप नयाँ जानकारीहरु ब्लगर मित्रहरुलाई सोध्ने, अनि कम्प्युटरको क्षेत्रमा दक्ष ब्लगर साथिहरुको टाँसोहरु पढ्ने गर्दै बामे सर्ने कोशिस गर्दैछु ।

गजलले ब्लगर बनाएको हो कि ब्लगले गजलकार बनाएको हो ?

गजल म पहिला पनि कोर्थें, तर ब्लग सुरु गरेपछि केहि हद सम्म लेख्ने क्रम र निरन्तरता बढेको छ । अन्य ब्लगर मित्रहरुको सुझाबहरु अनि अलिकति प्रतिस्पर्धाको रहरले पनि मलाई समय मिलेसम्म गजल कोर्न अभिप्रेरित गरिरहेको जस्तो लाग्छ त्यसैले अहिले सोच्दा गजल ले ब्लग बनायो अनि ब्लगले गजललाई निरन्तरता दियो ।
गजल सुरा र सुन्दरीमा मात्रै बढी जम्छन कि अन्य विषयमा पनि लेख्न सकिन्छ ?

गजलको परिभाषामा सबैभन्दा बढी मतैक्यता भएको प्रेमालाप भन्ने अर्थलाई आधार मान्ने हो भने गजल प्रेमीप्रेमीका बिचको सम्बाद बाट शुरु भयो तर बिभिन्न समयहरुमा यस्ले आफ्नो क्षेत्रलाई फराकिलो पार्दै लगेको छ । अहिले देखिइरहेका गजलहरु पनि एउटै बिषयमा मात्र सिमित छैनन् ।हिन्दी र उर्दूमा केहि सुरा र सुन्दरी सम्बन्धि गजल राम्रा छन प्रख्यात भएका छन त्यसैले हामीलाई त्यस्तो लागेको मात्र हो । नेपाली गजलको कुरा गर्ने हो भने यो भन्दा बाहिरी बिषयमा धेरै गजल लेखिएका छन् जस्तो लाग्छ ।

• “बिदाइ को घडा राखेको प्रहर याद आयो । दुनियाँ देखेपछी बल्ल घर याद आयो । यो तपाईकै गजलको एउटा सेर हो । के घरको न्यानोपन घर छोडेपछि मात्रै बोध हुने नै हो त ?

घर हुँदा घरको माया पटक्कै नहुने या माया बोध नहुने भन्ने होइन, आफूसँग साथमा छ भने महत्व कति छ भनेर कसैले पनि सोचेका हुदैनन्। जब घरबाट टाढिइन्छ अनि महत्वको बारेमा बढि सोच्छन् त्यसैकारणले घर छोड्दा घरको, देश छोड्दा देशको बढि माया बोध गरिन्छ ।

नेपाली गजललाई बेला बेलामा खहरे र मौसमी बाढीको पनि नाम दिईन्छ, तपाईलाई कस्तो लाग्छ ?
गजलको बिशेषता भन्नु पर्छ यसले धेरैको मन आफूतिर आकर्षित गर्न सफल भएको छ। धेरै लेखिनु नराम्रो हो र ? धेरै मध्ये बाट पाठकहरुले राम्रो छान्न पाउनु भएको छ बिस्तार नराम्रो आफैं हट्दै जान्छन । राम्रा गजलहरु बाकी रहन्छन् । नेपाली साहित्यमा धेरै पछि मात्र छिरेको बिधाले धेरैको मन जित्नुनै ठूलो कुरा हो ।

गजल बनेपछि लेख्नु हुन्छ कि, लेखेर बनाउनु हुन्छ ?

त्यो दुईवटानै बिधि अपनाउँछु जस्तो लाग्छ । कहिले काहि लेख्छु भनेर पनि लेखेको पनि छु कहिले काहिँ सेरहरु तयार भएपछि लेख्न पनि बसेको छु । लेख्न बस्नु भन्दा पहिला मतलाको चाहि स्वरुप तयार गरिसकेको हुन्छु ।

विदेशमा बसेपछि नेपाल र नेपाली भाषामा बढि लगाव हुन्छ भन्छन के साँच्चै यस्तै हो त?

बिदेशमा अरुनै भाषाहरु बोल्नु पर्ने पढ्नु पर्ने बाध्यता भएकोले आफ्नो भाषा प्रति मोह पलाउनु स्वभाबिक नै हो। बिदेशमा थोरै मात्र नेपालीहरु भएकोले एकआपसमा भेट भएर आफ्नो भाषामा कुरा मात्र गर्न पनि रहर हुने भएकोले त्यस्तो देखिएको होला । मलाई लाग्दैन कि देशमा बस्नेको चाहि आफ्नो भाषाप्रति थोरै लगाव हुन्छ ।

१० बर्ष पछिको नेपालको बारेमा कस्तो कल्पना गर्नु हुन्छ ?

४६ बाट ५६ र ५६ बाट ६६ लाई फर्केर हेर्ने हो भने अबको दश बर्षमा केहि बिशेष होला जस्तो त लाग्दैन तर देशले राजनीतिक निकास पाउने हो भने दश वर्षमा धेरै परिवर्तन हुनसक्छ त्यसैले सकारात्मक आशा गरौं ।

आफ्नो र दौँतरी बाहेक तपाईलाई मन पर्ने अन्य ब्लगहरु कुन कुन होलान ?
प्राय सबै ब्लगहरु मलाई मन पर्छन । यो र त्यो मात्र छैनन्। सबैको आफ्नो आफ्नो छुट्टाछुट्टै बिशेषता भएकोले पनि त्यसरी छुट्याउन या तुलना गर्न सक्दिन ।

मन छुने गजलहरु लेख्नुहुन्छ, गजलकै कारणबाट कसैको मन त चोर्नु भाको छैन ?

त्यो आरोप अहिले सम्म लागेको छैन ,प्रतीक्षामा छु हा हा हा...।

नेपाली पत्रिका र ब्लग मध्य कुनलाई बढी विश्वास गर्नु हुन्छ ?
दुबैका राम्रा र नराम्रा पक्षहरु छन् । सहि हो कि हैन भन्ने यकिन भएपछि मात्र बिश्वास पलाउने हो । धेरै हदसम्म दुबैलाई बिश्वास गरिन्छ अनि केहि हदसम्म अबिश्वास पनि । समष्टिमा तुलना गर्नु भन्दा पनि पत्रिका मध्ये र ब्लग मध्ये भनेर छुट्याउँछौ होला हामी सबैले ।

दौँतरीलाई रोचक र राम्रो बनाउन के के गर्नुपर्ला ?

पठनीय सामग्रीहरु प्रशस्त छन् अहिले जसरी अगाडि बढेको छ त्यसमा निरास हुनुपर्ने अबस्था छैन । दौंतरीको आफ्नोपन नै बिशिष्ट रहेको छ यो क्रम चलिरहोस् बाँकी समयको माग अनुसार परिवर्तन त भइनै हाल्छ । तपाईंहरु जुन तरिकाले लागि रहनु भएको छ त्यो नटुटोस भन्ने कामना गर्न चाहन्छु ।
तपाईको ब्लगमा भएका तपाईलाई सबैभन्दा मनपर्ने तीन वटा चरनाहरु कुन कुन हुन ?

तपाईंले प्रश्न नगर्दा सम्म त्यसरी कहिल्यै छुट्याएको थिइन । मैले ब्लग सुरु गरेपछिका रचना मात्र ब्लगमा छन त्यहाँ बाट छुट्याउने हो भने मलाई मन पर्ने र अन्य पाठकहरुको प्राप्त प्रतिक्रियाहरुको आधारमा मन पराइएका गजलको मतलाहरुमा “पिडा मनमा बेरियो, अनि गजल केरियो । आफ्नो रहर शेरियो , अनि गजल केरियो। ” “बुझेर चोट पारियो ।अनि हाँसेर टारियो।” “कुरा बेग्लै थियो रातको ।आहा साहारा त्यो हातको ”हुन कि जस्तो लाग्छ ।

जापानको व्यस्त जीवनमा ब्लग र साहित्यलाई समय दिन कत्तीको अप्ठ्यारो मोल्नु परेको छ ?
नेपालका दिनहरु सँग तुलना गरेर भन्ने हो भने अलि गाह्रो नै छ । मेरो साहित्यमा बिशेष रुचि भएको कारणले जापान मा नेपाली साहित्य कला र संस्कृति को लागि लागि परेको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास) जापान च्याप्टरमा बिगत ५ बर्षदेखि सम्बन्धित रही हालै नेतृत्वमा पनि पुगेको छु ।समयको पाबन्दि त आफ्नो ठाउँमा छदैछ तर लगाव महत्वपूर्ण कुरा हो । सधैं साहित्य र ब्लग भनेर लागी पर्न गाह्रो भएपनि समय छुट्याएर लाग्न भने सकिएको छ ।

हामीले सोध्न बिर्सेको र तपाईलाई भन्न मन लागेको केही कुरा छ कि?

मैले ब्लग शुरु गरेको एक बर्ष पनि पूरा भएको छैन, तर धेरै ब्लगर साथिहरु सँग चिनाजानी हुनुका साथै धेरै साथिहरुबाट बिभिन्न बिषयका सर सल्लाह र सहयोग पाइरहेको छु उहाँहरुलाई धन्यबाद दिनुका साथै नयाँ साथिहरुलाई पनि ब्लग संसारमा स्वागत गर्न चाहन्छु

। अन्तमा दौंतरी टीमले मलाई यो लायक सम्झेर आफ्ना कुरा राख्ने मौका दिनु भएकोमा दौँतरी टिम प्रति आभारी छु ।

----       -------             ----------           ---------       ---------      ------      --------           --------          ------------  ----

दिनेश राज ज्ञवाली जीको ब्लग:-   यात्राका ........सुस्केराहरु