July 30, 2011

फोन शिरोमणि

   सबेरै उठ्नासाथै 'हाइ, गुडमर्निङ !' को थेगो अनि बेलुका सुत्‍ने बेलामा 'राम्रो सपना देख्‍नू है, गुड नाइट !' भन्ने नियमित लय । फोन शिरोमणिहरूको परिचय नै यस्तो हुन्छ, मानौं यी मनुवा २४ घन्टे प्रसारणको अभिभारा बोकेका सञ्चारमाध्यम हुन् । काशीका पण्डाबाबाका हातमा ट्यास्स निधार-निधारमा टाँस्ने टीकाको लेप हरपल भइरहेजस्तै फोन शिरोमणिको हातमा फोन नामको भाँडो हुने गर्छ । अरु त अरु, फोनमय सपना देख्‍नु फोन शिरोमणिहरूको रात्रिकालीन ‘पार्टटाइम उद्यम’ हो ।

    टेलिफोन अपरेटर, पीए अनि रिसेप्सनिष्टको धपेडीपूर्ण फोन-यात्रालाई फोन शिरोमणिको अद्‌भूत हर्कतले काँचैMobile-Masti खाइदिन्छ । फोनैफोनको अन्तरंग संगतमा रहेर अभ्यस्त हुन थालेपछि फोन शिरोमणिको उपाधि आफसेआफ सुरक्षित भइहाल्छ । यो उपाधि र ताजको लागि कुनै भनसुनको तात्तातो मनसुनमा गोप्य जुहारी घस्नुपर्दैन । हेर्ने हो भने यो उपाधि स्वतःस्फूर्त सामाजिक सम्मानको रुपमा विकसित हुने अवस्थामा पुगिसकेको छ ।

    कामविशेषले एउटा अफिसमा पुगेको थिएँ । रिसेप्सनमा बसेकी युवती फोनमा व्यस्त थिइन् । आफ्नो काम गुटमुट्याउने पिरलोले रन्थनिएको म तिनको रातोपिरो व्यस्तता देख्दा बिचरी कसरी पो भ्याओस् काम भनेर आफ्नो व्यग्रतालाई एकातिर खुम्च्याएर पर्खिनलाई राजी भएको थिएँ । तर तिनको मुखबाट त व्यस्तताको अर्कै स्वादिलो रन्को पो फुत्किन थाल्यो ।