February 13, 2010

ब्लग चोरलाई के गर्ने ? (ब्लगर भेला प्रस्तावना चर्चा)

दोस्रो नेपाली ब्लगर भेला केही उत्साह, केही कमजोरी त केही सहमतीका बीच ०१-०२-२०१० मा सम्पन्न भयो । भेलामा सहभागी ब्लगरहरुमा यस पटकको भेलामा चिनारी कार्यक्रमका अतिरिक्त केही ठोस बुँदाहरुमा पनि छलफल भएको हो ।

समयान्तर, प्राविधिक कमजोरी र अन्य विविध कारणले गर्दा अनलाईन भेलाकै समयमा कुनै पनि बिषयबस्तुको निचोडसम्म पुग्न प्राय: असम्भव हुन्छ र यसलाई सामान्य रुपमै हेर्नुपर्छ जस्तो लाग्छ । तर नविनता र बिद्धमान समस्यासंग जुध्ने संयन्त्रको बारेमा यस्तै छलफलबाट नै निकासको मार्ग पहिलिनेमा पनि दुई मत नहोला ।

उक्त ब्लगगर भेलामा सहभागी हुनु भएका र विविध कारणले सहभागी हुन नसक्नु भएका ब्लगर मित्रहरुबाट ईमेल र अन्य माध्यमबाट पनि नेपाली ब्लग जगतको उत्थानका लागि निकै गहकिला र बिचारयोग्य प्रस्ताबनाहरु आएका थिए ।

एउटा भनाई छ फलाम तातो छदैँ त्यसमा प्रहार गरिनुपर्छ..., त्यसैले यापालाको पोस्टमा उक्त भेलाको पहिलो प्रस्तावनाका बारेमा सामान्य चर्चा गर्दै यसबारेमा यसै मञ्चबाट बृहत छलफल गर्न अनुरोध गर्दै सो भेलाको पहिलो प्रस्तावनाका बारेमा केही कुराहरु राख्दैछु ।

दोस्रो ब्लगर भेलाको पहिलो प्रस्तावना सपनासंसारका तर्फबाट राखीएको थियो जुन यस प्रकार छ :

प्रस्तावना १ :सम्पूर्ण ब्लगर साथीहरुले यदि अरू कुनै ब्लगमा प्रकाशित लेख रचना आफ्नो ब्लगमा पुन प्रकाशन गर्न इक्षा लागेमा पूर्ण रुपमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्ने ।

नेपाली ब्लगको ईतिहास खासै लामो छैन, तर विडम्बनाको कुरा के भने, नेपाली ब्लगको इतिहास जत्ति पुरानो छ, त्यत्तिनै पुरानो छ, ब्लग चोरीको इतिहास पनि । ब्लगका बिषयबस्तु चोरी प्रकरणलाई अलिकता बिस्तारसाथ हेर्ने हो भने :

१) ब्लगमा राखिएका खुराकहरु हुबहु चोर्ने,

२) ब्लगको सामाग्रीहरुको अनाधिकृत रुपमा नक्कल गर्ने,

३) मूल ब्लग लेखकको सहमति बेगर अन्य कुनै ब्लग वा साईटमा प्रकाशीत गर्ने र,

४) कहिले काही त उल्टै ‘जो चोर त्यसकै ठूलो स्वर’ गर्ने अडियल चोरहरुको समेत नेपाली ब्लग जगतमा जगजगी रहेको पाईएको छ ।

स्थितिको धरातलिय बोधलाई छर्लंङ्याउने हो भने केही व्यापारीक प्रयोजनका ब्लगको नाममा समाचार पस्कने र कुनै गुट वा समुहको ‘सहयोग’ मा चल्ने ब्लग बाहेक अधीकांश नेपाली ब्लगहरु आर्थिक नाफा लिने रुपमा चलेका छैनन, चल्न सकेका छैनन् । यस अर्थमा हेर्दा नेपाली ब्लगले नेपाली साहित्य, सञ्चार वा सूचनाको सेवा, सहयोग वा विकासका लागि गरेको योगदानलाई भलै नगण्य रुपमा लिईयोस तर सानै स्तरमा नै चलेका भएपनि अधिकांश नेपालीब्लगहरु नाफामुखी छैनन् र ति स्वतन्त्र विचार, सूचना र साहित्यका संबाहक मात्रै रहि आएका छन ।

माथी नै भनिसकिएको छ ब्लग व्यापार हैन (भैसकेको छैन?) र नेपाली ब्लगरहरु पैसा कमाउनका लागि लेख्दैनन (अधिकांश)। कुनै पनि पेशा वा अध्ययनमा लागी फुर्सदको समयको उपयोग गर्दै गैह्र आर्थिक प्रयोजनको लागि लेखिएका यस्ता ब्लगका सामाग्रीहरु चोरीनु पक्कै पनि निन्दनीय कार्य र गम्भिर अपराध पनि हो ।

मेरो सामान्य जानकारी यो पोस्टमा राख्ने हो भने वसन्त गौतम, दिलिप आचार्य, दिनेश ज्ञवाली, अन्जली तीमल्सीना, दुर्जेय चेतना लगाएत धेरै नयाँ तथा पुराना ब्लगरहरुको पोस्टहरु चोरी भएका कुराहरु विगतमा प्रकाशमा आएका हुन। ति मध्य केही ब्लगरसाथीहरु आफ्नो वौद्धिक सम्पति माथीको अधिकार कायम गर्न र चोरलाई ट्र्याकमा ल्याउन आंशिक रुपमा सफल हुनुभयो भने केही मित्रहरुका रचनाहरु चोरिएको चोरियै छन ।

पुराना ब्लगरहरुको अनुभवको आधारमा कुरा गर्ने हो भने त्यस्ता चोरहरुलाई कानूनी रुपमै ‘तह’ लगाउने संयन्त्रहरु नभएका पनि हैनन्। तर फुर्सदको समयमा बसेर लेख्ने ब्लगरहरुलाई त्यो सबै प्रकृया सरल वा सहज भने पक्कै छैनन् ।

यस अबस्थामा यस्ता चोरीलाई निरुत्साहन गर्न र मूल ब्लगका लेखकलाई आफ्नो हकको लागि लड्न वा मूल ब्लग लेखकलाई सहयोग गर्न के गर्न सकिन्छ त ?

मेरो बिचारमा यसको लागि सबै ब्लगरहरु एक भएर त्यस्ता चोरी गर्नेलाई निरुत्साहित गर्न सामाजिक वहिष्कार गर्ने कुरा सबैभन्दा कारगार साबित हुनसक्छ। बुँदागत रुपमा कुरा गर्दा कुनै पनि बल्गरको रचना चोरी भएमा:

१) सुरुमा चोरी भएको रचनाका मुल लेखकले चोरी गर्नेलाई सामान्य रुपमा सो रचना आफ्नो भएको जानकारी दिने र सोको लागि मुल लेखकलाई क्रेडिट दिन अनुरोध गर्ने ।

२) यसबाट समस्या समाधान नभएमा नेपाली ब्लगरहरुको ईमेल समुहमा सोको जानकारी गराउने

३) ईमेल समुहमा आबद्ध साथीहरुले सो चोरीएको पोस्टमा गएर सोको बिरोधमा सामुहिक कमेण्ट लेख्ने र सुधारको लागि अन्तिम मौका दिने।

४) अन्तिम मौका दिँदा पनि चोरी गर्नेले सुधार नगरेमा फेशबुक लगाएत अन्य समाजिक सञ्जाल वा अन्य ब्लगर मित्रहरुको ब्लगमा समेत चोरी गर्नेको नाम सार्वजनिक गरेर यस्ता चोरहरुलाई सामाजिक वहिष्कार गर्ने ।

५)  माथिका उपाएहरु काम नलागेको खण्डमा र सम्भव भएमा  कानूनी प्रक्रियामा जाने ।

यिँ बुँदाहरु अहिले लेख्दा लेख्दै मेरो दिमागमा आएका केही ‘र’ उपाएहरु हुन । यदि तपाइसंग अन्य कुनै रचनात्मक उपाइछन भने यही पोस्टको कमेण्टबक्स मार्फत आफ्ना बिचार र उठाउनु होला ।

बस्तुत: ब्लग कुनै बिचार वा जानकारी बाँडन नै लेखिने भएकोले, कुनै एकजना ब्लगरले लेखेको ब्लगलाई हुबहु वा आंशिक रुपमा अरु कसैले अन्त कतै छाप्न चाहन्छ भने यसलाई नकारात्मक दृष्टीले लिनु हुँदैन, तर यसो गर्दा मुल लेखक वा ब्लगरको सहमती लिनु वा कमसेकम मुल लेखकको नाम र व्याकलिन्क दिनु भने अनिवार्य गर्नै पर्छ ।

साथै ब्लगर भेलामा उठेका अन्य प्रस्तावनाहरु यो पोस्टमा छन। यस बारेमा सोही भेलाको प्रस्तावना नं १४ मा उल्लेख भएझै तपाईहरु कसैले पनि पोस्ट लेख्न सक्नुहुन्छ । त्यसैले नेपाली ब्लग जगतको उत्थानको लागी सोचौं, लेखौं, बिचार मन्थन गरौं ।

Happy Blogging !