July 10, 2010

अन्धविश्वास माथिको विश्वास ।

“Superstition is a credulous belief or notion, not based on reason or knowledge.”

अन्धविश्वास के हो ? भनेर विकिपेडिया हेर्ने हो भने सुरुमै यही वाक्य भेटिने छ । तर कुनै कारण वा ज्ञानमा आधारित नभएपनि यो अन्धविश्वासको जालो भने संसारभर नै फैलिएको छ।

बेलावखत अविकसित देश, गाँउघरका बासिन्दा वा कम शिक्षितवर्गलाई यसको ‘अनुयाई’ भनिने गरे पनि विश्वका अत्यन्तै विकसित देश, अन्तन्तै साक्षर वा विद्वत वर्ग वा प्रसीद्धि पाएका व्यक्ति विशेषहरु समेत कुनै न कुनै रुपमा केही न केही अन्धविश्वासको पकडमा आएको कुरा सुनिएको छ र सायद सुनिई रहने नै छ ।

कतै सानो अनुपातमा त कतै ठूलो अनुपातमा हुने मात्रै हो, तर खोजी गर्दै हिँडेमा धर्मभिरु राजाले खुर्सानीको धुप हालेर सत्ता जोगाउन खोजेको देखि धर्मै नमान्ने आधुनिक कम्युनिष्टहरु समेत भैंसी दोहन र यज्ञ यज्ञादी गरेर आ-आफ्नो परिचय दिएको हामीले देखेको धेरै भएको छैन ।

भौगोलिक आधारमा हेर्ने हो भने पनि लमजुङ देखि लण्डन सम्म, सींगापुर देखि जनकपुरसम्म सबैतिर यसको जड मज्जाले विस्तार भएको छ। भन्नलाइ गाउँले, निरक्षर वा साधारण मानिसहरु बढी अन्धविश्वासी हुने भनिए पनि प्राय: सहरमा बस्ने, विद्वान र विश्वकै चर्चित नेताहरू झनै यस मामिलामा बढी संलग्न रहेको समेत पाइएको छ । नेपालका जोगी र सन्यासीका पछिलाग्ने र हातमा नानाथरि औठीं धारण गरेर हिँड्ने आत्मविश्वासहिन नेताहरु मात्रै हैन्, हिटलर देखि रोनाल्ड रेगन जस्ता नेताहरु समेत आ-आफ्ना ज्योतिषहरुसंग सल्लाह गरेर मात्रै कुनै काम गर्थे भन्ने कुरा धेरै अगाडि नै प्रकाशीत भैसकेका छन् ।