February 2, 2017

सुगौली सन्धी हामीले बिर्सेका छैनौं भनीदेउ

बाघ बुढो हुंदैमा, त्यसले घांस खादैन।
नेता कांतर भए नि, जनता त्यसै झुक्दैनन्।
पार्टीले लाज पचाए, गोरखाको शान झर्दैन।
तोप र गोला तेर्साउ, खुकुरी अगाडी ति टिक्दैनन।
धूर्ताई तिमी देखाउ, साहस हाम्रो उर्लिन्छ।
ओक्टरलोनी चिहानमा, भक्ती थापा कुर्लिन्छ।

सुगौली सन्धी हामीले  बिर्सेका छैनौं भनिदेऊ
किल्ला कांगाडा हामीले बिर्सेका छैनौं भनी देउ
हामीलाइ यसै खिजाइ बेलाले केही भन्दैछ
जलेका लाख मुटुलाइ कांडाले यांहा उन्दै छ
सुनेर केही बुझ्यौ के पिरले छाती पगाली
धिकारी देला युगले दुर्बल सम्झी नेपाली

देउरालीबाट कुर्लेर पहाड पाखा थरकाउं
पिरले त्यसै बोकेका हजार मन फकाउं
छातीमै पिर मिचेर आंखामै आंशू लिपेर
मनको घाउ सुक्देन हासोले बिचै थिचेर

लडेर मर्न हामीले भूलेका छैनौं भनन
रगतका गोला मुटुमा सुकेको छैन भनन
आलै छ रगत माटोमा पलुंगा काहां बिर्सन्छौं
नेपाली गौरब उचाल्ने बलभद्र कांहा बिर्सन्छौं
सुगौली सन्धी हामीले  बिर्सेका छैनौं भनिदेऊ