March 4, 2011

कृपया, शिक्षा क्षेत्रलाई राजनीति मुक्त पारौँ

हुनत विश्वविद्यालयलाई व्यारेक बनाउनुपर्छ भन्नेहरू संग यस्तो प्रस्ताव गर्नु , मूर्खता हुन सक्छ । तर पनि यो भन्नै पर्छ , अब हाम्रो मुलुकमा राजनीति गर्न विद्यार्थीको प्रयोग नगरे पनि चल्ने भैसकेको छ । निर्दलीय पञ्चायती कलामा , राजनैतिक पार्टीहरू प्रतिबन्धित थिए , पञ्चायती पक्षधरहरूका लागि मात्र मुलुकको राजनीति पेवा थियो । असहमत विचार वर्जित थियो । तर चेतनाको फराकिलो संसारलाई जान्न बुझ्न खोज्ने विद्यार्थी वर्गले स्वतन्त्र विद्यार्थी युनियनको नाममा फरक प्रतिपक्षीय राजनीतिको स-सानो प्रयोगका लागि स्थान बनाएका थिए, महाविद्यालय र विश्वविद्यालयहरूमा । विद्यार्थीहरूले आफ्नो संघर्षका कारण विश्वविद्यालय र कलेजलाई बाह्य राजनीतिको ठाडो हस्तक्षेपबाट स्वायत्त राख्न सकेका थिए । फलस्वरूप विद्यार्थी युनियनको रूपमा बहुदलियताको स-सानो अभ्यास सीमित ठाउँमा भएपनि सम्भव भएको थियो । विद्यार्थी युनियनको चुनाबमा भाग लिने बिभिन्न प्रतिबन्धित पार्टीप्रति वफादार विद्यार्थी संगठनहरू थिए र स्वतन्त्र विद्यार्थी युनियनको चुनाबकालागि ती विद्यार्थी संगठनहरूका बीच हुने भिडन्तले बहुदलीय राजनीतिक चुनाबको स-सानो झझल्को गराउँथ्यो । तर पनि सबै कुरा राम्रो भने थिएन । कतिपय कलेजमा विद्यार्थी युनियनको नाममा हुने राजनीतिले, पठनपाठन गतिविधिको सम्पूर्ण रूपमा धज्जी उडाउने गरेकोहुन्थ्यो भने कहीँ राजनीतिको नाममा बिभिन्न समूहबीच गुण्डागर्दीका वारदातहरू महिनौसम्म चलिरहेका हुन्थे । यिनै विद्यार्थी राजनीतिका तनाबहरूले कतिपय स्थानमा हुने भिडन्तहरूमा मृत्यू र अङ्गभङ्ग बिच्छिन्न हुने घटनाहरू नभएका पनि हैनन् । थुप्रै व्यवधान, हिंसा र अप्ठ्याराहरूबीच पनि विद्यार्थी राजनीतिले , मुलुकमा रहेको एकदलीयताको राजनीतिक तानाशाहीभित्र, फरक विचार अभिव्यक्ति र क्रियाशिलताको एउटा स-सानो वैकल्पिक प्रयोग स्थल छुट्याइदिएको थियो र विविध विद्यार्थी संगठन र युनियनको चुनाब यसैका लागि थियो भनेर मान्नु पर्छ , त्यतिबेलाको परस्थितिमा विद्यार्थी राजनीति उचित थियो भन्ने मान्ने हो भने पनि ।