July 16, 2009

दौँतरीमा जालझेल

दौंतरीलाइ हेरविचार गर्ने समय प्राय बिहान र साँझ मात्र मिल्छ। अरु बेला दौंतरीमा गडबड भए अन्य एडमिन मित्रहरुको भर पर्छु। हुन त वहाँहरुले पनि सँधै आँखा लगाइराखेको हुनुहुन्छ। तर पनि समयले सबै व्यस्त भैराख्दा के कस्तो समस्या आइपर्छ पत्तो हुँदैन। अस्ती गूगलले आफ्नो ब्लगिङ्को बाटो परिवर्तन गर्दा १ दिन जस्तो यता उता गर्दै ठिक्क भयो। सबै सामग्री गूगलमा रहेको हुँदा अजिंगर जत्रो गूगलको अगाडि हामी भुसुना जस्तै हुन्छौं। हाम्रो समस्या गूगल समक्ष राखे पनि सुनुवाइ नहुन पनि सक्छ र भए पनि हप्तौँ लाग्छ। यस्तै छ गूगलसंगको ब्लगिङ्।

आझ बिहान दौँतरी इमेल हेर्दा भने निकै खतरायुक्त इमेल भेटियो। साइबरको जालोमा जाली पत्र त असंख्य नै आउँछन। कतै त लाग्यो यो खतरायुक्त इमेल जाली पत्रै हो कि भनेर। तर, पत्र आएको ठेगाना र पत्रमा राखेको लिंक जिनियुन नै भेटियो। पत्रले भन्छ दौँतरी ब्लग स्पाम ब्लगको लिस्टमा रहेको छ। तुरुन्त रेस्पोन्स नगरे २० दिन पछि ब्लग रोकिने छ। गरेको त केही होइन कसरी स्पाममा पुग्यो, म त छक्क परेँ। हुन त पत्रमा कहिलेकाँही झुक्किएर पनि यस्तो हुनसक्छ भनिएको थियो। कसैले रीस वा ईर्ष्याले जालझेल गरेर दौंतरीलाइ स्पाममा दर्ता गराइदिका पनि हुनसक्छन भनेर पनि कसै कसैले भनेको पाएँ। तर पनि हतार गरेर दिइएको लिंकमा दौंतरी स्पाम होइन भनेर दर्ता गराएँ।

दौंतरीको कुनाकानी मिलाउनमा ठरकी दादा निकै सक्रिय हुनुहुन्छ। वहाँलाइ पनि यस्तो समस्या आएको जानकारी गराएँ। त्यस पछि अफिस तिर लागेँ। दिनमा त दौँतरी चियाउन पनि हम्मे हम्मे पर्छ। काममा इन्टरनेट ट्रयाक हुने हुँदा इन्टरनेट चलाउन निकै समस्या आउँछ। बेलुका दौँतरी इमेल खोलेको ठरकीजीलाई पनि यस्तै पत्र आएको रहेछ। वहाँले तुरुन्तै दौंतरी स्पाम नभएको कुरा ब्लगरमा जानकारी गराइसक्नु भएको रहेछ। त्यस पछि एकलव्यजीलाई पनि त्यस्तै पत्र आएको रहेछ। उहाँलाइ पनि यो सबै भएको जानकारी गराएँ। एडमिनहरुलाइ मात्र यस्तो पत्र आएको हो कि दौँतरी लेखकलाई पनि यस्तो पत्र आएको हो त्यो भने पत्तो लागेन। त्यसैले यसबारे सबैलाई जानकारी दिन यो ब्लग लेखेर नै टाँसेको हुँ।

दौंतरीकै एडमिन / लेखक या अन्य ब्लगहरुले पनि यस्तो अनुभव गर्नुभएको भए बाँड्नुहोला ।

तपाईँहरूका सल्लाह निकै अमूल्य हुन्छन। लेख पढेपछि आफ्नो विचार बाँड्न नभुल्नुहोला। तपाईँ पनि लेख्नुहुन्छ भने दौँतरी (dautari@gmail.com)इमेलमा लेखहरु पठाउनुहोला । राम्रा लेख र रचनाका हामी सधैँ भोका छौँ । बरु लेख युनिकोडमा पठाउनुहोला र सकेसम्म शुद्धतामा ध्यान दिनुहोला । राम्रा र स्तरीय लेख भए पनि एउटै लेख बिभिन्न साइटमा पठाउँदा दौंतरीमा राख्न हामीलाइ अप्ठ्यारो हुनेकुरा पनि तपाईँहरु समक्ष बाँड्न चाहन्छु।


भानु तिम्रो सम्झनामा

शेखर ढुङेल्

भानु तिम्रो नाम मा
धेरै गोस्ठी र सभा भए
भानु तिम्रो नाम मा
धेरै ले दौरा सुरुवाल टल्काए
भानु तिम्रो नाम मा
धेरै ले बिभुषण , तक्मा थापे
भानु तिम्रो नाम मा
धेरै ले भाग्य चम्काए
भानु तिम्रो नाम मा
धेरै मन्च सजियो
भानु तिम्रो नाम मा
धेरै ले नगद पुरस्कार थापे
तर
जब तिम्रो तोडिएको
सालीक देख्दछु
आँखा रसाउछ
जब तिम्रो खन्डहर
घर देख्द्छु
मुटु चिरिन्छ
जब मलाई गिज्याइ रहेको
तिम्रो बस्ती देख्दछु
आँफै लाई धिकार्दछु
धिकार्दछु आधुनिक
प्रचार प्रेमी
नेपाली साहित्यकार हरु लाई
जस्ले तिम्रो नाम बेच्दै छन
तिमी लाई नगद बनाउदै छन
तिमी जस्तै निरिह छु
एक्लो छु कसैले सुन्दैनन
आफ्नै नाम र घर बनाउन
ब्यस्त छन सबै यहाँ
कस्ले हेर्ने तिम्रो
रम्घा को झुपडी ?
मात्र भाबपूर्ण श्रदान्जली
को औपचारिकता यस पाली पनि


संविधान, भींमसेनपूजा, माओवादी र महायज्ञ

Mao-Yagnya हिजोको नागरिकन्यूज डट कमको वेब संस्करणले माओवादीले हालै सम्पन्न गरेको विचित्र महायज्ञको समाचार छापेको छ ( हेर्नूस: http://nagariknews.com/news-highlights/139-highlights/2910-2009-07-15-05-19-11.html) । ‘धर्म अफिम हो’ भन्ने सिद्धान्त बोकेको कट्टर कम्युनिष्ट पार्टी स्वयंको आयोजनामा सम्पन्न भएको श्रीमद्भागवत महायज्ञको कुरा सुन्दा जति अचम्म लाग्न सक्छ त्यो भन्दा कैयौँ गूणा बढी, यो महायज्ञमा भएको दान दिने शैलिका बारेमा पढ्दा लाग्छ । हिजो जनताबाट ‘स्वेच्छिक’ चन्दा लिने अनौठा प्रविधिहरूको सफल परीक्षण गरी पारंगत बनेका माओवादीहरूले धर्म र दानको परिभाषालाई नै ‘चमत्कारी छलाङ’ प्रदान गरेको कुरा यो समाचार पढ्ने जो कोहीलाई बुझ्न गाह्रो पर्दैन । दान दिने पार्टी भक्त दाताहरूले जहाँ जसको जे जस्तो हालतमा भएको सम्पत्ति वा धनलाई यज्ञस्थलमा आएर ‘ लौ मैले यति बोलेँ’ भन्ने शैलिमा दान दिन मिलेको यो समाचार पढ्दा मलाई यो कतै गाउँ खाने कथाको पहेली जितेपछि ‘यति र यो गाउँ लैजा’ भन्ने खेल पो हो कि भन्ने भ्रम परिरहेछ। धार्मिक महायज्ञको यो नमूना प्रपञ्चबाट धर्म, दान, परोपकार, न्याय कानून र सभ्यताका अरू पनि पक्षहरूको उठान कहाँ र कति भयो , यो सम्बन्धित हरूले नै केलाऊन तर यही एउटा प्रकरणलाई हाम्रो नेपालमा बेलाबखत मञ्चन भैरहने विचित्रताहरूको शृङ्खला मध्येको एउटा प्रतिनिधि झलक भने ठान्न सकिन्छ ।

यो महायज्ञको अर्को अनौठो विशेषता के रहेछ भने कुनै बेला माओवादीद्वारा नै मारिएका भनिएका पण्डित नारायण प्रसाद पोखरेलका सहोदर छोरा दिनबन्धु पोखरेल नै यहाँ मूल पण्डित भएर मण्डपासीन भएका रहेछन् र एउटै यज्ञमा ५०औँ करोड रकम र जायजेथा उनले उठाइदिएका रहेछन् । एउटा यज्ञमा ५० औँ करोड उठ्नुको महानतालाई हेर्ने भने नेपाल जस्तो दानी दाताको बाहुल्यता भएको मुलुक संसारमा कमै होलान जस्तो लाग्छ । बालाजूमा टाट पल्टिन लागेको कुनै प्राइभेट अस्पताल चार्टर्ड एकाउण्टेण्ट नारायण बजाजबाट माओवादीले ३३ करोडमा किनेको थियो र पछि यसको नाम जनमैत्री अस्पताल राखिएको थियो । यही अस्पतालका लागि यो यज्ञ गरिएको रहेछ । यहाँ स्मरणीय के छ भने , ७,८ महिना अघि माओवादी सरकारका पालामा यो अस्पताललाई आर्थिक लगानी गर्न हुने विश्वस्त आधार नदेखेर बैँकहरू तयार नहुँदा, माओवादी सरकारले राष्ट्र बैँक मार्फत दवाब दिँदै नेपाली बैँकहरूको एउटा कन्सोर्टियम खडा गरी ३५ करोड रुपैयाँको बलजफ्ति ऋण प्रवाह स्वीकृति गराएर अस्पताल किनिएको थियो ।

आजको कान्तिपुरमा प्रकाशित अर्को समाचार छ “ संविधान निर्माणका लागि भिमसेन पूजा” (हेर्नूस: phalano_july16 http://ekantipur.com/kolnepalinews.php?&nid=204479) । महाभारत अनुसार भीमसेन बाहुबली र गदा युद्धका कुशल लडाकू थिए । तर्क र विचारले भन्दा मल्ल युद्ध र गदा रूपी फलामको मुङ्ग्रो चलाउन माहिर यी भीमसेनको पूजा गरेर नया संविधानको निर्माणमा कस्तो शिघ्रता आउने हो भक्तजनहरूले नै जानून । तर, भक्तजनहरूको यो पूजा र आराधनाको समाचार सुनेर म एउटा निष्कर्षमा भने पुगेको छु । त्यो के भने, भीमसेनका पूजक यी भक्तजनहरू अब नेपालको संविधान समयमा बन्नका लागि भगवान कै हस्तक्षेप जरूरी छ भन्ने निचोडमा पुगेछन् क्यार! अथवा, अब एकापसमा मिल्दै नमिल्ने दलहरूलाई एक ठाउँमा आउन र नया संविधानका लागि काम गर्ने बनाउन भीमसेन जस्ता बहादुर दैवी पात्र आएर तिनीहरूको टुप्पी समातेर एक ठाउँमा तान्नै पर्ने निस्कर्षमा पनि ती खोटाङका भीमसेन पूजक भक्तजनहरू पुगेका हुनसक्छन् ।

मैले दुई घटनाका आधारमा एउट ब्रम्हज्ञान पाएको छु । नया नेपालमा क्रान्तिकारीहरूको सोच र व्यवहारमा हुने असंगति, बिसंगति र विडम्बनाका बारेमा नराम्रो भन्न नपाइने हुँदा यसको सकारात्मक पक्ष खोज्नु जरूरी छ । यसो त नेपाली कम्युनिष्टहरूको धार्मिक रूझानका बारेमा भारतीय विद्वान कुलदिप नायरले पनि धेरै लामा लेख लेखिसकेका छन् । नेपालमा जति नै ठूलो कम्युनिष्ट क्रान्तिको कुरा गरिए पनि, हाम्रो रगत र चरित्रमा कम्युनिष्टहरूको त्यो धर्म बिरोधी राजनीतिक सोच भने घुसेको छैन कि जस्तो छ । यो कुरा स्वदेशी र बिदेशीले बेलाबखत चर्चा गर्ने गरेका छन् । यत्रो रक्तरंजित क्रान्ति पछिको यो बिन्दुमा आइपुगेर, जनगणतन्त्र स्थापना गर्नै लागेको यो मौकामा , माओवादीले ‘श्रीमद्भागवत महायज्ञ’ लगाएको छ । यो पुण्यको महारथ कति होला भोलि फल लागेपछि देख्न पाइएला । कतै हाम्रो यो महान क्रान्तिकारी पार्टीले विविध राजनैतिक प्रयोगहरूको अनन्त श्रृंखलाका क्रममा , धनी, बुर्जूवा र सामन्तीहरूलाई बढी भएको सम्पत्ति ‘स्वेच्छिक दान’ गर्न लगाएर समाजमा रहेको असमानता र गरीब धनी बीचको असन्तुलनलाई धार्मिक ढंगले समाधान दिन खोजिरहेको त छैन ? कामरेड प्रचण्डले बारम्बार भन्ने गर्नु भएको चमत्कारको राजनीति { धर्म, अर्थ (काम र मोक्ष बाहेक) र राजनीतिको फ्यूजन} यस्तै खालको त हैन ? जहाँ श्रीमद्भागवतले समाजवाद र भीमसेन पूजाले संविधान स्थापनार्थ भगवद् सामर्थ्य हासिल गर्छ ! भगवान भरोसा चलेको मुलुकका लागि यो भन्दा ठूला क्रान्तिकारी विम्वहरू के नै होलान र ?