April 28, 2010

गजल

यात्री शेखर
झ्याप्प झ्याप्प हिजो आज लोडसेडिङ्को मार कत्ति ।
सरकार बढाउँछ राजस्वको भार कत्ति ।

जताबाट भए पनि पिल्सने त जनता न हो ,
आन्दोलन नै चर्काए’नी बन्छ सधैं हार कत्ति ।

सबैलाई गुनासो छ सरकारको चालासंग,
सकेन नी समस्यालाई लगाउन पार कत्ति ।

हिजो आज देश हाक्ने सरकार हैन दल भा’छन्,
दलविचै हुन्छ किन पानी बाराबार कत्ति ।
[email protected]

कामरेडको मनोवाद !

सौताको रिसमा छाडेको सत्ता नपत्याउने गरी अर्कैले आरामसंग कव्जा गरेपछि आजकल कामरेडलाई पर्नु पिर परेको छ । हुनपनि त हो, आफूलाई भनेर किनेको सवा लाखको खटियामा अर्कै घटीयाले खुट्टा पसारेर सुतेको कति दिन हेरेर बस्नु ?।

सर्प पनि मर्ने लठ्ठी पनि नभाँचीने जुक्ति निकालेर आज बहिर्गमन र भोली फेरि प्रत्यागमन हुने हिसावले सत्ता छाडेको बेलामा सर्प नमरेर उल्टै लठ्ठी मात्रै भाँच्चेपछि के के मात्रै उपाए लगाईएन । हिरोईनसंग नाचीयो, कत्तीको ढाड भाँचीयो। यज्ञ-यज्ञादि, हवन र भैंसी दोहन समेत गरीयो चरण चरणको आन्दोलन भयो तर खै, आफुले जितेको कुर्सीमा त अर्कै हरुवा टाँस्सीएको टाँस्सीयै छ ।

बिचमा निक्कै दिन फुर्सद भएपछि महान नेताहरु विश्व ईतिहास पढ्न व्यस्त भए । छिमेकी देश भारतमा भएको “भारत छोड” आन्दोलन जस्तै यता पनि सिधैं “कुर्सी छोड” आन्दोलन गर्नुको विकल्प पनि बचेन । कुरा घुमाई फिराई गरेर “नागरिक सर्बोच्चता” को नारा लगाएकै हो तर नागरिक हैन आफ्नै लठैतले समेत राम्रो साथ नदिएका कारण सो पनि प्रायोजकको अभावमा चल्दा चल्दै टेलिभीजनको पर्दाबाट हराएका टेली श्रीखंलाजस्तै गरेर बिचमै तुहियो ।