September 17, 2009

देशको नाम पनि फेर्ने कि ?

सारमा कुनै कुरामा सकारात्मक परिवर्तन आउन नसके पनि नया नेपालमा नारा, कुरा र तमाशा खेती मौलाएको छ । धेरै पात्र , वस्तु ,घटना र घटकका परिचयहरूले धमाधम परिचयको काँचुली छाडेर नयामा रूपान्तरण हुन तँछाड मछाड गरिरहेका छन् भलै यो परिवर्तनको उद्देश्य हात लाग्यो शून्य नै किन नहोस् । अहिले सम्म नेपाल नामबाट चिनिने हाम्रो मुलुकलाई अब जात जातका गरा र चिरामा भाग लगाउने अनि जातीय नामको न्वारान पहिराउने अभ्यासका क्रममा , आँफूलाई आमूल परिवर्तनको एकल प्राधिकार प्राप्त अभिकर्ता ठान्ने एउटा मुख्य राजनैतिक पार्टीले अद्यावधि कायम रहेको नेपालको राष्ट्रीय झण्डा परिवर्तन गर्नु पर्ने प्रस्ताव जारी गरेको रहेछ । यसका पक्ष विपक्षमा सर्वसाधारणदेखि विज्ञहरू सम्मका रायहरू अब आउने नै छन् आफ्ना आफ्ना पार्टी वफादारिताका पेटाराहरू बोकेर , तर मेरो विचारमा राष्ट्रिय झण्डा मात्र किन मुलुकको नाम , राष्ट्र भाषा र अन्य कुरा पनि फेर्नु पर्ने जिरिह र जिकिरहरू लिएर अगाडि बढ्नु पर्ने उचित मौका यही हो । कसैलाई मन भए ढिलो नगरी अगाडि निस्कँदा मुराद पूरा हुने मौका आएकाले , मौकामा चौका हानी नौका तर्न नचुक्नू होला !

झण्डा परिवर्तनका सुझावकर्ताहरू को आरोप छ हाल विद्यमान नेपालको झण्डा हिन्दू राजतन्त्रको हिमायती छ र परिवर्तित नेपालको जातीय संघीयतालाई प्रतिनिधित्व गर्न जति पनि जातहरू छन् तिनका नामका एकएकवटा तारा राखेर नया झण्डा बनाउनुपर्छ । हुनसक्छ , यो पार्टीले प्रस्ताव गरेको झण्डा झण्डै चीनिया मोडेलको तारावाला हुनेछ, रातो पृष्ठभूमिमा । यो कुराको लख काट्न सकिन्छ किनभने यो राजनैतिक दलले राखेका अधीकांश परिवर्तित नेपालका लागि लागू हुने शब्दावलीहरू उतैबाट सापटी लिएका देखिन्छन् जस्तो कि माओवाद, पिएलए, जनप्रतिनिधिसभा , अध्यक्षमण्डलीय प्रणाली, व्यवस्थापिका नियन्त्रित न्यायलय आदि । हरेक कुराको अनुकरण उतैको हुने भएपछि , झण्डामा तारा हुनुपर्ने यो लगावलाई बुझ्दा केही ताराहरूको संख्या थपेर चीनिया झण्डालाई नै आत्मसात गर्ने सुझाव पो हो कि जस्तो देखिन्छ ।

झण्डाले हिन्दू धर्म र राजतन्त्रको गन्ध बोकेको हो र फेर्न पर्ने हो भने नेपाली भाषाको बचाउ गर्न सकिने कुरा पनि भएन । नेपाली भाषा यसै पनि खस र बाहुनहरूको मातृभाषा भनिने गरेको छ र यसको माऊ भाषा हिन्दूहरूले देवभाषा भन्ने संस्कृत भएको हुनाले नेपालीमा ८०% शव्दहरू संस्कृतबाट नै छन् भन्ने मानिएको छ । यसैपनि जनजाती र तराईयाहरूको नेपाली भाषालाई नेपाल नामको मुलुकले दिएको विशेष स्थान र राष्ट्रभाषाको स्थानप्रति पर्याप्त गुनासो छ ।नया नेपालले सबैलाई न्याय गर्नु पर्ने भएकाले , नेपाली भाषालाई पनि राष्ट्रभाषाको ठाउँबाट हटाएर ' हिन्दी' वा अंग्रेजीलाई 'न्यूट्रल अम्पायर'को दर्जामा स्थापित गराउन पनि धेरैलाई म लागेको हुन सक्छ । नेपाली राष्ट्रभाषा नमानेर हिन्दीलाई च्याप्ने र उपराषट्रपतिले नेपालीमा शपथ खानै हुन्न भन्ने जनजाती महासंघको अडानले यो कुरा देखाएको पनि हो । अत: ओरालो लागेको मृगलाई लखेट्नुपर्छ वा फलाम तातेका बेलामा यसलाई पिट्नु पर्छ भने झैँ , कमजोड नेपाललाई निचोरेर बढि फाइदा लिन यस्तो मौका इतिहासमा दोहोरिने पनि छैन । तसर्थ नया नेपालका ठेकेदारहरूले नेपाली झण्डा फेर्ने प्रस्ताव गरेझैँ केही समयपछि नेपाली भाषालाई राष्ट्रभाषाबाट हटाउन आन्दोलन छेड्ने सम्भावना ज्यूँका त्यूँ रहाक हुनाले राष्ट्रभाषा पनि फेर्ने प्रस्ताव ल्याउन ढिलो नगर्दा हुन्छ । यसको बीऊ परमानन्द प्रकरणमा रोपिइसकिएको छ, यसलाई मलजल गरौँ !

झण्डा र भाषा फेरेपछि 'ने' नामका हिन्दू ऋषीले 'पालन' गरेर नेपाल भएको किंवदन्ती पढेकाहरूलाई यो आसयको नाममा आपत्ति लाग्नु पनि अनौठो हुने कुरा भएन । त्यसैले यो पुरानो नाम 'नेपाल' मा किन रोकिने भनेर क्रान्तिकारी पेटमा आगो दन्किन पनि सक्छ । त्यसैले प्याकेजमा नै सबै कुरा फेरे हुन्छ । राष्ट्रभाषा , राष्ट्रिय झण्डा र मुलुकको नाम नै फेरे पछि त हामी पुराना कुराबाट मुक्त भैहाल्यौँ नि ! आमूल परिवर्तनको यस्तो विधि हुँदा हुँदै किन अरू प्रयत्नमा रुमल्लिइरहने ? देशको नाम पनि 'माओस्तान' वा 'जनताको जनजातीय जनसंघ' वा यस्तै केही राखेर चमत्कार गर्न अब ढिलो गर्नु हुन्न !