August 14, 2009

नेपाल: जातियता ,संघियता र यसको यथार्थ

हाल प्राप्त तथ्याङ्कअनुसार नेपालका ७५ मध्ये २१ जिल्ला र करिब चार हजार गाविसमध्ये नौ सय २८ मा क्षेत्रीको बाहुल्य छ। त्यसपछि दस जिल्ला र चार सय ९२ गाविसमा ब्राह्मणहरूको बाहुल्य देखिन्छ। सात जिल्ला र तीन सय ६२ गाविसमा मगर, चार जिल्ला र तीन सय १० गाविसमा थारू, सात जिल्ला र तीन सय एक गाविसमा तामाङ, तीन जिल्ला र ८४ गाविसमा नेवार, पाँच जिल्ला र दुई सय ७५ गाविसमा मुसलमान, पाँच जिल्ला र तीन सय आठ गाविसमा यादव, ६ जिल्ला र एक सय ८० गाविसमा राई तथा चार जिल्ला र एक सय ३० गाविसमा गुरुङहरूको बाहुल्य देखिन्छ। भाषाको आधारमा हेर्ने हो भने ४९ जिल्लामा ५० प्रतिशतभन्दा बढी नेपाली मातृभाषीहरू छन् भने पाँच जिल्लामा मैथिली र तीन जिल्लामा भोजपुरीभाषीहरूको बाहुल्य छ।

मधेशका केही उच्च जातिको नेतृत्वमा खुलेका दलहरूले प्रस्ताव गरेको स्वायत्त एक मधेश प्रदेशविरुद्ध त्यहाँका आदिवासी थारू खुलेर लागेका छन्। तराईको कुल जनसङ्ख्याको ११ प्रतिशत र मधेशी जनसङ्ख्याको २० प्रतिशत ओगट्ने थारूको असन्तुष्टिले सानो अर्थ राख्दैन। त्यसैगरी तराईका मेचे, कोचे आदिवासी पनि कोच स्वायत्त प्रदेश माग गरेर आन्दोलन गरिरहेका छन्। तराईमा नेपालको जनसङ्ख्याको ४.३ प्रतिशत ओगट्ने मुस्लिम छन्। पहाडका विभिन्न जिल्लामा समेत बसोबास गर्ने यो समुदाय स्वायत्त मधेशभन्दा पनि समानुपातिक प्रतिनिधित्वको लागि आन्दोलन गर्दै आइरहेको छ। मधेशमा बस्दै आएका पहाडेको ठूलो जनसङ्ख्यालाई पनि मधेशी आन्दोलनकारीले अझै सम्म विश्वासमा लिनसकेका छैनन्। बरु उल्टै मधेश आन्दोलनकारीले देखाएको असहिष्णु व्यवहारका कारण पहाडेहरू विस्थापित बनिरहेका छन् जसले मधेशी र पहाडे बीचको सहिष्णुतालाई झन बढी खलल पुर्याएको छ।

पछिल्लो जनगणना अनुसार तराईमा हिन्दू धार्मिक समूहभित्र पनि ११ दलित समूहसहित ४३ वटा फरक-फरक जात छन्। यी समूहहरू मैथली, भोजपुरी, अवधी र बाजिका गरी चार अलग-अलग समूहमा बाँडिएका छन्। यस्तो मिश्रित संस्कृतिलाई कसरी समेट्ने भन्ने कुनै पूर्व तयारी बिना स्वायत्त मधेशको अवधारणा आएको देखिन्छ। मधेश प्रदेशअन्तर्गत प्रस्ताव गरिएको झापा ,सुनसरी र मोरङ जिल्लालाई लिम्बू आन्दोलनकारीहरूले लिम्बुवान प्रदेशभित्र समेटेका छन्। त्यसैगरी माओवादी कै कोच राज्य अन्तर्गत पनि यी जिल्ला पारिएका छन भने एक मधेश प्रदेशमा त यी हुने नै भए । लिम्बुवान राज्यका लागि लडिरहेको संघीय लिम्बुवान राज्यपरिषद्का अध्यक्ष सन्जुहाङ पालुङवा लिम्बुवानलाई मधेश भनिएकोमा आपत्ति जनाउँदै भन्छन्, “हाम्रो पुर्खाले आर्जेको भूमि हामी मरिगए छाड्दैनौँ।”

जातीय स्वायत्त प्रदेशका लागि उपयुक्त र लिम्बुको सघन बसोबास भनिएको प्रस्तावित लिम्बुवान प्रदेशको सीमाङ्कन पनि भद्रगोल छ। लिम्बुवान भनिएको संखुवासभा, तेह्रथुम, धनकुटा, ताप्लेजुङ, पाँचथर, इलाममा उनीहरू भन्दा अन्य समुदायको जनसङ्ख्या बढी छ। उनीहरूले अहिलेसम्मका शासक भन्दै आएको बाहुन क्षेत्री सबैभन्दा बढी (२६.७ प्रतिशत) देखिन्छन्। त्यसपछि लिम्बु (२३.५ प्रतिशत) र राई (१६.३ प्रतिशत) छन्। लिम्बुवानमा बस्ने ४५.२ प्रतिशतको मातृभाषाको रूपमा नेपाली बोल्छन् भने २२.५ प्रतिशतले मात्र लिम्बु भाषा बोल्छन्। राई भाषा बोल्ने जनसङ्ख्या १५.८ प्रतिशत छ। राष्ट्र पुनर्निर्माणः सामाजिक-सांस्कृतिक परिदृश्य भित्रको यो यथार्थतामा अन्य जातिसमूहको उत्तिकै वा भन्दा बढी महत्वपूर्ण उपस्थिति रहेको परम्परागत लिम्बुवान क्षेत्रलाई स्वायत्त क्षेत्रका रूपमा कसरी रेखाङ्कन गर्ने?

माओवादीले तमुवान भनेर मानेको गण्डकी प्रदेशको कुरा पनि यस्तै उदेक लाग्दो छ । गण्डकी अञ्चलको विभिन्न समुदायको तथ्यांक हेर्दा मनाङ बाहेक गुरूङहरूको मात्र बहुमत भएको जिल्ला नै भेटिन्न । लमजुङ कूल जनसंख्याको ३७ प्रतिशत गुरूङहरूको बसोवास रहेको जिल्ला भए पनि त्यहाँ त्यति नै प्रतिशत ( ३७%) बाहुन- क्षत्रीको बसोवास रहेको छ । गोरखामा १७% गुरूङ छन् भने त्यो भन्दा दुगूना बाहुन क्षत्री छन् । कास्कीमा १०% गुरूङ छन्न भने ४५% भन्दा बढी बाहुन-क्षत्री रहेका छन् । तनहूँ लगभग ४७% मगर बहुल जिल्ला हो भने श्याङ्जामा बाहुन-क्षत्री मिलाउँदा लगभग ४८% पुग्छ भने गुरूङ् ७% र मगरको २७%संख्या रहेको छ । जनसंख्याका हिसाबले सबैभन्दा साना दुई जिल्ला मनाङ र मुस्ताङमा मात्र गुरूङ बहुमत रहेको यो भेगको यो जनसांख्यिक तस्वीर भित्र कसरी तमूवान राज्य खोजिने हो आँफैमा बुझिनसक्नु पहेली बनेको छ ।
माओवादीले गरेका स्वायत्त प्रदेशको सीमाङ्कन राज्य पुनर्संरचना आयोगको अध्ययनको आधार हुने भएकाले त्यसलाई लिएर संविधानसभामा हानथापको स्थिति सृजना हुनसक्छ। एकातर्फ पहिचान (जाति, भाषा, धर्म र संस्कृति)को आधारमा संघीय ईकाई बनाउनुपर्ने चुनौती छ भने अर्कातर्फ यसोगर्दा अर्को जातिको आत्मसम्मानमा ठेस नपुगोस् भनेर हेर्नुपर्ने पनि जरुरी छ।

जातीय आधारमा तीनवटा राज्य बनाएर सङ्घीय शासन आरम्भ गरिएको नाइजेरिया अहिले ३६ टुक्रामा विभाजित भएर अनवरत हिंसा र द्वन्दको दलदलमा फँसेको छ । नेपालमा अहिले जतिवटा सङ्घ बनाए पनि सङ्घीय राज्यहरू यिनले निर्धारण गरिदिएको सङ्ख्यामा सीमित भएर भोलिसम्म रहनेमा विश्वास गर्न सकिने स्थिति हुन सक्दैन। क्रमशः हरेक जातले आफ्नै राज्य बनाउँदै जाँदा हाल एक लाख सतचालिस हजार वर्गकिलोमिटरको देश नेपाल कम्तीमा पचास टुक्रामा विभाजित हुनसक्ने सम्भावना छ। सिद्धान्त, विचार, दर्शन र देशका कुरा छोडेर पार्टी नै गठन गरे पनि मलेसियामा झैं जातीय पार्टी मात्र चल्ने स्थिति बन्यो भने नेपालका एक सय एक जातिले आ–आफ्ना पार्टी र सङ्घ स्थापना गर्न खोज्नु अस्वाभाविक हुँदैन।


माओवादीले प्रस्ताव गरेको स्वायत्त प्रदेश कम्युनिष्ट सिद्धान्तबाट निर्देशित भएको हुनाले तिनमा केन्द्रीयता हावी हुने निश्चित पनि छ। तर यही बाटोबाट हुर्किएको जातियतावदी समूहहरूको जातिय संघियताको योजना भने आ-आफ्ना जातिय अग्राधिकारलाई कायम गरी आत्मनिर्णयको अधिकार सहितका राज्यहरू पाउनु पर्छ भन्ने बुझाइको छ । अति केन्द्रीयताले गर्दा परम्परागत कम्युनिष्ट शासन भएको मुलुकका संघीय व्यवस्था टिकेका छैनन्। पूर्व सोभियत संघ, चेकोस्लोभाकिया, युगोस्लाभिया त्यसका दृष्टान्त हुन्। लोकतन्त्र नभएका अति केन्द्रीकृत र सैनिक शासन भएका देशमा पनि संघीय व्यवस्थाले राम्ररी काम गर्दैन। ब्राजिल, मेक्सिको, नाइजेरिया, पाकिस्तान, अर्जेन्टिना त्यसका उदाहरण हुन्। त्यसैगरी कतिपय समुदायले उठाएका अग्राधिकारका कुरा पनि लोकतान्त्रिक पद्धति विपरीत छन्। पीताम्बर शर्मा भन्छन्, “बाहुन क्षेत्रीको उत्पीडनबाट मुक्त भएर कुनै अमूक जातिको तानाशाहीभित्र बस्नुपर्छ भन्नु सामन्ती सोच हो। त्यसले फेरि घुमाइफिराइ सामन्तवादकै पक्षपोषण गर्छ।”

( तथ्यांक केतवि, नेपाल , तथा आलेख, संकलन तथा टिपोट समकालीन नेपाली पत्रपत्रिकाहरू बाट )



मन्दिरको ढेडु र कुर्सीको बाँदर !

मन्दिरको एउटा ढेडु
नित्य निरन्तर
बिहान उठेर आफ्ना बथानसंगै
बथानकै हितको लागि जुट्छ।

आर्को ईलाकाको घुसपैठलाई धपाउँछ
आफ्नो बथानको लागि रसद जुटाउँछ
बाहिरीया संग जे-जस्तो भए पनि
आफ्नो एकतामा समय लुटाउँछ

कुर्सीको अर्को बादँर सधैं सधैं
आफ्नै समुहबाट बच्न खोज्छ
कुर्सी सुरक्षीत हुन्छ भने
सिमा मिचाई पनि भुलाउँछ

आर्को समुह देखि मात्रै हैन
आफ्नै खैरे, पाँङ्रे र ध्वाँसेसंग सशंकित हुन्छ,
ध्वाँसेलाई काले र खैरेलाई पाँङ्रेसंग जुधाउँछ
कुर्सि बचाउन हिमाल र बुद्ध पनि बुझाउँछ

मन्दिरको ढेडु,
आफ्ना जत्थाको पिरमा साझेदार हुन्छ
कुर्सिको बाँदर,
समस्याको बेलामा विदेश सबार हुन्छ

मन्दिरको ढेडु उमेर ढल्के पछि
जवान ढेडुलाई जिम्मा सुम्पन्छ
कुर्सीको ढेडु, आर्यघाट बाटै पनि
हैकम चलाउन तम्सन्छ

मन्दिरको ढेडु
मन्दिरको अखण्डता पुरा गर्छ
कुर्सीको बाँदर
अंशबण्डाको कुरा गर्छ

अचम्म छ, कुर्सीको बाँदरको
उल्टै क्या सम्मान छ !
मन्दिरको ढेडु बिचरा,
व्यर्थैमा बदनाम छ



August 13, 2009

नेता!



सिनो खान पल्केकाहरू
ढुकेर बस्छन अवसरलाई
कुरुप पखेटा फट्फटाउँदै
ठूलो चोक्टा खोज्ने त
यिनको विशेषतै हो।

झ्यांगमुनि लुकेर
विभत्सतालाई
नियाल्ने गिद्देनजर
यथार्थताको
आकाश देख्दा तर्सिन्छन् !

आस्तित्वरहित
घोक्रो आवाज
निकाल्ने चुच्चोले
समर्पण अनि वलिदानमाथि
धृष्टता देखाउँदै
लुँछाचुँडी गर्न तम्सन्छन्!

प्वाँख झरिसकेका
पखेटा उठाउँदै
पुरानै हाँडी घोप्टेहरू
एक-आपसममा चुच्चो ठोकाइरहेछन
जुधिरहेछन् सिनोको लागि!

करोडौं सेता परेवा
प्रतिकारको लागि
जुटिरहेछन
खबरदार!
बकुल्लाहरू हो !
एक्लै उड्ने कोशिश नगर
खुल्ला आकाशमा !!!

-आश्मा


August 12, 2009

आज श्रीकृष्णजन्माष्टमी:


यदायदाहि धर्मस्य ग्लानिर्भवति भारत:
अभ्युत्थानं Sधर्मस्य तदात्मानां सृजम्म्हम्
। - भगवद्गीता

आज २०६६ साल श्रावण २९ गते ( तदनुसार १३ अगष्ट २००९ ) विश्वभरका , अझ विशेष रूपमा नेपाल र भारतका, हिन्दू धर्मावलम्बीहरूका लागि महत्वपूर्ण धार्मिक पर्व कृष्णाष्टमी हो । यो पर्वलाई ‘गोकुलाष्टमी’ , ‘जन्माष्टमी’ वा ‘ श्रीकृष्णाष्टमी’ पनि भन्ने चलन छ । द्वापर युगमा, श्रावण कृष्ण पक्षको अष्टमी तीथिको मध्य रातमा भगवान श्रीकृष्णको जन्म भएको विश्वास छ ।

कंस , शिसुपाल , जरासन्ध, पुतना , वकासुर आदि जस्ता मायावी दैत्यहरूको दवदवा बढेर , संसार संत्रस्त हुन थालेपछि देवताहरूको अनुरोधमा सज्जनहरूको संरक्षण र दुर्जनहरूको विनाश गर्न भनी भगवान विष्णुले वासुदेव र देवकीको ८ औँ गर्भबाट कंसको आफ्नै भाञ्जाको रूपमा जन्म अवतार लिनुभएको हिन्दू विश्वास रहिआएको छ । कठिन परिस्थितिमा जेलभित्र जन्मिएर , आफ्ना सानिमा र आफन्तहरूको रेखदेखमा राक्षसी कुदृष्टिबाट जोगिँदै जोगाउँदै हुर्काइएका भगवान कृष्णका वाल्यकालका अद्भूत सौर्य र पराक्रमहरू बिभिन्न पुराणहरू , महाभारत र कृष्ण चरित्र जस्ता ग्रन्थहरूमा महत्वका साथ वर्णित छन् । पछि , दानवहरूको संहार गरिसकेपछि, महाभारतको युद्धमा समेत आफ्ना प्रिय सखा पाण्डव र विशेषत: अर्जुनको साथ लडेर अत्याचारी कौरवलाई हराउन मद्दत गरी , श्रीकृष्ण गीता जस्तो अमृत सन्देशले भरिएको भगवद्वचनको संग्रह समेत हामीलाई भगवान श्रीकृष्णले दिएर जानुभएको विश्वास छ ।

यिनै विश्वासका आधारमा असत्य र पापाचार माथि विजय पाउन भगवान कृष्णले जन्म लिनुभएको पवित्र सन्दर्भलाई व्रत, उपवास र उल्लासका साथ मनाउन दिनभर भक्तजनहरूले व्रत वा उपवास बसेर मठ-मन्दीर वा घरमा पूजापाठ गरी मध्यरातमा , श्रीकृष्णको जन्मसंगै यो पर्वको कार्यक्रम विसर्जन गर्ने चलन रहिआएको छ । कतिपय स्थानका पूजाविधिहरूमा पूजामा नाटक वा रूपकलाई पनि साथसाथ अगाडि बढाएर मध्यरातको पूजाबीच ‘झूला’ वा ‘कोर्को’ मा भगवान श्रीकृष्णलाई जन्माइसकेपछि मात्र विधिवत् रूपमा पूजाको विसर्जन गरी यो व्रतको विधिलाई समापन गर्ने चलन छ ।

हाम्रो नेपालमा पनि आजको दिन पाटनको श्रीकृष्ण मन्दीरमा भव्य पूजाको आयोजना गर्ने चलन छ भने , नेपालका लगभग सबैजसो भगवान विष्णु, कृष्ण, नारायणका मन्दीरहरूमा तथा व्रतालु घरघरमा दिनभर भक्तजनहरूले व्रत पारायणमा रही भगवद्भक्ति र पूजापाठमा दिन अर्पण गर्ने चलन छ । नेपाल र भारतभरि व्रत, पूजा , रथयात्रा र झाँकीहरूको आयोजना गरी धूमधाम रूपमा मनाइने यो एउटा महत्वपूर्ण पर्व हो र मथुरा, वृन्दावन र द्वारका यस उद्देस्यका लागि पवित्र तीर्थ धामहरू हुन । उपलक्ष्यमा विश्वभरका र विशेषत: नेपाली हिन्दू धर्मावलम्बीहरूमा श्रीकृष्णजन्माष्टमीको हार्दिक मंगलमय शुभकामना !

परिशिष्ट ( कमेण्टबाट):

श्रीकृष्णको अन्त्यको कथा केही विस्तारमा जाँदा यस्तो छ:

त्रेता युगमा रामले आफ्ना मीत सुग्रीबलाई सहयोग गर्न सुग्रीबको दाजू बालिलाई मारे । बालीका छोरा अंगद ,आजीवन आफ्ना पिताका हत्यारा रामका सेवक रहेर लंकाको लडाईँमा समेत सहयोगी मात्र बनेनन् बरू जीवन नै रामको सेवामा समर्पित रहे । सेवाबाट खुशी भएका रामले अंगदलाई आशीर्वाद माग्न भने र अंगदले आफ्नो पिताको हत्यारा स्वयं 'राम' लाई मार्न पाऊँ भनेर मागे । रामले अंगदको यो इच्छा पूरा गरिदिँदै भने ' द्वापर युगमा म कृष्ण भएर जन्मिनेछु र तिमी व्यधा भएर मलाई मारेर पितृ हत्याको बदला लिन सक्नेछौ'। यही वचन पूरा गर्न द्वापर युगको अन्त्यतिर समग्र कौरव पाण्डव र यदुवंशीय आफन्तको विनासपछि उदास बनेका कृष्ण, एउटा चौतारीमा विश्राम लिँदै आफ्नो वैकुण्ठ फिर्ताको कुरा सोच्दै थिए । उनको खुट्टाको हल्लिरहेको बुढी औँलालाई चरिरहेको मृगको कान ठानेर , धनुष चलाएर उक्त व्यधाले घाइते बनाए । पछि व्यधा आएपछि कृष्णले आफ्नो र व्यधाको कथा व्यधालाई स्मरण गराउँदै देह त्याग गरे । तर , त्यो तीर जसको टुप्पोमा विष भरिएको थियो , त्यसले खुट्टाको बुढी औँलामा लागेर कृष्णको देह त्याग हुनुपर्ने कारणको कथा भने अलग छ ।

कृष्ण रोमाण्टिक मात्र थिए त ?

वास्तवमा अज्ञानतावश पनि कृष्णलाई रोमाण्टिक हिरोको रूपमा बुझ्ने गरिएको कुरा साँचो हो । पौराणिक एवं हिन्दू विश्वास अनुसार कृष्णका १६१०८ श्रीमति थिए भन्ने पाइन्छ । राधा, रुक्मीणी, सत्यभामा र जाम्बवती लगायतका ८ वटा कृष्णका पटरानीहरू मध्येका धेरै जसो सुन्दरीहरू श्रीकृष्णको सौन्दर्य र पराक्रमबाट मोहनी नै लागे झैँ गरी उनलाई नै पति पाउने इच्छाले आशक्त थिए र ती मध्ये राधासंग स्वयं श्रीकृष्णको प्रेम प्रसंग रहेको कुरा ग्रन्थहरूमा उल्लेख छ । रूक्मीणीलाई उनको इच्छा बिरुद्ध उनको दाजु रुक्मीले जबर्जस्ति शाल्वसंग बिहे गराइदिन खोज्दा , उद्दार गरिएको थियो र उनले आँफूले जहिले पनि कृष्णलाई मात्र पतिको रूपमा सोचेको भनी कृष्णलाई अपनाइन । आफ्ना पटरानी मध्ये केहीलाई तिनका आफन्तहरूले जबर्जस्ति अरू दानवसंग बिहे गराइ दिन खोज्दा , उद्दार गर्ने क्रममा ती कन्याहरू लाई आँफैले स्वीकार गर्नु परेको स्थिति पनि कृष्णको जीवनमा रहेको देखिन्छ ।

त्यति बेलाको भारतीय उपमहाद्विपको समाज व्यवस्था अनुसार , सम्भवत: सबैभन्दा पराक्रमी ठानिएका राजकुमार वा वीरहरूले ,कुनै राजदरवारमा राजकन्याहरूको स्वयम्वर घोषणा गरिएपछि आँफूलाई धनुर्विद्या र शस्त्रास्त्र परिचालन कौशलमा सबैभन्दा विशिष्ट साबित गरी प्रमाणित गर्नु पर्थ्यो र यसो नगर्नु कायरता ठहर्थ्यो । जहाँसम्म १६१०० पत्निको प्रसंग छ, यो विषयमा धेरै मान्छेहरू कुरा नबुझी बोल्ने गरेको मैले पाएको छु ।

यो कथा यस्तो छ:

जरासन्ध नामको डरलाग्दो अत्याचारी दानव थियो। उसको कैदमा संसारभरबाट उसले राम्री ठानेका केटीहरूलाई जबर्जस्ति अपहरण गरेर वा गर्न लगाएर थुनेको थियो । यो डरलाग्दो दानवसंग कृष्णको २ पटक युद्ध भएर पनि उसको अन्त्य हुन सकिरहेको थिएन किनभने ,जरासन्धको मृत्यू कृष्णको नभएर भीमसेनको हातबाट हुनु उसको कालगतिमा थियो। अन्तमा, एक दिन भीमसेन, अर्जुन र कृष्ण गएर जरासन्धलाई भीमसेनसंग युद्ध लड्न ललकार दिए । २७ दिन घमासान युद्धमा नतिजा नआए पछि २८ औँ दिनमा भीमसेन थाक्दै गए । तर जरासन्धको जाँघमा ( लोइन) उसको कमजोडी छ भन्ने थाहा पाएका कृष्णले , एउटा घाँसको त्यान्द्रो टिपेर त्यसलाई बीचबाट चिरेर देखाए । यसको संकेत बुझेका भीमले , जरासन्धलाई उसका दुइटा खुट्टा फट्टाएर च्यातेर मार्न सके ।

यसरी जरासन्धको अन्त्य त भयो , तर जरासन्धको कैदबाट मुक्त गरिएका १६१०० महिलाहरूले कृष्णलाई समस्या खडा गरे । उनीहरूले भने “ हामी जरासन्धको कैदमा थुनिएर उसको नियन्त्रणमा थियौँ र हाम्रो पालन पोषणको जिम्मा उसको थियो । तर अब, हामीलाई स्वतन्त्र भयौ भन्दैमा ,हाम्रो समाजले हामीलाई अपनाउने छैन र हाम्रो जाने ठाऊँ कहाँ छ ? कृष्ण, कि त हामीलाई अपनाउनुस् र हाम्रो जिम्मेवारी उठाउनुस् हैनभने हामीलाई जरासन्धको कैदबाट मुक्त गरेर तपाईँले अझै ठूलो विपत्तिमा उभ्याइदिनुभएको छ” । यस्तो परिस्थितिमा , ती सबै १६१०० कैदी महिलाहरूलाई श्रीकृष्णले स्वीकार गरी उनीहरूको पालनपोषण, ऐश आराम र आवश्यकताको जिम्मेवारी स्वीकार गरेको वर्णन धार्मिक ग्रन्थहरूमा पाइन्छ । त्यो मात्र हैन , सामाजिक अवगाल र अपहेलनाबाट जोगाउन , कृष्णले यी सबै महिलाहरूलाई आफ्नो पत्निको मान्यता दिए ता कि अपहरित भएका र आफ्ना परिवारले समेत राक्षसी डरका कारण आफ्नो भनी स्वीकार गर्न नसकेका यी असहाय महिलाले एउटा विश्वविजयी पुरुषको संरक्षण पाउन सके । तत्कालीन समाजको चरित्र अनुसार एउटा प्रभावशाली पुरुषको पत्नि बनेका उनीहरूलाई समाजले हेप्न पनि पाएन वा सकेन होला ।

तर पनि गोपलावंशी कृष्णका प्रेम प्रसंगहरू र गोकुलका गोप एवं गोपिनीहरूसंग का आत्मीय प्रेम र शृङ्गारिक रास लिलाका प्रसंगहरू चर्चित छन् यिनको वर्णन पनि विस्तारमा गरिएको पाइन्छ ग्रन्थहरूमा । कृष्णको जीवनको यो पाटो अत्यन्त विशाल र विषद छ र पनि यो नै सबै भने हैन । एउटा कठीन जीवनका विविधता र जटिलता बीचमा, कृष्ण अनुयायीहरूले पनि उनका समग्र वा पृथक पृथक रूपहरू मध्ये एउटा वा सबै पक्षलाई पूजा गरेका हुन्छन् । यस्ता प्रेम, संलाप, बाँसुरी वादन, क्रिडाहरू र रोमाञ्चको प्रदर्शन कृष्णको जीवनको वाल्यकाल र युवा अवस्थामा नै भएका छन् भने युवा अवस्था पछिका कृष्ण बढी कुटनीति, राजनीति, शान्ति र युद्धका प्रसंगमा संलग्न फेला पर्छन्। कृष्णका व्यक्तित्वमा रहेका अनेकौँ पक्षहरू मध्ये 'भक्तियोग' का अनुयायीहरू ( जस्तै मीरा, सूरदास ) आदिहरूले यही प्रेममय कृष्णको आराधना गर्ने गर्छन भने , कर्मयोग र गीताका अनुयायीहरूले 'कर्मण्यैवधिकारेस्तु मा फलेषू कदाचन:' ( Action is your duty, reward is not your concern' भन्ने गीताको सार वाक्यांसलाई आदर्शको रूपमा अवलम्बन गर्छन् ।

हाम्रो अहिलेको समाजशास्त्रीय र राजनीतिक व्यख्याले यो मिथकीय कुराको सत्यलाई निरूपण गरेर तर लाग्ने कुरा हैन , तर पौराणिक आख्यान र किंवदन्तीमा जीवीत वर्णनहरूलाई पनि तिनको पूर्णतामा हेर्यो भने क्रमवद्दता र क्रमसंगति नपाइने हैन । धर्म, पुराण वा मिथक विज्ञान हैनन यहाँ वर्णित कुरालाई कहिले कथा, कहिले विम्व वा प्रतीकको रूपमा बुझ्दै त्यहाँ निहित दर्शन, लक्षणा र व्यञ्जनालाई बुझ्यो भने केही न केही काम लाग्ने कुरा फेला पर्न सक्छ । धर्म र आस्थालाई empirical truth को कसीले सत्य साबित गर्न सकिन्न , यो त केवल मान्छेको विश्वासमा जीवित वा नीर्जीव बनेको हुन्छ । राजनीतिक विचार वा अन्य दर्शनको औचित्यता पनि तिनका विश्वासीहरूलाई मात्र रहने आग्रही सत्य हुन्, सापेक्ष सत्य जस्तो । निरपेक्ष वा पूर्ण सत्य स्वयं पनि सायद एउटा मिथ नै होला । अहिलेलाई यत्ति ।


August 10, 2009

दुष्टले त लाज खायो :

-एकलव्य

बेथितिको भेल आयो, आतंकको राज छायो
दुष्कर्मी र पापीले नै सत्कर्मीको भाग खायो ।

राम्रो गर्यो राम्रै फल्छ , भन्ने चलन हराएर
रित जाँदा , हेर आज धुरीबाट पाप करायो ।

जनताको नाम लिँदै , लाज सर्म पचाएर
क्रान्तिकारी कुरा गर्यो्, लुड्याउँदै भाग खायो।

बोक्सी आँफै धामी आँफै, ताण्डवको राज छायो
सभ्यताको बिहानीमा, दूर्दिनको मात लायो ।

बोल्नेको हो पीठो बिक्ने, यति जाने हुन्छ हजूर
जान्ने बुझ्ने छैनन यहाँ, दुष्टले त लाज खायो ।

August 9, 2009

गूगल अर्थले गल्ति सच्चाउने रे, तर हाम्रो हैन !

मैले केही समय अघि गुगल अर्थले सगरमाथाको शीखर चीनमा परेको देखायो भनी आपत्ति जनाएको थिएँ । त्यस्तै खालको लेख हिजोको टाइम्स अफ इण्डियाको वेब संस्करणमा पनि छापिएको थियो । यसका अनुसार , गुगुल अर्थको पछिल्लो भर्सनमा , भारतको सुदूर उत्तर पूर्वी अरूणाचल प्रदेशका भारत शाषित धेरै भूभागलाई  चीनिया भूभागको रूपमा देखाइएको रहेछ । बुझ्न सकिन्छ, यो समाचार पढेपछि कति भारतिय जनता र सरकारका प्रतिनिधिहरू समेतले सो कुराको बिरोध गरे होलान् गूगल समक्ष । त्यसैको परिणाम गूगलले आँफूबाट गल्ति भएको र सो गल्तिलाई सच्चाउने आश्वासन भारतीयहरु सामु प्रकट गरेछ ।

स्मरणीय छ,भारत र चीन बीच प्रशस्त सीमा विवादहरू छन् । यी मध्ये भारतले आफ्नो भूभाग हो भनी दावा गरेको पश्चिमोत्तर राज्य जम्मू काश्मीर प्रदेशको अक्साइ चीन भनिने भूभाग र पूर्वोत्तरको अरूणाचल प्रदेशको उत्तरी भूखण्ड समेत नब्बे हजार वर्गकिलोमिटर क्षेत्रफल भएको विशाल भूभाग अझै चीनीया नियन्त्रणमा नै छ । भारत चीन बीच सीमा विवादले गर्दा पछिल्लो समय १९६१-६२मा यी दुई मुलुकबीच घमासान युद्ध पनि भयो र आजपर्यन्त सीमा विवाद समधानका प्रशस्त प्रयासहरू भए पनि यी दुई मुलुक बीच समस्या यथावत् छन् । रोचक कुरा त के छ भने , त्यति बेलाको भारत माथिको चीनीया आक्रमणलाई भारतको मार्क्सवादी कम्युनिष्ट पार्टीले सही ठहराएको थियो । कम्युनिष्ट राष्ट्रले आफ्नो मुलुकमाथि गरेको आक्रमणलाई सही ठहर्‍याउने कम्युनिष्ट  पार्टीभित्र यो कुराले ठूलो विवाद जन्मायो र यो पार्टी भारतीय कम्युनिष्ट पार्टी ( चीनिया आक्रमण बिरोधी ),मार्क्सवादी कम्युनिष्ट पार्टी ( चिनीया आक्रमणको शुरूमा भोकल र पछि मौन समर्थक ) मा विभक्त भयो । यो विवादास्पद,राष्ट्रविरोधी तथा कम्युनिष्ट अन्तर्राष्ट्रवाद पक्षीय अडानले गर्दा , आज पर्यन्त भारतीय राष्ट्रवादमा माकपाका बारेमा धेरै नै प्रश्न उठ्ने गर्छन् ।

आफ्नो सीमामा गूगलले अन्यथा देखायो भनेर गल्ति सच्चाउन घच्घचाउने भारतीयहरू , अरू साना छिमेकी मुलुकका सीमाहरूमा उनीहरूका कारण देखिएको मलमिचाइँमा भने चूँ सम्म बोल्न उचित ठान्दैनन् । यसको उदाहरण नेपालले भोगेको भोग्यै छ । उता नेपालको उत्तरी सीमामा भएको चीनिया अर्घेल्याईँ भने नेपाली मिडिया र जनताको मनमाथिंगलमा कहिल्यै देखा नै पर्दैन किनभने उत्तरी सीमा त धेरै नेपालीलाई थाहै छैन। 

गूगलले गल्ति सच्चाउने कुराको समाचार यो लिंकमा छ :

http://timesofindia.indiatimes.com/news/india/Google-admits-mistake-of-wrong-depiction-of-Arunachal/articleshow/4871753.cms

अनि हाम्रा नेतालाई पनि कस्तो टेन्सन् भएको होला ! आफ्नो राष्ट्र रसातल तिरको यात्रामा झरेको झर्यै छ त्यसको बारेमा चासो छैन । मुलुकलाई सँधैको हिंसा , अराजकता र रडाकोको क्रान्तिमा हुलेर बडा बडा गुड्डी हाँक्दै ,   हाम्रा कामरेड प्रचन्ड भने अमेरिका र भारत मिलेर चीनलाई खान लागे भनेर सुर्तामा दुब्लाएका पो देखा परे , हेर्नूस त , तलको लिंकमा  :

http://www.indianexpress.com/news/prachandas-latest-india-us-planned-to-attack-china-using-nepal/498655/

अनि यसको खण्डन यो लिंकमा:

http://www.indianexpress.com/news/India-rubbishes-Prachanda--s-claim/499165

हरे, हाम्रो गति र मति !

(सगरमाथा हाम्रै भएको जानकारी गुगलाई दिन कृपया यो पेज मा गएर “Please select the problem you're experiencing” भन्ने Dropdown menu मा “Wrong location” को विकल्प चुनेर सबैले २-३ लाईन नै भएपनि लेखौं ।)



गजल

थोपा पुगेनन कि आँसुको छाती त जली नै रह्यो
लप्काले छोप्यो हेर्दा हेर्दै मुटु मेरो बली नै रह्यो

देखेको हुन्न रहेछ लेखिएकी रहेनछ्यौ शायद
भाग्यले पनि यही अभागीलाई नै छली नै रह्यो

जुनी जुनी पुराउछु भन्थ्यौ हाम्रो नाता बार बार
तिम्ले गाड्या मायाको चिनो हेर्दा हेर्दै ढली नै रह्यो

अधेँरोमा छु शायद खुशी छु अधेँरो बाँचेर पनि
दियो त के बल्थ्यो मन भरी हुरी जो चली नै रह्यो

मुटु भित्र दुखेका अतीत घरि घरि घोच्छन किन
रोक्दा रोक्दै पनि आँखाको त्यो गोरेटो गली नै रह्यो