February 28, 2009

हप्ता हंगामा - १ लाखमा गाडी


हो त, अब एक लाखमा गाडी किन्न पाइने भएको छ। भारू १ लाख याने अमेरीकी डलर २५०० मात्र । यो नेपालको बजारमा पनि देखिन सक्छ। सुरक्षाको कारणले अन्य देशमा भने यस्ले ठाउं पाउने छैन। २ सिलिन्डर इन्जिन भएको Tata Nano गाडी यही मार्चबाट बजारमा बिक्री बितरण हुने भएको छ। आउन त पहिलै नै आउनु पर्ने हो तर गाडी बनाउने कारखानाले किसानलाइ गतिलो मुआब्जा नदिएको कारण बिरोध मात्रै भएन टाटाले कारखाना नै सार्नु परेको थियो।
यो गाडीको सुरक्षा प्रबिधी एकदमै कमजोर मात्रै होइन कि छँदै छैन भने पनि हुन्छ। एन्टी लक ब्रेक त छैन छैन, एयर ब्याग पनि यसमा छैन। पछाडीको सिट मुनी इन्जिन भएको यो गाडीमा अगाडीको पांग्रा फित्ताले गुडाउंछ। हेर्दा यो चार पांग्रे गाडी भए पनि यस्लाइ छत भएको मोटर साइकल भने फरक नपर्ला। साना साना २ जना अगाडी बस्न मिल्ने यो गाडीमा अगाडीको सिटमा भने सिट बेल्ट छ। तर यस्मा पावर स्टेरिगं,पावर झ्याल जस्ता प्रबिधीको नामो निसानो छैन।

यो फुच्चै गाडी टाटाले महिनामै १५०० गाडी बनाउन सक्छ रे। दिनमै १५०० नया गाडी थपिने भारतमा यस्ले कतीको जाम थप्ने हो? भनिन्छ काठमान्डोमा गाडी लाइन लगाए बाटो भन्दा गाडीको लाइन लामो हुन्छ रे। भने पछि यो गाडी नेपाल भित्रीए गाडीको लाइन पक्कै थानकोट कट्छ। मारुती गाडीले टेम्पोको संकट निम्ताए अब भने खैनीको बट्टा भन्दा अली ठुला यि गाडीले ढोका थर्केने मारूतीलाइ साढे सात निम्ताउने निकै भय छ।


February 27, 2009

राजेन्द्र खेतानले हजुरआमा मारेको सत्यता:

कुरो मेरो परिवारिक घटनाको हो तर यहाँ उल्लेख गर्न मनले घचघचाइरह्यो । म बोस्टनको दुई बर्षे बसाइ छाडेर पर्सी क्यालिफोर्निया जादैछु, सर्दैछु । यसै शिलशिलामा आफन्तहरुले बोलाउनुभएको थियो - मलाई बिदाइको जमघटको लागि । त्यही त हो, नेपालीको बानी खायो, कुरा काट्यो अनी त्यही राजनीति । कुरो पार्टिगत हुँदै जादा नेपाली राजनीतिमा कम्युनिस्टहरुको उपस्थिती र टिकाउको समालोचना भयो । हुन त मैले ब्यक्तिगत कुरो यहाँ लेखीरहन त्यती उपयुक्त हुँदैन, त्यो मलाई थाहा छ । तर पनि सन्दर्भमा उठेका प्रसँग मात्रै कोट्याएको ।

एक जना दाजुले त्यसै प्रसङमा भन्नुभयो - मोहन गोपाल खेतानले नेपाली राजनीतिका कुनै पनि नेताहरुलाई चन्दा दिएकोले तिनिहरु सबै मेरा भुसुना हुन भन्थे । छेउमै बसेका अनी नाताले मेरा भिनाजु पर्नेले कता कता त्यो कुरा सुनेर जुर्मुराउदै आए । त्यो राजेन्द्रे चोर ? हत्यारा ?? अहिलेको "कथित" सभासद ??? त्यसले मेरो सासुलाई गाडीले हानेर मार्यो । त्यो हत्याराले कसरी नयाँ नेपालको खाका कोर्छ ? भन्दै भिनाजु रुन पो थाले ।

राजनीति र हत्या सगैं मिसिएकोले मैले सबै उपस्थित आफन्त महाजनहरुलाई धैर्य गरी वास्तविकता तिर लाग्नुपर्नको लागि अनुमती मागे । मेरो आग्रहपछी भिनाजुले भन्नुभएको "त्यो राजेन्द्रको" कहानी ।

२०५३ फागुनमा मेरा ति भिनाजुको बिहे छिनिएको रहेछ । ति भिनाजुको घर गोर्खा, ठिगुरेस्वारा । पछी कुरिनघाट । एकदिन भिनाजुको बिहे छिनिएसके पछी ति सासु त्यसै रोडपारी आफन्तको घरमा चिया पिएर अनी दु:ख सुखको कुरो गरेर बाटो काट्दै हुनुहुदोरहेछ । कुरिनघाटको त्यो मोडबाट एउटा कालो गाडीले बुढी आमालाई अचानक हानेछ । हान्यो, दुर्घटना भयो । कतिपय बेला मान्छे मुटुले काम नगरेर पनि बाच्छ भन्छन । हानेर मात्रै छोडेको भए पनि त बुढी बाच्थिन कि ! त्यो हत्याराले गाडी पछाडि पाङ्रा घुमाउदै ल्याएर लडेकी आमालाई फेरी हानेर किरिप्पै पारेछ । हत्या भयो । बजारकी आमाको हत्या भयो । बजारमा सबै लाटो र नबुझेका त पक्कै हुँदैनन । केही मान्छेले सोधेछन, ल हत्याराको लाइसेन्स ले त भनेछन । कसैलाई मारेर मात्रै हिंडेको भए फेरी अरुलाई पनि हानेर भाग्थ्यो होला तर छिमेकी हरुले छेकेछन अनी लाइसेन्स हेर्दा त रहेछन तिनै महान ब्यापारी मोहन गोपालका छोरा राजेन्द्र खेतान, अनी ने. क. पा. मालेको तर्फबाट मनोनित सभासद राजेन्द्र खेतान । गाडीको अगाडिको यात्री भुसतिघ्रे केटी - अर्धनग्न । पछाडि एउटा केटो, शायद खेतानको पि. ए. होला र अरु दुइ जना अर्धनग्न साहेलिहरु । टन्न बियर तानेर झल्लान भएका । मस्त ति राजेन्द्र, गाडीको ह्यान्डल समाएको थियो कि अरु कुनै चिज ... त्यो त भगवान जानुन । तर बाटामा हिंडेकी निर्दोष आमाको बेकारमा ज्यान गयो । तिनै राजेन्द्र अहिले कम्युनिस्ट भनौदा मालेको कोटाबाट सभासद छन । तपाइ हामी नै बिचार गरौ, त्यस्ता हत्याराबाट हामीले के आशा गर्ने ?

चारपट्टी तरुनी अनी सडकमा गाडी तथा निर्दोष आमाहरुको हत्या । आज तिनिहरुकै हालिमुहाली छ देशमा । हुन त मेरा भिनाजु पर्ने रोए । पक्कै पनि सारा नेपाली यो घटना सम्झेर रोलान या नही त्यो उनिहरुकै मनले जानोस् । कसैको सासु मर्दा त्यसपछी पनि छिनेको बिहे माथि सासुको हत्या अनी दर्दनाक तबरले । त्यसरिनै रोएको रहेछ भेनाको मन अनी सँगै बसेकी दिदिकी मन अनी मारिने ति आमाको छोराको मन ।

अब तपाईं हामी सोचौ । कसरी चलेको छ देश ? कसले अनी के का लागि ? को छन ठाउमा ? कमाउने ठाउमा, मार्ने र मनाउने ठाउमा । यसरी नै चलेको छ संसार र सँगै दुनियाँको रीत । कसैक्क सासु अनाहकमा मरे पनि बाँकी शान्तातिले सुख पाउन । हत्याराहरुको हातले लेखेको संबिधानले सात हजार सहिदका मनले शान्ती पाउन । जय शहिद ! जय नेपाल !! अस्तु !!!



मुख बुझो लाउनु कस्को

मुख बुझो लाउनु कस्को भन्नेले के के भन्छन
काम नहुनेको के कुरा दिउसै तारा गन्छन

बुद्धी कहाँ चर्न जान्छ गोठालो लागेर भएन
नत्र किन भडार पूर्न आफ्नै आगन खन्छन

हाँसी हाँसी नासी दिने अबोध चेहरा पनि
अचेल माकुरैलाई माथ दिने जाल बन्छन

बिपना धितो राखी सपना उधारोमा टाँगेर
नथेगिने ऋनको भारी बोकी ठसठस कन्छन

निशब्द भई निर्दोष हेराइ बटुली बिचरा
निमुखा मन थिचोमिचो प्रसाद सरी सन्छन


बधाइ र शुभकामना नेकपा एमालेलाई !!!

नेकपा एमालेले आफ्नो अधिवेशन भर्खरै सम्पन्न मात्र गरेन , उसले नेपाली राजनैतिक पार्टीहरूको इतिहासमै सबैभन्दा लोकतान्त्रिक तरिका र विधि मार्फत पार्टीको आगामी दिशा,दशा र नेतृत्व तय गर्ने महान कार्यको शुरूवात गरेर देखाइदियो । यो महानतम अभ्यासबाट नेपाली लोकतन्त्रको पर्यावाचीको रूपमा आँफूलाई एकल प्रतिनिधि ठान्ने नेपाली कांग्रेस जस्तो राजनैतिक पार्टीले र अरू पनि लोकतान्त्रिकताका पक्षधर राजनैतिक शक्तिहरूले नैतिक पाठ पढिदिए , नेपाली लोकतन्त्रको समष्टिका लागि अति उत्तम संस्कार शुरूवात हुने कुरामा ढुक्क बन्न सकिन्छ । पार्टी भित्र आन्तरिक लोकतन्त्रको प्रवर्द्धन गर्ने कार्यमा नेकपा एमालेले लिएको यो अग्रसरताका लागि , यो पार्टी निश्चित रूपमा बधाइको हकदार छ ।

पार्टी भित्र आन्तरिक लोकतन्त्र फलिभूत पार्ने कुरा नेपालमा मात्र हैन, सबै जसो दक्षीण एशियाली मुलुकहरूमा गाह्रो देखिएको छ । भारत, बांग्लादेश, श्रीलंका र पाकिस्तानका पुरानो इतिहास बोकेका लोकतान्त्रिक पार्टीहरूमा समेत निश्चित परिवारको नेतृत्व नरहेमा उक्त दल टुहुरो बन्ने त्रास छ । नेपालमा नेपाली कांग्रेसको अस्तित्वलाई कोईराला परिवारको संरक्षण र कोईराला परिवारले आँफ्नो अस्तित्वको पर्यायको रूपमा कांग्रेसलाई हेरिने कुरा हामीले देके जानेको कुरा हो । यस्तोमा , एउटा अधिनायकवादी विचारको पक्षपोषी मानिन सक्ने ,नामको कम्युनिष्ट पार्टी एमालेले आँफ्नो निति र नेतृत्वमा लोकतान्त्रिक विधिको लाहाछाप लगाएर अपनाउने जुन बहादुरी देखाएको छ यो कुराले नेपालभित्र राजनिति गरेर लोकतान्त्रिकताको दुहाइ दिन नथाक्ने अन्य राजनैतिक दल र शक्तिहरूलाई दलको आन्तरिक चरित्र र व्यवहारदेखि बाह्य शासन पद्दतिसम्ममा लोकतान्त्रिक चरित्र र संस्कारको अवलम्बन र अनुपालनमा लाग्न पाठ पढाएको छ ।

वर्तमान नेकपा एमालेका सबैभन्दा वरिष्ठ नेता माधव नेपालले एमालेको वरिष्ठ नेतृत्वमा सहमति निर्माण हुन नसकेर चुनाबमा जाँदा, पार्टी पूर्ण विभाजित हुन सक्ने सम्भावना देखाएर अध्यक्ष पदमा लड्न चाहनु भएन । अध्यक्ष पदको लडाईँमा झलनाथ खनाल र खड्ग ओली बीच हिन्दीमा भनिने ' काँटेकि टक्कर' को स्थिति रह्यो । गणितीय हिसाबले ओलीले ११७ मतले हार्नु भयो तर पनि संस्थापक नेतृत्वसंग खुल्ला र एक्लै लडेर ओलीले जुन मत प्राप्त गर्नु भयो त्यसले वहाँको विचार पनि पार्टीभित्र निर्धो र दूर्बल छैन भन्ने निष्कर्ष हव्शय दिएको छ । आफ्नो 'होम ग्राउण्डमामा खेल्ने मौका पाएका 'आँफै महासचिव रहेर आफ्नै नेतृत्वका कार्यकाल अवधिमा देशव्यापि पार्टी प्रतिनिधि चयन गराई, झिनो बहुमतले विजय हासिल गर्न पुग्नु भएका झलनाथ खनालले प्राविधिक र गणितिय रूपमा निर्वाचन जित्नु भएको छ तर पार्टी कार्यकर्ताले वहाँलाई नेतृत्व दिँदै ओलीको राजनैतिक प्रतिवेदन र नीति कार्यक्रमको जिम्मा लगाउँदै भारी बोकाएका छन् । सम्पन्न एामले अधिवेशनले दिएको सन्देशलाई बुझ्ने हो भने कुरा प्रष्ट छ , नेतृत्व विभाजित बन्न खोजे पनि कार्यकर्ताले भने नमिली काम गर्न सक्दैनौ भनी एमाले नेतृत्वलाई ठिंगुर्‍याएका छन् । यसर्थ, एमाले कार्यकर्ताको निर्णय र नेतृत्व चयनको तरिका जति प्रशंसा गरे पनि नसकिने खालको छ । यो नै एमालेको वर्तमान सामर्थ्य हो भन्नुमा अत्युक्ति हुँदैन ।

नेतृत्वका पराजित प्रतिस्पर्धी ओलीको स्पष्ट उद्घोष थियो , माओवादी अतिवादी व्यवहारको बिरुद्दमा पर्‍यो भने कडा रूपमा उत्रिनु पर्छ । यहि कडा र खरो कुराले उनलाई पपुलर र पराजित दुवै बनायो । ओलीको विचार एमालेमा हारेको छैन किनभने वहाँको पराजयका बावजुद वहाँसंगको लबीमा लडेका ६०% सदस्यहरू केन्द्रिय नेतृत्वमा आएका छन् । यो ढाँचाको केन्द्रिय समिति बनाइदिएर कार्यकर्ताले भने कुनै एउटा समूहको हालिमुहाली हुनसक्ने परिस्थितिमा पनि अंकूश लगाइदिएका छन् । तर, झलनाथ र बामदेव लबीको एमालेले , एमाले स्वयमलाई माओवादिहरूको एउटा लाचार छायाँको रूपमा घटुवा नगरिदियोस् भन्ने एमाले कार्यकर्ता वृत्तमा रहेको डरलाई झलनाथ खनालले गतिलो ढंगले सम्बोधन गर्नु पर्नेछ । झलनाथले ' गह्रूंगो भारी बोक्छू' भनेर नेतृत्व लिनु भएको छ तर यो भारी कतै अर्को नारायणकाजी बनेर रुपान्तरण नहोवस् भन्ने कामना गर्नु यति बेला श्रेयस्कर हुन्छ होला । लामो धरोहर र इतिहास बोकेको एमाले यो भयानक लोकतान्त्रिक 'स्टण्ट' खेलेर कतै एउटा अधिनायकवादी सत्ताको सांक्षी बन्न नपुगोस् । यो अवसर र चुनौतिको झलनाथ नेतृत्वको एमालेले राम्रो बहन गरोस् । बधाइ र शुभकामना !!!


हिजो आफ्नै सोच्ने मन

प्रबिण थापा

हिजो आफ्नै सोच्ने मन टाढा भइदिएछ
पराइको जाली माया गाढा भइदिएछ

जे पनि तिम्रो लागि गर्न सक्छु भन्ने मन
अनायसै मुटु घोच्ने काडा भइदिएछ

खै के भनु के गरौ आफुसँग केही छैन
आखिर सपना टुटाइदिने अग्लो डाँडा भइदिएछ

केही चाँहीदैन तिम्रो माया भए पुग्छ भन्थौ
तर आज मेरो माया थोत्रा भाडा भइदिएछ

वालापनै नभोगी जवानी बने जस्तै
आफन्तको संसार बिर्सी छाडा भइदिएछ


समान शिक्षा, अर्थमन्त्रीको सोच र ‘विष्फोट’ ।

नेपाललाई १० बर्षमा १० हजार किलोवाट बिजुली निकालेर उज्यालो र समृद्ध देश बानाउने नाराका साथ अगी बढेका माओबादी सरकारका एकजना प्रभावशाली नेता र हालका अर्थमन्त्रीले हिजो ‘अबका दिनमा सरकारी तलब खानेका छोराछोरीले “बोर्डिङ स्कुल”मा पढन नपाउने’ भन्ने यौटा गज्जबको नीति निर्माण हुन लागेको जानाकारी गराउनु भएको छ ।

कुरोको चुरो शुरु गर्नु अगाडि पहिला त मलाई यो नेपालको परिप्रेक्षमा यो “बोर्डिङ स्कुल” भन्ने शब्दको अर्थ नै अहिले सम्म प्रष्ट छैन

शब्दकोषहरु पल्टाएर हेर्दा boarding school भन्नाले “A private school where students are lodged and fed as well as taught” भन्ने बुझिन्छ। विकिपेडियामा हेर्ने हो भने त अझ “...the word 'boarding' in this sense means providing food and lodging.” भनेर बोर्डिङ स्कुल भन्नाले ‘आवासीय स्कुल’ वा अझ प्रष्ट गर्दा ‘पढने-बस्ने-खाने’ स्कुल भन्ने बुझिन्छ। तर हाम्रो नेपालमा भने २-३ वटा अंग्रेजीका किताब पढाउने निजि बिद्यालय सबैलाई (आबासीय सुबिधा भए वा नभए पनि) ‘होलसेल’ मै “बोर्डीङ स्कुल” भनिन्छ ।

बोर्डीङ स्कुलको अबधारणालाई हेर्ने हो भने हामीकहाँ रहेका कतिपय “बोर्डीङ स्कुल” बास्तबमा बोर्डीङ स्कुल नै होईनन्। त्यसैले हाम्रा अर्थमन्त्रीले कस्ता खाले स्कुलमा सरकारी तलब खानेले छोराछोरी पढाउन नपाउने गर्न लाग्नु भएको हो बुझ्नै पनि गाह्रो छ । तर कुरा जे भए पनि अब ‘सरकारी तलब खानेका छोराछोरीले सरकारी स्कुलमै पढनु पर्ने भो’ भन्दा चाहि मन्त्रीज्युको भाव बुझ्न सकिन्छ ।

अब लागौं यस्तो व्यबस्था गर्नु पर्ने कारणतर्फ, मन्त्रीजूको विचारमा सार्वजनिक पद धारण गरेका व्यक्तिले निजी शिक्षण संस्था खोल्ने र तिनमा आफ्ना छोराछोरी पढाउने गरेको र त्यसले गर्दा सरकारी शिक्षण संस्थाको शैक्षकस्तर खस्कने गरेको छ’ रे! । गज्जबको सोच छ !! अनी गज्जबको छ आँकडा पनि!!, देसमा कतिजना त्यस्ता व्यक्ति होलान जो आफ्ना बच्चाबच्चीकोलागि आफैं स्कुल खोल्न सक्षम होलान । फेरी कसैले निजी स्कुल खोल्दैमा कसरी सरकारी स्कुलको स्तर कसरी खस्कन्छ ?, सोचिनसक्नु छ ।

शिक्षामा एकरुपता ल्याउने माओबादिका गफहरु १० बर्ष अगाडि देखि नै सुनिदैं आएको हो र अझै पनि ´फेरि पनि गरीब र धनीले पढ्ने शिक्षा फरक रह्यो भने यहाँ ज्वालामुखी विष्फोट हुन्छ´ भन्ने अभीव्यक्ति दिन मन्त्रीज्यू पछाडी पर्नु भएको छैन । अब के त ? यो ‘विष्फोट’ बाट जोगाउन सबै निजी स्कुल बन्द गर्ने त?, कि निजि स्कुलाई पनि स्तरीय शिक्षा दिन बन्द गर्न आदेश दिने?। उहाँकै बिचार अनुसार सबैलाई एकै किसिमका शिक्षा दिने हो भने यो दुई बाहेक अर्को तेस्रो विकल्प छँदा पनि छैन ।

सरकारी स्कुलको स्तर खस्कनुमा निजीस्कुलको कुनै हात छैन, यसकालागी हालसम्मका हाम्रा शिक्षा नीति नै जिम्मेबार छन । कुनै यौटा निकायमा समस्या देखा परेपछि, समस्या निराकारण गर्ने कि त्यो समस्याले अछुतो रहेको निकायहरुलाई बन्द गर्ने ?।, यो कुनै पनि विचारवान व्यक्तिलाई सोध्नु पर्ने प्रश्‍न पक्कै होईन होला। त्यसैले सरकारले सरकारी स्कुलको गुणस्तर सुधार्नेतर्फ ध्यान दिनु जरुरी छ, जसको लागि:

शिक्षकरुलाई तालिम आदिको व्यबस्था गर्ने

पाठ्यक्रममा क्रमिक सुधार गर्दै लाने

सरकारी स्कुललाई सकेसम्म सुबिधासम्पन्न बनाउने

सरकारी स्कुलका शिक्षक र कर्मचारीलाई सकेसम्म बढि सुबिधा उपलब्ध गराएर योग्य व्यक्तिहरुलाई सो सेवामा आकर्षित गर्ने आदी धेरै कार्य गर्न सकिन्छ ।

सरकारी कर्मचारी वा सरकारी लाभको पद धारण गरेकालाई आफ्ना बालबच्चा सरकारी स्कुलमै पढाउनु पर्ने हावादारी नीयम बनाएर न त सरकारी स्कुलको स्तर उठछ, न त हाम्रो देसमा यो नीयमको कार्यान्वयन नै प्रभावकारी हुन सक्छ ।

सरकारी र निजी स्कुलमा गुणस्तरीय भिन्नता छन, तर यस अबस्थामा सरकारी स्कुलको स्तर उठाएर तिनलाई निजि बिद्यालयसंग प्रतिस्पर्धा गर्न लाएक बनाउने कि, निजि बिद्यालयलाई पनि सरकारी स्तरमा झार्ने ? यो प्रश्‍न पनि विवेकशील व्यक्तिलाई सोध्नै नहुने प्रश्‍न हो । खाली ‘केहि गर्दैछौं’ भन्ने देखाउनलाई मात्रै वा समानता को ढ्याङ्रो ठोक्नलाई यो नीति ल्याउन लागिएको हो त्यो त मन्त्रीज्यू र यसका नीति निर्मातालाई मात्रै थाहा होला तर सोचको क्षणीक ‘उठान’ को प्रभावमा आएर गर्न लागीएको यो निर्णयले सहमति भन्दा बिबाद र सुधार भन्दा बिगार नै बढि गर्नेमा भने कुनै सन्देह छैन ।

अन्तमा सरकारी स्कुल र निजि स्कुलमा स्तरीय भिन्नता छँदा ‘विष्फोट’ हुने देशमा भोलीको दिनमा सरकारी अस्पताल र निजी चीकित्सालयको सेवा र गुणस्तरको भिन्नताले पनि ‘विष्फोट’ होलान । सरकारी बैंक र निजि बैंकको सेवा र सुबिधामा फरक आँउदा पनि ‘विष्फोट’ होलान । सरकारी उद्योग र निजि उद्योगको आर्थीक असमानताले पनि ‘विष्फोट’ होलान। अनी त्यस्तो बेलामा के गर्ने?, सरकारी कर्मचारीले कमाएको पैसा सरकारी बैंकमा मात्रै राख्‍न पाउने , बिरामी भएमा सरकारी अस्पतालमा मात्रै उपचार गर्न पाउने, कुनै पनि सामान वा सेवा चाहिएमा पनि सरकारी उत्पादन वा सेवामुखी निकायमा मात्रै भर पर्नु पर्ने?। साझाकै बस बाहेक अरुमा सबारी गर्न नपाउने, नेपाल एयरलाईन्स बाहेकका अरु बिमानमा चढन नपाउने ?।

मन्त्रीज्यू निजी संरचनालाई हल्लाउने हैन, सरकारी निकायलाई मजबुत गर्ने तर्फ लाग्नुहोस, बोर्डिङ स्कुलको स्तरमा अंकुश लगाउने हैन सरकारी स्कुलको गुणस्तर सुधार्न लाग्नुहोस। जनताले पक्कै साथ दिनेछन । समानता र स्वतन्त्रता संगै जान मुश्किल हुन्छ । त्यसैले समानताको नाममा आफनो योग्यता र आर्थिक क्षमताले भ्याउने स्कुल छान्ने स्वतन्त्रतामा ठाडो अंकुश नलागाउनुहोस । हैन महंगा निजि बिद्यालय ( ओहो ! ‘बोर्डिङ स्कुल’ भन्नु पर्छ क्यार ! ) मा आफ्ना छोराछोरीलाई पढाउन सरकारी कर्मचारीले भ्रष्टाचार वा आर्थिक हिनामिना गर्छन र यसरी उनिहरुलाई सरकारी स्कुलमै पढन बाध्य गरेपछी भ्रष्टाचार रोकिन्छ भन्ने विचार हो भने यो मैले आजसम्ममै सुनेको सबैभन्दा हाँस उठने ठट्टा हो ।