February 27, 2009

बधाइ र शुभकामना नेकपा एमालेलाई !!!

नेकपा एमालेले आफ्नो अधिवेशन भर्खरै सम्पन्न मात्र गरेन , उसले नेपाली राजनैतिक पार्टीहरूको इतिहासमै सबैभन्दा लोकतान्त्रिक तरिका र विधि मार्फत पार्टीको आगामी दिशा,दशा र नेतृत्व तय गर्ने महान कार्यको शुरूवात गरेर देखाइदियो । यो महानतम अभ्यासबाट नेपाली लोकतन्त्रको पर्यावाचीको रूपमा आँफूलाई एकल प्रतिनिधि ठान्ने नेपाली कांग्रेस जस्तो राजनैतिक पार्टीले र अरू पनि लोकतान्त्रिकताका पक्षधर राजनैतिक शक्तिहरूले नैतिक पाठ पढिदिए , नेपाली लोकतन्त्रको समष्टिका लागि अति उत्तम संस्कार शुरूवात हुने कुरामा ढुक्क बन्न सकिन्छ । पार्टी भित्र आन्तरिक लोकतन्त्रको प्रवर्द्धन गर्ने कार्यमा नेकपा एमालेले लिएको यो अग्रसरताका लागि , यो पार्टी निश्चित रूपमा बधाइको हकदार छ ।

पार्टी भित्र आन्तरिक लोकतन्त्र फलिभूत पार्ने कुरा नेपालमा मात्र हैन, सबै जसो दक्षीण एशियाली मुलुकहरूमा गाह्रो देखिएको छ । भारत, बांग्लादेश, श्रीलंका र पाकिस्तानका पुरानो इतिहास बोकेका लोकतान्त्रिक पार्टीहरूमा समेत निश्चित परिवारको नेतृत्व नरहेमा उक्त दल टुहुरो बन्ने त्रास छ । नेपालमा नेपाली कांग्रेसको अस्तित्वलाई कोईराला परिवारको संरक्षण र कोईराला परिवारले आँफ्नो अस्तित्वको पर्यायको रूपमा कांग्रेसलाई हेरिने कुरा हामीले देके जानेको कुरा हो । यस्तोमा , एउटा अधिनायकवादी विचारको पक्षपोषी मानिन सक्ने ,नामको कम्युनिष्ट पार्टी एमालेले आँफ्नो निति र नेतृत्वमा लोकतान्त्रिक विधिको लाहाछाप लगाएर अपनाउने जुन बहादुरी देखाएको छ यो कुराले नेपालभित्र राजनिति गरेर लोकतान्त्रिकताको दुहाइ दिन नथाक्ने अन्य राजनैतिक दल र शक्तिहरूलाई दलको आन्तरिक चरित्र र व्यवहारदेखि बाह्य शासन पद्दतिसम्ममा लोकतान्त्रिक चरित्र र संस्कारको अवलम्बन र अनुपालनमा लाग्न पाठ पढाएको छ ।

वर्तमान नेकपा एमालेका सबैभन्दा वरिष्ठ नेता माधव नेपालले एमालेको वरिष्ठ नेतृत्वमा सहमति निर्माण हुन नसकेर चुनाबमा जाँदा, पार्टी पूर्ण विभाजित हुन सक्ने सम्भावना देखाएर अध्यक्ष पदमा लड्न चाहनु भएन । अध्यक्ष पदको लडाईँमा झलनाथ खनाल र खड्ग ओली बीच हिन्दीमा भनिने ' काँटेकि टक्कर' को स्थिति रह्यो । गणितीय हिसाबले ओलीले ११७ मतले हार्नु भयो तर पनि संस्थापक नेतृत्वसंग खुल्ला र एक्लै लडेर ओलीले जुन मत प्राप्त गर्नु भयो त्यसले वहाँको विचार पनि पार्टीभित्र निर्धो र दूर्बल छैन भन्ने निष्कर्ष हव्शय दिएको छ । आफ्नो 'होम ग्राउण्डमामा खेल्ने मौका पाएका 'आँफै महासचिव रहेर आफ्नै नेतृत्वका कार्यकाल अवधिमा देशव्यापि पार्टी प्रतिनिधि चयन गराई, झिनो बहुमतले विजय हासिल गर्न पुग्नु भएका झलनाथ खनालले प्राविधिक र गणितिय रूपमा निर्वाचन जित्नु भएको छ तर पार्टी कार्यकर्ताले वहाँलाई नेतृत्व दिँदै ओलीको राजनैतिक प्रतिवेदन र नीति कार्यक्रमको जिम्मा लगाउँदै भारी बोकाएका छन् । सम्पन्न एामले अधिवेशनले दिएको सन्देशलाई बुझ्ने हो भने कुरा प्रष्ट छ , नेतृत्व विभाजित बन्न खोजे पनि कार्यकर्ताले भने नमिली काम गर्न सक्दैनौ भनी एमाले नेतृत्वलाई ठिंगुर्‍याएका छन् । यसर्थ, एमाले कार्यकर्ताको निर्णय र नेतृत्व चयनको तरिका जति प्रशंसा गरे पनि नसकिने खालको छ । यो नै एमालेको वर्तमान सामर्थ्य हो भन्नुमा अत्युक्ति हुँदैन ।

नेतृत्वका पराजित प्रतिस्पर्धी ओलीको स्पष्ट उद्घोष थियो , माओवादी अतिवादी व्यवहारको बिरुद्दमा पर्‍यो भने कडा रूपमा उत्रिनु पर्छ । यहि कडा र खरो कुराले उनलाई पपुलर र पराजित दुवै बनायो । ओलीको विचार एमालेमा हारेको छैन किनभने वहाँको पराजयका बावजुद वहाँसंगको लबीमा लडेका ६०% सदस्यहरू केन्द्रिय नेतृत्वमा आएका छन् । यो ढाँचाको केन्द्रिय समिति बनाइदिएर कार्यकर्ताले भने कुनै एउटा समूहको हालिमुहाली हुनसक्ने परिस्थितिमा पनि अंकूश लगाइदिएका छन् । तर, झलनाथ र बामदेव लबीको एमालेले , एमाले स्वयमलाई माओवादिहरूको एउटा लाचार छायाँको रूपमा घटुवा नगरिदियोस् भन्ने एमाले कार्यकर्ता वृत्तमा रहेको डरलाई झलनाथ खनालले गतिलो ढंगले सम्बोधन गर्नु पर्नेछ । झलनाथले ' गह्रूंगो भारी बोक्छू' भनेर नेतृत्व लिनु भएको छ तर यो भारी कतै अर्को नारायणकाजी बनेर रुपान्तरण नहोवस् भन्ने कामना गर्नु यति बेला श्रेयस्कर हुन्छ होला । लामो धरोहर र इतिहास बोकेको एमाले यो भयानक लोकतान्त्रिक 'स्टण्ट' खेलेर कतै एउटा अधिनायकवादी सत्ताको सांक्षी बन्न नपुगोस् । यो अवसर र चुनौतिको झलनाथ नेतृत्वको एमालेले राम्रो बहन गरोस् । बधाइ र शुभकामना !!!


3 Comments:

पोस्तक श्रेष्ठ said...

एकलब्यजीको लेख राम्रो छ। तर “ आफ्नो 'होम ग्राउण्डमामा खेल्ने मौका पाएका आँफै महासचिव रहेर आफ्नै नेतृत्वका कार्यकाल अवधिमा देशव्यापि पार्टी प्रतिनिधि चयन गराई, झिनो बहुमतले विजय हासिल गर्न पुग्नु भएका झलनाथ खनालले प्राविधिक र गणितिय रूपमा निर्वाचन जित्नु भएको छ.... “ मा चाँहि सहमत हुन सकिएन।

कतै धाँधली भयो भन्न खोज्नु भएको त होईन? ओलीजी पनि त्यस्तै कुरा गर्नु हुन्छ। झलनाथले त्यत्रो "चक्रब्यूह" को रचना गर्न भ्याउंदा ओलीजी कहाँ निदाईरहनुभएको थियो ? केन्द्रीय सदस्यमा त्यति भारी मतमा बिजय बनाउने कार्यकर्ताले अध्यक्ष पदमा भने किन पत्याएनन् भनेर आफ्नो कमजोरी आफैं खोज्नु पर्नेमा उल्टै आफ्नो हारको कारण "झलनाथले मनोनित गरेको ५०० कार्यकर्ता" भन्नु हरुवा गोरुको छेरुवा दाऊ जस्तो मात्र देखिन्छ। यदि कुरो त्यस्तो थियो भने त्यो कुरो पहिले नै किन निस्किएन ? मुख्य कुरो एमाले कार्यकर्ताहरु देशमा थप अश्थिरता चाहदैनन्। थप मुठभेड चाहदैनन्। जहिले पनि बिरोधको आगोमात्र ओकल्ने, समाधानको नबताउने, सहमतीको स पनि उच्चारण नगर्ने मान्छे नेत्रित्वको लागि योग्य हुँदैनन्। नेताले बनाउने कुरा गर्छन न कि भत्काउने कुरा। माओबादीहरु गलत हुन् तर के त? उनीहरुलाई अहिले सत्ताच्यूत गरेर एमाले र काँग्रेसले निकास् दिन सक्छन् त? आफ्नै पार्टीका भट्टराई र देउवालाई टिक्न खान नदिने गिरिजाको भर गरेर, संबिधान सभामा सबैभन्दा ठूलो दल माओबादीको नेत्रित्वको सरकार, जसमा आफ्नै पार्टी संलग्नछ, ढाल्छु भन्नु पनि चुनावी मुद्धा हुन्छ? गिरीजाको नेत्रित्वको सरकारमा उपप्रम हुँदा ओलीजीले एमालेको हाथ माथि पार्ने कुन काम गर्नु भयो? गिरीजाले प्रचण्डसंग मिलेर एमालेलाई पेल्नु सम्म पेलेको होइन र?

एकलव्यको डायरी ( Eklavya's diary) said...

पोस्तकजी,

मेरो विचार ओलीको बोलीमा लोली मिलाउनु हैन,तर पार्टी संस्थापनमा निवर्तमान रहेकाहरूको डाडू पन्यू सम्हाल्ने अग्राधिकारले गणितीय समिकरणमा पर्भाव राख्ने हुँदा 'होम ग्राउण्ड' को कुरा गरिएको हो ।

अर्को कुरा अहिले नै माओवादीलाई सत्ताबाट हटाउने तिकडमको खेल खेल्ने हैन बरू उनिहरूको सर्वसत्तावादी बन्ने रुचि र 'हामी सबैलाई जितेर सत्ता कब्जा गर्ने अधिकार सम्पन्न भएर आएका हौँ " भन्ने सोचबाट पछि हट्न लगाएर समन्वयकारी भूमिकामा ल्याउन कोसिस गर्नु पर्ने जरूरी छ।।

तर पनि एमालेले कांग्रेस वा माओवादीसंगको सहकार्य कसरी गर्ने बन्ने कुरा त तत्कालीन परिस्थिति अनुकूलका उसका रणनीति मात्र हुनुपर्छ। साँचो सबल एमाले त माओवादी र कांग्रेसको पुच्छर भएर हैन उनिहरूलाई पुच्छर बनाउन सकेर मात्र हुनसक्छ नि ।

नेपालियन said...

एमाले महाअधीबेशनको क्रमिक जानकारी दिनुभएको मा एकलव्यजी लाइ धेरै धेरै धन्यबाद।
साथीहरुलाइ चित्त नबुझ्न सक्छ तर मलाए एमाले भनेको लिडो पुछ्छर भएको भैसी जस्तो लाग्छ। पुछ्छर छैन भनो भने नमुना झुन्डीएको छ, छ भनौं भने जती हल्लाए पनि माखा धपाउन नसक्ने। एमालेको स्पष्ट र सफा निती नभएकै कारण अहिलेको स्थितीमा आएको हो। अलि अली भोटर यता उता हुन्छन नै तर माओबादीमा आएका धेरै भोटर एमाले बाटै आएका हुन। दुबै कम्नियुष्ट पार्टी भएकोले कांग्रेस सित भन्दा पहिला यि आफुमा जुधा जुध गर्ने स्थीती आउंछ। अझ भनौंन जुम्ल्या बच्चा मध्य एउटा हट्टा कट्टा र अर्को लुरे भए जस्तै एमाले र माओबादीमा यो स्थिती सधै रहिरहने छ। एमाले सबल हुनु भनेको माओबादीतिर चुहिएका भोटर पुन फर्काउनु पर्छ जुन अहिलेको स्थीतीमा त्यती सहज छैन। माओबादि साडे जस्तै एमालेका भोटर मात्र होइन कांग्रेसका भोटर पनि गोजीमा राख्न खोज्दैछ। फोरम सित माओबादीले बल मिचाइ नगर्ला तर एमाले र कांग्रेसलाइ माओबादीले सियो बराबर गन्दैन। मेरो ब्यक्तीगत सोचाइ के भने एमालेमा खनाल भन्दा ओली आएको भए एमालेको मौलिकपन अझ बलियो हुन्थ्यो कि?
पोष्टक जीले भनेको कुरा भने सारै घत पर्यो। गिरीजाले प्रचण्डसंग मिलेर एमालेलाई पेल्नु सम्म पेलेको पक्कै हो। तर गिरिजा सांपलाइ दुध पिलाउदै थिए। सांपले टन्न दुध पिएर बिष मात्र झारेन गिरीजालाइ नै डस्यो।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !