June 29, 2009

दौंतरी यात्रा र एक हजारौं पोष्ट

अपडेट: दौंतरीमा १००० औं पोष्ट छापियो ।

यस पटक केहि कुरा दौंतरीकै बारेमा लेख्‍न मन लाग्यो ।

२००७ को अक्टोबर महिनाको कुरा हो, साझामा विविध विषयमा छलफल हुँदा-हुँदै, अचानक केहि दौंतरीहरुलाई, यो अरुले लेखेको कुरामा नकारात्मक कमेण्ट गरेर र यसो भएन वा त्यसो भएन भनेर दोष दिनु भन्दा आफैंले पनि सकारात्मक शुरुवात लिएर केहि गरौं भन्ने जोस आयो । हुन पनि हो, गलत कार्यको विरोध गर्नेमै सेलाउने उर्जालाई आफैं सहि कार्यमा खर्चनु भन्दा रचनात्मक कुरा अरु कुनै थिएन र छैन पनि ।

अनी त्यो सकारत्मक शुरुवातकोलागि जोस्याउने र जोस्सीनेमा आफू पनि परेकोले करिव करिव शुरु देखी नै दौंतरीमा जानी-नजानी आफ्नो कलम चलाउँदै आएको छु ।

रमाईलो कुरा के भने, ब्लग शुरु गरेपछि भने साझामा भेटीने साथीहरु को कता हुनुहुन्छ र के कस्तो क्षेत्रमा सामेल हुनुहुन्छ भन्ने एक-आपसमा पनि कसैलाई थाह नभएकोले शुरुका केहि समय सर-सल्लाह र विचार आदान-प्रदान गर्न अलिकता अलमल पनि भयो । त्यत्तिकैमा नेपालियनजीले अक्टोबर ७ मा Welcome शीर्षकको पहिलो टाँसो टाँसेर दौंतरीको शुरुवात गरिदिनु भयो र म लगाएत साझामा वहसमा सामेल हुने सबै साथिहरुलाई दौंतरीमा लेख्‍न निम्तो पनि पठाउनु भयो । मेरो व्यक्तिगत कुरा गर्ने हो भने दौंतरी जन्मेको दोश्रो दिन अर्थात अक्टोबर ८ मा मेरो पहिलो पोष्ट स्वतन्त्रता र स्वछन्दता दौंतरीमा टाँसीएको थियो ।

गएको सप्ताहअन्तमा चाहिने भन्दा बढि फुर्सद भएकोले करिब २ बर्ष पहिला छापिएका शुरुवातका केहि पोष्टहरु पढें, पुराना यादहरु ताजा भए र निक्कै रमाईलो पनि लाग्यो। अचानक मेरो ध्यान पोष्टको संख्यामा गयो, त्यतिबेला दौंतरीमा छापीई सकेका पोष्टको संख्या ९५० भन्दा बढि भैसकेका थिए । हुन त संख्या मात्रै प्रगतीको सूचक हैन, तर यो विचार आदान- प्रदानको श्रृखंला, यो पोष्ट छापीदाँसम्मको हिसाब गर्ने हो भने ९६९ हुनेछ, जुन आशलाग्दो कुरा भने पक्कै पनि हो नै ।

संसारभरी छरिएर रहेका र देशलाई माया गर्ने नेपालीहरुको साझा अभिव्यक्तिको स्थल बनाउने सोचका साथ शुरु गरिएको यो ब्लगले गर्नु पर्ने धेरै बाँकि छ र यसका अगाडि चुनौतीहरु पनि छन। तर कुनै वाद विशेष वा गुटको लागि नलेख्‍ने र समष्टीमा नेपालीहरुको साझा अभिव्यक्तिको थलो बन्ने हिसाबमा प्रतेक दिन ५०० जना भन्दा बढि आगन्तुको आगमन हुनुलाई पनि मैले भने शुरुवाती शुभ सूचककै रुपमा लिएको छु ।

पोष्ट लेखीने र छापिने औसत दरलाई हेर्ने हो भने आजको करिव तीन हप्ताको अबधिमा दौंतरीले १००० पोष्ट नाघ्ने छ । सो को गन्ती गर्न आजैबाट मैले साईडबारमा एउटा सानो ‘दौंतरी कोसे ढुङगा’ भन्ने सूचकांङ्क राखेको छु, हेर्दै गर्नुहोला । अन्य दौतरी साथीहरु र कमेण्ट मात्रै लेख्‍ने वा पढ्ने मात्रै साथीहरुलाई पनि आफ्नो बिचार र रचना दौंतरीमा प्रेषीत गर्न म स्वागतका साथ आह्वान गर्छु । शुरुकै पोष्टमा नेपालियनजीले लेख्‍नु भए जस्तै दौंतरी लेख्‍ने र पढ्नेको समुह भएकोले कोहि पनि यसमा संलग्न हुन र बिचार राख्‍न सक्छन ।

दौंतरी १००० पोष्टको संघारमा पुगेको यस घडीमा, यसका सबै सहयात्री साथिहरु र विशेषगरी नेपालियनजीलाई वहाँको अथक परिश्रम र लगनकोलागि म हामी सबैको तर्फबाट हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छु ।

सम्पूर्ण लेखकवर्ग, सल्लाह सुझाव र कमेण्ट मार्फत मार्ग दर्शन गर्नुहुने पाठकहरुलाई पून एक पटक धन्यवाद भन्दै १००० औं पोष्ट ‘आफ्नो पोष्ट’ बनाउने मौका छोप्न समेत समयमै सूचीत गर्दैछु :)। हेर्दै गर्नुहोस, कसको पोष्ट ‘एक हजारौं पोष्ट’ हुन्छ !!!।



अल्बर्ट आइनस्टाइन, नयाँ नेपालका जयस्थिति मल्ल र अनन्त मुर्ख्याईको सिद्धान्त

"Two things are infinite: the universe and human stupidity; and I'm not sure about the universe."- Albert Einstein

मलाई राम्ररी थाहा छ, अल्बर्ट आइनस्टाइन र नेपालको बिचमा गोरु बेचेको साईनो पनि छैन र आइनस्टाइन एक महान वैज्ञानिक भए पनि भविश्यवक्ता भने थिएनन् । तर जहिले जहिले माथिको उनको भनाईमा मेरो ध्यान जान्छ मलाई हाम्रा नेताहरुको याद आउँछ।

जनयुद्धको नाममा जनताकै घरजग्गा कब्जा गर्ने देखि लिएर जाती-पातीको भेद हुनु हुँदैन भन्दै आखिरमा जातियताकै आधारमा राज्यको पूनसंरचना गर्ने दिग्गजहरु, अनि देशको शासनमा जहानिया प्रथा रहनुहुन्न भन्दै लोकप्रिय वा योग्य नभए पनि आफ्नै सन्तान लाई मात्रै काखी च्यापेर हिंडने नेतालाई अरु कुन श्रेणीमा राख्‍ने हो, सोच्न सकिन्न।

एउटा भनाई छ, “ईतिहास सधैं जित्नेको बारेमा लेखिन्छ”। कुरा सोह्रै आना साँचो हो । त्यसको ज्वलन्त उदाहरण हेर्न हामीले धेरै टाढा वा धेरै पछाडि पनि जानु पर्दैन । केहि बर्ष अगाडि सम्म ‘प्रजावत्सल’, ‘जन नायक’ अनी ‘प्रतापी’ आदि अलंकारले पुराकीने नेपालको राजतन्त्र अहिले एउटै ‘निरंकुश’ विशेषणले मात्रै परिभाषीत हुन्छ, भने तात्कालीन समयमा ‘आतंककारी’ को बिल्ला पाएको गुट अहिले ‘क्रान्तिकारि दल’ भैसकेको छ ।

अलिक पछाडिको ईतिहासमा जाने हो भने तेह्रौं शताब्दीको अन्त्य तिर महान सुधारक र ‘धर्म रक्षक’ राजाका रुपमा ख्याती कमाएका जयस्थिति मल्ल हाल जातीप्रथाको जटिल व्यबस्थाका लागी सबैभन्दा बढी निन्दीत छन्।

तात्कालिन समाजको स्थिति, सोच र संरचनाको ख्याल गरेर बिचार्ने हो भने जयस्थिति मल्ल सायद सहि पनि थिए होलान। तर जयस्थीति मल्लको अवसानको सात सय बर्ष पछि फेरी जातियताकै आधारमा राज्य खडा गर्न खोज्नेलाई के भन्ने? । आइनस्टाइनकै सहारा लिनु बाहेक अर्को केहि देख्दिन म ।

यो अनन्त मुर्ख्याईको लहर अहिले गज्जब संग चलेको छ र हरेक दल र दलका नेताहरु आफूलाई नव नेपालका जयस्थिति मल्ल बनाउन लालायीत छन ।

ईतिहास मानिसले नै रच्छन, तर त्यो संगै अर्को कुरा के पनि साँचो छ भने, जसले ईतिहास रच्छ, त्यो पनि एक दिन ईतिहास बन्छ नै । माथि भनि सकिएको छ “ईतिहास सधैं जित्नेको बारेमा लेखिन्छ”, तर जित्ने मानिस सधैं टिक्छन भन्ने केहि जरुरी छैन । समयको कालखण्डमा उसलाई पनि जित्ने कोहि आएपछि त्यो ‘विजयी’ ले पनि पराजय भोग्नु पर्छ । अनी उसका ईतिहासको पून समिक्षा र पूनर्लेखन शुरु हुन्छ । त्यतिबेला फेरी आजको ‘हिरो’ भयानक ‘भिलेन’ को रुपमा परिभाषीत हुन्छ ।

यो एउटा चक्र हो, बुद्दिमान मानिसहरु यो चक्र वा दुष्ट चक्रलाई चिन्छन र ईतिहासका गल्ती दोहर्‍याउँदैनन् । जस्तैसुकै बेबकूफले पनि समयको प्रबाहलाई उल्टाउन मिल्छ भनेर चाहि मान्दैन।

पश्चिममा छुट्टा छुट्टै देश, आ-आफ्नै भौगोलीक सिमारेखा अनी भाषा-पद्दती भएकाहरु समेत एकल मुद्रा चलाउने र एउटै सामुहिक आर्थीक छातामा बस्ने प्रयोग सफलताका साथ चलाईरहेका बेलामा हामीहरुकहाँ क्रान्तिकारीहरु देशलाई जात र धर्मको नाममा भाग लगाउने खेलमा व्यस्त छन । यो भन्दा बिडम्बना अर्को के होला?, त्यसमा पनि देशलाई यसरी धर्म र जातको नाममा टुक्रा पार्न खोज्नेले आफूलाई आफुलाई ‘क्रान्तिकारी’ र ‘अग्रगामी’ को संज्ञा दिंदा, मलाई अल्बर्ट आइनस्टाइनको यो अनन्त मुर्खताको सुत्र झन झन हाम्रै नेताहरुलाई देखेर बोलिएको जस्तो लाग्छ ।

अंग्रेजीमा एउटा भनाई छ: “ईतिहास दोहोरिन्छ किनकि मानिसले ईतिहासबाट केहि सिक्दैन” । के हामी यो तेह्रौं शताब्दीको गलत ईतिहासलाई सात सय बर्षको अन्ताराल पछि पनि फेरि दोह्र्याएर त्यसलाई सहि साबित गर्नै लागेका हौं त? के त हाम्रो मुर्ख्याईको कुनै सिमा नै छैन त?



June 28, 2009

मैले पोखेको आसुँ

आचार्य प्रभा
(अमेरिका )
मैले पोखेको आसुँ समेटी अन्जुली तिमीले भर्‍यौ
दोधारको यो जीवन सम्हाल्न अनेकौ प्रयास गर्‍यौ ........,

किन हत्ते हाल्यौ यो रुखो जीवनमा
बसन्त फुलाउछु भन्दै ,
म पनि खुशीले पागल नै भएछु
तिम्रो साथ पाउने दिन गन्दै ........,

मैले भोगेको पीडा सँगाली,मुटुमा मलाई सजायौ
मरेको यो मन बचाउनलाई,मलाई आफ्नो बनायौ .........,

किन झुट बन्यौ,आफ्नै मनसँग
मलाई साँचो बचन दिइ,
म पनि हर्षले बिभोर नै भएछु
तिम्रो हातको अम्रित पिइ................,

मैले पोखेको .............






अरुले झै --

प्रबिण थापा

अरुले झै आकाशको तारा गन्न सकिन
सँगै जिउछु भनेपनी सँगै मर्छु भन्न सकिन

तिमीलाई चोट लाग्द मलाई दुख्छ भनी
एेया भन्दै नाटक गरी कन्न सकिन

सत्यताको पछी पछी यथार्थमा दौडिरहे
तिमीले जस्तै झुट बोल्न धन्न सकिन

रुखो सार्हो बोल्ने म त छुच्चो मान्छे
त्यही हुनाले तिम्रो राम्रो बन्न सकिन

सम्झिएर पुराना घाऊ आक्रोसले जलेपनी
बैगुनिलाई पुर्ने खाडल खन्न सकिन


भो चाहिएन मलाई....मेरो खुशी खोस्ने कालो श्रावण!!

badal झरी पछिको बिहानी जस्तै
सफा मेरो मन
सिन्दुरे रहरले रंगिरहेकोबेला
मेरो आकाशमा
एक्कासी देखिएको ए! श्रावण
तेरो कालो बादलले छोपेका छन
सबै मेरा खुशीहरु
निराशाले न्यास्रिएकाछन सबैमेरा रहरहरु
मैले सिर्जेका मेरा विपना पनि
नमिठो सपना पछिको ब्यूझाई जस्तै
स्तब्ध र भावशुन्य भएकाछन दिनहरु
गल्ति थियो मेरो न्यानो स्वागतको
गल्ती थियो मेरो निमन्त्रणाको
गल्ति थियो मेरो निस्चल दृष्टिको
जस्ले सेतो पर्दा भित्रको कालो बादल ठम्याउन सकेन
बुझ्न सकेन
आखिर बादल बादल नै हो
जो बर्सिएर खहरे बाढी निम्त्याउछ!

पुग्यो चाहिएन अब मलाई
मेरो खुशी खोस्ने कालो श्रावन!
मलाई त संग मेरो आँशुको मूल्य माग्नु छ
छहराजस्तै चन्चल लाग्ने मेरा भावहरु
तेरो करतुतले आक्रोशित भएकाछन्
मेरो सृजनाको बाटोमा ह्वापल्याक्क चुक पोखेर
मध्यरातको अध्यारोमा निरन्तर
मेरो उज्यालो संसारको गला रेट्ने
तेरो कालो उपस्थिति
र बदनियतको छातिमाथि
च्वास्स च्वास्स घृणाको तीर रोप्नुछ
हरेक पलमा माया र स्नेहमा निर्लुप्त मेरा हातहरु
तेरो धृष्टताले कठोर र भावविहिन भएकाछन।

कति चोटी असह्य र वेदनाले
पोलेका स्वरहरु कराउन खोजे
किनारा रहित तेरो कालो दृष्टिले
भर्खरै फक्रिदै गरेका मेरा कोपिला अनि
मेरो सृजनाको मिठो आवाज खोस्ने प्रयास गर्यो!

ए कालो बादल!
प्रीतिको नाम मा तैले धोकाको पराकाष्टा नाघिस्
अब तेरो आडम्बरको चट्याटंग तैले नै सुन्नु पर्छ
हरेक धड्कनमा
प्रेमको संगित दिने मेरो मुटु
ढुंगा जस्तै अचेत भएको छ अचेल!

तडपिनु र पिल्सिनुको सिमा निकै तलपुगेको छ
जीवन न कसैको सहानुभूति हो
न त कसैको भिख,
तातो शरिरमा बग्ने हरेक थोपा रगतको
आफ्नै पहिचान छ
कसैको दयाले जिवित रहन चाहान्न यो
त्यसैले,ए कालो बादल !
त हटेर जानै पर्छ!
भो! अब चाहिएन मलाई
धुष्टताले भरिएका तेरा सुभेक्षाहरु
मेरो सानो संसार काफी छ
भो चाहिएन मलाई...
मेरो खुशी खोस्ने कालो श्रावन!!

आश्मा


June 27, 2009

ॐ शान्ति , शान्ति , शान्ति !!!

वैदिक मन्त्रहरूले अन्तरिक्ष शान्ति, देव शान्ति , पृथ्वी शान्ति आदि कुराको शान्ति स्तुति गरिरहेको हामीले सुनेकै छौँ होला । अक्सर हिन्दू वैदिक मन्त्र र स्वस्ति वाचनमा ॐ शान्ति , शान्ति, शन्ति भनी ३ पटक शान्ति पाठ गरिनुका पछाडि विद्यमान कारण यस्तो रहेछ :

तीन पटक शान्तिपाठको अर्थ हो हाम्रो (१)भौतिक वा दैहिक (२) मानसिक वा वैचारिक अनि (३) आत्मिक शरीरका तहहरूमा शान्ति प्राप्तिको कामना । अध्यात्म दावा गर्छ , हामी प्रतेक व्यक्तिको अस्तित्वमा तीन वटा शरीरहरू विद्यमान छन्:

क) पहिलो हो, हाम्रो भौतिक वा दैहिक शरीर जुन रगत, हाड, मासु र कोषहरूले बनेको छ ।
ख)दोस्रो हो: मानसिक शरीर जसले हामीलाई हामी को हौँ भनेर सोच्न सक्ने बनाएको छ । हाम्रो सोच , विचार, भावना र कौतूहलता सबै मानसिक शरीरका कारण सम्भव भएको हो ।
ग) तेस्रो र महत्वपूर्ण शरीर हो आत्मिक शरीर । यो नै हाम्रो वास्तविक अस्तित्व पनि हो । भौतिक र मानसिक शरीरको अस्तित्व केवल आत्मिक शरीरका कारण सम्भव बनेको हो किनभने आत्मारहित हाम्रो देह केवल एउटा मूढो समान महत्वहीन छ ।

तर पनि सही र औचित्यपूर्ण मानव जीवन व्यतित गर्ने कुरा सम्भव पार्न हाम्रो शरीरका यी तीनवटै शरीरमा शान्ति हुनु आवश्यक छ । शान्तिप्रतिको निष्ठा र प्राप्तिले मात्र प्रेम र सद्भाव जस्ता सद्गूणहरूको उपलव्धि सम्भव छ । ईर्ष्या, घृणा, घमण्ड र स्वार्थ जस्ता पाशविक प्रवृत्ति र दूर्गुणहरू मानवीय गुणहरू हैनन् र यिनका कारण हामी हाम्रो व्यक्तित्व र समाजलाई तुच्छ र निकृष्ट बनाइरहेका हुन्छौँ । प्रेम, सत्यता र सच्चाइ वा इमान्दारिता जस्ता मानवीय गुणहरूलाई विस्तारित र व्यापक बनाउन सकेको खण्डमा हाम्रो समाजलाई हामीले शान्ति प्राप्तिको लक्ष्यमा पुर्‍याउन सक्छौँ ।

वास्तवमा युद्द र हिंसाको कुनै वास्तविक कारण अत्यन्त सुक्ष्म मात्र हुन्छ रे ! जस्तो कि नदीको मुहानमा सानो जरूवा वा मूलको स्रोत भए जस्तो । यिनै साना मुहानहरू समथर फाँटमा पुग्दा विशाल नदीको रूपमा विस्तारित बन्ने हुन । क्षमाशील मानवहरू र मनोमालिन्यता र झगडालाई अगाडि बढाउनचाहन्नन् । यसरी कैयौँ भोलिका सम्भावित डरलाग्दा युद्दहरू बेलैमा पञ्छाउन उनीहरूले भूमिका खेलेका हुन्छन् । तर पनि कुनै न कुनै बहाना खोजेर मान्छे भित्रको दुष्ट्याइँ र अमानुष प्रवृत्तिले हिंसा , युद्द र विनाशको हरदम खोजी पनि साथसाथै गरिरहेको हुन्छ ।

दार्शनिकहरूले हजारौँ वर्षको मानव इतिहासलाई केलाउँदा पाएको मानवीय सोच र व्यवहार सम्बन्धी अध्ययनले के भेट्याएको छ भने, हामीले सिर्जना गर्ने युद्द र हिंसाहरू हाम्रो मानसपटलमा नियमित रूपमा चलायमान रहने अस्थिर र नकारात्मक प्रवृत्तिहरूको विष्फोट मात्र हो । अथवा , मानवीय संयम र विवेकले हाम्रा नकारात्मक आकांक्षाहरू उपर सदैव नियन्त्रण राखिरहन सक्दैन फलत: हामी केही न केही उपद्रो गर्न तम्सिहाल्छौँ । हामीलाई लामो समयसम्म बसिरहेको खण्डमा ऊठ्न मन लाग्छ, उठिरहे बस्न वा हिँड्न मन लाग्ला, वा उफ्रिन वा पल्टिन मन लाग्न सक्छ । हामीलाई लामो समयसम्म एकोहोरो परिस्थिति सुखद नै भएपनि रमाईलो लागिरहन्न , परिवर्तन चाहिन्छ । शान्तिपूर्ण जीवन व्यतित गरेकाकहरू पनि निरन्तर केही न केही कुराको खोजीमा हुन्छन् अनि अभाव र अप्ठ्यारोमा दिन बाँचेकाहरूलाई त स्वाभाविक बेचैनी हुने नै भयो । अनि कमजोड र सापेक्षिक असमर्थहरुलाई त सदैव अरूले पाएको सुख र राम्रो जीवनप्रति ईर्ष्या र वैमनस्यता पनि स्वाभाविक रूपमा मनमा रहिरहन्छ ।

मान्छेले आँफूलाई संयममा राख्न सकेन भने ऊ बढी आत्मकेन्द्रित , स्वार्थी र संकृण विचारको नियन्त्रणमा पुग्न सक्छ किनभने यस खालका नकारात्मक सोचहरू व्यक्तिको स्वाभावका अभिन्न विसेषता नै हुन । व्यक्तिले सोच्छ- केवल उसका विचार मात्र असल र उचित हुन् । यो सोच समष्टिमा पुग्दा समाज, दल, वा मुलुक नै विषाक्त गुणको भागी बन्छ । यो दृष्टिदोष वा भ्रमले व्यक्तिलाई अरूको दृष्टिकोणबाट पनि जीवन र जगतलाई हेरिनुपर्छ भन्ने सोचमा विराम लगाइदिने हुनाले व्यक्ति र समाजहरू आफ्नो कुरामा अरूले असहमति राख्दा सहिष्णु बनेर कुराको अर्को पाटो पनि हुनसक्छ भनेर सोच्न सक्दैनन् । यस्तै सोच वैयक्तिकबाट क्रमश: सामूहिक बन्न जाँदा र यसको फलस्वरूप व्यक्ति वा समूहले आफ्नो जस्तै सोच नराख्ने उपर आफ्नो सोच र व्यवहार लाद्न खोज्दा असहमति, द्वन्द , झगडा र युद्दहरू उत्पन्न हुने गर्छन । तर अपशोष, युद्दहरू कहिलै समाधान बन्न भने सक्दैनन् । हिंसा र युद्दमा एकपटक संलग्न समाज र राज्यहरू आँफूलाई अन्याय परेको छ भन्ने दावाका साथ बदला वा प्रतिशोधको बाटोमा लागिरहने हुनाले , शान्ति र समभावको सुखद समाधानमा उत्निन सकिरहेका छैनन् । शान्तिको अभावमा सभ्यता, समुन्नति र विकास सँधै अधमरो रूपमा थिलथिलो रहिरहन्छ । अनि यो नशाको रूपमा पुस्ता दरपुस्ता हस्तान्तरित हुँदै जाने खतरा यसको डरलाग्दो पक्ष हो ।

शान्ति र समन्वय त्यो आधार हो जसको जगमा सबै समुन्नति र सुखको संसार अडेको हुन्छ । मूलत: यो एउटा भावना नै हो - मष्तिष्कजन्य वा मानसिक, भौतिकता भन्दा पर । वास्तिक शान्ति एकले अर्काको अस्तित्वलाई स्वीकारेर अघि बढ्नुमा छ । विचार र सोचहरू धेरैजसो आँफैमा खोटो हुँदैनन् तर तिनको व्यख्या र अँगाल्दा अपनाइने घमण्डी र असहिष्णु सोचमा र तिनले उत्पन्न गर्ने दूर्गुणहरूमा अशान्ति निहित छ ।

परिवर्तन र संक्रमणको चौबाटोमा खडा हाम्रो देश नेपाललाई शान्ति, प्रगति र समुन्नतिको अत्यन्त खाँचो छ । तर यसो हुन नसक्नुको कारक हामी स्वयंसंग विद्यमान छ । हामीले व्यक्ति , समूह, जात , क्षेत्र, राजनैतिक विचारहरु को विविधता बीचबाट पनि अधिकतम राम्रा सोचहरुको मुनाहरूलाई हुर्काउन सक्नु पर्ने हो । पृथक विचार र व्यवहारमा पनि सर्वमान्य आदर्श र कर्ममा बिमति हुनु पर्ने कुनै कारण देखिन्न । सच्चा मनले प्रयत्न गरेमा , हाम्रा अप्ठ्याराहरू को समाधान नहुने कुरै छैन । तर हरेकले नराम्रो कुराको दोष अरुमाथि थोपरेर , हिंसा , ध्वंस र परपीडाबाट नया नेपाल बन्छ भन्ने सोच राख्ने हो भने यो क्षतिको कुनै अन्त्य छैन । नराम्रो र राम्रो विचार र दलका कारण हैन त्यो कर्म र त्यसले दिने परिणाममा खोजिने प्रवृत्ति बन्नु पर्छ । बाँकि संसार २१ औँ शताव्दिका उपलव्धि र चुनैतिका समाधान खोजिरहँदा हामी भने बाँकि सभ्य संसारले १७,१८ औँ शताव्दिमा नै टुंग्याएका विषय र मुद्दाहरुको दलदलमा अल्झिएर आक्रोस र उन्मादको रोमाञ्चक क्रान्तिकारितामा नै सँधै रमाइरहेका छौँ । शान्तिको झूटो बहानामा आफ्ना स्वार्थी पेटाराहरू भर्न अनि अशान्ति निर्माण गर्दै आँफै बलेर उज्यालोको झूटो आल्हादमा रमाइरहेकाछौँ । लाग्छ , शान्ति अझै धेरै पर छ । ॐ शान्ति, शान्ति, शान्ति !!!


हा… हा… हा… हा…

आधा रातमा एकजना जँड्याले घरमा फोन गर्छ:

“…म भर्खर बार बाट निस्केको त मेरो गाडीको ड्यास बोर्ड, स्टेरीङ, गीएर, कल्च, ब्रेक,सबै चोरीएछ, म अब आज घर आउन सक्दीन ।”

दस मिनेट पछी घरको फोनको घण्टी फेरी बज्छ र जँड्याले भन्छ:

‘ए ! म गाडी चलाएर घर आउँदैछु...’ “... म त गाडिको पछाडिको सिटमा पो रहेछु”

---------------                                          ---------------------------                                  -----------------------

शिक्षक – ल भन तिमीहरु कहिल्यै चुरोट तान्छौ ?
बिद्यार्थीहरु – तान्दैनौं सर ।
शिक्षक – मांस, मदिरा खान्छौ?
बिद्यार्थीहरु – खाँदैनौं सर ।
शिक्षक – केटी जिस्क्याउने काम गर्छौ?
बिद्यार्थीहरु – गर्दैनौं सर ।
शिक्षक – जुवा, तास खेल्छौ ?
बिद्यार्थीहरु – खेल्दैनौं सर ।
शिक्षक – देशको लागि मर्न परे मर्छौ?
बिद्यार्थीहरु – मर्छौं सर....यस्तो जिन्दगी त बाँचेर पनि के गर्ने !

-------------------                                     --------------------                                    -----------------------

एकजना उपदेशकले मद्यपानको बिरोधमा प्रवचन दिएर अन्तमा सोधे
मानौं, एउटा बाल्टीनमा पानी र अर्कोमा रक्सी राखेर एउटा गधालाई छाड्यो भने गधाले के खान्छ ?
श्रोता – “पानी!”
उपदेशक – “किन यस्तो हुन्छ ?”
श्रोता – “गधा त आखिर गधा नै हो नि !”

-----------------                                      -------------------------                              -------------------------

A notice board in pub:

“If you are drinking to forget your past, please pay in advance”

-----------------                                    -----------------------------                             ------------------

एकजना चोर, आधा रातमा एउटा मान्छेको घरमा चोर्न गएछ । डिजिटल सेफको मुनी उसले सानो नोट भेटेछ, जसमा लेखिएको थियो ‘यसको पासवर्ड १३४८३ हो’ ।

चोर दंग पर्दै नोटमा लेखिएकै नम्बर दबाउँछ, सो नम्बरका कारण अचानक सेक्युरिटी एलार्म बज्छ र चोर समातिन्छ। अचानक विपरीत स्थितिमा फस्दा चोर अलमल्ल पर्छ र बुदबुदाउँन थाल्छ : ‘…अब कोहि पनि मानिस भरोसा गर्न लाएक रहेनन !’