June 27, 2009

ॐ शान्ति , शान्ति , शान्ति !!!

वैदिक मन्त्रहरूले अन्तरिक्ष शान्ति, देव शान्ति , पृथ्वी शान्ति आदि कुराको शान्ति स्तुति गरिरहेको हामीले सुनेकै छौँ होला । अक्सर हिन्दू वैदिक मन्त्र र स्वस्ति वाचनमा ॐ शान्ति , शान्ति, शन्ति भनी ३ पटक शान्ति पाठ गरिनुका पछाडि विद्यमान कारण यस्तो रहेछ :

तीन पटक शान्तिपाठको अर्थ हो हाम्रो (१)भौतिक वा दैहिक (२) मानसिक वा वैचारिक अनि (३) आत्मिक शरीरका तहहरूमा शान्ति प्राप्तिको कामना । अध्यात्म दावा गर्छ , हामी प्रतेक व्यक्तिको अस्तित्वमा तीन वटा शरीरहरू विद्यमान छन्:

क) पहिलो हो, हाम्रो भौतिक वा दैहिक शरीर जुन रगत, हाड, मासु र कोषहरूले बनेको छ ।
ख)दोस्रो हो: मानसिक शरीर जसले हामीलाई हामी को हौँ भनेर सोच्न सक्ने बनाएको छ । हाम्रो सोच , विचार, भावना र कौतूहलता सबै मानसिक शरीरका कारण सम्भव भएको हो ।
ग) तेस्रो र महत्वपूर्ण शरीर हो आत्मिक शरीर । यो नै हाम्रो वास्तविक अस्तित्व पनि हो । भौतिक र मानसिक शरीरको अस्तित्व केवल आत्मिक शरीरका कारण सम्भव बनेको हो किनभने आत्मारहित हाम्रो देह केवल एउटा मूढो समान महत्वहीन छ ।

तर पनि सही र औचित्यपूर्ण मानव जीवन व्यतित गर्ने कुरा सम्भव पार्न हाम्रो शरीरका यी तीनवटै शरीरमा शान्ति हुनु आवश्यक छ । शान्तिप्रतिको निष्ठा र प्राप्तिले मात्र प्रेम र सद्भाव जस्ता सद्गूणहरूको उपलव्धि सम्भव छ । ईर्ष्या, घृणा, घमण्ड र स्वार्थ जस्ता पाशविक प्रवृत्ति र दूर्गुणहरू मानवीय गुणहरू हैनन् र यिनका कारण हामी हाम्रो व्यक्तित्व र समाजलाई तुच्छ र निकृष्ट बनाइरहेका हुन्छौँ । प्रेम, सत्यता र सच्चाइ वा इमान्दारिता जस्ता मानवीय गुणहरूलाई विस्तारित र व्यापक बनाउन सकेको खण्डमा हाम्रो समाजलाई हामीले शान्ति प्राप्तिको लक्ष्यमा पुर्‍याउन सक्छौँ ।

वास्तवमा युद्द र हिंसाको कुनै वास्तविक कारण अत्यन्त सुक्ष्म मात्र हुन्छ रे ! जस्तो कि नदीको मुहानमा सानो जरूवा वा मूलको स्रोत भए जस्तो । यिनै साना मुहानहरू समथर फाँटमा पुग्दा विशाल नदीको रूपमा विस्तारित बन्ने हुन । क्षमाशील मानवहरू र मनोमालिन्यता र झगडालाई अगाडि बढाउनचाहन्नन् । यसरी कैयौँ भोलिका सम्भावित डरलाग्दा युद्दहरू बेलैमा पञ्छाउन उनीहरूले भूमिका खेलेका हुन्छन् । तर पनि कुनै न कुनै बहाना खोजेर मान्छे भित्रको दुष्ट्याइँ र अमानुष प्रवृत्तिले हिंसा , युद्द र विनाशको हरदम खोजी पनि साथसाथै गरिरहेको हुन्छ ।

दार्शनिकहरूले हजारौँ वर्षको मानव इतिहासलाई केलाउँदा पाएको मानवीय सोच र व्यवहार सम्बन्धी अध्ययनले के भेट्याएको छ भने, हामीले सिर्जना गर्ने युद्द र हिंसाहरू हाम्रो मानसपटलमा नियमित रूपमा चलायमान रहने अस्थिर र नकारात्मक प्रवृत्तिहरूको विष्फोट मात्र हो । अथवा , मानवीय संयम र विवेकले हाम्रा नकारात्मक आकांक्षाहरू उपर सदैव नियन्त्रण राखिरहन सक्दैन फलत: हामी केही न केही उपद्रो गर्न तम्सिहाल्छौँ । हामीलाई लामो समयसम्म बसिरहेको खण्डमा ऊठ्न मन लाग्छ, उठिरहे बस्न वा हिँड्न मन लाग्ला, वा उफ्रिन वा पल्टिन मन लाग्न सक्छ । हामीलाई लामो समयसम्म एकोहोरो परिस्थिति सुखद नै भएपनि रमाईलो लागिरहन्न , परिवर्तन चाहिन्छ । शान्तिपूर्ण जीवन व्यतित गरेकाकहरू पनि निरन्तर केही न केही कुराको खोजीमा हुन्छन् अनि अभाव र अप्ठ्यारोमा दिन बाँचेकाहरूलाई त स्वाभाविक बेचैनी हुने नै भयो । अनि कमजोड र सापेक्षिक असमर्थहरुलाई त सदैव अरूले पाएको सुख र राम्रो जीवनप्रति ईर्ष्या र वैमनस्यता पनि स्वाभाविक रूपमा मनमा रहिरहन्छ ।

मान्छेले आँफूलाई संयममा राख्न सकेन भने ऊ बढी आत्मकेन्द्रित , स्वार्थी र संकृण विचारको नियन्त्रणमा पुग्न सक्छ किनभने यस खालका नकारात्मक सोचहरू व्यक्तिको स्वाभावका अभिन्न विसेषता नै हुन । व्यक्तिले सोच्छ- केवल उसका विचार मात्र असल र उचित हुन् । यो सोच समष्टिमा पुग्दा समाज, दल, वा मुलुक नै विषाक्त गुणको भागी बन्छ । यो दृष्टिदोष वा भ्रमले व्यक्तिलाई अरूको दृष्टिकोणबाट पनि जीवन र जगतलाई हेरिनुपर्छ भन्ने सोचमा विराम लगाइदिने हुनाले व्यक्ति र समाजहरू आफ्नो कुरामा अरूले असहमति राख्दा सहिष्णु बनेर कुराको अर्को पाटो पनि हुनसक्छ भनेर सोच्न सक्दैनन् । यस्तै सोच वैयक्तिकबाट क्रमश: सामूहिक बन्न जाँदा र यसको फलस्वरूप व्यक्ति वा समूहले आफ्नो जस्तै सोच नराख्ने उपर आफ्नो सोच र व्यवहार लाद्न खोज्दा असहमति, द्वन्द , झगडा र युद्दहरू उत्पन्न हुने गर्छन । तर अपशोष, युद्दहरू कहिलै समाधान बन्न भने सक्दैनन् । हिंसा र युद्दमा एकपटक संलग्न समाज र राज्यहरू आँफूलाई अन्याय परेको छ भन्ने दावाका साथ बदला वा प्रतिशोधको बाटोमा लागिरहने हुनाले , शान्ति र समभावको सुखद समाधानमा उत्निन सकिरहेका छैनन् । शान्तिको अभावमा सभ्यता, समुन्नति र विकास सँधै अधमरो रूपमा थिलथिलो रहिरहन्छ । अनि यो नशाको रूपमा पुस्ता दरपुस्ता हस्तान्तरित हुँदै जाने खतरा यसको डरलाग्दो पक्ष हो ।

शान्ति र समन्वय त्यो आधार हो जसको जगमा सबै समुन्नति र सुखको संसार अडेको हुन्छ । मूलत: यो एउटा भावना नै हो - मष्तिष्कजन्य वा मानसिक, भौतिकता भन्दा पर । वास्तिक शान्ति एकले अर्काको अस्तित्वलाई स्वीकारेर अघि बढ्नुमा छ । विचार र सोचहरू धेरैजसो आँफैमा खोटो हुँदैनन् तर तिनको व्यख्या र अँगाल्दा अपनाइने घमण्डी र असहिष्णु सोचमा र तिनले उत्पन्न गर्ने दूर्गुणहरूमा अशान्ति निहित छ ।

परिवर्तन र संक्रमणको चौबाटोमा खडा हाम्रो देश नेपाललाई शान्ति, प्रगति र समुन्नतिको अत्यन्त खाँचो छ । तर यसो हुन नसक्नुको कारक हामी स्वयंसंग विद्यमान छ । हामीले व्यक्ति , समूह, जात , क्षेत्र, राजनैतिक विचारहरु को विविधता बीचबाट पनि अधिकतम राम्रा सोचहरुको मुनाहरूलाई हुर्काउन सक्नु पर्ने हो । पृथक विचार र व्यवहारमा पनि सर्वमान्य आदर्श र कर्ममा बिमति हुनु पर्ने कुनै कारण देखिन्न । सच्चा मनले प्रयत्न गरेमा , हाम्रा अप्ठ्याराहरू को समाधान नहुने कुरै छैन । तर हरेकले नराम्रो कुराको दोष अरुमाथि थोपरेर , हिंसा , ध्वंस र परपीडाबाट नया नेपाल बन्छ भन्ने सोच राख्ने हो भने यो क्षतिको कुनै अन्त्य छैन । नराम्रो र राम्रो विचार र दलका कारण हैन त्यो कर्म र त्यसले दिने परिणाममा खोजिने प्रवृत्ति बन्नु पर्छ । बाँकि संसार २१ औँ शताव्दिका उपलव्धि र चुनैतिका समाधान खोजिरहँदा हामी भने बाँकि सभ्य संसारले १७,१८ औँ शताव्दिमा नै टुंग्याएका विषय र मुद्दाहरुको दलदलमा अल्झिएर आक्रोस र उन्मादको रोमाञ्चक क्रान्तिकारितामा नै सँधै रमाइरहेका छौँ । शान्तिको झूटो बहानामा आफ्ना स्वार्थी पेटाराहरू भर्न अनि अशान्ति निर्माण गर्दै आँफै बलेर उज्यालोको झूटो आल्हादमा रमाइरहेकाछौँ । लाग्छ , शान्ति अझै धेरै पर छ । ॐ शान्ति, शान्ति, शान्ति !!!


4 Comments:

Anonymous said...

oM

ठरकि दादा said...

देशको परिस्थीतिलाई र आध्यात्मको कडीसंग पनि जोडेर सरल रुपमा शान्तिको अपरिहा्र्यतालाई बुझाउनु भएछ ।

पहिला सुन्थे, शान्ति विना बिकास सम्भब छैन, अहिले त लाग्छ शान्ति विना सायद 'सामान्य जिवन' पनि सम्भव छैन।

सनातन धर्म संस्कृतिलाई नै खल्बल्यान खोज्नेहरू उपल्लो तप्कामा पुगेको बेलामा, लाग्छ यस्को महत्ता झनै बढेको छ:

ॐ द्यौ: शान्तिरन्तरिक्षँ शान्ति: पृथ्वी शान्तिराप: शान्तिरोषधय: शान्ति: । वनस्पतये: शान्तिर्विश्वे देवा: शान्तिर्ब्रह्म शान्ति: सर्वँ शान्ति: शान्तिरेव शान्ति: सा मा शान्तिरेधि ॥ ॐ शान्ति: शान्ति: शान्ति: ॥

Panda said...

कुनै जमानामा व्याप्त धार्मिक चेतना पनि शान्ति र सद्भावकै लागि थिए । मान्छेले पक्कै पनि भौतिक शरिरलाई भन्दा आत्मालाई नै प्राथमिकता दिन्थे भन्ने कुरा त्यति बेलाका कथाहरुलाई मनन गर्दा झल्किन्छ ।
तर अहिलेको जमाना भौतिक शरिरबाट पनि भोग गर्न सक्ने भौतिक शरिरको अस्तित्वतर्फ लम्कदै छ ।

लन्डनमा ५-६ महिना पहले एकजना काठमाडौका रैथाने सज्जनसंग भेट हुंदा भनेका थिए, जब दुनियामा सबैजनाले आफ्नो आत्माको अस्तित्वलाई भेट्छन र ज्ञानका हिसाबले पण्डित (जातका हिसाबले हैन) बन्छन तब मात्र ब्रम्हाण्डमा शान्ति, सुख र "साम्यबाद" आउंछ रे ।

Anonymous said...

Nice Read.

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !