December 30, 2008

विदेशप्रतिको मोह र आलोचना बारे एक गन्थन

विदेशीनुको पीडा त छदैछ। अर्काको देशमा दोस्रो दर्जाको नागरीक् भएर बाँचिएकोछ। व्यक्तिगत लाभ, आरामदायी जीवन, छोरा-छोरीको भविष्य र नेपालको राजनैतीक अस्थिरता, वा हामीले आफ्नो योग्यता अनुसार नेपालमा भूमिका पाउन नसक्ने अनेक कारण देखाएर हामी कोही अमेरीका, क्यानाडा, बेलायत लगाएत अन्य् देशहरुमा छरिएका छौं। विदेशलाई कर्मथलो भएका हामी नेपालीहरुलाई एउटा स्वार्थी, भगौडा वा पलायन् भएका मान्छेहरुमा गनिन्छ। कता-कता त्यो कुरा आफैलाई बिझ्छ पनि। फुर्सदको क्षणहरुमा नेपालको समाचार, लेखहरु, ब्लगहरु पढिन्छ। धेरै जस्तोले आफ्नो संक्षिप्त वा छद्म नामबाट लेख्छन्, कसैले पुरा नाम र ठेगाना सहित। तर तपाई विदेशको ठेगानाबाट नेपालको विषयमा टीका-टीप्पणी लेख्नु हुन्छ र नेपालमा बस्ने कसैलाई मन पर्दैन भने खप्की खाईहाल्नु हुन्छ। ‘देश बाहिर बसेर नेपालको बारेमा खोक्ने!’ भनेर। छद्म नामबाट लेख्दा पनि कतिपय ब्लगवालाहरुले चित्त नबुझेको बेला तिम्रो परिचय, ठेगाना खोलिदिऊं भनेर धम्क्याउने पनि गरेको देखियो। हालै एउटा अनलाईन पत्रिकामा आफ्नो सही नाम र ठेगानाबाट प्रतिक्रिया लेखेको-एउटाको प्रतिक्रिया आईहाल्यो- अमेरीकाको ठेगानाबाट लेखेको भनेर। आसय स्पष्ट थियो, अमेरीका बसेर फूर्ती दिएको वा बढी बोलेको। हुन सक्छ, देश बाहिर बसिएकोले कतिपय कुरामा हाम्रो जानकारी कम हुन सक्छ तर देश बाहिर भएकै कारण हामीले बोल्न नमिल्ने हो र?

शेर बहादुर देउवा, महेश आचार्य र रामशरण महतहरु बारे २०४६ सालको जनाअन्दोलनमा प्रत्यक्ष सहभागिता नभएको बारे एउटा टिप्पणी भैरहन्थ्यो। देउवा फेल्लोशीप गर्न बेलायत, महत कुनै यू एनको प्रोजेक्टमा कार्यरत र आचार्य प्रध्यापन पेशामानै ब्यस्ता भएको भन्ने बारे। मलाई यिनीहरु खासै मन पर्ने नामहरु त होइन, तर उनीहरु जनआन्दोलनको बेला मुलुकमा नभएको कारण देखाएर उनीहरुको संपुर्ण ज्ञान र शीपलाई नकार्न त मिल्दैन नि! । नेपालमा कुनै पदमा पुग्ने योग्यता त्यंहा उसले कतिवटा रेलिंगका डन्डीहरु उखाल्यो भनेर जांच्ने हो र? नेपालमा हरेक् तीन युवाहरुमा दुई जनाको विदेश जाने ध्याउन्न हुन्छ। अमेरीका, क्यानाडा, बेलायत, जापान्, यूरोप, मलेशीया, कोरीया, नभए खाडी क्षेत्रका मुलुकहरु। यी कुनै पनि मुलुक जान नसक्नेहरुले भारत भए पनि ताकेकै हुन्छ। निजामती सेवा, प्रहरी सेनामा उच्च ओहोदामा रहेकाहरु, सांसद समेत भैसकेकाहरु पलायन भैरहेका छन् र त्यो क्रम जारी छ। "जान पर्छ हजुर, यहाँ नेपालमा काम छैन" भनेर सबैले उचाल्छन्। सन्तोष पन्तको कार्यक्रम हो क्यारे सायद। एउटा छोरीको बाबुले छोरीको लागि वर छान्ने क्रममा अमेरीका जाने सोच मात्र बनाएको भएपनि एउटा युवकलाई योग्य ठान्दछ। हाम्रो आम सोचको अवस्था त्यस्तो छ।

गत साल नेपाल गएको थिंए। अमेरीकाबाट आएको भनेर साथीभाइ, नातागोता, छर छिमेकबाट कत्रो मान सम्मान। नेपालमा हुंदा बोल्न पर्छ भनेर तर्किनेहरु बोल्न आइरहेकाथिए। एक कप चिया नखुवाएकाहरुले खानाको निम्तो दिईराखेका थिए। निम्तो अश्वीकार गर्न नसक्दा, एकै सांझ दुई घरमा समेत खान खान पर्ने स्थिति आयो। साथीभाइहरु पनि हरेक सांझ मदीरापानको लागि झुम्मिने। तर अर्कोतर्फ विदेशीनेहरुको चर्को आलोचना हुन्छ। हामीलाई एउटा स्वार्थी, लोभी, लालचीहरुको रुपमा प्रस्तुत गरिन्छ ।र एउटा उल्झन् हुन्छ। विदेशीनेको मानसम्मान भैराखेको छ कि अपमान। के विदेशिदैमा हाम्रो नेपाल बारे बोल्ने अधिकार समाप्त भयो त? हामीले देशको लागि केही दिन सक्दैनौ त? हामी गद्दार नै हौ त?

हालै मेरो एउटा साथीको अकस्मात ब्रेन् ट्यूमर पत्तालाग्यो र तत्काल अप्रेशन गर्न पर्ने भयो। उसले नेपालबाट फोन गर्यो। ४-५ लाख जम्मा गर्न पर्ने भयो, ल तैंले कति सहयोग गर्न सक्छस भनेर। एक् लाख रुपिया तत्काल पठाइदिएँ। लन्डनमा भएका उस्का भान्जाहरु, मस्कोमा रहेका उसका काकाका छोराहरु सबैले पैसा पठाइदिए। उस्को अप्रेसन् भयो। आफ्ना साथीहरु, नातागोताहरु बाहिर भएकोले उसलाई सजिलै भयो। यति सहयोग गर्न सकेकोमा म खुशी छु। सायद नेपालमै भएको भए भन्ने बित्तिकै सहयोग जुटाउन अवश्य सक्ने थिईन होला।
++++++++
एउटा सानो जानकारी साथीहरुलाई, यो भन्दा अघि मेरा प्रतिक्रिया-रचनाहरु brilliantman71 छद्म नामबाट प्रकाशीत भैरहेकोमा अब उप्रान्त मेरो वास्तविक नाम् पोस्तक् श्रेष्ठबाट नै आउनेछ। मेरो एउटा कथा सपना संसारमा आएको छ, हेर्नु होला। अर्को कथा लिएर दौंतरीमा छिट्टै आउनेछु।



गजल बारे छोटो चर्चा

हुनत नेपाली भाषामा गजल भनेको कुनै नौलो बिधा त रहेको छैन तर राम्ररी हेर्ने हो भने अंग पुर्‍याएर र यसका संरचनाका निश्चित नियम र परिधि भीत्र बसेर लेख्‍नेको संख्या भने निकै कम छ।

गजल पढन र सुन्न जत्ती मनोरन्जक, रोमान्चक र कर्णप्रिय हुन्छ बास्तबमा लेख्‍न त्यत्तीकै जटिल, मुश्किल र दूरुह । दौंतरीमा केहि समय यता यसको बारेमा निक्कै बहस शुरु भएको र म आफू पनि गजल प्रेमी (जानकार हैन भन्ने कुरा पहिलै खुलस्त गरौं) भएको नाताले यो हप्ताको फुर्सदको समयलाई यहि बिधाको सामान्य संरचनाको अध्ययनमा लगाएँ। केहि समय यता दुई-दुई लाईनका तुक मिलाएर लेखिएका भावनाहरुलाई ‘गजल’ भनेर लेखीन र छापिन थालिएका छन । दौंतरी मात्रै हैन, धेरै अनलाईन र सहित्यिक पत्रिकाहरुमा समेत गजलको नाममा कविताहरु धेरै पटक प्रकाशीत भएका छन ।

गजलको उद्गम र परिभाषा बारेमा भिन्न भिन्न मत भएपनि गजल अरबबाट शुरु भएको अनी बिस्तारै काव्यको यो विधा फारसी, उर्दू हुँदै हिन्दी, नेपाली र अन्य भषामा पुगेको कुरामा धेरै शोधकर्ताहरुको एक मत छ ।

यो सानो पोष्टमा गजलसंग सम्बन्धित केहि आधारभूत शब्दावलिको चर्चा गर्ने कोशीस गरिने छ।

साधारणतया गजलका यि शब्दाबलीलाई अर्थ्याउन गालिब वा जफर गोरखपुरी वा त्यस्तै कोहि प्रख्यात गजलकारका गजललाई प्रस्तुत गरिन्छन। तर ति सबै उर्दू वा अन्य कुनै भषामा हुने भएकोले म हाम्रै दौंतरी वाकाजीले भर्खरै पोष्ट गर्नु भएको यौटा सरल गजल यहा राख्दैछु:

Gajal

शेर: गजल शेरहरुको समुह हो र गजलमा प्रयुक्त दुई हरफकको यौटा श्‍लोक लाई शेर भनिन्छ। गजलको बनोटको हिसाबले एउटा गजलमा कममा पाँच र बढिमा एघार ओटा सम्म शेर रहेको पाईएको छ। जहाँ कविताका १०-१२ हरफसम्म यौटै विषयको बारेमा व्याख्या हुनसक्छ, तर गजलमा भने हरेक शेरले भीन्दा भीन्दै कुरा बयान गर्छ। यसैले हरेक शेर आफैमा पूर्ण हुनु पर्छ, यौटा शेरमा पुरा गर्न नसकिएको विषयबस्तुलाई अर्को शेरमा हाल्नु वा तान्नु हुँदैन।

मिसरा: शेरको प्रत्यक लाईनलाई मिसरा भनिन्छ। त्यसमा पनि पहिलो लाईन, जुन पूर्ण स्वतन्त्र हुन्छ लाई मिसरा उला (मिसरा ए उला) भनिन्छ भने दोस्रो लाईन, जसमा तुक मिलाउने मात्रै नभई गजलकारले आफ्नो अधुरो कुरालाई दमदार तरिकाले पुरा गर्छन लाई मिसरा सानि (मिसरा ए सानी) भनिन्छ ।

जस्तै माथिको गजलको पहिलो शेर:

कस्ले लायो साँद आज, भुत्ते पनि छुरा भएछ , कस्को आड पायो कुन्नी लुते पनि सुरा भएछ मा “कस्ले लायो साँद आज, भुत्ते पनि छुरा भएछ ” भन्ने हरफ मिसरा उला हो भने “कस्को आड पायो कुन्नी लुते पनि सुरा भएछ” भन्ने दोस्रो लाईन मिसरा सानि हो।

काफिया: यो गजलको एकदमै महत्वपूर्ण अंग हो। यदाकदा यसलाई गलको मुटु वा ज्यान पनि भनेर परिभाषित गरिन्छ। काफियाको शाब्दिक अर्थ पछि पछि आउनु भन्ने हुन्छ । माथिको गजल हेर्दा ‘सुरा’, ‘छुरा’, ‘पुरा’ आदि शब्द, जुन हरेक मिसरा सानिमा पछिल्तिर आएका छन र फरक-फरक छन, लाई काफिया भनिन्छ । गजलमा साधारणतया अर्थ फरक आउने शब्द अपबाद हुने बाहेक उहि अर्थ आउने काफियाको प्रयोग गरिदैन। हुनत केहि नाम चलेका गजलकारहरुले पनि काफिया दोहर्‍याएर गजल लेखेका छन, तर हरेक शेरमा भिन्न भिन्न काफियाको प्रयोगले नै कुनै पनि गजलकारको भषीक ज्ञान, प्रखरता, र प्रतिभाको पूर्ण प्रदर्शन गर्छ । अनी दोहोरिएको काफियाले गजलकारको मात्रै हैन, जुन भाषामा गजल लेखिएको छ त्यो भाषाको शब्दकोषको समेत गरिवि पनि झल्कयाउँछ । त्यसैले काफियालाई तुक मिलाउने मेसोको मात्र उपयोगीतामा हेर्नु गल्ति हुनेछ ।

रदीफ: काफिया संगै आउने शब्द वा शब्द समुहलाई रदिफ भनिन्छ । जुन शेर पिच्छे बदल्न मिल्दैन र गजलको अन्त सम्म अपरिवर्तित रहन्छ। जस्तै माथिको गजलमा: “कस्ले लायो साँद आज, भुत्ते पनि छुरा भएछ, कस्को आड पायो कुन्नी लुते पनि सुरा भएछ” मा ‘भएछ’ रदिफ हो, जुन अन्तसम्म एउटै छ ।

मत्ला: मत्लाको शाब्दिक अर्थ “आरम्भ” वा शुरुवात भन्ने हुन्छ, अत:कुनै पनि गजलको पहिलो शेरलाई मतला भनिन्छ । जस्तै माथिको शेरमा: “कस्ले लायो साँद आज, भुत्ते पनि छुरा भएछ , कस्को आड पायो कुन्नी लुते पनि सुरा भएछ” भन्ने शेर यो गजलको मतला हो। यहा याद गर्नु पर्ने कुरा के छ भने मतलाका दुबै मिसरामा काफियाको प्रयोग भएको हुन्छ। तर गजलका अन्य शेरमा भने मिसरा सानिमा मात्रै काफिया हुन्छ ।

मक्ता: मक्ताको अर्थ समाप्त हुनु हो, अर्थात जुन शेरबाट गजल अन्तहुन्छ गजलको त्यहि अन्तिम शेरलाई मक्ता भनिन्छ।

तखल्‍लुस: प्राय गजलकारहरु गजलको मक्तामा आफ्नो नाम, उपनाम वा टाईटलको प्रयोग गर्छन। अर्थात अन्तिम शेरमा आफनो नाम पनि गजल भित्र हाल्छन, यसैलाई लखल्लुस भनिन्छ । यसले त्यो गजल कस्को हो भन्ने कुरा सुन्ने बित्तिकै थाहा हुन्छ भने आर्को कुरा तखल्लुसको प्रयोग कहिले काहि द्विअर्थि समेत हुँदा यसले सिधै गजलकारको नाम मात्रै नभई अरुनै कुनै संकेत वा ईशारा पनि गर्न सक्छ । अनी कतिपयले भने तखल्लुस सहितको अन्तिम शेरलाई मात्रै मकताको दर्जा दिने गरेको पनि पाईन्छ ।

यो गजलको बारेमा एकदमै साधारण जानकारि मात्रै हो यसका मानक र संयोजनका अन्य पक्ष जस्तै: बहर, रुक्‍न, वज्‍न आदि बारेमा पनि यथेष्ट ज्ञान भएमा सोहि अनुरुप लेखीए मात्रै गजलमा उत्कृष्टता आउन सक्छ, नत्र बेजोड भाव, समानान्तर तुक र गेय भएपनि काव्य, गजल नबनी कबिता मात्र हुने वा कहिले काहि न कबिता न गजल भै बिचमै लटकिन पनि सक्छ ।

समयले साथ दिएमा त्यस बारेमा आगामी पोष्टमा लेख्‍ने प्रयास गर्ने छु । आजलाई भने जाँदा जाँदै गजल सम्बन्धमा केहि रमाईला तथ्य र किम्बदन्तिहरु:

  • यौटा किम्बदन्ति अनुशार अरबमा एकजना ‘गजल’ नाम गरेका शायर थिए जसले प्रेमको गित बनाउनमै आफ्नो जिवन बिताए। शुरु शुरुमा गजल केवल प्रेमको बारेमा मात्रै लिखिन्थ्यो त्यसैले पछिका दिनमा यस प्रकारको प्रेमको गित नै उसैको नामले चिनिन थाल्यो ।
  • दसौं शताब्दिमा ईरानमा जन्मेका ‘रौदकी’ नामका शायर (जो जन्मजात अन्धो रहेको बिश्वास गरिन्छ) लाई नै गजलको जन्मदाता पनि मानिन्छ ।
  • उर्दूका प्रशीद्ध शायर जानिसारले गजललाई:

         “हमसे पूछो कि ग़ज़ल क्या है ? ग़ज़ल का फन क्या है ?
          चंद लफ्जों में कोई आग छुपा दी जाए ।” भनेर परिभाषित गरेका छन ।

  • गजल अरबि शब्द हो र यसको माने नारि शौन्दर्यको वर्णन वा प्रेयसीसंग प्रेमालाम भन्ने हुन्छ ।
  • मतला बाहेकका बिचका कुनै शेरमा पनि दुबै मिसरामा काफिया राखेर लेखीएको शेरलाई ‘हुस्‍न‍-ए-मतला भनिन्छ
  • केहि साल यता अंग्रेजिमा पनि गजल लेखन थालीएको छ (भाषा फरक रहे पनि केहि अंग्रेजी गजल पढदा मलाई भने समान आकर्षक र रोचक लाग्यो)


एक छिन हासौंन - १०

आचार्य प्रभा, अमेरीकाIMG_0268[2]
खै!अनुभव र अनुभुती पोख्दा पोख्दा अब त अर्को नयाँ अनुभुती को आभाष भै रहेछ किन भने मान्छे जन्मे देखी उस्ले होस सम्हालेसम्म उस्ले नयाँ नयाँ कुराहरुको अनुभुत गर्न पाउछ। सुख,दुख आसुँ,हांसो,खुशी पीडा इत्यादी। यत्ती हो कसैले पोख्न सक्छन कबिता,गीत,गजल,कथा अर्थात अनेक साहित्यको माध्यम बनाएर। मैले भने यस् दौतरीको छात्तिमा अनुभुतिको लश्कर बनाएर पोखिरहेकी छु। कत्तिलाई मनाशिव होला पनि कत्तिलाई वहियात पनि भएको होला त र यो मेरो आफ्नो अनुभव हो पोख्ने अधिकार मलाई छ। यसैले म निर्धक्कसँग समय चोरि चोरी पोख्न लालायित छु।

हुन त साहित्य नै यस्तो निस्वार्थ, अनमोल,निस्कलंक बस्तु हो, जस्को न मोलतोल नै गर्नु पर्छ। जस्लाई प्रयोग गर्न न कसैलाई बिन्तिभाउ नै गर्नु पर्छ, न त यस्को छेकवार नै छ। बस पोखिदियो यस्को माध्यम बाट आफ्ना मनका भावनाहरु छताछुल्ल बनाएर। यसैले मैले पनि आफ्ना अनुभव हरु पोखिरहेकी छु। त र धेर खायो भने गुँड पनि तितो हुन्छ रे। यसैले भोगिएका देखिएका सबै कुराहरु पोखेर साध्य पनि हुन्न। यसघडी मलाई आफ्नो जीवन भोगाइ अर्थात बचाइ सपना जस्तो लागिरहेछ। मेरो समय केवल काम र लेखनमा मात्र सिमित छ त्यसैले पनि म सपनामा छु जस्तो आभाष भै रहेछ। अब आउने मेरो अनुभुती अन्तिम हुनेछ शायद। यो अन्तिम अनुभुती चाँही यही अनुभुती लेख्नेक्रममा मैले भोगेका र समय चोर्नु परेको बाध्यता एउटा हास्यस्पद कथा बनेर आउनेछ। साचै मान्छेलाई नचाहेर पनि ढाट्नु पर्ने,झुठो बोल्नु पर्ने,भाग्नु पर्ने डराउनु पर्ने,गाली पनि सहनुपर्ने वाध्यत्ता हुदोरहेछ। अहिले मेरो पनि त्यस्तै अवस्था छ किनकी महँगो समय छ। एक एक पल समयलाई किन्नु परेको छ। अनी आफ्नो लेखनक्षेत्रको मोहलाई पनि पूरा गर्नु पर्नेछ। भावना हरु लाई गुम्साएर राख्न म असमर्थ छु त्यसैले पनि कलम मेरो साथी बनेको छ किन कि परदेशको ठाउँ यहाँ सबै पराइ छन। त्यसैले पनि मन कहिलेकही बिचलित बन्छ। यही एउटा माध्यम छ मनलाई शान्त्वना दिने। हुनत म मात्र त्यस्तो नहुला सबैले यसरी पोख्न समर्थ हुँदैनन। सबैले साहित्यको भर पर्न असमर्थ छन। त्यसैले त होला यहाँका मान्छेहरु प्राय:एक्लै गुनगुनाइ रहेका,एक्लै हासिरहेका,कता कता हराएकाजस्ता भएका। शायद ब्यथामात्र साथी भएर हो कि?, यसैले पनि मैले भने अनुभुत गर्ने ठाउँ दौतरी सगं मागे। धन्यवाद दौतरी। भावना पोख्ने आङन दिएकोमा। अब एकचोटीकोलागी फेरी तिम्रो बलेशिमा भावनाको आँशु बनेर झर्ने अनुमती माग्दै बिदा चाहन्छु ।
क्रमश:



December 29, 2008

गजल - तिम्रो लागि

प्रबिण थापा
धादिङ, हाल इटलीबाट

तिम्रो लागि आज एउटा गजल लेख्छु सानु
कस्ती भयो भरेराती सपनीमा देख्छु सानु

तुफ।न आओस आधी चलोस हामी दुईको गन्तब्यमा
पहाड जस्तै स्थिर भई जीवन भरी छेक्छु सानु

वाचा भयो तिमीलाई आफ्नै बनाउने
जे जे परोस यो भाग्यमा सबै थेग्छु सानु

टाढा हुन सक्दिन तिमी बिना अब एकपल
झझल्कोमा कहिलेकाही त सिरानीलाई चेप्छु सानु

शुन्य लाग्छ सारा कुरा समिपमा भइनौ भने
तिमी खुशी भए मात्र शिखर टेक्छु सानु


तड्पिएको प्रेमीको अवाज

कान्छा लाल तामाङ्ग
मकवानपुर फापरबारी-२ सिक्रे दोभान नेपाल
हाल-ताजी ईराक
मनको ढोका खोलेको थे तिमी लाई भिन
सर्बस्व सुम्पेको थे तिमीलाई आफ्नो ठानी
बिर्सी गयौ आजा तिमी मलाई एक्लो पारी
ओढाई गयौ जीन्दगीमा ठुलो काँडा घरी

मनको पिडा आपैसँग लुकाई राख्ने छ
भित्रीमन जलाई जलाई आपै जिउने छु
आँसु पिउदै जीन्दगीलाई मोडमा ल्याउने छु
जिवनको अन्तिम दिनलाई गन्दै बस्ने छु

किन दियौ छोटो हाँसो जिन्दगीमा आई
दुनियालाई देखाई छाड्यौ धोका मलाई दिई
ठुलै कुरा पायो होला मलाई छाडि गई
सुखै सुख पायो होला अरु साथमा लिई

बागिएको खोला हुं मा कहिल्यै फर्किदिन
जिन्दगीको बोझलाई हेरी हहिल्यै झर्किदिन
तिमलाई भेटे बाटोमा कहिल्यै तर्किदिन
तिमले बोले सुनि बस्छु बोली फर्काकाउदिन

तिमीले त सुख छान्यौ मलाई दुखमा पारी
के नै ठुलो कुरा पायौ मलाई जीउदै मारी
ठुलै सम्मान पायो होला मलाई अपमान गरी
बाँच्न बाध्य बनाई दियौ पानी बिना माछा सरी


कबिता - पीर, चिन्ता छ मेरो यो मनमा

अनुप गुरुङ्ग
पीर, चिन्ता छ मेरो यो मनमा
बाच्नु नै पर्ने जे जस्तो भएपिन
यो जिन्दगी कस्तो मेरो
सल्केको आगोको धुवा जस्तो

आशा सबै मरी सक्यो मेरो
बिरानो लाग्छ जिन्दगी मेरो
छैन कोही आशु चुहाउने
म मरॆ पछी मेरो लासमा