December 30, 2008

गजल बारे छोटो चर्चा

हुनत नेपाली भाषामा गजल भनेको कुनै नौलो बिधा त रहेको छैन तर राम्ररी हेर्ने हो भने अंग पुर्‍याएर र यसका संरचनाका निश्चित नियम र परिधि भीत्र बसेर लेख्‍नेको संख्या भने निकै कम छ।

गजल पढन र सुन्न जत्ती मनोरन्जक, रोमान्चक र कर्णप्रिय हुन्छ बास्तबमा लेख्‍न त्यत्तीकै जटिल, मुश्किल र दूरुह । दौंतरीमा केहि समय यता यसको बारेमा निक्कै बहस शुरु भएको र म आफू पनि गजल प्रेमी (जानकार हैन भन्ने कुरा पहिलै खुलस्त गरौं) भएको नाताले यो हप्ताको फुर्सदको समयलाई यहि बिधाको सामान्य संरचनाको अध्ययनमा लगाएँ। केहि समय यता दुई-दुई लाईनका तुक मिलाएर लेखिएका भावनाहरुलाई ‘गजल’ भनेर लेखीन र छापिन थालिएका छन । दौंतरी मात्रै हैन, धेरै अनलाईन र सहित्यिक पत्रिकाहरुमा समेत गजलको नाममा कविताहरु धेरै पटक प्रकाशीत भएका छन ।

गजलको उद्गम र परिभाषा बारेमा भिन्न भिन्न मत भएपनि गजल अरबबाट शुरु भएको अनी बिस्तारै काव्यको यो विधा फारसी, उर्दू हुँदै हिन्दी, नेपाली र अन्य भषामा पुगेको कुरामा धेरै शोधकर्ताहरुको एक मत छ ।

यो सानो पोष्टमा गजलसंग सम्बन्धित केहि आधारभूत शब्दावलिको चर्चा गर्ने कोशीस गरिने छ।

साधारणतया गजलका यि शब्दाबलीलाई अर्थ्याउन गालिब वा जफर गोरखपुरी वा त्यस्तै कोहि प्रख्यात गजलकारका गजललाई प्रस्तुत गरिन्छन। तर ति सबै उर्दू वा अन्य कुनै भषामा हुने भएकोले म हाम्रै दौंतरी वाकाजीले भर्खरै पोष्ट गर्नु भएको यौटा सरल गजल यहा राख्दैछु:

Gajal

शेर: गजल शेरहरुको समुह हो र गजलमा प्रयुक्त दुई हरफकको यौटा श्‍लोक लाई शेर भनिन्छ। गजलको बनोटको हिसाबले एउटा गजलमा कममा पाँच र बढिमा एघार ओटा सम्म शेर रहेको पाईएको छ। जहाँ कविताका १०-१२ हरफसम्म यौटै विषयको बारेमा व्याख्या हुनसक्छ, तर गजलमा भने हरेक शेरले भीन्दा भीन्दै कुरा बयान गर्छ। यसैले हरेक शेर आफैमा पूर्ण हुनु पर्छ, यौटा शेरमा पुरा गर्न नसकिएको विषयबस्तुलाई अर्को शेरमा हाल्नु वा तान्नु हुँदैन।

मिसरा: शेरको प्रत्यक लाईनलाई मिसरा भनिन्छ। त्यसमा पनि पहिलो लाईन, जुन पूर्ण स्वतन्त्र हुन्छ लाई मिसरा उला (मिसरा ए उला) भनिन्छ भने दोस्रो लाईन, जसमा तुक मिलाउने मात्रै नभई गजलकारले आफ्नो अधुरो कुरालाई दमदार तरिकाले पुरा गर्छन लाई मिसरा सानि (मिसरा ए सानी) भनिन्छ ।

जस्तै माथिको गजलको पहिलो शेर:

कस्ले लायो साँद आज, भुत्ते पनि छुरा भएछ , कस्को आड पायो कुन्नी लुते पनि सुरा भएछ मा “कस्ले लायो साँद आज, भुत्ते पनि छुरा भएछ ” भन्ने हरफ मिसरा उला हो भने “कस्को आड पायो कुन्नी लुते पनि सुरा भएछ” भन्ने दोस्रो लाईन मिसरा सानि हो।

काफिया: यो गजलको एकदमै महत्वपूर्ण अंग हो। यदाकदा यसलाई गलको मुटु वा ज्यान पनि भनेर परिभाषित गरिन्छ। काफियाको शाब्दिक अर्थ पछि पछि आउनु भन्ने हुन्छ । माथिको गजल हेर्दा ‘सुरा’, ‘छुरा’, ‘पुरा’ आदि शब्द, जुन हरेक मिसरा सानिमा पछिल्तिर आएका छन र फरक-फरक छन, लाई काफिया भनिन्छ । गजलमा साधारणतया अर्थ फरक आउने शब्द अपबाद हुने बाहेक उहि अर्थ आउने काफियाको प्रयोग गरिदैन। हुनत केहि नाम चलेका गजलकारहरुले पनि काफिया दोहर्‍याएर गजल लेखेका छन, तर हरेक शेरमा भिन्न भिन्न काफियाको प्रयोगले नै कुनै पनि गजलकारको भषीक ज्ञान, प्रखरता, र प्रतिभाको पूर्ण प्रदर्शन गर्छ । अनी दोहोरिएको काफियाले गजलकारको मात्रै हैन, जुन भाषामा गजल लेखिएको छ त्यो भाषाको शब्दकोषको समेत गरिवि पनि झल्कयाउँछ । त्यसैले काफियालाई तुक मिलाउने मेसोको मात्र उपयोगीतामा हेर्नु गल्ति हुनेछ ।

रदीफ: काफिया संगै आउने शब्द वा शब्द समुहलाई रदिफ भनिन्छ । जुन शेर पिच्छे बदल्न मिल्दैन र गजलको अन्त सम्म अपरिवर्तित रहन्छ। जस्तै माथिको गजलमा: “कस्ले लायो साँद आज, भुत्ते पनि छुरा भएछ, कस्को आड पायो कुन्नी लुते पनि सुरा भएछ” मा ‘भएछ’ रदिफ हो, जुन अन्तसम्म एउटै छ ।

मत्ला: मत्लाको शाब्दिक अर्थ “आरम्भ” वा शुरुवात भन्ने हुन्छ, अत:कुनै पनि गजलको पहिलो शेरलाई मतला भनिन्छ । जस्तै माथिको शेरमा: “कस्ले लायो साँद आज, भुत्ते पनि छुरा भएछ , कस्को आड पायो कुन्नी लुते पनि सुरा भएछ” भन्ने शेर यो गजलको मतला हो। यहा याद गर्नु पर्ने कुरा के छ भने मतलाका दुबै मिसरामा काफियाको प्रयोग भएको हुन्छ। तर गजलका अन्य शेरमा भने मिसरा सानिमा मात्रै काफिया हुन्छ ।

मक्ता: मक्ताको अर्थ समाप्त हुनु हो, अर्थात जुन शेरबाट गजल अन्तहुन्छ गजलको त्यहि अन्तिम शेरलाई मक्ता भनिन्छ।

तखल्‍लुस: प्राय गजलकारहरु गजलको मक्तामा आफ्नो नाम, उपनाम वा टाईटलको प्रयोग गर्छन। अर्थात अन्तिम शेरमा आफनो नाम पनि गजल भित्र हाल्छन, यसैलाई लखल्लुस भनिन्छ । यसले त्यो गजल कस्को हो भन्ने कुरा सुन्ने बित्तिकै थाहा हुन्छ भने आर्को कुरा तखल्लुसको प्रयोग कहिले काहि द्विअर्थि समेत हुँदा यसले सिधै गजलकारको नाम मात्रै नभई अरुनै कुनै संकेत वा ईशारा पनि गर्न सक्छ । अनी कतिपयले भने तखल्लुस सहितको अन्तिम शेरलाई मात्रै मकताको दर्जा दिने गरेको पनि पाईन्छ ।

यो गजलको बारेमा एकदमै साधारण जानकारि मात्रै हो यसका मानक र संयोजनका अन्य पक्ष जस्तै: बहर, रुक्‍न, वज्‍न आदि बारेमा पनि यथेष्ट ज्ञान भएमा सोहि अनुरुप लेखीए मात्रै गजलमा उत्कृष्टता आउन सक्छ, नत्र बेजोड भाव, समानान्तर तुक र गेय भएपनि काव्य, गजल नबनी कबिता मात्र हुने वा कहिले काहि न कबिता न गजल भै बिचमै लटकिन पनि सक्छ ।

समयले साथ दिएमा त्यस बारेमा आगामी पोष्टमा लेख्‍ने प्रयास गर्ने छु । आजलाई भने जाँदा जाँदै गजल सम्बन्धमा केहि रमाईला तथ्य र किम्बदन्तिहरु:

  • यौटा किम्बदन्ति अनुशार अरबमा एकजना ‘गजल’ नाम गरेका शायर थिए जसले प्रेमको गित बनाउनमै आफ्नो जिवन बिताए। शुरु शुरुमा गजल केवल प्रेमको बारेमा मात्रै लिखिन्थ्यो त्यसैले पछिका दिनमा यस प्रकारको प्रेमको गित नै उसैको नामले चिनिन थाल्यो ।
  • दसौं शताब्दिमा ईरानमा जन्मेका ‘रौदकी’ नामका शायर (जो जन्मजात अन्धो रहेको बिश्वास गरिन्छ) लाई नै गजलको जन्मदाता पनि मानिन्छ ।
  • उर्दूका प्रशीद्ध शायर जानिसारले गजललाई:

         “हमसे पूछो कि ग़ज़ल क्या है ? ग़ज़ल का फन क्या है ?
          चंद लफ्जों में कोई आग छुपा दी जाए ।” भनेर परिभाषित गरेका छन ।

  • गजल अरबि शब्द हो र यसको माने नारि शौन्दर्यको वर्णन वा प्रेयसीसंग प्रेमालाम भन्ने हुन्छ ।
  • मतला बाहेकका बिचका कुनै शेरमा पनि दुबै मिसरामा काफिया राखेर लेखीएको शेरलाई ‘हुस्‍न‍-ए-मतला भनिन्छ
  • केहि साल यता अंग्रेजिमा पनि गजल लेखन थालीएको छ (भाषा फरक रहे पनि केहि अंग्रेजी गजल पढदा मलाई भने समान आकर्षक र रोचक लाग्यो)


11 Comments:

Anonymous said...

गजल् लेख्ने साथीहरुलाई राम्रो खुराक। राम्रो खोजतलास गरेर लेख्नु भएछ।धन्यवाद।तर आफू त लेख्दा स्वच्छन्दरुपमा बिचरण गर्न पर्ने मान्छे, त्यसैले गजल लेख्ने जमरको चांही गर्दिन।

Anonymous said...

Ramro blog. Thanks Tharki dada

nepalean said...

Malai nepali,sanskrit bhaira bata ayat gariyeka sahityik jinis bata kahillyai swad ayena. Tesaile haiku, gajal sadhai parai rahe. Teskai karan pani hola gajal ta paye bhettaye padinthyo, tara tyo k sar ma lekheko ho kahilyai bujhiyena. School padda pani gajal pathyakram ma thiyenan, campus padda sine ra cosine sangai pirati gasiyo. Tharki dada le bahut sod khoj garera lekhnu bhako rayecha, ajhai baki chha bhannu bhayo, tara malai ta gajal purai buje jasto lagyo. Gajal ko bahar,rukna aadi ko pani jankaari paye euta gajaal ta pakkai pani korne chhu.

Yumesh Pulami said...

la ta dhanyabad 6. yatiramro gajal ko baremaa lekhnu bhaeko ma r ajhai aru pani baaki kuraa haru pani paskanu bhae ramro hune thiyo ki? ani sahity sambandhi yestai kuraharu lier aaunu bhae dherai ramro hune thiyo ki!
...Happy new year 2009 ...for the..ठरकी दादा & all Dautari Group

kawitaa ko barema pani yestai aru kehi jaankari lekhnu hunthiyo ki?

Anonymous said...

गजल को बारेमा सक्दो जानकारी दिनु भएकोमा दौतरी का थ र कि दादा जि लाई मुरी मुरी धन्यवाद ।
सा थै दौतरी परिवार र दौतरी का सबै साथी हरु लाई हिर्दय देखी नै शुभ कामना २००९ को उपलछ्यमा ।

Anonymous said...

तपाईको झर्रो भाषामाथिको प्राधिकार त निर्विवाद छदैछ । गजलको प्राविधिक व्याकरण र शैलीगत विशिष्टतालाई पनि ग्रहण गरिरहनु भएको देख्न पाउँदा खुशी लाग्छ । अब जहाँसम्म वस्तु (content) को कुरा छ, म यथार्थवाद रुचाउँछु । अब कवितामा, खास गरेर गजलमा केको यथार्थवाद नि, गजल भनेकै अतिशयोक्तिवाद हो भन्ने कुरा आउला । त्यो कुरा त हो, तर मलाई के लाग्छ भने अतिशयोक्तिमा पनि कुनै प्रकारको संतुलन वा संकेतद्वारा यथार्थ पस्किन सकिन्छ । मेरो यो सोचाईलाई सम्भवत: "जादुई यथार्थवाद" (magical realism) भनिन्छ होला ।

यो "जादुई यथार्थवाद" बारे मैले सिक्नै बाँकी भएकोले केही भन्न सक्ने स्थितिमा छुईन । जिज्ञासा छ भने google गर्नुहोला ।

एनिवे, मेरो आसय के हो भने हाम्रा शास्त्रिय गीत-गजलले प्रस्तुत गर्ने गरेका काल्पनिक प्रेम र काल्पनिक प्रेमीहरुलाई नै अन्तिम नमानेर आफैले देखे भोगेको वास्तविक प्रेम र वास्तविक प्रेमीहरुको यथार्थ जे छ त्यही पो पस्कने हो कि ?

मैले तपाईको प्रस्तुतीलाई काल्पनिक दावी गरेको चाही होईन है । त्यो नितान्त काल्पनिक हो वा वास्तविकतामै आधारित हो भन्ने कुरा त लेख्ने मान्छे तपाईलाई मात्र थाहा हुने कुरा हो ।

जे भए पनि, यथार्थ पात्र र यथार्थ पात्रजीवनलाई गजलको जादुमय शैलीमा पस्कनुहोस् भन्ने मेरो आसय हो । तर के पनि भन्न छुटाउनु हुन्न मैले भने कल्पना पनि एक तहमा यथार्थ नै हो । यसो भनम् न, कल्पना दुई प्रकारको हुन्छ – यथार्थ कल्पना (वा काल्पनिक यथार्थ) र काल्पनिक कल्पना । मैले खोजेको काल्पनिक यथार्थ हो काल्पनिक कल्पना होईन ।
प्रचलित शब्दहरु मात्र होईन लुप्तप्राय: अप्रचलित शब्दहरु समेतका धनी तपाईको गजलमा एक फरक स्वाद पाईन्छ । त्यसलाई तपाईको शक्ति र विशेषताको रुपमा कायम राख्नुहोला ।अनि गजल यसको उपयोगिताको आधारमा दुई वर्गको हुन सक्छ भनि हेक्का/मान्यता राखेर अघि बढ्दा दुबै वर्गको गजललाई न्याय हुने गरी गजल लेख्न सकिन्छ होला जस्तो लाग्छ ।
एउटा गीति-गजल (भावना-प्रधान, सर्वाधिक श्रोता र गीत-संगीतको लागि सुहाउँदो), अर्को कवितात्मक गजल (चिन्तन-प्रधान, कविमण्डली र गजलका विशेष प्रेमीहरुको लागि सुहाउँदो) ।प्रेम गीत-गजलको लागि एक सदाबहार विषय हो । तर के कुरामा ध्यान दिनुहोस् भने पुराना गीत-गजलमा पढिएको सुनिएको सेकेण्डह्याण्ड र काल्पनिक कथा र व्यथा होईन आफैले भोगेको-देखेको वास्तविक व्यथाको कथा लेख्नुहोस् । साधारणै भए पनि वास्तविक कथा हो भने त्यसको प्रभाव अत्यन्त गहिरो हुन्छ, किनभने त्यो वास्तविक हुन्छ र मानिसले त्यसलाई वास्तविक रुपमा अनुभव गर्न सक्छन् । गजलको एउटा सिमितता के हो भने यो विधा सबै प्रकारको अभिव्यक्तिको लागि मैत्रीपूर्ण छैन । लामा लामा कथाहरुको विस्तृत वर्णन गजलबाट सम्भव पनि छैन, उपयुक्त पनि हुँदैन । त्यस्ता कथाहरु गैर-गजल कविता वा गद्य विधाबाट बढी सजिलो र बढी अचुक तरिकाले प्रस्तुत गर्न सकिन्छ ।

गजल भनेको त Forrest Gump ले भनेको झै "A box of [assorted] chocolates" हो । यहाँ हरेक एउटा chocolate ले हरेक एउटा शेर जनाउँछ र Forrest Gump ले अगाडि थपे जस्तै "You never know what you're gonna get" हुनुपर्छ ।

यदि पाठक/श्रोताले एउटा शेर सुनेपछि अब अर्को शेर के को बारेमा छ वा त्यसमा के छ भनेर थाहा पाउँछ भने त्त्यो गजल गजल भएन, त्यो शायरी (शेर हाल्ने कला) भएन ।

शेर भनेको पाठक/श्रोतालाई छक्क पार्न लेखिने कुरा हो । त्यसमा आश्चर्य तत्व हुनै पर्छ । त्यो तत्व शेरमा पनि हुनुपर्छ, गजलमा पनि हुनुपर्छ । भावमा पनि हुनुपर्छ, संगठनमा पनि हुनुपर्छ ।

लौ मैले त झन् जटील पो बनाईदिए है गजलको परीचयलाई । तर जे भए पनि तलका केही कुराहरुलाई ध्यानमा राख्नैपर्छ । तर सर्जकले आफैलाई सबैभन्दा पहिले के सोध्नुपर्छ भने- 'म मेरो भावनालाई गजलमा बढी अचुक र स्पष्ट ढंगले अभिव्यक्त गर्न सक्छु कि गैर-गजल विधामा ?' गैर-गजल विधामा बढी स्पष्ट र अचुक ढंगले अभिव्यक्त हुन सक्छ जस्तो लाग्यो भने त्यसै गर्नु, गजलमा अभिव्यक्त गर्न अन्य विषय/कथा खोज्नु ।

अब गजलमा ध्यान दिनुपर्ने कुराहरु:

१. शेरलाई कथाको बर्णन (description) को लागि होईन, टिप्पणी (comment) को लागि प्रयोग गर्नुपर्छ । त्यो भनेको के हो भने शेर भनेको कुनै घटनाको जानकारी दिन मात्र लेख्ने नभई बरु त्यो घटनाले आफुलाई कस्तो प्रभाव पर्‍यो त्यस प्रभावको जानकारी दिन लेख्ने कुरो हो । अनि स्मरणिय रहोस्, कहिलेकाँही सादा वर्णन नै एक घाघडान टिप्पणी हुनसक्छ ।

२. एउटै कुरा दुई शेरमा बाँडिन वा दोहरिन हुँदैन । (A ghazal must be like a box of assorted chocolate)

३. शेर भनेको तीन पाने रक्सी हो, जाँड होईन । कथालाई डिस्टिल गरेर त्यसको सार खिच्ने भनेको । कथाको छोक्रा र पानी शेरमा देखिनु हुँदैन । छोक्रा र पानी बेगर कथा पुरा नहुने देखियो भने कि त डिस्टिल गर्ने तरीका पुगेन कि त त्यो डिस्टिल हुन सक्ने अर्थात् शेरमा अभिव्यक्त हुन सक्ने कथा नै होईन । त्यस्ता कथालाई गैर-गजल विधीबाट परिशोधन गर्नु र पस्कनु बेस ।

कुरो जटील पो बनाए क्यारे मैले । अब यसलाई यहीं बिसाउँछु ।

समस्त शुभकामना सहित,
बाबुराम '' नेपे'' shavar

ठरकि दादा said...

मेरो सानो प्रयाशलाई हौशला दिनु हुने सबै ब्लगर मित्रहरु र विशेष गरी नेपेज्युलाई मुरि मुरी धन्यवाद।

साझामा सायद फाट्ट फुट्ट भलाकुसारी हुन्थ्यो, तर आजकल केहि समय साझामा नलेखे पनि तपाईलाई भने पढने क्रम जारि नै छ ।

यौटा कुरा है, तपाईले माथी "प्रचलित शब्दहरु मात्र होईन लुप्तप्राय: अप्रचलित शब्दहरु समेतका धनी तपाईको गजलमा एक फरक स्वाद पाईन्छ" लेख्‍नु भएको छ। मलाई लाग्छ साझामा मैले सायद गजल लेखींन होला र माथिको गजल चाहि भुपेन्द्र महत जी को हो जो यहा "वाका'को नामले लेख्नुहुन्छ ।

म यो गजल बारेमा(माथिको पोष्टमा बताए अनुशार) दोस्रो भागमा अझै केहि लेख्‍न सर्जाम जुटाउँदै थीए, त्यस मध्य धेरैकुरा तपाईले एकदमै सरल र सरस तरिकाले माथी खुलस्त गरिसक्नु भएको छ।

म खुशि छु, कमसेकम यहि गजलको बहानामा तपाईलाई यो 'दौंतरी" सम्म 'तान्न' सकेकोमा।

म आशा मात्रै हैन तपाईलाई (तपाईका हजार व्यस्तताका बाबजूद) यो दौंतरीमा समय समयमा यसरि नै आउन र आफ्ना रचना लगाएत अमूल्य सुझावको माध्यमबाट सहयोगको लागी समेत आग्रह गर्छु।

पून: एकपटक सबैलाई धन्यवाद ।

Anonymous said...

दौतरी को यो सुन्दर साहित्यक चौतारी ढकमक्क फूलोस हिर्दय देखी नै शुभ कामना ।
हिर्दय देखी नै मुरी मुरी धन्यवाद आन्नोम्युस जि लाई गजल बारे सक्दो जानकारी दिनु भएकोमा ।

Anonymous said...

गजलको बारेमा प्रकाश पारी दिनु भएकोमा ठकरी दादालाई धन्यवाद !
नेपे जि जसलाई मैले गुरु मानेको छु ,आदर्श मानेको छु ,र
मेरो प्रेरणा मानेको छु ।यहाँ सम्मको यात्रामा उहाकै साथ पाएर तय
गरेको हुँ। उहाँको मार्गदर्शनले मेरा यात्रामा उर्जा थपी दिएको छ र
म आफ्नो प्रयासलाइ निरन्तरता दीइ रहेको छु ।यसरि नै मेरा कमी कमजोरीहरु
केलाइदिनु हुने छ भन्ने आश पनि सदा झै रहने छ।
धेरै कुराहरु सिक्न पाउने आशा सहित हजुरलाई नयाँ बर्षाको शुभकामना

yanmaneee said...
This comment has been removed by a blog administrator.
korsan taksi said...

Good content. You write beautiful things.
vbet
sportsbet
mrbahis
taksi
mrbahis
sportsbet
hacklink
hacklink
vbet

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !