December 30, 2008

विदेशप्रतिको मोह र आलोचना बारे एक गन्थन

विदेशीनुको पीडा त छदैछ। अर्काको देशमा दोस्रो दर्जाको नागरीक् भएर बाँचिएकोछ। व्यक्तिगत लाभ, आरामदायी जीवन, छोरा-छोरीको भविष्य र नेपालको राजनैतीक अस्थिरता, वा हामीले आफ्नो योग्यता अनुसार नेपालमा भूमिका पाउन नसक्ने अनेक कारण देखाएर हामी कोही अमेरीका, क्यानाडा, बेलायत लगाएत अन्य् देशहरुमा छरिएका छौं। विदेशलाई कर्मथलो भएका हामी नेपालीहरुलाई एउटा स्वार्थी, भगौडा वा पलायन् भएका मान्छेहरुमा गनिन्छ। कता-कता त्यो कुरा आफैलाई बिझ्छ पनि। फुर्सदको क्षणहरुमा नेपालको समाचार, लेखहरु, ब्लगहरु पढिन्छ। धेरै जस्तोले आफ्नो संक्षिप्त वा छद्म नामबाट लेख्छन्, कसैले पुरा नाम र ठेगाना सहित। तर तपाई विदेशको ठेगानाबाट नेपालको विषयमा टीका-टीप्पणी लेख्नु हुन्छ र नेपालमा बस्ने कसैलाई मन पर्दैन भने खप्की खाईहाल्नु हुन्छ। ‘देश बाहिर बसेर नेपालको बारेमा खोक्ने!’ भनेर। छद्म नामबाट लेख्दा पनि कतिपय ब्लगवालाहरुले चित्त नबुझेको बेला तिम्रो परिचय, ठेगाना खोलिदिऊं भनेर धम्क्याउने पनि गरेको देखियो। हालै एउटा अनलाईन पत्रिकामा आफ्नो सही नाम र ठेगानाबाट प्रतिक्रिया लेखेको-एउटाको प्रतिक्रिया आईहाल्यो- अमेरीकाको ठेगानाबाट लेखेको भनेर। आसय स्पष्ट थियो, अमेरीका बसेर फूर्ती दिएको वा बढी बोलेको। हुन सक्छ, देश बाहिर बसिएकोले कतिपय कुरामा हाम्रो जानकारी कम हुन सक्छ तर देश बाहिर भएकै कारण हामीले बोल्न नमिल्ने हो र?

शेर बहादुर देउवा, महेश आचार्य र रामशरण महतहरु बारे २०४६ सालको जनाअन्दोलनमा प्रत्यक्ष सहभागिता नभएको बारे एउटा टिप्पणी भैरहन्थ्यो। देउवा फेल्लोशीप गर्न बेलायत, महत कुनै यू एनको प्रोजेक्टमा कार्यरत र आचार्य प्रध्यापन पेशामानै ब्यस्ता भएको भन्ने बारे। मलाई यिनीहरु खासै मन पर्ने नामहरु त होइन, तर उनीहरु जनआन्दोलनको बेला मुलुकमा नभएको कारण देखाएर उनीहरुको संपुर्ण ज्ञान र शीपलाई नकार्न त मिल्दैन नि! । नेपालमा कुनै पदमा पुग्ने योग्यता त्यंहा उसले कतिवटा रेलिंगका डन्डीहरु उखाल्यो भनेर जांच्ने हो र? नेपालमा हरेक् तीन युवाहरुमा दुई जनाको विदेश जाने ध्याउन्न हुन्छ। अमेरीका, क्यानाडा, बेलायत, जापान्, यूरोप, मलेशीया, कोरीया, नभए खाडी क्षेत्रका मुलुकहरु। यी कुनै पनि मुलुक जान नसक्नेहरुले भारत भए पनि ताकेकै हुन्छ। निजामती सेवा, प्रहरी सेनामा उच्च ओहोदामा रहेकाहरु, सांसद समेत भैसकेकाहरु पलायन भैरहेका छन् र त्यो क्रम जारी छ। "जान पर्छ हजुर, यहाँ नेपालमा काम छैन" भनेर सबैले उचाल्छन्। सन्तोष पन्तको कार्यक्रम हो क्यारे सायद। एउटा छोरीको बाबुले छोरीको लागि वर छान्ने क्रममा अमेरीका जाने सोच मात्र बनाएको भएपनि एउटा युवकलाई योग्य ठान्दछ। हाम्रो आम सोचको अवस्था त्यस्तो छ।

गत साल नेपाल गएको थिंए। अमेरीकाबाट आएको भनेर साथीभाइ, नातागोता, छर छिमेकबाट कत्रो मान सम्मान। नेपालमा हुंदा बोल्न पर्छ भनेर तर्किनेहरु बोल्न आइरहेकाथिए। एक कप चिया नखुवाएकाहरुले खानाको निम्तो दिईराखेका थिए। निम्तो अश्वीकार गर्न नसक्दा, एकै सांझ दुई घरमा समेत खान खान पर्ने स्थिति आयो। साथीभाइहरु पनि हरेक सांझ मदीरापानको लागि झुम्मिने। तर अर्कोतर्फ विदेशीनेहरुको चर्को आलोचना हुन्छ। हामीलाई एउटा स्वार्थी, लोभी, लालचीहरुको रुपमा प्रस्तुत गरिन्छ ।र एउटा उल्झन् हुन्छ। विदेशीनेको मानसम्मान भैराखेको छ कि अपमान। के विदेशिदैमा हाम्रो नेपाल बारे बोल्ने अधिकार समाप्त भयो त? हामीले देशको लागि केही दिन सक्दैनौ त? हामी गद्दार नै हौ त?

हालै मेरो एउटा साथीको अकस्मात ब्रेन् ट्यूमर पत्तालाग्यो र तत्काल अप्रेशन गर्न पर्ने भयो। उसले नेपालबाट फोन गर्यो। ४-५ लाख जम्मा गर्न पर्ने भयो, ल तैंले कति सहयोग गर्न सक्छस भनेर। एक् लाख रुपिया तत्काल पठाइदिएँ। लन्डनमा भएका उस्का भान्जाहरु, मस्कोमा रहेका उसका काकाका छोराहरु सबैले पैसा पठाइदिए। उस्को अप्रेसन् भयो। आफ्ना साथीहरु, नातागोताहरु बाहिर भएकोले उसलाई सजिलै भयो। यति सहयोग गर्न सकेकोमा म खुशी छु। सायद नेपालमै भएको भए भन्ने बित्तिकै सहयोग जुटाउन अवश्य सक्ने थिईन होला।
++++++++
एउटा सानो जानकारी साथीहरुलाई, यो भन्दा अघि मेरा प्रतिक्रिया-रचनाहरु brilliantman71 छद्म नामबाट प्रकाशीत भैरहेकोमा अब उप्रान्त मेरो वास्तविक नाम् पोस्तक् श्रेष्ठबाट नै आउनेछ। मेरो एउटा कथा सपना संसारमा आएको छ, हेर्नु होला। अर्को कथा लिएर दौंतरीमा छिट्टै आउनेछु।



2 Comments:

Luna said...

श्रेष्ठ जि !
तपाईंको कथा पढे सपना संसार मा ।
मन छोयो !!!!!
सन्देश मूलक छ तपाईंको कथा ।
----
त्यो भ गौ डा -- अनी के- के त्यस्तै शब्द हरु प्रती मन बिझ्छ भन्नु भो नि , त्यो तपाईं भित्र को राष्ट्र भक्क्त नेपाली को मन बोल्या हो । मलाई चाँही खुशी लाग्यो तपाईंलाई त्यसरी मन दुख्यो भन्दा । सबैलाई यसरी नै दुखोस् - २००९ को उपलछ्यमा शुभ कामना ।

ठरकी दादा said...

देशको पुरा अर्थतन्त्र नै रेमिटेन्समा निर्भर भएको बेलामा विदेशमा बस्नेलाई खीज्याउनु भनेको परिस्थितिसंग बुझ पचाएर कुण्ठाको बिष बमन गर्नु मात्रै हो जस्तो लाग्छ मलाई।

त्यसो त म पलाएनबादि होईन र सबैलाई बदेशनै जाउ भन्ने पक्षमा छैन, तर तपाईको लेखमा खुलेका समसामयिक बिषयबस्तुमा मेरो १००% सहमति छ ।

हरेक कुरालाई आफुले पाएमा सकारात्मक र नपाएमा नकारात्मक धारणाबाट हेर्ने नेपाली मानसिकतामा सम्यक दृष्टि सहितको सुधारको भने नितान्त जरुरत छ।

उत्कृष्ट समसामयिक लेख् ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !