अर्बाचिन काठमाडौंको दंगा फसादको इतिहास धेरै लामो छैन। २०१८ सालमा ब्यक्तिगत बिबादले भड्केको दंगाले एतिहासिक जन सेवा सिनेमा खरानी भएको थियो। भनिन्छ, त्यतिबेला आक्रोशित भीडले जन सेवा ( हाल बिशाल बजार रहेको स्थानको ठिक सामुन्नेको जुद्ध दमकललाई समेत आगो निभाउन दिएको थिएन रे।
त्यस घट्ना पछि कुनै उल्लेख्य दंगा फसाद भएको सुनेको थिएन २०३६ साल सम्म। २०३६ सालको घट्नालाई दंगा को उपमा दिन मिल्दैन होला नै। तै पनि जीवन को पहिलो दंगा देखेको भोगेको ले केही लेख्ने जमर्को गरेको छु। जुल्फिकर अलि भुट्टोलाई तत्कालीन तानाशाह् जनरल जिया उल हकद्वारा दिइएको फाँसी को बिरोध गर्न निस्केको बिद्यार्थीहरुको जुलुस् माथि प्रहरी दमन को प्रतिक्रिया स्वरुप भएको घट्ना थियो। त्यो घट्नाका बिभिन्न उपघट्नाहरुको प्रत्यक्षदर्शी यो पंक्तिकार पनि थियो।
पहिलो दिन पाकिस्तानी दूताबासमा बिरोध पत्र बुझाउन गएका बिद्यार्थी संगठनहरुका समर्थकलाई प्रहरी प्रशासनले दमन गर्यो। त्यसको भोलि पल्ट त्यो दमनको बिरोध गर्न बसन्तपुरमा भेला भएका बिद्यार्थीहरु माथि चारै तर्फ घेरा हालेर निर्ममतापूर्बक लाठी प्रहार गरे। बसन्तपुर स्थित नव आदर्श बिद्यालयमा ७ कक्षामा पढ्थें र त्यो दमन त्रसित भएर कक्षा कोठाबाट हेरिरह्यौं। त्यस दिन देखि तत्कालीन ब्यबस्थाको बिरुद्द मेरो बाल मष्तिस्कमा बिद्रोह अंकुरायो।त्यस्को भोलि पल्ट हो कि पर्सि पल्ट, ने बि संघका तत्कालीन अध्यक्ष बल बहादुर केसी, अखिल का टंक कार्की लगायतलाई प्रायोजित रुपमा मण्डले घोषणा गरी कालो मोसो र जुत्ताको माला लगाई ठेला गाडामा राखेर शहर घुमाइयो। त्यही भीड अनियन्त्रित भै नया सडक गेट स्थित नेपाल बायु सेवा निगमको भवनमा ढुंगा मुढा भयो र आगो पनि झोसियो। त्यति बेला पहिलो पल्ट गोली चलेको आफ्नै आँखाले देखियो र पहिलो पल्ट कर्फ्युउ के हो भोगियो।
२०४६ सालको राजनैतिक परिवर्तन पछि प्रायोजित दंगाको सिलसिला सुरु भयो। बहुदल घोषणाको लगतै पछि हल्लाको भरमा असामाजिक तत्वहरुको अगुवाई १०-१२ दिन अनियन्त्रित रह्यो हाम्रो काठमाडौं। निर्दोष प्रहरीहरुलाई टेकु क्षेत्रमा कुटी कुटी मारे। हनुमान ढोका स्थित प्रहरी कार्यालय भीडले कब्जामा लिन प्रयास गरे। कार्यालय बचाउन प्रहरीले गोलि चलाउदा केही ब्यक्तिहरु को ज्यान् गयो, ती घट्नाहरुको नमीठो छाप अझै ताजा नै छ।