January 13, 2008

नियोजित- प्रायोजित दंगामा आक्रान्त काठमाडौं।

भाग १

अर्बाचिन काठमाडौंको दंगा फसादको इतिहास धेरै लामो छैन। २०१८ सालमा ब्यक्तिगत बिबादले भड्केको दंगाले एतिहासिक जन सेवा सिनेमा खरानी भएको थियो। भनिन्छ, त्यतिबेला आक्रोशित भीडले जन सेवा ( हाल बिशाल बजार रहेको स्थानको ठिक सामुन्नेको जुद्ध दमकललाई समेत आगो निभाउन दिएको थिएन रे।

त्यस घट्ना पछि कुनै उल्लेख्य दंगा फसाद भएको सुनेको थिएन २०३६ साल सम्म। २०३६ सालको घट्नालाई दंगा को उपमा दिन मिल्दैन होला नै। तै पनि जीवन को पहिलो दंगा देखेको भोगेको ले केही लेख्ने जमर्को गरेको छु। जुल्फिकर अलि भुट्टोलाई तत्कालीन तानाशाह् जनरल जिया उल हकद्वारा दिइएको फाँसी को बिरोध गर्न निस्केको बिद्यार्थीहरुको जुलुस् माथि प्रहरी दमन को प्रतिक्रिया स्वरुप भएको घट्ना थियो। त्यो घट्नाका बिभिन्न उपघट्नाहरुको प्रत्यक्षदर्शी यो पंक्तिकार पनि थियो।

पहिलो दिन पाकिस्तानी दूताबासमा बिरोध पत्र बुझाउन गएका बिद्यार्थी संगठनहरुका समर्थकलाई प्रहरी प्रशासनले दमन गर्यो। त्यसको भोलि पल्ट त्यो दमनको बिरोध गर्न बसन्तपुरमा भेला भएका बिद्यार्थीहरु माथि चारै तर्फ घेरा हालेर निर्ममतापूर्बक लाठी प्रहार गरे। बसन्तपुर स्थित नव आदर्श बिद्यालयमा ७ कक्षामा पढ्थें र त्यो दमन त्रसित भएर कक्षा कोठाबाट हेरिरह्यौं। त्यस दिन देखि तत्कालीन ब्यबस्थाको बिरुद्द मेरो बाल मष्तिस्कमा बिद्रोह अंकुरायो।त्यस्को भोलि पल्ट हो कि पर्सि पल्ट, ने बि संघका तत्कालीन अध्यक्ष बल बहादुर केसी, अखिल का टंक कार्की लगायतलाई प्रायोजित रुपमा मण्डले घोषणा गरी कालो मोसो र जुत्ताको माला लगाई ठेला गाडामा राखेर शहर घुमाइयो। त्यही भीड अनियन्त्रित भै नया सडक गेट स्थित नेपाल बायु सेवा निगमको भवनमा ढुंगा मुढा भयो र आगो पनि झोसियो। त्यति बेला पहिलो पल्ट गोली चलेको आफ्नै आँखाले देखियो र पहिलो पल्ट कर्फ्युउ के हो भोगियो।

२०४६ सालको राजनैतिक परिवर्तन पछि प्रायोजित दंगाको सिलसिला सुरु भयो। बहुदल घोषणाको लगतै पछि हल्लाको भरमा असामाजिक तत्वहरुको अगुवाई १०-१२ दिन अनियन्त्रित रह्यो हाम्रो काठमाडौं। निर्दोष प्रहरीहरुलाई टेकु क्षेत्रमा कुटी कुटी मारे। हनुमान ढोका स्थित प्रहरी कार्यालय भीडले कब्जामा लिन प्रयास गरे। कार्यालय बचाउन प्रहरीले गोलि चलाउदा केही ब्यक्तिहरु को ज्यान् गयो, ती घट्नाहरुको नमीठो छाप अझै ताजा नै छ।
२०४८ साल को आम निर्बाचन पछि संस्थागत रुपमा दंगा फसाद गर्ने सिल्सिला सुरु भयो। नेपाली कांग्रेसले बहुमत ल्याई सरकार गठन गरेको १ महिना नपुग्दै प्रमुख बिपक्ष दलले सरकार ढाल्ने उदघोष गरे। कर्मचारी र शिक्षकलाई आन्दोलनमा उतारे। बहुमत प्राप्त सरकारलाई काम् गर्नै न दिने अराजनैतिक संस्कार बोकेका पार्टीका कथित क्रान्तिकारीहरुद्वारा सार्बजनिक सम्पति भत्काउने जलाउने असभ्य परम्पराको सुरुवात गरे।दुर्भाग्यबस नेकपा एमालेका शक्तिशाली महासचिब का मदन भण्डारी र नेता जीब राज आश्रितको दास ढुंगा काण्डमा निधन भए पछि काठमाडौले सबै भन्दा पीडादायक् दंगा भोग्यो। सार्बजनिक सम्पति मात्र तोड्फोड् गरेनन्, आम जनतालाई न भै नहुने दूर संचारको दुइ तिहाई कनेक्सन बक्सहरु जलाए। ९० प्रतिशत काठमाडौको टेलिफोन चलेन, कतै कति त ९ महिना सम्म चलेन।मानबीय क्षति त भए भए, अथाह भौतिक सम्पतिको नोक्सान् पनि ब्यहोरे। गिरिजा प्रसादलाई दोष लगाए, एमालेको सरकार आए, गिरिजालाई पाटा कसेर भाटा हिर्काउने सगौरब हुँकार गरे। एमालेको ९ महिने सरकारले न त दोषी को हो भनी खोजबिन गरे न गिरिजालाई कार्यबाही गरे। फगत सत्ता चढ्ने सिंढी बनाए। नेपालको इतिहासमा प्रायोजित र नियोजित दंगाको कालो पन्नाको पहिलो पाना यही हो जस्तो लाग्छ।
क्रमश:



3 Comments:

Panda said...

२०३६ सालमा आन्दोलन हुँदा त्यस्तै २-३ क्लास तिर रहेछु , ट्रक भरी स्कुले विद्यार्थी जुलुस निकाल्दै हिड्थे जिन्दाबाद र मुर्दाबाद गर्दै । दाइहरु साँझ घरमा आएर दिउसो भरिको करामत सुनाउने गर्थे । वास्तवमा भुट्टो लाई फासी दिएको विरोधमा नेपालमा जुलुस निस्कनु, तर जुलुसका सहभागिहरुलाई भुट्टोको बिषयमा थाहा नहुनु, व्यवस्था बिरोधि नारा लगाइनु आदी कुरा त्यस्तो बेला थाहा नभए पनि अहिले सम्झदा अचम्म लाग्छ । यो दुनियाँको तार कहाँ देखी कहाँ सम्म जोडीएको हुदोरैछ, कहाँ स्विच थिच्दा कहाँ बल्दोरैछ , स्विच कस्ले बनाउदोरैछ र कस्लाई चलाऊन लगाउदोरैछ ।

यहाँ त पार्टिहरु प्रायोजित भइसकेछन, नेता हरु प्रायोजित हुँदा रहेछन, अब के के प्रायोजित हुने हो देख्न बाँकी छ! अस्ती काठमाडौ मा सुनेको थिए अचेल जुलुस मा मान्छे ल्याउन ठेक्का दिइन्छ रे ।

तपाईंले उल्लेख गरेको मदन भण्डारीको बेलाको जुलुस मा प पनि थिए । मेरो अगाडि एक जना १९-२० बर्षको केटाले रत्नपार्क गणेशस्थानको telephone cabinet भत्काउन खोज्यो, मैले उस्लाई यो हाम्रो सम्पत्ति हो गिरिजाको होइन नभत्काउ भन्दा उस्को ठाडो जवाफ थियो " हाम्रो घरमा टेलिफोन छैन, बिग्रे बिग्रन्छ, हामीलाई के मतलब्?"

हेर्दा हेर्दे त्यो केटाको सुरुवातलाई भिड्ले साकार बनायो । त्यो टेलिफोन क्यबिनेट आगोले ध्वस्त भयो, २-४ महिना सम्मा पनि त्यो भत्केको क्याबिनेट देख्दा नरमाइलो लाग्थ्यो, सानो लहडिपनले देशको मुख्य भागको टेलिफोन २-४ महिना बन्द भयो तर फेरी सरकारले बनाउन सकेन भनेर हामी नै सरकारलाई गाली गर्दै बसेम।

अझ अहिले त यस्तो लाग्छ हामी नेपाली देशमा मात्र नभएर बिदेश सम्म प्रायोजनका शिकार बन्दैछौ।

Sharad said...

Do we still have the janasewa hall?
I heard its name but dont know the exact location.

rahulvai said...

Sharad ji,
The Janasewa cinema was totally destroyed in fire in 2018 BS.The Bishal Bazar super market was built in that particular location. Janasewa Police station is located just adjucent of the Bishal Bazar.

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !