January 29, 2009

चउर र खरबारीका सम्झनाहरु


आज अचानक साउनको बिहानपख बर्खे झरी बस्ने बितिक्कै आंसी र नाम्लो लिएर निस्केको याद आयो। म झल्यास्स भए यता उता त्यस्तो न कुनै खरबारी थियो न कपर्दी खेल्न चउर नै थियो। नत रुखको स्पर्श बोकेको चिसो बतासले नै चुमेको थियो मलाइ। पोहोर साल ब्लगीगंको दुनियामा हाम फालेको www.dautari.org को बकास गर्ने क्रममा म अन्य बेव साइट बिचरण गर्दै जांदा www.pokharacity.com पुगे। त्यसैले नै आज अमेरीकाको ब्यस्त जिबनबाट मेरो गाउं आर्वा पुर्‍यायो ।

त्यो वेब साइटमा देखीने हिमाल र अजिब तरिकाले छरिएको पोखरा सहर गाइपानीमा घांस काट्दा हजारौं पटक देखें होला तर आज जस्तो ति हिमालले किहिल्यै मोहित तुल्याएनन। कौशौं टाढा भएर हो या अब त छुटियो भनेर हो माछापुछ्रेकको माया झन लागेर आयो। गाउंमा झ्याम्मीएका अरू ठाउंको सम्झना गर्न खोजें; चिते पानी पधेरो,कुकुर लोटे भिर, खै के चउर, केटाकेटीमा आफै लडिबुडी खेलेको चउरको नामै भुलेछु। साच्चै रहरै रहरमा बिदेशीएको म,परदेशी नै भइसकेको छु। पोखरा सिटीमा मैले यात्रा गरेक तागंतिगको फोटो थियो, तागतिंग पारीको सिक्लेसको याद आयो। अहा कती मिठा स्याउ पाइन्छ त्याहां। रुपिया गोटा स्याउ वासिंगटन एप्पल भन्दा पनि स्वादीला थिए। आइडाहो पोटेटो तांगतिंगे आलु जस्तो कांहा पो हुनू? अहिले त गाउंमा कुफुरजोते आलुले तांगतिंगे आलुको बिउ पनि मास्यो होला। मादीको त्यो चिसो पानी,एक पटक अन्नपूर्ण कै फेदीको हुंदा गोठमा पौडिन पुगेको थिए। सारै चिसो थियो त्यो पानि तर मिसीसिपी नदीको जस्तो चिसो र रुखो थिएन।

अहा कस्तो राम्रो गुरासको फूल, बेवसाइटमा राम नाम गरेका लेखकले आफ्नो भाचोक यात्राको बर्णनमा गुरासको फुल राखेका रहेछन । लेख पढेर आफुलाइ भावनैमा भाचोक लानो खोजे। मादी तरेर राम भाचोक उकालो लागेछन। मैले भुलें कि उनले गलत भने? भाचोक त लाचोक पारी हो, लाचोक र भाचोको बिचमा त सेती नदी पर्छ। उनी त थुम्सीकोट सम्म बस चढी भाचोक हानिएछन। अर्को भाचोक परेछ क्यार,यांग्जाकोट तिर पनि भाचोक छ भन्ने सुनेको थिइन।

तर मादीको अशला त मैले पनि चाखेको छु, अमेरिकाको वालाइले के भेट्टाउनु!। कांहा मादीको चिसो भेलले खारिएका असला, काहां जमेको तालका वालाइ?। सम्झना त अशलाकको मात्र के हुनु, फेवाताल त कसरी भुल्न सकिन्छ? छन त घान्द्रुक, धम्पुस, काहुं, सरागंकोटको पनि सम्झना छ। सम्झना त ठुलाकोट, नयां गाउं, बर थुम, क्रिस्तीको पनि छ। मनमा के के छन अक्षरले लेखेर के भ्याउनु?

वेबसाइटमा नेपालकै पहिलो जहाज डाफे आफ्नै गाउ अगाडी उडेको फोटो रहेछ। म पनि त्यहां भएकै भए आंडीको डिलबाट डाफे उडेको हेरी रहेको हुन्थे होला। पुल्चोक पढ्दा बिकास भाइसंग भेट भएको थियो। दाइ म पनि मेकालनिल इन्जियरिगं पढ्छू भन्दा आफुले गतिलै बिषय पढियो जस्तो लाग्थ्यो। अहिले त कपाल लामै पालेछन बिकासले। डाफेको फोटो हेरें, ३ पंखे प्रोपेलर, सानो इन्जिन र साइलेन्सर, ट्रसले बनाइएको बनोट, त्यसमा पाइलट बस्ने सिट। साधारण डिजाइन तर सारै उच्च सफलता थियो त्यो। साच्चै उदेश्य त चन्द्रमा छुने नै लिनुपर्ने रहेछ, देबकोटाले ठिकै भनेका रहेछन।

अहिले ७ औं आहा कप फुटबल भइरहेको रहेछ। पोखरा रंगशालाको फोटो थियो त्याहां। त्यही रंगशाला, त्यही चौर, त्यही प्याराफिट। रंग पनी त्यही सेतै रहेछ। त्यही चौरमा एक पटक आंफूले गोल गर्ने खोजेको असफल प्रयासको याद आयो।

यादै त हो, पोखराको धुलोसंग आफु हुर्केको याद आयो। आफु पढेको गण्डकी र बेथानी स्कुलको याद आयो। कति सफल कती असफल चाहना अंगालेको पनि याद आयो अनि प्यारो गाउं आर्वाको चउर र खर्बारीकीको याद आयो।

(कास्कीबाट बिदेशमा रहेनहरु प्रती समर्पीत)



2 Comments:

ठरकी दादा said...

वाह ! मन छुने लेख लेख्‍नु भयो । हुन त म पोखराको होईन, तर नेपाल त सबै उस्तै न हो, पढ्दै जाँदा सबैले तपाईको लेखमा कतै न कतै आ-फ्नो गाउँ घरको झलक पाउने छन, त्यस्तै मैले पनि भेटें ।

Prajwol said...

लेख रमाइलो लाग्यो, तपाइ लाई पोखराको जस्तै अरुलाई अरु नै ठाउँको त्यस्तै लाग्छ पक्कै । जे भए पनि आफ्नो ठाउँ भनेको आफ्नै हो ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !