December 14, 2008

अतीतको पानाबाट (तेस्रो भाग)

(अतीतको पानाको पहिलो भाग र यांहा छ। अतीतको पानाको दोस्रो भाग यांहा छ।)

प्रत्यूत्तर आउन त आयो तर कुनै उत्साह लिएर आएन। पत्र संक्षिप्त थियो। सबै कुरा त मलाई याद छैन तर पत्र को मजबुन के थियो भने हाम्रो प्रेम सुहाउदैन। कारण तिनी सानो कक्षामा पढ्ने र मचाहि माथिल्लो कक्षामा पढ्ने, पढाइमा पनि राम्रो र म फेरि अर्कै टाइपको मान्छे रे! यो के भनेको मैले राम्ररी बुझ्नै सकिन तर मेरो दिमाग चांहि "हाम्रो प्रेम सुहाउदैन" भनेको कुरामा मात्र ठोक्कियो। घुमाएर मेरो प्रेम प्रस्ताव अस्विक्रीत भएको भन्ने अर्थमा मैले बुझें। केही दिन खूब रन्को चल्यो।

त्यसबेला सम्म सेन्ट अप टेस्ट सकिएर परिक्षाफल निस्कि सकेको थियो। जिल्ला भरिमा दोस्रो भएछु। गुरुहरुले पहिलो नै हुन्छु कि भन्ने आशा गर्नु भएको थियो, तर हुन सकिन। दोस्रो भएपनि सबै साथीहरु, चिने जानेका हरुले बधाइ दिए। तर मेरो प्रेम निवेदनको असफलताले प्रबेशिका परिक्षाको सफलतालाई खल्लो पारिरहेको थियो।तर म चलचित्रका कथाहरुमा जस्तो प्रेममा पागल् भइन। केही नरमाईलो, केही खल्लो, केही अपुर्ण जस्तो महसुस् अवश्य भयो। फेरि कहिले सोच्थें, तिनी बारम्बार् मेरो कक्षा कोठाको ढोका अगाडी आएर नजर जुधाउनका कारण के थियो त, त्यो संयोग मात्र त थिएन र एउटा नियमितता जस्तै बनेको थियो। के त्यो हेराइ प्रेमको निमन्त्रणा थिएन त? के मैले उसलाई गलत बुझेको रहेछु त? आदि प्रश्नहरुले मलाई केही दिन सम्म निकै रुमल्यायो।

सायद समय जुनसुकै घाउको पनि मलम हो। मैले बिस्तारै उनको बिषयमा सोच्न छोडें। लाग्यो, यो प्रेम् भन्ने चिज मेरो कपको चिया होइन र त्यतिखेर मेरो प्राथमिकता एस् एल् सी परीक्षा पनि थियो। स्कूल जान नपर्ने भएपछि उनीसंग भेट हुने कुरै भएन र काम् नपरी उनको घरको बाटो पनि हिंड्न छोडिदिएं। बिस्तारै म पढाइमा अभ्यस्त हुन थालें।मेरा केही साथीहरु मसंग सहयोगको लागि आँउथे, बिशेषगरी गणित र, अंग्रेजी को समस्या लिएर हरेक दुइ-तीन दिनमा कोही न कोही मसंग हुन्थे। एस् एल् सी परीक्षाको तयारी त्यो समय जीवनको एउटा रोमान्चपुर्ण क्षण नै हो। केही कुतुहलता, केही डर, केही त्रास, उत्तीर्ण भएपछि को उच्च शिक्षा र भविष्यको सपना र अनुत्तीर्ण हुंदा हुने पिडा, लाजको डर सबैले भरिएको हुन्छ, त्यो क्षण। कुरालाई अन्यत्र धेरै के घुमाउनू, एउटा अचम्म भयो। हिउंदको पारिलो घाम भएको ले बाहिर आंगनमा गुन्द्री ओछ्याएर पढिरहेको थिएं। मेरो बुवा बाहिर कतै गांउतिर घुमेर फर्कनु भएको थियो। वहांले एउटा चिट्ठी मेरो अगाडी फ्यात्त फ्याँकिदिनु भयो, "रमेशले, यो चिट्ठी खड्ग बहादुर लप्टनको छोरीहरुको हात तलाई दिनु भनेर छोडेको रहेछ।" यति भनेर वहा भित्र लाग्नु भयो। यसो खाममा हेरें, पठाउनेको नाम रमेश राई लेखेको थियो, तर अक्षर् उस्को थिएन। रमेश् मेरो कक्षामा सबै भन्दा मिल्ने साथी थियो र अर्को ताज्जुबको कुरा, उ हिजो मात्र मलाई भेट्न आएको थियो। फेरि उसले चिट्ठी पठाउने नै भए किन ती लप्टन खड्ग बहादुरको छोरीहरु मार्फत् पठाउछ?यो प्रश्नले मेरो दिमाग फनफनी घुमायो।

ती लप्टन् साहेब मेरो बुवाको दौंतरी समुहका थिए र मेर बुवा तिनको घर बेला बेला पस्नु हुन्थ्यो तर उनका छोरीहरुसंग न मेरो न रमेशको कुनै हेलमेल थियो र रमेशले मलाइ चिट्ठी तिनीहरु मार्फत् पठाउने कुनै सम्भावना थिएन। एउटा बिष्मय अनि कुतुहलता बिच् पत्र खोलें, खाम् भित्र अर्को खाम पो निस्कियो र सक्कली पत्र प्रेषकको नाम् त त्यहा पो थियो। मैले अक्षर् पनि चिनि हालें। मेर मुटूको धडकन् तीब्र भयो, उच्चस्वास भयो र गर्मी बढ्यो। हिउंदको त्यो जाडोमा पनि पसिना आउला जस्तो भयो।
क्रमश:



6 Comments:

ठरकी दादा said...

ओहो! पढिसकेको पत्रको मजबुन हामीलाई त यहि भागमा लेखिदिनु भएको भए हुन्थ्यो नी! हामीलाई पनि हतार भो हो!!

नेपालियन said...

अहा कुरो को चुरो त खूल्दै छ। ल ल रमेशको नाममा कुन चाही रमा आउने हुन?

Panda said...

७ कक्षाकाले पनि तपाइको "टाइप" छुटट्याइदिने, तगडा रैछन है तपाइका "जुनियरहरु" !

अनि खै आंखा जुधाउन चाहि नछोड्ने तर प्रस्ताव अस्विकार गर्ने, यो चाहि धेरैमा लागु हुदोरैछ ।

Luna said...

स्मरण प्रस्तुती सुन्दर छ । पाठक को मन मा कौतुहलता जगाएर च् र म मा पुर्याए पछी रोकिदिनु हुदो रहेछ ! गजब को खुबी !

manoj said...

good copy intresting

Prabin Thapa said...

Good it is to much interesting please continue your literature writing. You have a talancy.It must be utilize. ok Where are you from Now?
I wish for your betterment.

prabin Thapa
italy

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !