January 15, 2008

बिर्सन खोजेको राष्ट्रिय एकता दिवस र निरिह नेपाल

अहिलेसम्म नेपाल नामको मुलुक अस्तित्वमा छ तर भनिएको छ यो मुलुकको निर्माण गर्न लडाइँ गर्नेहरू खल पात्र थिए । अथवा अहिले यस्तो बुझ्न हामीलाई भनिएको छ कि नेपाल नामको मुलुकको जुन एकीकरण गोर्खाका राजाको नेतृत्वमा लगभग २४० वर्ष अघि शुरु भएर त्यसको केही वर्षपछि समापन भएको थियो , त्यो केवल एउटा अतिक्रमण मात्र थियो , एउटा अत्यन्त अन्याय र क्रूरताले भरिएको अतिक्रमण । अहिले जातीवादी नाराको रडाकोमा , त्यो एकीकरण अभियान र त्यसको योजना अनि त्यसपछिको प्रभावलाई भयानक दमनकारी साम्राज्यवादी दुराचार ठहर्याउने तँछाड मछाड चलिरहेको छ र भनिँदै छ अब कल्पना गरिने लोकतान्त्रिक गणतन्त्रको नेपालले नेपालभित्र बसोवास गर्ने प्रमुख जातीहरूका लागि तत् तत् जातीका राज्यहरू थालीमा पस्किएर टक्र्याउनु पर्नेछ अन्यथा घोर अन्याय हुनेछ । जे सुकै होवस् तर ,नेवार,गुरुङ , तामांग, मगर, राई , लिम्बु र थारूका लागि नया नेपालमा छुट्टाछुट्टै राज्य त हुनै पर्छ भन्ने मजबून जारी आन्दोलन हरुको देखिन्छ । त्यसबाहेक , मधेस, चुरे भावर जस्ता क्षेत्रीय र जातीय रङ्गमा दङ्ग परेका आन्दोलनकारीहरूको जिरह पनि स्वायत्तता र आत्मनिर्णयको अधिकार समेतले सुसज्जित बनेका राज्यहरूको मागमा रोकिएको छ । अत: मान्छे भन्दा तल ओर्लेर मनुजहरूले जब आँफू अमुक जात र झुण्ड मात्र रहेको स्विकारोक्तिका साथ आँफू पूरा मनुज हुन अद्यपि नसकेको कुरा खुल्लम खुल्ला सकारेर नेपालको विघटन खोजिरहेका हुन्छन भने त्यहाँ नेपाल नामको राज्यको अवमूल्यन हुने कुरा नौलो मान्नै परेन । त्यसैले अहिले अनेक थरि कबिला राज्यको माग सहित नेपाली भाषा , झण्डा र अस्मिताको धज्जी उडाउने कुराले बहादुरीको महारथ हासिल गर्दैछन र पृथ्वि नारायण र वर्तमान नेपालको बुनियाद रोप्नेहरूका आत्माहरूले धिक्कारिएको अनि दुत्कारिएको अनुभव गरिरहेका छन् ।
भनिँदैछ मान्छेलाई जातमा टुक्राएपछि अनि मुलुकलाई जातका स-साना चोक्टामा दामासही बाँडेपछि मुलुक संघीय लोकतन्त्रको मजबूतिमा रमाउन सक्छ रे ! मान्छेलाई तँ यो जात तँ उ जातको बिभाजनमा बाँडेर मुलुकलाई चिराचिरामा टुक्राउँदा मान्छेहरू असीमित अधिकारको रजगजमा बाँच्न पाउँछन् रे ! मुलुक यसरि पो झन बलियो पो हुन्छ रे !
उदेक छ , एकातिर मान्छे विस्वव्यापीकरणको ढोल पिटेर सीमा र सरहदका पर्खाल भत्काउन अनि भूमण्डलीय एकीकरणको जोसमा रमाउन खोजेजस्तो देखिँदैछ भने अर्को तिर आफ्नो प्राक अस्तित्वतिर फर्केर , न्याय निसाफ माग्न इतिहासको पाङ्ग्रा उल्टो दिशामा फर्काएर कसैलाई खलपात्र साबित गर्ने कृत्यमा रुमल्लिएको छ ।
त्यसो हो भने अतितका गल्तिहरूलाई हामीले कतिलामो अतितको समयमा फर्केर सच्याउने ? बोक्रे युगमा पुग्दा हुने हो कि ! सायद त्यतिबेला हामी साझा मनुजको एकल परिवारमा थियौँ होला । त्यसपछि त अखण्ड भूगोलका खण्डखण्डमा हामी संसर्गित बन्न पुग्दा जात, नाक नक्सा, विचार र राज्यका सीमामा कैद भयौँ होला !
यस्तै एब्स्ट्रयाक्ट प्रश्नहरूको माखेसाङ्लोमा म नेपाल , नेपाली, एकता , राष्ट्रियता , जात, भाषा , धर्म आदि मानव निर्मित बिभाजनहरूको नराम्ररी जेलिएको महशूस गर्न वाद्य बनेको छु । मेरो नेपाल भन्ने कि नभन्ने , राष्ट्रिय एकता दिवसको सम्झना गर्दा मैले कसैको भावनामा चोट पुर्‍याएको पो हुन्छु कि म सोच्नै नसक्ने तरिकाले संपृक्त बनेको छु । म जब राष्ट्र र मुलकको सम्झना वा कुरा गर्छु अवश्य त्यसको अतित निर्माणमा जोडिएका व्यक्तित्व र तिनका कार्य र कृत्यहरू स्वयं उच्चरित बन्न पुग्छन् । त्यो गलत थियो भने मेरो वर्तमान परिचय समेत गलत हो । मेरो नेपाली परिचय, मैले लेख्न र बोल्न प्रयोग गरिरहेको भाषा र मेरो व्यक्तिगत अस्तित्वसंग जोडिएको समग्र समष्टिको ठूलो र व्यापक जीवन गलत नै भयो नि , त्यसो हो भने त !
के नेपाल गलत हो ? के क्रुरता र अन्यायमा बनेको यसको बुनियादले ‘नेपाल वा नेपाली’ भनिन पाउने सम्मको अनुमति तपाइँहरूबाट प्राप्त गर्ला , मेरो प्रश्न ।

सन्दर्भ पुष २७


5 Comments:

Nepal! said...

आफ्नै घरमा आगो लागेर घर जल्दा केटा केटीहरु रमाएर थपडी बजाउछन रे ।

त्यस्तै चाला अहिले देशमा शा रिरिक ब्रिद्धी भए पनि मानसिक रुपले सुस्त स्थितिमा रहेका र शरीर मा दुई खुट्टा भएको घमन्ड्मा आफुलाई मानव भईसके भन्ने भ्रान्ती पाल्ने सुडान, कङो, इराक का दुई खुट्टे प्राणी को जस्तो खोपडी भित्र सेतो पदार्थ को कमी भएका जिव ले देखाउदैछन । जब जब मानव सभ्यतामा घडी आफ्नो दिशा मा नघुमेर उल्टो दिशामा घुम्न थाल्छ , तब को परीणाम मानवबाट रामापिथेकस र निएनडर्थल भन्ने दुई खुट्टे मानव जस्तो देखिने जिवको उत्पती हुन्छ , तेती बेला राष्ट्र, समाज, सभ्यता भन्ने कुरा रहदैन र आवश्यक पनि पर्दैन।

धन्य छ अहिले सम्म यो आक्रमणको तारो छिमेक अनी तेरो मेरो भन्ने क्षेत्रसम्म मात्र छ , कुन दिन आफ्नै घर भित्र पनि आफ्नो आमा, भाई, दाई भाउजुको नाकको साइज हेरेर घर भित्रै विनाशको परम्परा सुरु होला !

संस्क्रीतमा तेसैले भनेको होला " विनाश काले विपरित बुद्धी " ।

Panda said...

जब ईतिहासको मान चित्रमा नेपाल भन्ने देशको अस्तित्व थियो तेती बेला भारत भन्ने कुनै देश थिएन । १९५० भन्दा पहिले India भन्ने वस्तु दुनियाँमा अस्तित्वमा थिएन । निर्माण वा संस्थापनाका हिसाबले एउटा प्राचिन ईतिहास बोकेको मुलूक अगाडि जाने भन्दा पुरानो कुरा कोट्याउदै अगाडिको बाटो भुलेर पछाडि फर्किन थाल्नु पक्कै पनि खुशीको कुरा होइन । ब्रिटिशहरुले एकिकरण गरिदिएको मुलूक अहिले आफ्नो मात्र होइन नेपाल देखी भुटान अनी श्रिलन्का देखी बाङ्लादेशलाई आफ्नो काबूमा राख्ने हैसियत राख्छ भने हामी आफ्नो कुनै बेला बनेको देशको आकार समेत् जोगाउन धौ धौ पर्ने बेलामा पुग्न लागेका रहेछौ ।

एकातिर हामी अवसरबादको बिरोध गर्छौ तर अर्को तिर भिड को भेल मा बगेर एक घर एक राष्ट्र को स्वप्नामा रमाउन थालछौ । त्यसैले कहिले काही लाग्छ हाम्रा पुर्खा ले बिदेशी वा कुनै तानशाहको क्रुरता नभोगेको परिणाम् आज हामी स्वतन्त्रता र सभ्यता को अर्थ बुझ्न सकिरहेका छैनौ ।

नेपाल मा प्रत्यक मान्छे आफ्नो जीवन मा एक पटक क्रान्तिकारी बन्छ रे , त्यसैले होला हाम्रो क्रान्तिकारीता पनि बेला बेलामा झल्किरहन्छ । कहिले रितिक रोशन काण्ड बनेर त कहिले प्रचन्ड का सिद्धन्त बनेर । बान कि मुन संयुक्त राष्ट्र संघको महासचिव बन्ने बित्तिकै भनेका थिये अब भविस्यका बर्ष मा नेपाल मा जातिय र क्षेत्रीय दङा भड्किन्छ , कसरी थाहा पाए उन्ले ?? के हाम्रो मनस्थिती बुझेर हो या कसैको प्रायोजित कदम थाहा पाएर हो?

हुन पनि अचम्म भईरहेको छ । आफ्नो अधिकार खोज्नेले अर्काको अधिकार मिच्नुलाई आफ्नो पुरुसार्थ ठान्छ । जब कसैले अर्काको अधिकारको सम्मान गर्न जान्दैन, अर्काको भावनाको सम्मान गर्न जान्दैन भने उस्लाई अधिकार भनेको नै थाहा छैन भन्ने बुझिन्छ । उसबाट हामीले के आशा गर्न सकिन्छ द्वेश, कलह, घ्रिणा र हिंसा बाहेक ?

पछी छरलङ होला अहिलेका यि मन्चन भाईरहेका नाटक र प्रायोजित तमाशाहरु (१)मान्छेको दिमागबाट अहिलेको स्थिती भन्दा पुरानो व्यवस्था नै ठीक भनाउन र उपयुक्त मौका को खोजी गर्ने दरबार को चाल्, (२) नेपाल लाई सधैं अस्थिर बनाइ आफ्नो स्वार्थ लुर गर्ने बाह्य चाल् वा (३) नेपाल टुक्र्याउने वा आफुमा गाभ्ने चाल् कडीका हुन सक्छन ।

Panda said...

the last line was mis arranged!
(१)मान्छेको दिमागबाट अहिलेको स्थिती भन्दा पुरानो व्यवस्था नै ठीक भनाउन र उपयुक्त मौका को खोजी गर्ने दरबारको चाल्, (२) नेपाललाई सधैं अस्थिर बनाइ आफ्नो स्वार्थ पुरा गर्ने बाह्य चाल् वा (३) नेपाल टुक्र्याउने वा आफुमा गाभ्ने चाल् का कडी हुन सक्छन ।

Sharad said...

Dear Friends
you guys are great. Tell me one thing, what is the major reason that brought us here? I mean the present Nepal.

ठरकी दादा said...

साँच्चै मन छुने र यथार्थ परक कुरा राख्नु भयो । मान्छेलाई जातमा टुक्राएपछि अनि मुलुकलाई जातका स-साना चोक्टामा दामासही बाँडेपछि मुलुक संघीय लोकतन्त्रको मजबूतिमा रमाउन सक्छ भन्नु यौटा रथको चार ओटा घोडालाई चार तर्फ फर्काएर राखेर रथले द्रुत गति लिन्छ भन्नु जस्तै हो ।

यस्तै ताल हो भने साँच्चै कुनै दिन नेपालका प्रतेक नगरपालीका र गा. बि. स. समेत स्यायत्त हुनेछन ।

अनी यौटै स्वायत्त प्रदेशको कुनै गाउमा कुनै यौटा अमुक जातको संख्या बढि भएमा त्यो स्वायत्त प्रदेश भित्र अर्को 'स्वायत्त ग्राम' वा 'स्वायत्त नगर' को संरचना बन्ने छ।

शरद जी ! त्यसो त तपाईको प्रश्‍नको सजिलो उत्तर त पक्कै छैन र त्यसको जबाफ दिन मैले दिनु पनि त्यत्ती उपयुक्त नहोला, तर नेपालको अबस्था यहा सम्म आउनुमा म त हाम्रै 'महान' नेताहरुको 'दूरदर्शी चिन्तन' बाहेक अरु केहि देख्दिन ।

मलाई लाग्छ सत्ता प्राप्तिको लागी हाम्रै नेता र बिशेष गरि माओबादीले नै यो बिखण्डनको बिज रोपेका हुन। कुनै न कुनै बहानामा सत्तामा पुग्नको लागी मान्छेलाई मान्छेभन्दा तल झारी जात र वर्णमा बिभाजित गरी आफ्नो स्वार्थ सिद्द गर्न प्रयोग गरियो, त्यसको लागी बिभिन्न जात र वर्णका "मानिस" हरुलाई "दुष्ट स्वप्न" बाँडीयो । हाल आएर यो सब यीनै गतिछाडा नेताहरुकोलागी "भालुको कन्पट" साबित भएको छ । बिरोध गरुँ भने आफैले सिकाएको पाठ, समर्थन गरौं भने क्षेत्र, अञ्चल, र जिल्ला मात्रै हैन गा बि स समेत भागबण्डा गर्नु पर्ने स्थिति।

सबै भन्दा लज्जास्पद कुरा के भने यीनै जाति बाद र वर्ण बादका 'नायक' हरु आफूलाई जाती भेद र रंग भेदको बिरोधि भएको बताउँछन । जब कुनै मानिस जातियताको आधारमा कुनै क्षेत्रलाई स्वायत्त गर्नु पर्छ पनि भन्छ भने त्यो मानिस कसरी जातिबादको बिरोधी हुन सक्छ?

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !