August 6, 2011

पाँचौं अन्तर्राष्ट्रिय नेपाली ब्लगर भेला समिक्षा तथा Archive

अगष्ट ६ मा नेपाली समय अनुसार  बिहान १० बजे पाँचौं अन्तर्राष्ट्रिय नेपाली ब्लगर भेला संचालन भएको थियो । दौंतरी ब्लगमा भएको उक्त अनलाइन भेलामा ५० जना जति ब्लगर जम्मा हुनुभएको थियो भने आउने र जाने क्रममा ३० जना सम्म एकै पटक भेला हुनुभएको थियो । यस पटकको भेला सभापति या स्वागत भाषण नराखिकनै फरक तरीकाले गरिएको थियो । नेपाल, जापान, युरोप, अमेरिका आदि ठाउँबाट ब्लगरहरु भेलामा आउनुभएको थियो भने ब्लगर दिलीप आचार्य प्लेन चढ्ने क्रममा एयरपोर्टबाटै भेलामा आउनुभएको थियो । व्यक्तिका विचार फरक भए जस्तै हरेक ब्लगरका मत पनि फरक थिए भने केही कुरामा भने सबै ब्लगर सहमत भएका थिए ।

भेलामा कपी पेस्ट को अचुक सजाय के होला ? कसरी इफेक्टीभ ब्लगर बन्ने ? ब्लगमा समस्या के के छन् ? ब्लगबाट क-के फाइदा लिन सकिन्छ ? जस्ता कुरा भएका थिए । साथै केही ब्लगरहरुले ब्लगरहरुको बर्गीकरण गरीनुपर्ने र ब्लगरको आचार संहिता लागू गरिनुपर्ने आदी जस्ता कुरा राख्नुभएको थियो ।
ब्लग सामग्री चोरीको चर्को मारमा पर्नुभएका नेपाली ब्लगरहरुले अब भने केही राहत पाउनुहुनेछ।

कपी पेस्टको बिरुद्दमा लागेको फेसबुक संजालबाट अब भने ब्लग चोरीलाई धेरै हदसम्म हटाउन सकिने भएको छ। इफेक्टीभ ब्लगर बन्न मिहिनेत, भाषामा ज्ञान, मौलिकता आदी हुनुपर्छ भनेर ब्लगरहरुले स्पष्ट पार्नुभएको थियो। भाषिक शुद्धताको लागि ध्यान दिने कुरा पनि भएको थियो । नयाँ तथा पुराना ब्लगरलाई ज्ञान दिने नेपाली ब्लग भित्तोको पनि प्रशंसा भएको थियो । नेपाली ब्लगरहरूबीच संवाद बढाउन गुगलको नेपाली ब्लगर ग्रुपलाई थप ब्लगरमाझ पुर्याउने पनि सल्लाह भएको थियो । केही ब्लगरहरु ब्लगबाट जिबीको पार्जन पनि गर्न सकिन्छ भनेर देश बिदेशका ब्लगको उदाहरण दिनुभएको थियो । ब्लगरहरुले त्यस्ता केही उपाय पनि सिक्ने अबसर प्रदान गर्नुभएको थियो ।

चिनिएका तर प्रत्यक्ष गफ नभएका ब्लगरहरुले संवाद गर्न पाउनुभएको थियो भने ब्लगको उद्देश्य र उपादेयितामा भिन्न मत हुनेबाट ब्लगको आ-आफ्नो तरीकाबाट ब्याख्या गरिएको कुरा निकै रोचक र घोचक भएको थियो । ६-६ महिनामा हुने ब्लगर भेला अर्को भेला जेनवरीमा हुनेछ ।



August 2, 2011

पाँचौं अन्तर्राष्ट्रिय नेपाली ब्लगर भेला


दौंतरीमा हरेक ६ - ६ महिनामा नेपाली ब्लगर भेला गर्ने परम्परा अनुरुप फेरि अगष्ट ६, २०११ शनिबार अर्थात् साउन २१ नेपाली समय अनुसार बिहान १० बजे ब्लगर भेला गर्नेभएका छौं । पहिले भेला अगष्ट १, २००९ मा भएको थियो, दोस्रो भेला जनवरी ३० २०१० मा भएको थियो । तेस्रो भेला अगष्ट ७, २०१० र चौथो भेला फेब्रुअरी ५ मा भएको थियो । अब पाँचौं भेला नेपाली समय अनुसार अगष्ट ६ शनिबार बिहान १० बजे हुँदैछ ।  उक्त समय आफ्नो पात्रोमा चिनो लगाउनुहोला । साथै अन्य ब्लगर मित्रहरुलाई पनि जानकारी दिनुहोला ।

भेलाको तरिका पहिलो र दोस्रो भेला जस्तै हुनेछ । थप सामग्री तथा एजेण्डाहरु भए जानकारी गराउनेछौं तथा सुझावहरु भए यही ब्लगको कमेन्टमा दिनुहोला । साथै तपाईँ आउने-नआउने जानकारी पनि यही ब्लगको कमेन्ट बक्समा दिनुहोला । भेलामा सहभागी हुने ब्लगहरुको नामावली समय-समयमा ब्लगमा अपडेट गर्नेछौं ।


भेलाको दिन (नेपाली समय साउन २१, १० बजे शनिबार, अमेरिकी समय 11:15 CST शुक्रबार बेलुका) यही दौंतरीको पेज http://www.dautari.org/2009/08/blog-post.html मा पूरै पेजभरि ब्लगरहरुले संवाद गर्न मिल्ने गरी च्याट बक्स राखिनेछ। बोल्ने क्रम भेलामा रजिष्टर गरिएको क्रमअनुसार हुनेछ। यही ब्लगको कमेन्ट बक्समा आउने जानकारी दिए भेलाको लागि स्वत: रजिष्टर हुनेछ । अन्य ब्लगरहरुलाई पनि यस भेलाबारे जानकारी दिनुहोला । भेलाको एजेण्ड सल्लाह अनुरुप यसै पेजमा राखिनेछ । नेपाली ब्लगका लागी हितकारी हुने एजेण्डामा भेलाको दिनमा छलफल हुनेछ। तपाईको पनि भेलाको लागि केही सुझाव भए यही कमेन्ट बक्समा दिनुहोला । आउन नमिल्ने भए पनि जानकारी दिनुहुन अनुरोध गरिन्छ र भेलाको समयअघि वा पछि भए पनि सहभागी भएर आफ्ना कुरा राख्नुहोला । भेलाको निम्ति दौंतरींमा च्याट बक्स दिनभरि र भेलाको दिनपछि पनि खुलै रहनेछ ।


पहिलो ब्लगर भेलाको लिंक: http://www.dautari.org/2009/08/blog-post.html
दोस्रो ब्लगर भेलाको लिंक: http://www.dautari.org/2010/01/blog-post_21.html
तेस्रो ब्लगर भेलाको लिंक:http://www.dautari.org/2010/08/blog-post_09.html

ब्लगर भेलामा सहभागी हुने ब्लगर र ब्लग ठेगानाको सूची हेर्न भित्र आउनुस् >>


August 1, 2011

कवि, कम्युनिस्ट र कन्या !


मैले विद्यार्थी छँदा भूपीलाई भेटेको हुँ । जसरी उनका कविता चटक्क कोरीबाटी गरी मिलाएको गुच्छादार कपाल जस्तै मिलेको हुन्थ्यो, उनी आफू पनि लवाइ र बोलीचालीमा त्यस्तै सफा र सरल थिए । मान्छेहरूले उनलाई कम्युनिस्ट भने । हुन त प्रारम्भिक कालमा मार्क्सवादी प्रभावबाट प्रेरित भएर उनले सर्वहाराको लागि लेख्‍नुपर्छ भन्ने सोची आफ्नो नाममा सर्वहारा उपनाम नै गाँसेर पनि कविता लेखे । वादको रूपमा कुनैलाई एक अँगालेर लेख्‍नु व्यक्तिको स्वेच्छा र कुनै समयविशेषमा प्रभावकारिताको कुरा पनि हुन्छ । तर भूपी आफूलाई न त कम्युनिस्ट न त कांग्रेस नै भन्न रुचाउँथे । नेपालमा कांग्रेस होइन 'काम गरेस्' र कम्युनिस्ट होइन, 'कर्तव्यनिष्ठ' भावनाको मान्छे चाहिन्छ, अनि मात्र मुलुक बन्छ भन्ने सोच राख्थे उनी । नेपाल बन्नुपर्छ, गरिबी हट्नुपर्छ भन्नेमा चिन्तनमग्न रहन्थे । 

पञ्चायत कालमा प्रज्ञा प्रतिष्ठानमा सदस्य भएका भूपीलाई धेरैजनाले त्यतिबेला शङ्कालु नजरले हेरे । तर उनी पञ्च र पञ्चायत व्यवस्था दुवै मान्दैनथे । राजालाई भने बडो आदरभाव राख्दथे । आफूले त्यस्तो मान्ने राजाकै आग्रह टार्न नसकेर आफ्नो स्वतन्त्र कविको छविमाथि प्रश्नचिह्‌न उठ्ने खतरा मोलेरै पनि उनी एकेडेमीको सदस्य भएको हुनुपर्छ । उसै पनि तत्कालीन राजा वीरेन्द्रको शालीन र सरल व्यवहारका कारण त्यतिबेला र प्रजातन्त्र पुनःस्थापनापछि पनि धेरैले आसपासमा रहेर काम गरे । तर अपजस एक्लो भूपीमाथि खनियो । जीवनको अन्त्यतिर उनी


July 31, 2011

गजल

तिमी आयौ र त हावा पनि मगमगायो
के भो के भो दिल मेरो त्यसै सकसकायो ।

पिर्लिक्क पारी आँखा के खोलेथ्यौ तिमीले,
कुन्नि किन होला सारा शरीर थरथरायो ।

दूरी घट्यो श्वास बढ्यो मुटु तेज-तेज चल्यो,
डर- त्रास यति भो कि खुट्टै लगलगायो ।

के गरुँ कसो गरुँ छटपटी धेरै भयो,
मन बेकाबु थियो धैर्य ' नि डगमगायो ।

तिमी हाँस्यौ बल्ल सहज भयो मौसम,
कुइरोले ढाकेको मन बल्ल जगमगायो ।


July 30, 2011

फोन शिरोमणि

   सबेरै उठ्नासाथै 'हाइ, गुडमर्निङ !' को थेगो अनि बेलुका सुत्‍ने बेलामा 'राम्रो सपना देख्‍नू है, गुड नाइट !' भन्ने नियमित लय । फोन शिरोमणिहरूको परिचय नै यस्तो हुन्छ, मानौं यी मनुवा २४ घन्टे प्रसारणको अभिभारा बोकेका सञ्चारमाध्यम हुन् । काशीका पण्डाबाबाका हातमा ट्यास्स निधार-निधारमा टाँस्ने टीकाको लेप हरपल भइरहेजस्तै फोन शिरोमणिको हातमा फोन नामको भाँडो हुने गर्छ । अरु त अरु, फोनमय सपना देख्‍नु फोन शिरोमणिहरूको रात्रिकालीन ‘पार्टटाइम उद्यम’ हो ।

    टेलिफोन अपरेटर, पीए अनि रिसेप्सनिष्टको धपेडीपूर्ण फोन-यात्रालाई फोन शिरोमणिको अद्‌भूत हर्कतले काँचैMobile-Masti खाइदिन्छ । फोनैफोनको अन्तरंग संगतमा रहेर अभ्यस्त हुन थालेपछि फोन शिरोमणिको उपाधि आफसेआफ सुरक्षित भइहाल्छ । यो उपाधि र ताजको लागि कुनै भनसुनको तात्तातो मनसुनमा गोप्य जुहारी घस्नुपर्दैन । हेर्ने हो भने यो उपाधि स्वतःस्फूर्त सामाजिक सम्मानको रुपमा विकसित हुने अवस्थामा पुगिसकेको छ ।

    कामविशेषले एउटा अफिसमा पुगेको थिएँ । रिसेप्सनमा बसेकी युवती फोनमा व्यस्त थिइन् । आफ्नो काम गुटमुट्याउने पिरलोले रन्थनिएको म तिनको रातोपिरो व्यस्तता देख्दा बिचरी कसरी पो भ्याओस् काम भनेर आफ्नो व्यग्रतालाई एकातिर खुम्च्याएर पर्खिनलाई राजी भएको थिएँ । तर तिनको मुखबाट त व्यस्तताको अर्कै स्वादिलो रन्को पो फुत्किन थाल्यो । 


July 27, 2011

खै त **, उत्तर राख्ने टाइम पाइनस्? ब्लग स्लग बन्द गरेर आफ्नी आमाको फरिया मुनि घुसिस् कि क्या हो? बढो अरुलाई ब्लग कसरी चलाउने भनेर सिकाउन खोज्थिस् त। हेहेहे

कस्तो लामो र फोहोरी शिर्षक भनेर सोच्दै हुनुहुन्छ होला। म पनि त्यस्तै सोच्दैछु। दौंतरीमा आबद्द भए देखी थरी थरीका इमेल र कमेन्ट आइराखेका छन। ब्लग लेखेको मा ज्यानकै धम्की देखी आन्द्रै उल्टने गरेर गाली पनि दौंतरी इमेलमा प्राप्त भइरहन्छन। माथीको शिर्षक हालै गाउं खाने कथामा आएको निम्न स्तरीय कमेन्ट हो र यसले ले दौंतरीमा केही गनथन गर्न मन लाग्यो।
उस्तै भाषामा केही समय पहिला पनि कमेन्ट आएको थियो। यो कमेन्ट हेर्दा उही मान्छेले गरेको जस्तो लाग्छ। नेपालमा इन्टरनेटको पउंच निकै कम मान्छेको छ। अधिकांश मानिस अशिक्षाको छायांमा परेका युनीकोड चलाएर नेपाली भाषामा कम्पियुटरमा लेख्ने झनै कमै छन। यि समूहबिच पनि ब्लगको ज्ञान राख्ने नगन्यनै होलान। यही शिक्षीत समूहमा पर्ने एक महानुभाबले आफ्नो दरिद्रता झल्काउंदै दौंतरीमा तुच्छ कमेन्ट गर्न पूग्नुभयो। यो कमेन्टले हामि बिचको बोद्दीक दरिद्रता दर्साउंछ। सुकीला मुकीला कपडा लगाएर हात मिलाउंदै आफूलाइ शिक्षीत बर्गमा राख्ने तपाई हामी बिच पनि यस्ता दरिद्री पक्कै छेउ छाउमै होलान।