December 15, 2009

यूएईमा रहेका एनेकपा माओवदीका भातृसंगठन एकिकृत

गत डिसेन्वर ११ तारिक शुक्रवारका दिन अबुधावीको केरला सेन्टरमा विगत लामो समयदेखि यूएईमा दुई खेमामा देखिएका एनेकपा माओवादीका भातृसंगठन नेपाली जन प्रगतीशील मञ्च र एकिकृत प्रवासी नेपाली प्रगतीशील मञ्च एकिकृत भएको घोषणा गरेका छन् ।

गत अक्टोवरमा यूएईको भ्रमणमा आएका ऐनेकपा माओवादीका प्रवक्ता दिनानाथ शर्माको पहलमा दुवै संगठनका कार्यकर्ताहरुबिच वार्ता भई एक भएका हुन् । गत अक्टोवरमा नै एक भए पनि समय अभावको कारण उक्त समयमा घोषणा गर्न नसकिएको र केन्दि्रय स्तरका नेताको उपस्थितिमा मात्र एकिकृत भएको घोषणा गर्ने भनेर आजको समय सम्म पर्खेको उक्त कार्यक्रमका सभापतित्व गरेका उक्तम अधिकारीले बताए ।

कतार, बहरायन, साउदी अरबको भ्रमण सकी यूएईको भ्रमणमा आएका एकीकृत नेकपा माओवादीका केन्दि्रय सदस्य तथा विदेश विभाग राज्य समिति इन्चार्ज इन्द्रमोहन सिग्देलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भेलामा नयां कार्यसमितीको घोषणा गरिएको थियो ।

नेपाली जनाप्रगतिशील मञ्च र एकिकृत प्रवासी नेपाली प्रगतिशील मञ्चले स्थापना भएदेखी हालसम्म गरेका कार्यहरुको बारेमा क्रमश रमेश बेलवासे र बसन्तराज पोख्रेलले प्रस्तुत गरेका थिए ।

नेपाली जनप्रगतिशील मञ्च गत केही महिना पहिला दुवईमा ईराक काण्डबाट अति प्रख्यात भएको थियो । विभिन्न समस्यामा परेका नेपालीहरुको उद्धारदेखी लिएर यूएईका विभिन्न स्थानमा आफ्नो संगठन विस्तार गरेको थियो भने केन्दि्रय स्तरका नेताहरुलाई यूएईमा निम्त्याई आफ्ना कार्यकर्ताहरुलाई सैदान्तिक प्रशिक्षण दिलाएको थियो । साथै नेपालमा बेला बेलामा घट्ने घटनाहरुको बारेमा यूएईबाट पनि ऐक्यबद्धता जनाउदै आएको थियो भने अर्को एनेकपा माओवादीको भातृसंगठन एकिकृत प्रवासी नेपाली प्रगतिशील मञ्चले विभिन्न समयमा सास्कृतिक कार्यक्रमहरु मात्र गर्दै आएको देखिएको थियो । विभन्न कार्यक्रमहरु तथा केन्दि्रय स्तरका नेताहरु आउंदा यहांका पत्रकार तथा समाजसेवीहरुले एउटै पार्टीका दुईवटा भातृसंगठन किन भनी बारम्बार प्रस्नहरु सोध्ने गर्दथे । अब भने दुवै एकिकृत भएपछि सबैको प्रश्नको हल भएको छ ।

कं दुर्गादत्त पोखरेलको अध्यक्षतामा २७ सदस्य केन्दि्रय समितीका पदाधिकारीहरको उक्त सभामा घोषणा गरिएको थियो जसमा , उपाध्यक्ष उत्तम अधिकारी, महासचिव स्याम परियार, सचिव तारानाथ न्यौपाने, कोषाध्यक्ष मधुरकर वेलवासे र सदस्यहरुमा क्रमश रविरवण अधिकारी, कृष्ण भाट, ऐकेन्द्र थापा, जगत खनाल, मिलन लिम्बु, गणेश बेलबासे, निल प्रसाद लामिछाने, धर्मदत्त ढकाल, राजेश खडका , रमेश जिसी, बशन्तराज पोख्रेल, हेमन्त पौडेल, राजु रोका, शम्भु बाईबा, निमकान्त पाण्डे, प्रकाश रायमाझी, कृष्ण अधीकारी, दान बहादुर राजकोटी, राजाराम लामिछाने, कमल लम्साल, रमेस बेल्बासे, समर बहादुर खत्रि रहेका छन् भने ५ सदस्यीय सल्लाहकार समितिमा सम्योजक पिताम्वर पोख्रेल, सह सम्योजक चन्द्र बहादुर रोकाय सदस्यहरुमा भिम, के.बि ग्वाड., र सुर्यकान्त सेडाई रहेका छन् । महासचिव स्याम परियारले सञ्चालन गरेको उक्त कार्यक्रममा संगठनको प्रतिवेदन रमेश बेलवासेले प्रस्तुत गरेका थिए ।

नयां कार्य समितीको घोषणा लगत्तै प्रमुख अतिथि तथा एनेकपा माओवादीका नेता बसन्त मोहन सिक्देलले नयां कार्यसमितीलाई बधाई तथा शुभकामना दिदै नेपालमा चलिरहेको आन्दोलनलाई कुनै न कुनै माध्ययमबाट सहयोग गर्न अनुरोध गरे । सभामा उपस्थित पार्टीका कार्यकर्ताहरुलाई भर्खरै बसेको केन्दि्र्रय समितिको बैठकले गरेका निर्णयहरु साथै भावी दिनमा पार्टीका रणनिती तथा योजनाहरुको बारेमा प्रस्टाएका थिए भने अहिले भईरहेको क्रान्ति जोखिममा रहेको बताउदै उनले कार्यकर्ताहरुलाई सजग पनि गराए । विदेशी प्रभूहरुले हाम्रो क्रान्ति सफल हुन चाहिरहेका छ्रैनन् । अहिले नेपालको राजनिती विजयको प्रवल सम्भावना को नजिक छ हामी सामन्तहरुको घेराबन्दीमा छौ हाम्रा रणनिती योजनाहरुलाई ठिक ढंगले सञ्चालन गर्न सकेनौ भने हामी ठुलो पराजयको संघारमा पनि पुग्न सक्छौ । नेपालको अहिलेको राजनितीलाई विश्वका ठुला ठुला राष्ट्हरुले हेरीरहेका छन् । उनले क्रान्ति खतरामा रहेको पनि संकेत गर्दै विपक्षीहरुले हामीलाई सिद्धाउन पनि कोशिष गरेका छन् । उनले अहिले भईरहेको क्रान्तिको उदाहरण दिदै हामी सुरीलो रुखको टुप्पोमा रहेको फल टिप्न लागी रहेका छौ र हामी टुप्पोमा पुग्नै लागेका पनि छौ । रुखको अली तलैबाट खस्दा धेरै नोक्सान हुंदैन तर टुप्पोबाट खस्नेहो भने हामी खतम हुन्छौ टुप्पोमा रहेको फल टिप्ने हो भने हामी सफल हुन्छौ भन्दै अहिलको अवस्थाको बारेमा उदाहरण दिए । विश्वका विभिन्न देशमा कम्यूनिष्टहरुका आन्दोलनहरुलाई उदाहरण लिन पनि सकिन्छ उनिहरुलाई प्रतिक्रृयाबादीले कसरी खतम पारे त्यसरीनै हामीलाई प्रतिकृयाबादीले सिद्धाउन खोज्दैछन् । पहिला पनि हामीलाई सिद्धाउन खोजेका थिए । हाम्रो पार्टीको सही कार्यनिती, रणनिती र कार्यलाई अगाडी बढाउन सक्यौ भने सफल हुन सक्छौ । हाम्रो क्रान्तिलाई कता मोड्ने कता तिर लाग्ने हामी अत्यन्त संवेदनशिल, जोखिमपूर्ण र सम्भावनाको अवस्थामा रहेको कार्यकर्ताहरुलाई जानकारी गराए ।

अन्त्यमा उक्त सभाका सभापतित्व गरिरहेका उत्तम अधिकारीले हिजोका दिनमा हामी त्यताको र यताको भन्दै हिड्ने गरेका थियौ भने आजदेखि हामी एक भएका छौ । हामीले यूएईको सन्दर्भमा अझै महत्वपूर्ण कामहरु गर्न बांकीनै रहेको बताउदै कार्यक्रम समापन गरेको घोषणा गरे ।

नेपाली जनप्रगतिशील मञ्चले आयोजना गरेका विगतका कार्यक्रमहरु भन्दा यो कार्यक्रम अलि भिन्न प्रकारको थियो । पहिला गर्ने कार्यक्रमहरुमा कार्यकर्ताहरुको उपस्थिती अतिनै बाक्लो हुने गर्दथ्यो भने भने नयां घोषणा सभा भएता पनि कार्यकर्ताहरुको उपस्थिति अति न्यून थियो । उक्त सभामा एक जना महिलाको पनि उपस्थिति देखिएन ताकि क्रान्तिकारी महिलासंघ घोषणा गर्ने योजना रहेको प्रतिवेदनमा बताईएको थियो । उक्त घोषणा सभा बिहान १२ बजे देखि सुरु भई दिनको साढे ४ बजे समाप्त भएको थियो ।

December 14, 2009

कामरेडलाई सरकार किन चाहियो ?

जहिलेदेखि जंगल छोडेर , शहर पाल्नु भो मंगलै मंगल भाको छ । चुनाबै नलडी , अन्तरिम संसदमा ८५ थान हग्ने पाध्ने हैसियत भएका सांसद पठाउनु भो अनि त्यहीँबाट ५, ७ थानले मन्त्रि खान पनि भेट्टाएकै हुन । शान्ति सम्झौता भैसकेपछि, छापामार भर्ती खुलाउनुभो र आँफ्नै भाषामा , सेनाको संख्या ४,५ गूणा बढी देखाएर क्याण्टोनमेण्टमा थन्काउनुभो भने साँच्चैका तालिमे लडाकूको अगुवाइमा वाइसिएल बनाएर बाहिरै राख्नु भो र यसैको प्रभावले चुनाब पनि जित्न सक्नु भो । हतियार दर्ता गर्ने बेला आयो , हतियार खोलाले बगायो भन्दै ,खै खोलो, सुक्यो भन्ने गीत गाएर मनोरञ्जन दिलाउनु भो । शान्ति भएर के हुन्छ र हामी क्रान्ति कै चरणमा छौँ भन्दै , सरकारमा बसेर पनि बाहिर आफ्ना कार्यकर्तालाई बिना बन्धन खुला छाडिदिनु भो र तिनले नै बन्द , हड्ताल, आन्दोलन र क्रान्ति सबै प्रतिपक्षीय राजनीति पनि गरिरहे । यसरी सरकारमा बसेर प्रतिपक्ष पनि आँफै बन्न सफल हुनु भो । कुनै बेला जुवा तास खेल्नेलाई तास खुवाउने क्रान्तिकारी पार्टीका मजदूर नेताको नेतृत्वमा नेपालका क्यासिनोहरूको कारोबारलाई संरक्षण गरिदिनु भो र समानताका आधारमा बिदेशी सरह नेपालीले पनि क्यासिनो जान पाउने अधिकारको पक्षमा गजबले उभिनु भो ।

पूँजीवादीको बिरोध गर्दै आफ्नो पार्टीलाई धन आउने हरेक मोर्चामा खटाउनु भो । राजमार्ग र सडकमा ढाट तेर्साएर प्राइभेट कर उठाउने, घर घडेरी र रियल स्टेटको व्यवसायमा एकछत्र कब्जा जमाउने, खोला नालाको बालुवादेखि कवाडी उठाउनेसम्म , स्थानीयदेखि राष्ट्रियसम्मका कर, आयात निर्यात र ठेक्कापट्टामा हतियार र बलका भरमा संस्थागत नियन्त्रण राखेर सरकारी प्रशासन, सेना र प्रहरीको दोहलो काडेर आफ्नो पार्टीको वर्चस्व कायम राख्न अहोरात्र खट्नु भो । छापामारलाई शिविरमा कष्टकर जीवनमा छाडेर , अरबौँको रकम राज्यकोषबाट लिइरहनु भो र यसले हतियार किनेर सत्ता कब्जा गर्ने भाषण गरिरहनु भो । जीवनमा विलाशिता र परिवारवादको फेरोमा राम्ररी बेरिएर पनि , क्रान्तिकारी बनिरहन र गरीबको मसिहा बनेर उम्किरहनुभो । धर्म नै नचाहिने र धर्मको नामै नसुन्ने कम्युनिष्ट भएर पनि , पशुपतिनाथलाई समेत बिच्काउनु भो । हर क्षेत्रमा हात हाल्नु भो , न त कुनै काम नै फत्ते गर्नु भो । अधकल्चो र गिथलगाथलमा मात्र रमाउनु भो । कानून र राज्यको अभिभावक हुने ठाउँमा बसेर कानूनको शासन हुनुपर्छ भन्ने व्यवहार र विचारको हूर्मत लिन सफल हुनुभो । दलीय समीकरणमा सत्ता चलाउनु भो तर , निर्णय आँफूखूशी गर्न खोज्नु भो र यही कारणले राजीनामा दिएर सत्ताबाट हट्नुभो । सत्ताबाट सडकमा झर्नु भो , तर आँफै जिम्मेवारीबाट हटेको बिर्सेर फेरि सत्ता नपाएको झोँकमा बर्बराउन थाल्नुभो । यसै मेसोमा नाच्नुभो , गाउनु भो र कहिले काहीँ सुकुम्बासी उरालेर मच्चाउनुभो र मराउनुभो । १० थरिका नेतालाई प्रधानमन्त्रीको अफर दिएर लोभ्याउनुभो र केही शिप नलाग्दा १० औँ लाखको रगत बगाउँछु भनेर पनि कुर्लिनुभो ।

सरकारका मन्त्रीहरू बिदेश बाहेक कतै सुरक्षित भएनन् सबै ठाउँमा काला झण्डामा ढुङगा बेरेर कार्यकर्ता देशभरि पठाउनु भो । सरकारमा हुनुहुन्न , तर देशलाई प्रदेश प्रदेशमा बाँडेर , सरकार त के सर्वदलीय सहमतिले पनि गर्न गाह्रो हुने काम आँफ्नै तजबीजमा जात जातलाई भाग बिलोमा बाँडिरहनुभा’छ । देश छ, सरकार छ , कानून छ , प्रशासन छ , सेना छ र पुलिस छ , तर तिनले त केवल जागिर खाने काम मात्र गरिराछन , यताउति घुमिराछन देश त सरकारमा हुँदा पनि नहुँदा पनि तपाईँले आफ्ना कार्यकर्ताका भरमा नै चलाउनुभाछ त ! बाहिर बसेपनि सरकारमा बसेपनि देश तपाईँकै खटनपटनमा चलिरहेपछि , तपाईँलाई के कुराले पुगेन र कामरेड नागरिक सर्वोच्चताको नाममा सरकार मागिरहनुभाछ ? छापामार, वाइसिएल र माओवादी सर्वोच्चताले मुलुक नै खग्रास नियन्त्रणमा परेको यो बेला , माओवादीरूपी बाँसको सेपिलो झ्याँग मुनि यो नागरिक सर्वोच्चताको कलिलो फूल बाँच्ला र कामरेड ? कामरेड, तपाईँको सर्वोच्चता सरकारमा नहुँदा पनि सर्वत्र छाएको छ , बाहिर बसेर पनि भित्र बस्दा हुन नसकेको कुनै काम हुन नसकेको वा बाँकि देखिएको छैन । तपाइँ नै सरकार तपाईँ नै प्रतिपक्ष, तपाईँ नै नागरिक अनि तपाईँ नै सैनिक सर्वोच्चता सबै भएको जनताले बुझेका छन् । माधव नेपालको टोलीले त सरकारी जागिर मात्र खाएका छन् , वास्तविक देश त बन्दूक बोकेका दिनदेखि हरेक भाषा, भाका र अर्थमा तपाईँले चलाउनु भएको छ । जनता सरकारसंग डराउँदैनन् तर अहिलेपनि तपाईँका शानमानदेखि थरहरी हुन्छन् अनि कसरी सोच्नुभो कि तपाईँ सरकामा हुनुहुन्न भनेर ? हाम्रो सरकार त तपाईँ नै हो । कामरेड, ती त नाममात्रका सरकार हुन, कामको सरकार त तपाईँ पो हो अनि किन यो नागरिक सर्वोच्चताको गिडगिडाहटमा सरकार मागिराहनुभाछ ।सरकारमा बसेर मुलक हाँक्दा केही सीमा र नैतिकताकोपनि लाज राख्नुपर्छ तर , जिम्मेवारीबिहीन तरिकाले देश चलाउन पाइने यो बिद्रोही काइदाको प्रयोग गर्न पाइने भएपछि किन चाहियो त्यो देखावटी कठपुतली सरकार। हरूवाले पाएको सत्ता छोड्न चाहन्नन , जितुवाले हिंसा र हतियार बलले जितेका हुनाले हतियरै नचाएर हिंसाकै बलमा पाइन्छ भन्ठन्छन् ।

मागेर कसैले दिन्छन् ? थुतेर लिनुपर्छ क्रान्तिकारीले , जुन तपाईँले लिनुभएकै छ व्यहारमा सरकाररूपी डन बनेर । त्यसो भए कामरेडलाई यो सरकार नै किन चाहियो ?



December 11, 2009

महान जँड्या !

यता जनता,
चुरोट तानेरै भए पनि राजश्व बढाउँदै छन ।
उता नेता, 
राजश्व  हानेरै भए पनि घर ठडाउँदै छन ।

गाँउको कालु,
अन्त: शुल्क तिरेको मदिरा तान्छ ।
सहरमा ठालु,
कर छलेर विदेशी खान्छ  ।

एउटा जँड्याहा आफ्नै खर्चमा
भट्टीमा जान्छ ।
अर्को सभासद
संसद रोकेर भत्ता चाहि खान्छ ।

म त भन्छु,
मेरा यी नेता भन्दा त्यै जँड्या महान छ ।
कमसेकम रक्सी पनि
ट्याक्स तिरेर त खान्छ ।



December 8, 2009

यो देख्नु वा सुन्नु परेको भए कार्ल मार्क्स रूँदा हुन कि !


International Management Consultancy firm Hay Group ले हालै गरेको एउटा आर्थिक सर्वेक्षणले मेरो ध्यान अचम्मै रूपमा खिच्यो । यसको कारण थियो यो सर्वेक्षणले देखाएको बिभिन्न मुलुकमा तल्लो तहको अफिस काम (clerical) गर्ने र उच्च पदका व्यवस्थापकीय ( managerial or executive) तहका जागिरेहरूका बीचमा उनीहरूले हासिल गर्ने तलब सुविधाको भिन्नताको अनुपात ।

हे ग्रुपको यो सर्वेक्षणले मध्य पूर्वका तेल उत्पादक धनी राष्ट्रहरूका- कतार, कुवेत, युनाइटेड अरब इमिरेट्स, ओमान, बहराइन र साउदी अरेबिया - व्यवस्थापकीय ओहदामा काम गर्ने व्यक्तिहरू आँफ्नो कमाइको भरमा सबैभन्दा बढी पैसा खर्च गरेर जिन्दगी व्यतित गर्ने हैसियत राख्छन् भन्ने कुरा पत्ता लगाएको छ । यसको मुख्य कारण , ती देशहरूमा कार्यरत उच्च ओहदावाला व्यवस्थापक वा म्यानेजरहरूले प्राप्त गर्ने उच्च तलब सुविधा र ती मुलुकमा सरकारलाई फिर्ता बुझाउनु पर्ने न्यून करको व्यवस्था नै हो ।

प्रस्तुत सर्वेक्षणको रमाईलो पक्ष भने यस्तो रहेको छ । यहाँ एशियाका केही चुनिन्दा मुलुकहरूमा हालका वर्षहरूमा अफिस वा फर्महरूमा काम गर्ने तल्लो र माथिल्लो तहका जागिरेहरू बीचमा कायम रहेको तलब सुविधाको अन्तरको अनुपात देखाइएको छ ।

जागिरेहरूको आयको ( कमाइको ) अन्तर दर गुणा ( अनुपात) थोरैदेखि धेरै क्रममा :

देश

२००६

२००७

२००९

जापान

३.३

३.२

३.४

दक्षिण कोरिया

३.१

३.७

४.१

सिंगापुर

४.९

४.७

मलेशिया

६.२

हङ्कङ्

५.५

५.८

६.३

भारत

७.४

७.७

९.१

भियतनाम

११.७

११.८

९.८

थाइल्याण्ड

१०.६

१०.७

११.४

इण्डोनिशिया

८.७

९.१

११.८

चीन

१०.५

११.८

१२.६

प्रस्तुत सर्वेक्षणले पत्ता लगाएको आयको अन्तर अनुपात एशियाका पूँजीवादी मुलुकहरू मध्येका जापान र दक्षिण कोरियामा सबैभन्दा कम र कम्युनिष्ट मुलुकहरू भियतनाम र चीनमा ( टेबलमा रातो अक्षरमा ) सबैभन्दा बढी रहेको छ भन्ने प्रष्ट देखियो । हामीले अक्सर सुन्ने गरेको तथा कम्युनिष्ट नेताहरूले अक्सर हामीलाई सुनाउने गरेको कम्युनिष्ट मुलुकमा गरीब धनी बराबर वा समान हुन्छन् र ती देशमा जनताको बीचमा आर्थिक विषमता भन्ने कुरा हुँदैन भन्ने कुराको बिरुद्ध माथिको तथ्यांकमा आधारित तथ्यले मजाक गरेको हो कि जस्तो देखिन्छ ।

पूँजीवादी भनिएका मुलुकहरूमा बरू , ट्रेड युनियन र श्रमिक वेलफेयर ( कल्याणकारी) कानूनहरूको उचित व्यवस्था हुनाले त्यहाँका नागरिक वा कामदारहरूको हितमा पारदर्शी ढंगले नियम र व्यवहारको कार्यावन्यन र व्यवस्थापन हुने गर्छ , तर कम्युनिष्ट अधिनायकवादको चरित्र भित्र , पारदर्शिता भन्दा नारा र दावालाई चर्को प्रपोगाण्डाका विधिबाट जनतामा छरेर वास्तविकतालाई पर्दा लगाउने कोशिश गरिएको हुन्छ भन्ने सत्य यो कुराले जगजाहेर गरेको छ । अत: आर्थिक समानता र विषमता अन्त्यको खोक्रो दावामा , कम्युनिष्टहरू अरू बढी र सबैभन्दा चर्का पूँजिवादी हुँदै गरेको सत्य तथ्य मात्र यहाँ प्रकट भएको मान्नु पर्छ । नेपालका कम्युनिष्टहरू बलजफ्ति चन्दा, धान लुट्नेदेखि र महायज्ञबाट धन जम्मा गर्ने समजावादी कर्ममा लिप्त भएको देख्नु परेको भए अनि कम्युनिज्म भित्र समानताको यस खाले धज्जी उडाइको बिडम्नापूर्ण हूर्मत देख्नु वा सुन्नु परेको भए , कार्ल मार्क्स बाजे धुरूधुरू रून्थे होला !

स्रोत: http://www.haygroup.com/ww/press/index.aspx



December 5, 2009

कैलाली काण्ड - छाडा देशको घिनलाग्दो राजनिती

नेपालमा कुन घटना कती ठुलो हुन्छ पत्तो नै हुंदैन। बस पल्टेर १० जना मरे एउटा कुनामा समाचार छापिएर हराउनसक्छ भने कांग्रेसको ले एमालेकोलाइ एक मुक्का हाने नेपाल नै बन्द हुन बेर लाग्दैन। आज बिहान यसो गाउंखाने कथाको उत्तरमा के उत्तर आउदै रहेछ भने हेर्दै थिए, त्याहां हाम्रा पाठक पुष्पजी ले कैलालीको कुरा उठाउनु भएको रहेछ। के भएछ कैलालीमा भनेर यसो २,४ वटा समाचार साइट हेरें, केही पत्तो नै पाइन। पछि केही ब्लगहरुमा हेर्दा त कैलाली काण्डलाइ माहाभारत नै बनाइएको रहेछ।


December 4, 2009

गाऊँखाने कथा - ३३ (Nepali Gau Khane Katha)

अपडेट: यस पटकको गाउंखाने कथाको सहि उत्तर हो जुम्रा।गाउंखाने उत्तरमा सहभागी सबैलाइ धन्यबाद। उत्तर मिलाउने सुजन जीलाइ हार्दीक बधाइ। सुजन जी आफ्नो मन पर्ने गाउं माग्नुहोला।
सँधै जसो सप्ताहान्तमा नेपाली लोक चलनमा चर्चित गाउँखाने कथा लिएर हाँजिर हुने केही समय सम्म हराउन पूगें। पून गाउं खाने कथा ल्याएको छु, रमाइलो गर्नुहोला।
--------------------------------------------------
च्यान्टे भुन्टे कलुवाको बनमै छ बास,
जतिखेर खान पनि रगतकै आस, के हो?

यो गाउँखाने कथाको उत्तर पत्ता लगाएर गाऊँ माग्नुहोला। उत्तर जान्न गाह्रो परे अनुमान लगाएर भए पनि रमाईलो लिनुहोला। नेपाली भाषा र सामाजिक जीवनको मौलिकपन झल्काउने अन्य रमाईला सामग्री भए , प्रस्तुत गर्नुहोला।