December 14, 2009

कामरेडलाई सरकार किन चाहियो ?

जहिलेदेखि जंगल छोडेर , शहर पाल्नु भो मंगलै मंगल भाको छ । चुनाबै नलडी , अन्तरिम संसदमा ८५ थान हग्ने पाध्ने हैसियत भएका सांसद पठाउनु भो अनि त्यहीँबाट ५, ७ थानले मन्त्रि खान पनि भेट्टाएकै हुन । शान्ति सम्झौता भैसकेपछि, छापामार भर्ती खुलाउनुभो र आँफ्नै भाषामा , सेनाको संख्या ४,५ गूणा बढी देखाएर क्याण्टोनमेण्टमा थन्काउनुभो भने साँच्चैका तालिमे लडाकूको अगुवाइमा वाइसिएल बनाएर बाहिरै राख्नु भो र यसैको प्रभावले चुनाब पनि जित्न सक्नु भो । हतियार दर्ता गर्ने बेला आयो , हतियार खोलाले बगायो भन्दै ,खै खोलो, सुक्यो भन्ने गीत गाएर मनोरञ्जन दिलाउनु भो । शान्ति भएर के हुन्छ र हामी क्रान्ति कै चरणमा छौँ भन्दै , सरकारमा बसेर पनि बाहिर आफ्ना कार्यकर्तालाई बिना बन्धन खुला छाडिदिनु भो र तिनले नै बन्द , हड्ताल, आन्दोलन र क्रान्ति सबै प्रतिपक्षीय राजनीति पनि गरिरहे । यसरी सरकारमा बसेर प्रतिपक्ष पनि आँफै बन्न सफल हुनु भो । कुनै बेला जुवा तास खेल्नेलाई तास खुवाउने क्रान्तिकारी पार्टीका मजदूर नेताको नेतृत्वमा नेपालका क्यासिनोहरूको कारोबारलाई संरक्षण गरिदिनु भो र समानताका आधारमा बिदेशी सरह नेपालीले पनि क्यासिनो जान पाउने अधिकारको पक्षमा गजबले उभिनु भो ।

पूँजीवादीको बिरोध गर्दै आफ्नो पार्टीलाई धन आउने हरेक मोर्चामा खटाउनु भो । राजमार्ग र सडकमा ढाट तेर्साएर प्राइभेट कर उठाउने, घर घडेरी र रियल स्टेटको व्यवसायमा एकछत्र कब्जा जमाउने, खोला नालाको बालुवादेखि कवाडी उठाउनेसम्म , स्थानीयदेखि राष्ट्रियसम्मका कर, आयात निर्यात र ठेक्कापट्टामा हतियार र बलका भरमा संस्थागत नियन्त्रण राखेर सरकारी प्रशासन, सेना र प्रहरीको दोहलो काडेर आफ्नो पार्टीको वर्चस्व कायम राख्न अहोरात्र खट्नु भो । छापामारलाई शिविरमा कष्टकर जीवनमा छाडेर , अरबौँको रकम राज्यकोषबाट लिइरहनु भो र यसले हतियार किनेर सत्ता कब्जा गर्ने भाषण गरिरहनु भो । जीवनमा विलाशिता र परिवारवादको फेरोमा राम्ररी बेरिएर पनि , क्रान्तिकारी बनिरहन र गरीबको मसिहा बनेर उम्किरहनुभो । धर्म नै नचाहिने र धर्मको नामै नसुन्ने कम्युनिष्ट भएर पनि , पशुपतिनाथलाई समेत बिच्काउनु भो । हर क्षेत्रमा हात हाल्नु भो , न त कुनै काम नै फत्ते गर्नु भो । अधकल्चो र गिथलगाथलमा मात्र रमाउनु भो । कानून र राज्यको अभिभावक हुने ठाउँमा बसेर कानूनको शासन हुनुपर्छ भन्ने व्यवहार र विचारको हूर्मत लिन सफल हुनुभो । दलीय समीकरणमा सत्ता चलाउनु भो तर , निर्णय आँफूखूशी गर्न खोज्नु भो र यही कारणले राजीनामा दिएर सत्ताबाट हट्नुभो । सत्ताबाट सडकमा झर्नु भो , तर आँफै जिम्मेवारीबाट हटेको बिर्सेर फेरि सत्ता नपाएको झोँकमा बर्बराउन थाल्नुभो । यसै मेसोमा नाच्नुभो , गाउनु भो र कहिले काहीँ सुकुम्बासी उरालेर मच्चाउनुभो र मराउनुभो । १० थरिका नेतालाई प्रधानमन्त्रीको अफर दिएर लोभ्याउनुभो र केही शिप नलाग्दा १० औँ लाखको रगत बगाउँछु भनेर पनि कुर्लिनुभो ।

सरकारका मन्त्रीहरू बिदेश बाहेक कतै सुरक्षित भएनन् सबै ठाउँमा काला झण्डामा ढुङगा बेरेर कार्यकर्ता देशभरि पठाउनु भो । सरकारमा हुनुहुन्न , तर देशलाई प्रदेश प्रदेशमा बाँडेर , सरकार त के सर्वदलीय सहमतिले पनि गर्न गाह्रो हुने काम आँफ्नै तजबीजमा जात जातलाई भाग बिलोमा बाँडिरहनुभा’छ । देश छ, सरकार छ , कानून छ , प्रशासन छ , सेना छ र पुलिस छ , तर तिनले त केवल जागिर खाने काम मात्र गरिराछन , यताउति घुमिराछन देश त सरकारमा हुँदा पनि नहुँदा पनि तपाईँले आफ्ना कार्यकर्ताका भरमा नै चलाउनुभाछ त ! बाहिर बसेपनि सरकारमा बसेपनि देश तपाईँकै खटनपटनमा चलिरहेपछि , तपाईँलाई के कुराले पुगेन र कामरेड नागरिक सर्वोच्चताको नाममा सरकार मागिरहनुभाछ ? छापामार, वाइसिएल र माओवादी सर्वोच्चताले मुलुक नै खग्रास नियन्त्रणमा परेको यो बेला , माओवादीरूपी बाँसको सेपिलो झ्याँग मुनि यो नागरिक सर्वोच्चताको कलिलो फूल बाँच्ला र कामरेड ? कामरेड, तपाईँको सर्वोच्चता सरकारमा नहुँदा पनि सर्वत्र छाएको छ , बाहिर बसेर पनि भित्र बस्दा हुन नसकेको कुनै काम हुन नसकेको वा बाँकि देखिएको छैन । तपाइँ नै सरकार तपाईँ नै प्रतिपक्ष, तपाईँ नै नागरिक अनि तपाईँ नै सैनिक सर्वोच्चता सबै भएको जनताले बुझेका छन् । माधव नेपालको टोलीले त सरकारी जागिर मात्र खाएका छन् , वास्तविक देश त बन्दूक बोकेका दिनदेखि हरेक भाषा, भाका र अर्थमा तपाईँले चलाउनु भएको छ । जनता सरकारसंग डराउँदैनन् तर अहिलेपनि तपाईँका शानमानदेखि थरहरी हुन्छन् अनि कसरी सोच्नुभो कि तपाईँ सरकामा हुनुहुन्न भनेर ? हाम्रो सरकार त तपाईँ नै हो । कामरेड, ती त नाममात्रका सरकार हुन, कामको सरकार त तपाईँ पो हो अनि किन यो नागरिक सर्वोच्चताको गिडगिडाहटमा सरकार मागिराहनुभाछ ।सरकारमा बसेर मुलक हाँक्दा केही सीमा र नैतिकताकोपनि लाज राख्नुपर्छ तर , जिम्मेवारीबिहीन तरिकाले देश चलाउन पाइने यो बिद्रोही काइदाको प्रयोग गर्न पाइने भएपछि किन चाहियो त्यो देखावटी कठपुतली सरकार। हरूवाले पाएको सत्ता छोड्न चाहन्नन , जितुवाले हिंसा र हतियार बलले जितेका हुनाले हतियरै नचाएर हिंसाकै बलमा पाइन्छ भन्ठन्छन् ।

मागेर कसैले दिन्छन् ? थुतेर लिनुपर्छ क्रान्तिकारीले , जुन तपाईँले लिनुभएकै छ व्यहारमा सरकाररूपी डन बनेर । त्यसो भए कामरेडलाई यो सरकार नै किन चाहियो ?



18 Comments:

Hari Sapkota said...

एथार्थ लेख्नु भयो / तपाइको विचारमा मेरो पूर्ण समर्थन छ /

Milan said...

सारै मज्जाले विश्लेषण गर्नु भो.... हो नि वास्तविक "सरकार" आफु हुँदा हुँदै कमरेडलाई सत्ता चाहिएको नै किन होला ?

kamaladi said...

नियम कानुन भन्दा ठुलो कोही हुंदैन, राजा हटे पनि छोटे राजाहरु भइराख्ने हो भने गणतन्त्र आएको नै के मतलब भयो र ? दिक्क लाग्छ भन्या, यि ६०१ लाई सरकार बनाउने काम दिनु नै मुर्खता थियो, अन्तरिम नागरिक सरकार बनाएर यि ६०१ लाई संविधान मात्र बनायो भनेको भए आहिले सम्म आम चुनाव भै सक्थ्यो होला । "नौलो नयाँ पार्टी", मावोबादी, पनि त्यही फोहरी कुर्सी तानातान bubble भित्र पसि सक्यो ।

जे जस्तो भए पनि न्याय कानुन को प्रत्याभुति हुनै पर्छ, अदालत शक्तिमान हुनै पर्छ, नत्र निरही जनता पनि मर्का पर्‍यो भन्दै दिल्ली जानु ?

दूर्जेय चेतना said...

खै के खै के परित्त गर्थ्यो धुर्मुसले ले। जो जोगी आए पिन कानै चिरिएको। हैरान भयो यो नेताहरुको पाराले। यो कुर्चीको लागि मरिमेटेको देखेर दिक्क लाग्छ बा।

पुष्प said...

माओवादीको हाउगुजी मज्जाले केलाउनुभो एकलव्यजी । माओवादीको विद्रोही स्वभावलाई स्वीकार गर्ने हो भने उसले त्यस्तै खालको रणनीति लियो भनेर कुर्लनु नै बेकार छ । तर पनि विरोध गर्ने स्वतन्त्रता सबैलाई छ । केही गलत कुरा उल्लेख गर्नुभो, भूल सुधारको सवतन्त्रता पनि तपाईंसँगै छ ।

- पूँजीवादको होइन चरमपूँजीवादको विरोध हो ।
- सहमतीय सरकारमा आफूखुशी निर्णय गरेको भन्ने कुरा नै गलत हो; कटवालकाण्डमा सबैले बुझेकै कुरा हो ।
- १०औं लाखको रगत बगाउँछु भनेर कहाँ, कहिले प्रचण्डले त्यसो भने ? तपाईंको माओवादीविरोधी दिमागबाट निस्केको अभिव्यक्तिमात्र हो यो भन्दा फरक नपर्ला ।

एकलव्य ( Eklavya) said...

पुष्पजी,

रिसानी माफ होस् । जस्को जोरजुलुम प्रभाव जमेको छ उसैका बारेमा लेख्नु पर्ने रहेछ । आज ज्ञानेन्द्र , तुलसी गिरी र गिरिजाको कब्जामा देश छैन । सरकारकै नियन्त्रणमा देस रहेन । मुलुक जसो जसो माओवादी त्यसै त्यसै स्वहा: भैरहेकै छ । यही कुराको प्रशस्ति गाएको मात्र हो । यसमा माओवादी समर्थकहरू खुशी नै हुन सक्नु पर्छ , किनभने कुने कुरा असत्य लेखेर कसैलाई काखा र पाखा लगाउने स्वार्थ मलाई छैन ।

(१) चरम पूँजीवादको बिरोध भनेको के हो ? सारा स्रोत र साधनमाथि कब्जा जमाएर , पार्टीको भोगचलनमा लगाउनु ? भ्रष्ट भनिएकाहरू बाट चन्दा लिएर वा उनीहरूलाई पार्टी सदस्य बनाएर संरक्षण दिनु ? महायज्ञ लगाएर सार्वजनिक जग्गाहरू पार्टी वा पार्टी मातहतको प्रोजेक्टका नाममा दान गराउनु ? सार्वजनिक जग्गा, व्यक्तिगत सम्पत्ति वा कुनै कुरालाई पनि पार्टीको झण्डा बोकेका भीड द्वारा कब्जा गराउनु वा गर्नु आदि ? के भोलि माओवादी शान कायम भएमा यस्तै साम्यवादी स्वतन्त्रता अरूले पनि प्रयोग गर्न पाउँछन् ?
(२) कटवालकाण्डमा सहमतिमा काम गरेको भए , किन साथ दिएका दलहरूले छोड्ने स्थति आयो र सरकार ढल्यो त ? बहुमत मै रहेको स्थितमा कामरेड प्रचण्डले आफ्नो बालुवाटारे डेरा , बहुमुल्य खाट र कुर्ची छोड्नु भएको त हैन नि !
(३) आँफूले चाहे अनुरूप भएन भने अझै दशौँ लाखको रगत बगाउने कामरेड प्रचण्डको फर्मान , यसै हप्ताको ताजा समाचार हो । पछिल्ला तीन दिनका मुख्य नेपाली पत्रिका वा वेबसाइट हेर्नुभो भने यतै कतै त्यो समाचारको वास्तविकता पाउनु हुनेछ । तपाईँको सन्दर्बका लागि अलिकति लिंक तल पनि राखिदिएको छु ।
http://nagariknews.com/politics/party-politics/8161-2009-12-14-09-39-10.html


जे बोलिन्छ , व्यवहारमा अरू नै हुँदो रहेछ । हाम्रो वर्तमान, माओवादी नामक राजनितिक झुण्डको हातमा नेापल र नेपालीको वर्तमान बन्धक बनेको कुरा दर्साउन खोजिएको छ । माओवादीले परिवर्तन, चमत्कार, लोकतन्त्र , गणतन्त्र, जनतन्त्र आदि शव्दहरूको रट लगाएर थाकेको छैन , देखिएकै कुरा हो । तर उसको व्यवहार भने कानून , नियम, संविधान र समग्र सभ्य नियम र आयामहरूको धज्जी उडाएर देशलाई अराजक भुँवरीमा फँसाएर कालान्तरमा सैनिक बलले एकलौटी नियन्त्रणमा लिने खालका छन् ।

यस्तो नभएर , विचार र व्यवहारबाट जनताको साँचो शासन र सुव्यवस्था सहितको जीवन पद्दति बसाउने काम गर्ने दल , व्यक्ति वा समूहको बिरोध किन पो गर्नु पर्छ र ?

ठरकि दादा said...

प्रश्न: कामरेडलाई सरकार किन चाहियो?
उत्तर: आफैं बोक्सी, आफैं झाँक्री हुन ।

पुष्प said...

एकलव्यजी,

सरकारै नभएको देशमा कसरी कोही नियन्त्रणमा बसोस् त ? अहिले त टट्टुहरूको
हालीमुहाली छ, यिनीहरूको जमातलाई सरकार भन्नुहुन्छ भने मेरो भन्नु केही
छैन । अनि यी टट्टुहरूको जोरजुलुमचाहिँ तपाईंले देख्नुभएन भनेर मैले
पत्याउन सक्दिन । माओवादीले गरेको विद्रोहरूपी होममा 'स्वाहा' गर्नेहरूको संख्या
किन बढिरहेको छ भन्नेर कुरातिर पनि ध्यान दिनुपर्छ । यस्तो जनमतलाई ‘बन्धक’ भन्नु हाँस्याष्पद छ ।

१. जनता सिटामोल पाएर ज्यान गुमाइरहनु र कालापत्थर र कोपेहेगनमा खोक्रो
प्रदर्शन गर्ने सत्ताभोगीहरूको कृयाकलाप चरमपूँजीवाद नभए के हो ? न्यूनतम
ज्याला ४६०० कायम गर्न नसक्नु चरमपूँजीवाद नभए के हो ? तलकाहरू बाँच्न नै
धौ-धौ पर्ने तर माथिकाहरूलाई सातपुस्तासम्म पुग्ने गरी ५०० प्रतिशतसम्मको
तलब भिन्नता चरमपूँजीवाद नभए के हो ? घर-जग्गाको भाउ अपत्यारिलो तरिकाले
दिनानुदिन आकाशिनु चरमपूँजीवाद नभए के हो ? भ्रष्ट, तस्कर, कालोबजारी र
हरुवाहरूकै हालीमुहाली भइरहनु चरमपूँजीवाद नभए के हो ?

२. सहमती जनाउनेहरू रातारात बदलिएका कारण सरकारमै बसेर पनि द्वेधसत्ताको खतरामा हुने भएकाले सरकारबाट बाहिरिनु प्रचण्डको महानता र दूरदर्शिता हो । त्योभन्दा राम्रो त बाहिर बसेर खुलारूपमै समानान्तर सरकार चलाउनु राम्रो हो । बरु यसबाट जनताको एजेण्डालाई सहीरूपमा अगाडि बढाउन सकिन्छ । विद्रोहको यो स्वरूपलाई तपाईं कुनरूपले लिनुहुन्छ तपाईंको विचार ।

३. के १२ वर्षे जनयुद्धमा माओवादीबाट मात्रै जनधनको क्षति भएको हो ? समाचारअनुसार त प्रचण्डले १० लाखको रगत बगाउँछु भनेको जस्तो लागेन । तर यस्ता अभिव्यक्ति आउनुचाहिँ दुर्भाग्यपूर्ण हो ।

एकलव्यजी, तपाईंको अन्तिम हरफमा टीठ मान्नुसिवाय अरु केही भन्न चाहन्न ।

Anonymous said...

Mr. Pushpa ji,
"How do you tell a Communist? Well, it's someone who reads Marx and Lenin. And how do you tell an anti-Communist? It's someone who understands Marx and Lenin." Ronald Reagan

पोस्तक श्रेष्ठ said...

पुष्पजीको नाम पो "एकलब्य" हुन पर्ने। दौंतरीमा यसो हेर्छु, एक्लै लडिरहनु भएको देख्छु। हेहे।

प्रबिण थापा said...

पुष्प जी मात्रै एक्लै लडिरहनु भएको छैन, यहाँ तपाईं हामी सबै छौ नी पोस्तक जि! हुनत यो लेखमा भएका धेरै कुरा सत्यतथ्य नै हुन भन्ने मेरो पनि बिश्लेषण हो तर कतिपय कुरामा भने मेरो असहमती छ किनकी लेख अली पुर्वाग्रही हो की भन्ने मेरो आसय हो।
एकलब्य जी
बन्दुक र लाठीको भरमा माओवादीले चुनाव जितेको होइन उसले चुनाव त उसका नयाँ अग्रगामी बिचारबाट प्रभाबित जनमतले जितेको हो भलाई सरकारमा हुँदा जनताका पक्षमा केही गर्न नसके पनि र अझै जनमत माओवादीको पक्षमा नै छ। यसको मतलब माओवादी सहि छ भनेर वकालत गर्न खोजेको होइन तर त्यसको बिकल्पमा अर्को कुनै दल राम्रो छैन भन्न खोजेको मात्र हो।

Dhruba Panthi said...

पुष्पजी एक्लै पक्कै पनि हुनुहुन्न। तर उहाँको तर्क गर्ने शैली अलि एकांगी किसिमको लाग्छ। प्रबिणजीले भनेजस्तै एकलव्यजीको लेख पनि पूर्वाग्रहबाट ग्रस्त छ तर यस्ता आग्रह-पूर्वाग्रह चिर्न पनि माओवादीले आफ्ना गल्ती सच्याउनुको विकल्प छैन। हामीले फरकिलो दृष्‍टिकोण राखेर राम्रोको प्रशंसा र नराम्रोको खबरदारी गर्यौँ भने पो यसरी ब्लगमा बहस गरेको औचित्यपूर्ण होला। नत्र त के बहसका लागि बहस गर्नु र!

Zero Hour (शुन्य समय) said...

धारणा आ आफ्नो हो । न्युट्रल भएर हेर्ने हो भने ज जसका नाममा राजनीति गर्छु भन्नेहरुको पनि असली चरित्र १८० डिग्री उल्टो छ ।

२ वर्ष भित्र भएका २०० वटा नाटकहरु सबैले देखिराखेका छौं, तस्वीर आंफै बोल्छ भनेजस्तै ।

एकलव्य ( Eklavya) said...

पुष्पजी र अन्य मित्रहरू,

हो म यो स्वीकार गर्छु कि , मेरो अग्र आलेखले उठाएका तर्कहरूमा माओवादीको प्रशंसा छैन । यस मानेमा म पूर्वग्रही हुनसक्छु किनभने मैले प्रशंसायोग्य कुरा पनि फेला पार्न सकिरहेको छैन । हिजो युद्धकालमा कसले के गरेको थियो भन्दा पनि आजको दैन्दिनी र भोलिका लागि हाम्रो कल्पनाले लक्ष्य गरेको परिवर्तन, शान्ति,उन्नति सहअस्तित्वका बारेमा हाम्रा अपेक्षाहरूको जुन ढंगले पाइलै पिच्छे गला घोट्ने काम भएको छ, र त्यस कार्यमा आँफूलाई आमूल परिवर्तनका पर्याय मान्नेहरूको जुन योगदान देखिन्छ त्यो विषयमा आँफूले देखेको , भोगेको र महशूश गरेको सत्यलाई छलफलका लागि राखिदिने काम मात्र आफ्नो रहेको छ ।

जहाँसम्म कुन राजनीतिको प्रशंसा गर्ने भन्ने प्रश्न छ , त्यो व्यक्तिको निजि कुरा होला । मेरालागि अहिलेको नेपालमा प्रशंसाका लागि पात्र भे्टाउन गाह्रो परेको कुरा निवेदन गर्न चाहन्छु । माओवादीको आलोचना अरू कसैको प्रशंसाका रूपमा नबुझियोस् । माओवादीले 'बाँच र बाँच्न देऊ' भन्ने चिन्तनलाई सम।मान गरेको मैले देखिन र 'सबै विचार फल्न फुल्न देऊ' भनेको मैले कहिल्यै सुनिन । तपाईँहरूले देखेको वा सुनेको भए प्रष्ट्याइदिएर ज्ञानवर्द्धन गराइदिनु नै हुनेछ । किनभने , नागरिकले दलको प्रशंसा वा आलोचना गर्नु लोकतन्त्र हो र यसो गर्दा कहीँ आग्रही देखिनु अरू कुनै आग्रहीको नजरमा जायज नै हो !

व्यक्ति आफ्ना विचारसहित बाँच्न पाउने र जीवन रक्षाको अधिकार , नागरिक स्वतन्त्रताका आधारभुत अधिकारहरूको उपभोग गर्दै विचारको अभिव्यक्तिमाथि हिंसा र अत्यचारको जोरजुलुम नभएमा मात्र लोकतन्त्रको आधारशर्त मजबूत हुने हो । यी र यस्तै कुरामा माओवादीका कुराहरूमा असहमति जनाएर आलोचना गरिने हो । राम्रो नै भइरहेको भए मैले पनि थाहा पाएको हुन्थेँ होला र मैले कसैको प्रशंसामा कञ्जूस्याइँ गर्न पर्ने कुनै कारण छैन । कुने पार्टीको चवन्नी वा फुल टाइम कार्यकर्ता नरहेका हामीलाई देश र देशवासीको भलो हुने काम गरिरहेको व्यक्ति, समूह वा दललाई प्रशंसा गर्न पाए हुन्थ्यो भन्ने आतुरताको भावना मेरो मनमा पनि उद्विग्नतासाथ बसेको छ । तर , त्यो प्रशंसा गर्न लायकको कुरो वा विषय त फेला पार्नु पर्यो नि ! केही छन् भने बताइदिनुस् है । तर आ-आफ्ना विचार प्रकट गर्न हरेक व्यक्तिले अनुपम 'एकलव्यता' प्रकृति वा ईश्वर प्रदत्त पाएको हुन्छ । त्यसैले हामी सबै अस्तित्वका 'एकलव्य' नै हौँ , आँखा बडाबडा नै हुने 'नेत्रप्रसाद' हुनुपर्छ भन्ने छैन !

नेपालियन said...

लेख लेख्दा प्राय एउटा लाइन समातेर लेखिन्छ। लेख या किताब जे सुकै होस शुरु देखी अन्त सम्म त्यही कथाकै वरीपरी घुमिरहेको हुन्छ। यदी त्यो कथा गलत छैन भने एकै समुहालाइ मात्रै ब्याख्या गेरर लेखेको छ भने त्यसलाइ पूर्बाग्रही भनिहाल्नु मिल्दैन।

सिंहदरबारबाट होइन कै सडकैबाट सरकार चलाउन खोजेको त माओबादीको अहिलेको प्रबितीले प्रष्ट पार्छ। माओबादी जे सुकै गरोस त्यो उसको रोजाइ हो तर नियम बिपरित काम कार्य गर्छ भने म त भन्छु त्यसको बिरोध गर्ने होइन के त्यसलाइ त अदालत अगाडी उभ्भाउनु पर्छ। यसमा यो र उ भन्ने कुरो हुंदैन, जोसुकै ले नियम कानुन मिचेर लफडा गर्छ त्यो अदालतको नजरमा पर्नु पर्छ। नत्र भने त एउटाले नियम मिच्छ अर्को झन के कम, तेस्रो अझ बढी अनि देश उत्तर बिहार बन्छ।

प्रसंगमै आएको ले भनि हालौं, संबिधान सभाको केही समय अघी म गाउं पूगेको थिएं। त्यांहा माओबादीहरु हतहतियार लिएर मात्र सभा गरेनन, अन्य पार्टीलाइ त्यांहा सभा नगर्न उर्दी जारी गर्दैथिए। चुनाब ताका त भइएन त्यांहा तर यो चुनाब बन्दुकको प्रराभ रहेन भनेर भन्न भने सक्दिन।

Anonymous said...

पुष्पजी एक्लो हुनुहुन्न । विचार र व्यवहार आततायी खालको अनि 'मै खाऊँ .. अभय शठदेखि .. हाँस्यो मरी मरी'चिन्तन पक्षधर हिंस्रक झूण्डका पछि लाग्नेलाई सभ्यहरूले बाटो देखाउनु एक्लो बनाउनु हैन बरू दिक्षित गर्नु हो। 'तमसोमा ज्योतिर्गमय '।

-सम्यक

पुष्प said...

राक्षसी र भ्रष्ट प्रवृत्तिलाई निमिट्यान्न पार्न काली, नरसिंह जस्ता कुरुपहरू अवतार र कृष्ण र रामजस्ता छलकारीहरूको जन्म हुने गरेको छ र हुन्छ । सभ्य भनाउँदाहरूको केही ल्याकत हुँदैन यस्तो काममा । उनीहरू केवल सभ्यता खोल ओढेर गोरुमुते न्यानोमै रमाउँछन् ।

mohan k poudyal said...

एकलब्य जि तपाइेको लेख मन पर्‍यो। वास्तवमा मअोबदी लाई यती सभ्य तरिकले आलोचना गर्न योग्य नै कहाँ छन र? यिनीहरु कम्युनिष्ट हौ भन्छन तर हित्लर, मुसोलिनी दादायिदिआमीन ,मर्कोस जस्ता अन्तरराष्ट्रिय तानाशाहको भन्दा खुनी व्यबहार गर्छन्। यिनिहरु त दन्तेकथाका राक्षस नै हुन । यिनी हरुको ब्यावहाँर सभ्य समाजको लागि र मानब जतिकै लागि कलन्क हो।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !