August 29, 2009

ल जा, …अर्कोपाली चुनावमा तँलाई भोट नै दिन्न् !

साहस छ भने तिमी यो दुनियाँ हल्लाएर हेर ,
हैन भने एक बोतल रित्याएर, दुनीयाँ हल्लीएको हेर ।

केही दिन देखी देशमा घटिरहेका घटनाहरु र झन् झन जीर्ण हुँदै गएको कानून व्यबस्था देखेर अचानक मनमा यो दुई लाईन जन्म्यो ।

कुरा सुरु गर्नलाई भन्दा पनि कहाँबाट र कतीवटा समस्याबाट सुरु गर्ने भन्ने बिषय अब प्रमुख भएको छ । दिनदिनै हुने गरेका झडप‍-बन्द, तोडफोड अनि नयाँ, नयाँ आन्दोलन र ‘जागरण’को समाचार बिद्युतिय माध्यमबाट आउनेक्रम पछिल्लो समयमा झनै बढेको महशुस हुन थालेको छ मलाई ।

देशको संबिधान वा कानूनले जतीसुकै सार्वभौम सम्पन वा अधिकार सम्पन भने पनि, एकचोटी कुनै झण्डा, चुनाव चिन्ह वा कुनै आश्वासन देखाउने नेतालाई भोट हालेपछी ४ बर्ष (कहिलेकाही त्यो भन्दा बढी पनि) को लागि कर्तव्यमुक्त हुने र केही गर्न नै चाहे वा खोजे पनि सामान्य हालतमा गर्न नसक्ने व्यक्ति नै अहिलेको अबस्थामा नेपाली नागरिकक हो ।

एकजना नागरिक, जो आफ्नै देशमा आफ्नै खर्चमा एक ठाउँबाट अर्को ठाउँमा जान चाहेको बेलमा जान सक्दैन, आफूले चाहेको पेशा वा व्यापार गरेर खान पाउँदैन र चौतर्फि हींसा र शोषणबाट पिडीत भएर “भोली त केही होला नि वा यस्तो अबस्था कत्ति दिन चल्ला र? ” भनेर बस्न बाध्य छ त्यो कसरी अधिकार सम्पन्न हुनसक्छ? । पटक-पटक सरकार र व्यबस्था नै परिवर्तन हुँदा पनि आफ्नो पौरख र पेशा गरी खान नपाउने जनता कसरी सर्बभौम सम्पन्न हुन सक्छन ?।

प्रश्नै मात्र गर्न थाले यहाँ यस्ता प्रश्नको अनगिन्ती सूची बन्नेछन, तर जबाफ छैन। साँच्चै चार पर्षमा एक पटक भोट हालेर अनि बिश्राम पाएका जनताले चारबर्षको बीचमा आफ्नो अधिकरा खोज्न कहाँ जाने त ? ।

उ बोल्न सक्छ, लेख्‍न सक्छ, २-४ जनालाई आफ्नो समस्या र सरोकारको बिषयमा जानकारी दिन, अनुनय बिनय गर्न सक्छ । तर हाम्रो देशमा साधारण नागरिकको पहुँच त्यो भन्दा बढी कहिल्यै थिएन र छैन पनि । आफ्नो ईच्छा, आकांक्षा पुरा नभएकोमा मात्रै हैन आफ्नो सामान्य नागरिक अधिकार र पेशा गरी खान पाउने अख्तियारी समेत खोसीएपछि सायद एकजना साधारण नागरिकले गर्न सक्ने भनेको के हो त?। कि त पहिला नै अराजक भैसकेको देशलाई अझ अराजक बनाउन तोड-फोड र बन्द- विरोधमा सामेल हुनु, कि त ‘भोलि त केही होला नि…’ भनेर पून अनन्त पर्खाईमा बस्नु ।

म सानै हुँदा मेरो घर नजिक एउटा अलिक सुस्त मस्तिष्कको व्यक्ति बस्थ्यो, एक पटक कुनै कामकोलागि वडा कार्यालयमा गएको बेला उसको काम हुन नसकेपछि उसले वडा अध्यक्षलाई भनेको थीयो “....ल जा, अर्कोपाली चुनावमा तँलाई भोट नै दिन्न् !”

मैले देखेको पनि सामान्य हालतमा हामी सबैको अधिकार र सार्वभौम त्यत्तीमै सिमीत छ ।

नेतृत्व तह वा उपल्लो तप्काबाटै शुद्धिकरण वा सुधार नथालीने हो भने हामीकहाँ झन् झन् नयाँ नयाँ आन्दोलन र नयाँ नयाँ समस्या मात्रै थपिने छन । अनि हाम्रो हालत पनि दुनियाँ हल्लाउने हैन २-४ पेग तन्काएर दुनियाँ हल्लेको हेर्ने बाहेक केहि हुने छैन । अन्तमा हामी पनि सायद आफ्नो परम उच्च नागरिक अधिकारको प्रयोग यसरी नै गर्ने छौं “....ल जा, अर्कोपाली चुनावमा तँलाई भोट नै दिन्न् !” ।

के हामी सार्वभौम हुनुको अर्थ यत्ति नै हो त ?



दिब्य ज्योती

वक्तृता बनि दिब्य ज्योती सबैमा छरे
मातृत्व अनुनय टेवा ब्यग्रताले धरे

सहिष्नुता प्राचुर्य थियो विद्यमानमा
जिवनको दृढ संङ्कल्प बनेछ खहरे

अविचाल को उत्साह कसैमा नहुदा
चैतन्य रहित सबै बुद्दि भ्रष्टमा झरे

आत्मघाती अभिप्राय जिबनको प्रत्ययमा
उत्ताउलो स्वैच्छाचारी रिपु सँग डरे

तृप्त गर्ने आशा नै लछ्य हिन हुदा
आफ्नो जिवनको अन्त्येष्टि आफैले गरे

अन्जान बिबश
एक्लो लापत्ता
दाङ् तुल्सिपुर


संसारका सबैभन्दा विद्वान ट्याक्सी चालक र रमाईला ब्लगर !

केही दिन अगाडि सिंगापुरको मुख्य दैनिक खबर पत्रिका द स्ट्रेट टाइम्समा , डाक्टर चाइ मिङ जी का बारेमा यस्तो खबर प्रकाशित भयो ।

COULD this be Singapore's most well qualified taxi driver?

डाक्टर चाइले यहाँको एसएमारटी ( सिंगापुर मास र‍्‍यापिड ट्रान्जिट) भन्ने कम्पनिको एउटा ट्याक्सी ६ महिने कण्ट्रायक्टमा चलाउँदै छन् । उनी बिगत सोह्र वर्ष जति सिंगापुरको Institute of Molecular and Cell Biology(IMCB) भन्ने संस्थामा Science, Technology and Research (A*Star) अनुसन्धाता विज्ञको रूपमा काम गर्थे । तर, उनको पछिल्लो करार सेवा अवधि पछि उनलाई आफ्नो पेशामा पुनर्नियुक्ति दिइएन र उनले जागिरबाट हात धुनु पर्‍यो । फलत; अहिले उनले यो काम गरिरहेछन् जसका कारण यो सनसनीपूर्ण समाचार बन्न पुगेको छ ।

चीनमा जन्मेर पछि सिंगापुरको नागरिक बनेका डाक्टर चाइले अमेरिकाको अति प्रतिष्टित Stanford University बाट १९९० मा molecular biology मा PhD गरेपछि अमेरिका कै University of Washington बाट Professor Lee Hartwell ( जसले फिजियलोजीको २००१ सालमा प्रदान गरिएको नोबेल पुरस्कार समेत जितेका थिए ) को टिममा रहेर उनकै मातहतमा postdoctoral fellowship गरेका थिए ।

ट्याक्सी चलाएर बचेको समयमा डाक्टर चाइले ब्लगिङ पनि गर्ने गरेका छन् । उनको ब्लग हो :


उनको ब्लगको शैलि अति सरल र मीठो छ । पढेर हेरौँ त ।

यत्रो वैज्ञानिक यसरी ट्याक्सी चालक बनेको समाचार पढिरहँदा तपाईँलाई कस्तो लाग्यो ?




August 27, 2009

नेपाल एकदिन फर्कन्छु

बिदेशिनु कतै आकांक्षा त कतै बाध्यतामा समेटीने गर्छ। बिदेशिने पनि कता? कती बिदेशिनेहरु त आफन्त र आफ्नो देशको लागी सधैको लागी पराय बन्न पुग्छन। ठाउं,ब्यक्ती,समस्या,अबस्था आदी आदी कारण धेरै हुनसक्छन, बिदेशिनुको पिडा भने एउटै हुन्छ बिर्खेमाइलाको जस्तै।

बिदेशिनुको यथार्थ, संघर्षको उतार-चढाव र सल्बलाउँदा मनका तर्कनाहरुले कहिलेकाहिँ तितो यथार्थ पोख्न बाध्य बनाइदिँदो रहेछ। कुरा २००६ तिरको हो, अमेरिका बसाईँका केहि वर्ष बित्दै जाँदा एकजना भारतियले लेखेको एक लेखमा मेरो आँखा परेको थियो। त्यस लेखमा लेखकले आफूले अमेरिकामा बिताएका चार दशक, र ती चार दशक उनले पल् पल् घर फर्कने प्रयत्नमा बिताएको कुरा उल्लेख गरेका थिए। अन्त्यमा उनि घर फर्कन्छन् तर उनले चाहेको घर र देश उनले भेट्दैनन्। बिदेशिनुपूर्वको देश र घरको एउटा तस्विर मनमा गाडिएको हुने रहेछ, र बिदेशिएकाहरुको लागि समय थामिँदो रहेछ। कयौँ वर्षपछि फर्कँदा पनि आफूले छोडेको समय, परिवेष र नाप-नक्शा जहिँको तहिँ होला भन्ने लाग्दोरहेछ तर समयसंगै प्रत्येककुरा परीवर्तन हुने रहेछ। त्यस लेखमा लेखकले यस्तै कुरा गरेका थिए।

उनकै कुराले घच्घच्याउँदा र आफूले आफ्नो स्थिती नियाल्दा यो कविता बनेको हो। कविता धेरैलाई चित्त बुझेछ र म जस्तै बिदेशिने साथिहरुले आ-आफ्नो देशको नाम राख्दै कविता बाँडेको देखेर धेरै नै खुसि लागेको छ। मेरा छरिएका कविताहरु र अरु लेखहरुलाई यो ब्लगमा एकै ठाउँमा राख्ने प्रयत्नमा यहि कविता--

नेपाल एकदिन फर्कन्छु (?!)

नेपाल एकदिन फर्कन्छु,
अमेरिकामा रमाउन सकिन्न!
संकल्प धेरै पटक मनमा आए।
तर, पढाइ त पुरा होस!
कलेज – डेरा, डेरा - कलेज
पढाई पनि सकियो।
यतिका बर्ष बिताईयो,
खालि हात के जानु!

नेपाल एकदिन फर्कन्छु,
अमेरिकामा रमाउन सकिन्न!
तर केहि बर्ष जागिर त खाउँ!
जागिर पनि खाइयो।
डेरा – जागिर, जागिर – डेरा
एक्लो भइएछ दुबैमा!
तर, म एक्लो भएको कुरा
मलाई भन्दा पहिला
नेपालमा आमालाई थाहा भयो!

नेपाल एकदिन साँच्चै फर्कन्छु,
अमेरिकामा रमाउन सकिन्न!
अहिले बिस दिने बिदामा आएको।
तपाईँको कपाल कति धेरै फुलेछन् आमा!
बुबा पनि कमजोर हुनुभएछ!
आमा बुबालाई मनभरि हेर्न नभ्याउँदै,
बिस दिनमा जीवन बिताउने
सम्झौता गरियो कुनै अपरिचित संग!

नेपाल एकदिन फर्कन्छु!
अमेरिकामा रमाउन सकिन्न!
तर अहिले अलिक मिल्दैन।
उसको भ्याई नभ्याई छ
मेरो बिदा उसको काम,
उसको बिदा मेरो काम!
फेरि छोरो पनि सानै छ!
छोरो अलिक ठुलो त होस!

नेपाल एकदिन फर्कन्थेँ
अमेरिकामा कहिल्यै रमाइन
तर कसलाई भेट्न जाउँ?
साथि भाईको खबर छैन
काका पनि ओछ्यान परे रे
कान्छो मामा पोहोर बिते रे!
आमा, बुबा त अब
हरदम म संगै छन्
मेरो यादमा, केवल यादमा!!
( बिर्खेमाइला)
केही पहिला दौंतरीमा प्रकाशीत बिर्खेकै जस्तो अकरमानसको काहानी "आफ्नै कुरा - बसाइ सराईं" पनि उत्तिकै मार्मिक छ ।


August 26, 2009

गाउँखाने कथा - २७ (Nepali Gau Khane Katha)

अपडेट: गाउँखाने कथा - २७ को सहि उत्तर हो ओदान। उत्तर मिलाउने सुजन जी लगाय सबैलालाइ बधाइ।
अब गाउं माग्ने पालो पनि सुजनजी को।
------------------------------------------
सधै जसो सप्ताहअन्तमा नेपाली लोकचलनमा चर्चित गाउँखाने कथा लिएर हाजिर भएको छु।

इल्सिङ मिल्सिङ, काली गाईका तीन सिगं, के हो?

यो गाउंखाने कथाको उत्तर पत्ता लगाएर गाउ माग्नुहोला। उत्तर जान्न गार्हो परे अनुमान लगाएर भए पनि रमाइलो लिनुहोला। नेपाली मौलकिपन झल्काउने अन्य रमाइला सामाग्री भए प्रश्तुत गर्नुहोला।


August 25, 2009

बन्धुहरु लाज लाग्यो !

आज नागरिक न्युजमा छापिएको एउटा बिचित्रको समाचार देखेर अचम्म लाग्यो । अचम्म यस अर्थमा कि नेपाललाई “समृध्द” बनाउन एअरपोर्टमा १-२ सय ट्रली र देवघाटमा वृध्दाश्रम बनाएर नेपाललाई सहयोग गर्ने नेपालबाट बिदेशिएका Non Returning Nepali (एन आर एन) हरुले आफ्नो सम्मेलन गर्न नेपाल सरकारसंग चन्दा मागेको भनेर समाचार लेखिएको थियो र त्यति मात्र हैन त्यस संस्थाले त्यस्तै सम्मेलनको लागि भनेर नेपालीहरुले तिरेको करबाट पहिले पनि रु ४५ लाख सम्मेलनका लागि मात्र लिइसकेको रहेछ ।

समाचारको अंश:
“अर्बौ लगानी भित्राउँछौँ भनेर दोहोरो नागरिकतालगायत सुविधा खोज्दै आएका गैरआवासीय नेपालीको संगठन (एनआरएन) आफ्नो महाधिवेशन गर्नसमेत नेपाल सरकारसँग आर्थिक रूपमा निर्भर रहने गरेको छ। आगामी असोज २७ देखि २९ सम्म काठमाडौंमा हुने चौथो अन्र्तराष्ट्रिय महाधिवेशनका लागि एनआरएनले सरकारसँग २५ लाख रूपैयाँ उपलब्ध गराउन माग गरेको छ। यसअघि २००३, २००५ र २००७ मा तीनैवटा अन्तर्राष्ट्रिय सम्मेलन र महाधिवेशन गर्दा सरकारसँग क्रमशः १०, १५ र २० लाख रूपैयाँ लिएको थियो। एनआरएनले प्रत्येक दुई-दुई वर्षमा गैरआवासीय नेपालीको अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्दै आएको छ।“

आफ्नो भलाईको लागि विदेशिने अनि उतैको नागरिकता लिने र कुनै पहिचान नभएपछि इज्जतको भोक मेटाउन नेपाल र नेपालीकै भर्याङ रोज्ने अनि पैसाको लागि पनि विश्वकै एउटा दरिद्र मुलुकको भर पर्नु पर्ने ? नेपालीमूलका नेपालीलाई नेपालको माया छ भने जहिले पनि जहां पनि जसरी पनि आफ्नो देशको लागि सहयोग गर्न सक्छन । टाइ र कोट लगाएर „आप्रवासीहरुको“ भेला गर्दैमा देशको काचुली फेरिने भए नेपाल मात्र हैन अमेरिका, बेलायत र जापानीहरुले पनि गैर आवासियहरुको संस्था खोल्थे होलान ।

धेरैलाई चेतना भएकै कुरो हो एन आर एन चलाउने एउटा बलियो हिस्सा नेपालको खुकुलो कानुन र देशका स्रोतहरुमाथि आफ्नो पकड जमाउन चाहन्छ । त्यसरी नेपाल बन्दैन “आप्रवासी बन्धुहरु” ! बरु सक्नुहुन्छ भने आ-आफ्नो स्तरबाट सा सानो सहयोग आफ्नो गाउं ठाउंलाई दिए हुन्छ । देशमा शान्ति र स्थायित्व हुन्छ भने “कोडाक” मात्रै हैन „बिलगेट्स“ पनि लगानी गर्न नेपाल आउन सक्छन । नत्र नोक्सानको लागि एन आर एनका नाइकेहरु पनि नेपालमा लगानी गर्न जादैनन । विदेशमा समेत यस्ता कार्यक्रमहरुलाई सरकारले पैसा दिन्छ भनेर एकजना बुज्रुकले भन्नु भएछ । कहि पनि शुध्द बिचार लिएर समाज सेवा गर्न तम्सेका व्यक्तिहरुले चिया देखि गाडि भाडासम्मको पैसा आंफै ब्यहोर्छन ।

६०० जना सहभागीलाई १ करोड चाहिन्छ रे ! ए बाबा , ३०० रु प्रति व्यक्ति भन्दा सस्तोमा लन्च सहित पांच तारे होटलहरुले हल उपलब्ध गराउंछन भने वर्षौंमा एक पटक नेपाल जानेहरुले ४ दिनको लागि १००० रु खर्च गर्न सक्दैनन ? दशैंको मौका पारेर फ्रिमा देश दर्शन गर्ने र एउटा गरिब देशको सरकारको पैसामा “छुट्टी मनाउने” आप्रवासीहरुको देशप्रतिको माया बुझिनसक्नुको छैन र !

यहि नेर एउटा प्रसंग निकालीहालौं सन २००७ को यस्तै सम्मेलनमा रुसबाट सयौंको संख्यामा नेपालिहरु वा नेपालीमूलकाहरुले निशुल्क नेपाल दर्शन गर्न पाएका थिए , आखिरमा अहिले थाहा भो पैसा राष्ट्रकै ढुकुटीबाट जांदोरैछ ।

धन्य छ बन्धुहरु तपाईहरुको नेपाल प्रेम !

समाचार लिंक :
http://www.nagariknews.com/news-highlights/139-highlights/4321-2009-08-25-02-52-02.html