August 29, 2009

ल जा, …अर्कोपाली चुनावमा तँलाई भोट नै दिन्न् !

साहस छ भने तिमी यो दुनियाँ हल्लाएर हेर ,
हैन भने एक बोतल रित्याएर, दुनीयाँ हल्लीएको हेर ।

केही दिन देखी देशमा घटिरहेका घटनाहरु र झन् झन जीर्ण हुँदै गएको कानून व्यबस्था देखेर अचानक मनमा यो दुई लाईन जन्म्यो ।

कुरा सुरु गर्नलाई भन्दा पनि कहाँबाट र कतीवटा समस्याबाट सुरु गर्ने भन्ने बिषय अब प्रमुख भएको छ । दिनदिनै हुने गरेका झडप‍-बन्द, तोडफोड अनि नयाँ, नयाँ आन्दोलन र ‘जागरण’को समाचार बिद्युतिय माध्यमबाट आउनेक्रम पछिल्लो समयमा झनै बढेको महशुस हुन थालेको छ मलाई ।

देशको संबिधान वा कानूनले जतीसुकै सार्वभौम सम्पन वा अधिकार सम्पन भने पनि, एकचोटी कुनै झण्डा, चुनाव चिन्ह वा कुनै आश्वासन देखाउने नेतालाई भोट हालेपछी ४ बर्ष (कहिलेकाही त्यो भन्दा बढी पनि) को लागि कर्तव्यमुक्त हुने र केही गर्न नै चाहे वा खोजे पनि सामान्य हालतमा गर्न नसक्ने व्यक्ति नै अहिलेको अबस्थामा नेपाली नागरिकक हो ।

एकजना नागरिक, जो आफ्नै देशमा आफ्नै खर्चमा एक ठाउँबाट अर्को ठाउँमा जान चाहेको बेलमा जान सक्दैन, आफूले चाहेको पेशा वा व्यापार गरेर खान पाउँदैन र चौतर्फि हींसा र शोषणबाट पिडीत भएर “भोली त केही होला नि वा यस्तो अबस्था कत्ति दिन चल्ला र? ” भनेर बस्न बाध्य छ त्यो कसरी अधिकार सम्पन्न हुनसक्छ? । पटक-पटक सरकार र व्यबस्था नै परिवर्तन हुँदा पनि आफ्नो पौरख र पेशा गरी खान नपाउने जनता कसरी सर्बभौम सम्पन्न हुन सक्छन ?।

प्रश्नै मात्र गर्न थाले यहाँ यस्ता प्रश्नको अनगिन्ती सूची बन्नेछन, तर जबाफ छैन। साँच्चै चार पर्षमा एक पटक भोट हालेर अनि बिश्राम पाएका जनताले चारबर्षको बीचमा आफ्नो अधिकरा खोज्न कहाँ जाने त ? ।

उ बोल्न सक्छ, लेख्‍न सक्छ, २-४ जनालाई आफ्नो समस्या र सरोकारको बिषयमा जानकारी दिन, अनुनय बिनय गर्न सक्छ । तर हाम्रो देशमा साधारण नागरिकको पहुँच त्यो भन्दा बढी कहिल्यै थिएन र छैन पनि । आफ्नो ईच्छा, आकांक्षा पुरा नभएकोमा मात्रै हैन आफ्नो सामान्य नागरिक अधिकार र पेशा गरी खान पाउने अख्तियारी समेत खोसीएपछि सायद एकजना साधारण नागरिकले गर्न सक्ने भनेको के हो त?। कि त पहिला नै अराजक भैसकेको देशलाई अझ अराजक बनाउन तोड-फोड र बन्द- विरोधमा सामेल हुनु, कि त ‘भोलि त केही होला नि…’ भनेर पून अनन्त पर्खाईमा बस्नु ।

म सानै हुँदा मेरो घर नजिक एउटा अलिक सुस्त मस्तिष्कको व्यक्ति बस्थ्यो, एक पटक कुनै कामकोलागि वडा कार्यालयमा गएको बेला उसको काम हुन नसकेपछि उसले वडा अध्यक्षलाई भनेको थीयो “....ल जा, अर्कोपाली चुनावमा तँलाई भोट नै दिन्न् !”

मैले देखेको पनि सामान्य हालतमा हामी सबैको अधिकार र सार्वभौम त्यत्तीमै सिमीत छ ।

नेतृत्व तह वा उपल्लो तप्काबाटै शुद्धिकरण वा सुधार नथालीने हो भने हामीकहाँ झन् झन् नयाँ नयाँ आन्दोलन र नयाँ नयाँ समस्या मात्रै थपिने छन । अनि हाम्रो हालत पनि दुनियाँ हल्लाउने हैन २-४ पेग तन्काएर दुनियाँ हल्लेको हेर्ने बाहेक केहि हुने छैन । अन्तमा हामी पनि सायद आफ्नो परम उच्च नागरिक अधिकारको प्रयोग यसरी नै गर्ने छौं “....ल जा, अर्कोपाली चुनावमा तँलाई भोट नै दिन्न् !” ।

के हामी सार्वभौम हुनुको अर्थ यत्ति नै हो त ?



7 Comments:

एकलव्य ( Eklavya) said...

कता हो यस्तो पढेको थिएँ 'If you can't change things, better you get changed'। अहिलेको नेपालमा राजनीतिको आवरणमा अपराध संस्थागत रूपमा संरक्षित छ । अहिले छिटपुट र खुद्रा अपराधको बजार मन्द छ । अपराधलाई समूहीकृत गरेर लैजानेले अलिकति राजनीति , जाति र भाषाको मरमसला मिसाएर, क्रान्ति वा आक्रोशको परिकार बनाएर बजारमा उतार्न सक्यो भने उसको व्यवसाय मालामाल हुन्छ । अनि जे बिक्छ त्यही कुराको व्यापार गरेर सफल हुने ध्याउन्नमा बाठाहरू लाग्ने नै भए । हतियार र हिंसा नै सबै कुरा मनाउने बलियो अस्त्र हो भन्ने कुरा साबित भैसकेको नेपालमा , हाम्रो खुद्रा आलोचनाको शुष्क श्वरको पनि केही माने र अर्थ छैन ।

अराजक र असफल राज्य बन्ने बाटोको यात्रामा हाम्रो ओरालो लगाइको कुनै तुलना छैन । २१ औँ शताव्दिको सम्पन्न संसारमा , १७ औँ शताव्दिका सोच व्यवहार बोकेर चलेको हाम्रो दूर्गति केवल मनोवाद बनेको छ ।

दिनेश राज said...

सरकार र व्यबस्था नै परिवर्तन हुँदा पनि आफ्नो पौरख र पेशा गरी खान नपाउने जनता कसरी सर्बभौम सम्पन्न हुन सक्छन ?।
हाम्रो बाध्यता ,न परिवर्तन गर्न न गराउन सकिन्छ । हामी ४७ साल देखी पनि यहि आशामा झुन्डिएका छौ । तर आज सम्मा केहि भएन र शायद अझै लामो समय । त्यसैले म चाहि तपाइ सँगै भन्छु ।
“....ल जा, अर्कोपाली चुनावमा तँलाई भोट नै दिन्न् !” ।

प्रबिण थापा said...

जबसम्म दण्डहिनताले प्रसय पाइरहन्छ,कानुनी राज्यको उपहास हरेक स्तरबाट भैरहन्छ, बेरोजगारिको समस्या याथस्थितिमा रहिरन्छ, राज्यले राज्य भएको आभाष जनतालाइ दिन सक्दैन तबसम्म यो चरम अस्थिरताको अन्योल नेपालि धर्तिबाट बिदा हुने छैन। देश र जनता भन्दा आफु ठुलो भएको घमण्ड राजनितिक पार्टिहरुले ब्याबहारमै नत्यागेसम्म, कुरामा मात्रै सहमतिको राजनिति गर्ने प्रबृतिको अन्त्य नभएसम्म राष्ट्र र जनता झनझन दलदल भित्र फस्दै जाने निश्चित छ।केहि गर्छु भन्नेलाइ गर्ने बातबरण छैन, केहि गर्न नसक्नेलाइ उचित बाटो देखाउनु भन्दा तिनिहरुबाट समाजमा अलिकति टाठाबाठा भै टोपलेका व्यक्तिहरुले समाजमा उदण्ड मच्याउने मनसायले जातिय, धार्मिक यस्तै यस्तै आपराधिक समुहमा हुलेर आफ्नो स्वार्थ पुरा गरिरहेका छन्। सोझा साझा जनता उहि तपाइले भनेजस्तै अर्कोपालिको चुनाबमा तलाइ भोट दिन्न भन्न भन्दा केहि गर्नै नसक्ने अबस्था छ।
खोइ दुर नेपलि क्षितिजमा अझैसम्म पनि नदेखिएको तपाइ हाम्रो सपनाले भने कहिले मुर्त रुप लिने हो?

हावा De Wind said...

सुरुको दुई पन्क्ती ज्यादै रमाइलो छ

बाँकी कुराहरु त उही पढेलेखेको मान्छेले गर्ने अरन्य रोदन न हो

हो जब तपाईं नियम भित्र रहेर आफ्नो सार्बभौमिकता अभ्यास गर्न पाउनु हुन्न जतिसुकै सान्तिको कामना गरे पनि अस्थिरता र युद्ध अनिवार्य छ

नेपालियन said...

नया नेपाल भनेर निकै बिज्ञापन गरियो। राम्रो नेपालको आशा मैले कत्ती पनि गरेको थिइन। ४६ साल पछि सत्ता समाल्ने कांग्रेस र एमाले हरुले माखो मार्न नसकेपछी राजालाइ दोष दिंदै माओबादीसंग भारतमा सम्झौता गर्न पूगे। यी २ पार्टीले नया नेपालमा केही चम्तकार गर्ने कुरै भएन। तिनीहरुसंग लाज नभएर मात्र हो, होइन भने ४७ सालमा संबिधान बनाउंदा के केरा हेरेर बसेका थिए? ४७ सालको संबिधान बनाउने कांग्रेसी र एमालेहरु अझै जिउंदैछन,अब यस्ताका कुरा गरेर साध्य नै छैन।
बांकी रह्यो माओबादी। को भन्न सक्छ माओबादी आंतंककारी होइनन भनेर? के सत्तामा आउंदैमा या शहर छिर्दैमा मान्छे चोखो हुन्छ? कतिले भोग्नुभएको होला माओबादीले के गरे भनेर? मैले माओबादी छापामार भेटेको छु,उनीहरुको ब्यबहार,बोलीचाली आदी हेर्दा संसारका कुनै आतंककारी संगठन भन्दा केही फरक पाइन। कुनै दोष बिना मान्छे मर्नुपर्ने,त्यतीकैमा सम्पती जलाइने,पूल आदी बिकासका संरचना भत्काइने, यस्तो सनकको भरमा काम गर्ने पनि कुनै पार्टीहुन सक्छ? उनीहरुको सनकीपन र दु:ख दिन प्रबिर्ती आज सम्म अन्त्य भएको छ? जनतालाइ तर्साउने आतंकित तुल्याउने आतंककारी नभएर कसरी पार्टी बन्न सक्छ?
सबै पार्टीहरु सत्ताको कुर्चीलाइ ताक्दै तल र माथी गरेको देख्दा म त छक्क पर्छु यो देशमा जनताको सांच्चीकै मर्का बुझ्ने नेता कहिले जन्मेला भनेर? नया पार्टी आउंदैमा या नया संबिधान लेखिदैमा देश बन्दैन। देश बनाउन जनतालाइ के चाहिन्छ त्यो कुरा बुझ्नु जरुरी छ। जनताको काम उही बुथमा गएर भोट खसाल्ने हो। तर जनताको जिम्मेबारी बन्दा गराउने,हुलमाल गराउने,जाती अलप लगाएर द्बन्द गराउनेलाइ असयोग गर्ने पनि हो।

हिमाल _ पारी said...

मुख्य कुरा, चाहे नयाँ नेपालको नाम मा होस् , चाहे प्रजातन्त्र को नाम मा होस्, चाहे पञ्चायत को नाम मा होस् , नेपाल मा सधैं राजनीतिक क्रान्ति वा परिवर्तन मात्र भयो, आर्थीक र सैक्षिक क्रान्ति कहिले पनि भएन । जब बहुसन्ख्यक जनता हरु शिक्षा र आर्थीक उन्नती तिर लाग्छन, मानिस् हरु मेहेनती हुन थाल्छन- स्रम को मुल्य हुन्छ, स्रम गर्ने को सम्मान हुन्छ, घुस्खोरी र भ्रस्टाचारी हर तिरस्कृत हुन्छन्, र कसै को भाषान सुन्ने र टायर जलौने फुर्सद हुँदैन । आफ्नो बाटो घाटो, पुल पुलेसा आँफै बनाउने, कल कारखाना आँफै चलाऊन थाले पछी जनता आर्थीक रुप मा सम्बृध्ह हुन्छन, पर निर्वर्ता घटछ ।
जनता आर्थीक रुप मा सम्पन्न हुन थाले पछी देश सम्बृध्ह हुन्छ, जनता सिक्षित भए पछी तिनै जनता बाट चुनिएर आउने नेता हरु आँफै सिक्षित र बिबेकी हुन्छन ।
मुख्य कुरा नेपाली हरु को फुर्सदिलो जीवन सैली नै नेपाल नवनिनु को कारण हो । नत्र किन नेपाली हरु नेपाल मा कम मेहेनत गर्ने र बिदेश गए पछि बढी मेहेनती हुन्छन त ? नेपाल को सामाजिक परिस्थिती नै एस्तो छ के गर्ने ?

नेपाल मा राजनीतिक्, भाषिक, जातिय झै झगडा हरु सबै मिल्दै जान्छन्, जब सबै जनता हरु र राजनीतिक पार्टी हरु मिलेर at least 10 years आर्थीक र सैक्षिक उन्नती (क्रान्ति)तिर लाग्छन ।

Zero Hour (शुन्य समय) said...

ठरकिजि, भुपि शेरचन निस्के जस्तो छ है तपाइको कलमबाट ।

भोट दिन पनि चुनाव त हुनु पर्यो नि , हाम्रो चुनाव कि वर्षै पिच्छे हुन्छ कि त १० वर्ष लाग्छ । त्यो जड्याहाले वडाध्यक्षको चुनाव देख्न नपाको पक्कै पनि ८-९ वर्ष हुन लाग्यो होला ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !