January 29, 2009

चउर र खरबारीका सम्झनाहरु


आज अचानक साउनको बिहानपख बर्खे झरी बस्ने बितिक्कै आंसी र नाम्लो लिएर निस्केको याद आयो। म झल्यास्स भए यता उता त्यस्तो न कुनै खरबारी थियो न कपर्दी खेल्न चउर नै थियो। नत रुखको स्पर्श बोकेको चिसो बतासले नै चुमेको थियो मलाइ। पोहोर साल ब्लगीगंको दुनियामा हाम फालेको www.dautari.org को बकास गर्ने क्रममा म अन्य बेव साइट बिचरण गर्दै जांदा www.pokharacity.com पुगे। त्यसैले नै आज अमेरीकाको ब्यस्त जिबनबाट मेरो गाउं आर्वा पुर्‍यायो ।

त्यो वेब साइटमा देखीने हिमाल र अजिब तरिकाले छरिएको पोखरा सहर गाइपानीमा घांस काट्दा हजारौं पटक देखें होला तर आज जस्तो ति हिमालले किहिल्यै मोहित तुल्याएनन। कौशौं टाढा भएर हो या अब त छुटियो भनेर हो माछापुछ्रेकको माया झन लागेर आयो। गाउंमा झ्याम्मीएका अरू ठाउंको सम्झना गर्न खोजें; चिते पानी पधेरो,कुकुर लोटे भिर, खै के चउर, केटाकेटीमा आफै लडिबुडी खेलेको चउरको नामै भुलेछु। साच्चै रहरै रहरमा बिदेशीएको म,परदेशी नै भइसकेको छु। पोखरा सिटीमा मैले यात्रा गरेक तागंतिगको फोटो थियो, तागतिंग पारीको सिक्लेसको याद आयो। अहा कती मिठा स्याउ पाइन्छ त्याहां। रुपिया गोटा स्याउ वासिंगटन एप्पल भन्दा पनि स्वादीला थिए। आइडाहो पोटेटो तांगतिंगे आलु जस्तो कांहा पो हुनू? अहिले त गाउंमा कुफुरजोते आलुले तांगतिंगे आलुको बिउ पनि मास्यो होला। मादीको त्यो चिसो पानी,एक पटक अन्नपूर्ण कै फेदीको हुंदा गोठमा पौडिन पुगेको थिए। सारै चिसो थियो त्यो पानि तर मिसीसिपी नदीको जस्तो चिसो र रुखो थिएन।

अहा कस्तो राम्रो गुरासको फूल, बेवसाइटमा राम नाम गरेका लेखकले आफ्नो भाचोक यात्राको बर्णनमा गुरासको फुल राखेका रहेछन । लेख पढेर आफुलाइ भावनैमा भाचोक लानो खोजे। मादी तरेर राम भाचोक उकालो लागेछन। मैले भुलें कि उनले गलत भने? भाचोक त लाचोक पारी हो, लाचोक र भाचोको बिचमा त सेती नदी पर्छ। उनी त थुम्सीकोट सम्म बस चढी भाचोक हानिएछन। अर्को भाचोक परेछ क्यार,यांग्जाकोट तिर पनि भाचोक छ भन्ने सुनेको थिइन।

तर मादीको अशला त मैले पनि चाखेको छु, अमेरिकाको वालाइले के भेट्टाउनु!। कांहा मादीको चिसो भेलले खारिएका असला, काहां जमेको तालका वालाइ?। सम्झना त अशलाकको मात्र के हुनु, फेवाताल त कसरी भुल्न सकिन्छ? छन त घान्द्रुक, धम्पुस, काहुं, सरागंकोटको पनि सम्झना छ। सम्झना त ठुलाकोट, नयां गाउं, बर थुम, क्रिस्तीको पनि छ। मनमा के के छन अक्षरले लेखेर के भ्याउनु?

वेबसाइटमा नेपालकै पहिलो जहाज डाफे आफ्नै गाउ अगाडी उडेको फोटो रहेछ। म पनि त्यहां भएकै भए आंडीको डिलबाट डाफे उडेको हेरी रहेको हुन्थे होला। पुल्चोक पढ्दा बिकास भाइसंग भेट भएको थियो। दाइ म पनि मेकालनिल इन्जियरिगं पढ्छू भन्दा आफुले गतिलै बिषय पढियो जस्तो लाग्थ्यो। अहिले त कपाल लामै पालेछन बिकासले। डाफेको फोटो हेरें, ३ पंखे प्रोपेलर, सानो इन्जिन र साइलेन्सर, ट्रसले बनाइएको बनोट, त्यसमा पाइलट बस्ने सिट। साधारण डिजाइन तर सारै उच्च सफलता थियो त्यो। साच्चै उदेश्य त चन्द्रमा छुने नै लिनुपर्ने रहेछ, देबकोटाले ठिकै भनेका रहेछन।

अहिले ७ औं आहा कप फुटबल भइरहेको रहेछ। पोखरा रंगशालाको फोटो थियो त्याहां। त्यही रंगशाला, त्यही चौर, त्यही प्याराफिट। रंग पनी त्यही सेतै रहेछ। त्यही चौरमा एक पटक आंफूले गोल गर्ने खोजेको असफल प्रयासको याद आयो।

यादै त हो, पोखराको धुलोसंग आफु हुर्केको याद आयो। आफु पढेको गण्डकी र बेथानी स्कुलको याद आयो। कति सफल कती असफल चाहना अंगालेको पनि याद आयो अनि प्यारो गाउं आर्वाको चउर र खर्बारीकीको याद आयो।

(कास्कीबाट बिदेशमा रहेनहरु प्रती समर्पीत)



January 28, 2009

शहिदलाइ आग्रह

देश सिंगै जलिराख्दा
किन जल्यौ मलाइ भन्देउ।
देशलाइ छोरो खांचोहुंदा
सपुत किन भयौ भन्देउ।

तिम्रो देशै नहुने भो
अब भेषको कुरै छोड्देउ।
तिम्रो बखान गरे भने
तिम्ले कुरा अन्त्यै मोड्देउ।

तिम्लाइ फुलको माला दिए
माला आफै लाउनु भन्देउ।
तिम्लाइ कोही ढोग्न आए
दौलत आफ्नै ढोग्नु भन्देउ।

काम के हो,नाम के हो
कांहा बस्छौ त्यो नी भन्देउ।
सपनाको तुषारोमा
कती काठ्यौ सबलाइ भन्देउ।

तिम्रो नाम कतै लिए
आफ्नै नाम लिनु भन्देउ।
तिम्लाइ अझै शहिद भने
शहिद केहो उस्ला सोध्देउ।


गीतकार अनी कर्णल आनन्द सँगको मेरा बिगत क्षणहरु

आचार्य प्रभा
सम्झना, संस्मरण, अतितको याद जे भने पनि आखिर बितेका समयका भोगाइहरु आँखामा झ्ल्झली हुनु, मानसपटलमा ती घट्नाहरु बिझिरहनु हो। ती सम्झनाहरुका भोगाइहरु बिभिन्न किसिमका हुन्छन। कुनै खुशी र उन्माद ल्याउने, कुनै मुटुभित्र बिझिरहने, कुनै संस्मरण गर्नसाथ मनै कुंडिदिने जस्ता हुन्छन। यस्तै संस्मरण मध्य म यहाँ एकजना ब्यक्तित्वसँगको मेरो भेट, वहाँसँग मैले बिताएका दिनचर्याहरु र वहाँसँग अनायस बिछोडिनु परेको पलका तीता भोगाइहरु बाँड्न चाहन्छु।
 
हुन त मलाई राम्रोसँग मिती र दिन त थाहा छैन, तापनि मलाई लाग्छ यस्तै ५६/५७ सालतिरको कुरो हो। म काठमाणडौ गीत रेकोर्डिङको सिलसिलामा आएकी थिएँ। त्यस समय म मेरी दिदिको घर लगनखेलमा बसेकी थिए। एक दिन एकजना गायक भाइ (भिम राइ) मलाई भेट्न भनी आए। आफ्नो क्षेत्र पनि गीत-सङीत भएकोले त्यही बिषयमा हाम्रो कुराकानी भयो। अन्त्यमा उस्ले मलाई आर्मी हेड क्वाटर जाउँ भनेर जिद्दी गर्न थाल्यो। मैले '”किन जानु म आर्मी हेड क्वाटर? म जान्न” भन्दा उस्ले मलाई भन्यो “दिदी तपाईं पनि गीतकार भएकोले म तपाईंलाई गीतकार आनन्द अधिकारिसँग भेट गराइदिन्छु। तपाईंहरु उस्तै उस्तै भावना पनि मिल्ने, कुरा पनि मिल्ने” भन्न थाल्यो। त्यो समयमा गीतकार आनन्दका गीतहरु “हीरा काट्ने हिरैमा राखेर”, “ओराली लागेको हरिणको चाल भो”  जस्ता हिट थिए। मलाई अप्ठ्यारो महसुश भयो। त्यस्तो हिट गीत लेख्ने त्यही पनि आर्मीको मेजर जस्ता सँग मैले कसरी भेट गर्ने!, मलाई धेरै अप्ठ्यारो महसुश भैरहेको थियो ता पनि मैले भेट्न जाने सोंच बनाए।
क्रमश:


ब्लग भित्र ब्लगमा राम प्रसाद खनाल

ब्लग भित्र ब्लगमा दौंतरीले बिभिन्न ब्लगरहरुसंगको कुराकानी प्रस्तुत गर्ने गरेको सबैलाइ थाहै छ। पहिलाका ब्लगरको भलाकुसारी हेर्न ब्लग भित्र ब्लग स्तम्भमा जानुहोला। यस पटक nepalmother.com का ब्लगर राम प्रसाद खनाललाइ प्रस्तुत गरिएको छ। तर संबाद प्रस्तुत गर्न पहिले नै पेचिला कमेन्टहरु आइसकेका छन। सके सम्म यस्ता अप्रिय कमेन्ट नआउन भनेर सबैखाले प्रश्न राखिएको थियो। हुन त सबै प्रश्नको उत्तर प्राप्त भएन तर पनि यो संबादलाइ एक ब्लगरको संबाद ठानेर त्यसै अनुरुप कमेन्ट गरिदिनुहोला। समग्रमा यि ब्लगरलाइ कुनामा पेल्ने वा पाठकलाइ पनि मनका कुरा भन्न नदिने यो संबादकर्ताको आशय होइन।

राम प्रसाद जी हिजो आज के गर्दै हुनुहुन्छ?
- नेपाल मदर डट कम को सम्पादन, गीत लेखन, हात मुख जोर्न काम गर्नै पर्छ अमेरिकामा, त्यसैले वाल मार्टमा काम पनि गर्छु हप्ताको 40 घण्टा, कस्टमर् सर्भिस म्यानेजरको रुपमा ।

ब्लग तिर कसरी आइपुग्नुभयो? मदरनेपाल कस्तो साइट हो?
-बिगतमा २० बर्ष पत्रकारिता गर्दा को नसा ले अमेरिकामा पनि छाडेन, केही लेख्न, बोल्न मन लग्ने के गर्नु अनी शुरु भयो http://www.nepalmother.com/ . यो मेरो मनको तर राष्ट्रप्रतीको बह पोख्ने थलो हो भन्दा हुन्छ । नेपालमा बस्ने हुन वा बाहिर, सबैको साईट..."नेपाल आमा डट कम" का रुपमा बिकास गर्दैछु ।

तपाइको साईट त्यती ब्यबस्थीत रैनछ भन्दा चित्त दुख्ला?
-किन दुख्नु ? स्वाभाबिक हो । म कम्प्युटरको, नेटको नयाँ विद्यार्थी, अमेरिकामै आएर सिकेको, सबै आँफै गर्छु त्यसकारण सुरु सुरुको मेरो यो प्रयास तपाईंले भने जस्तै हुनसक्छ ।

ब्लगमा नित्तान्तक ब्यक्तीतक देखी नित्तान्तक राजनैतीक सामाग्री राख्नुभएको रहेछ यस्लाइ कसरी परिभाषित गर्नुहुन्छ?
- http://www.nepalmother.com/ यो मेरो न्युज साइट हो , यसमा तपाईं सबै चिज देख्न सक्नुहुन्छ तर http://www.ramprasadkhanal.blogspot.com/ भने मेरो नितान्त ब्यक्तिगत ब्लग हो, त्यसमा तपाईं मेरो बारेमा, मेरा गीत, सबै हेर्न सक्नुहुन्छ ।

तपाइको पुस्तक गुल्मी देखी अमेरीकासम्मको गुदी कुरो बताइदिनुहोस न?
- रामप्रसाद खनाल को हो ? कसरी रामप्रसाद खनाल भयो ? जान्ने एउटा सजिलो माध्यम हो "गुल्मी देखी अमेरीकासम्म" ।

नेपालमा गायक, पत्रकार, राष्ट्रिय मिडियामा काम गर्ने मान्छे कताबाट अमेरीका आइपुग्नुभयो?
- देशको हालत, शान्ति सुरक्षाको बिग्रदो अवस्था, अपराधीहरुको राज र धाकधम्की, काम गरेर खान पनि नपाईने अवस्था,सबैलाई थाहा भएकै कुरा होनी। त्यसैले अमेरिकामा बसेर नेपाल सम्झिरहनु पर्छ, मैले मात्रा होइन धेरै नेपालीले ।

नेपालका पदक र प्रमाण पत्रको महत्व अमेरिकामा होला र ?
- जान्ने लाई श्रीखन्ड नजान्ने लाई खुर्पाको बिड भनेझै हो अनुभब, प्रमाणपत्र, खुबी । नेपालको खुबी अमेरिकामा पनि काम लाग्छ अन्यत्र पनि काम लाग्छ, महत्व छ ।

कस्तो लाग्यो सुनिने र देखिने नेपाली अमेरीकिको जिबन?
- म पहिला पनि १२, १३ पटक अमेरिका आउनेजाने गरेको हो, अमेरिका सहित् २६ देश को भ्रमण्मा धेरै तिता मिठा अनुभब पनि छन । नेपाली आमिरीकन जिबन सुख दु:ख दुबइ मिस्रित छ । मेरो गीत "अमेरिका ग्रीन कार्डको खेल" सुन्नुस उत्तर त्यहा छ ।

नेपाली ब्लग जगत कस्तो लाग्यो बताइदिनुहोस न? के कस्ता छन नेपाली ब्लग र ब्लगरका राम्रा नराम्रा पक्ष?
- नेपाली माझ ब्लग, यो नौलो प्रयोग हो । तर एकाध बर्षमा यस्को लोकप्रियता बढ्दो छ । तर स्तरियतामा कमि छ । ब्लग को दुरुपयोग् पनि बढ्दो छ, समय ले आँफै फिल्टर गर्दै जान्छ जस्तो लाग्छ ।

तपाइलाइ संसारलाइ एउटा कुरा भन्न मन लागे के भन्नुहुन्छ?
- बाँच, बाँच्न देउ, काम गर, काम गरेर खान देउ ।

दौंतरी हेर्नेगर्नु भएको छ? दौंतरीलाइ सल्लाह सुझाब के दिनुहुन्छ?
- यस्को स्तरियता को म प्रसंसक हुँ । मलाई मात्र होइन सबैलाई यो साइट मन पर्नु पर्छ जस्तो लाग्छ । keep it up.

केही मैले भन्न छुटाएका तर तपाइला भन्न मन लागेका कुरा केही छन कि?
- म एउटा कलाकार हुँ, पत्रकार हुँ, मलाई कृपया स्वतन्त्र रुपमा कलाकारिता, पत्रकारिता, गीत संगीत को काम गर्न देउ, कुनै बाद् सँग नजोडीदेउ, काम गरेर खान देउ बश । यही हो सबैसंग भन्न मन लागेको कुरा।



January 27, 2009

आदरणीय आमा-बुबा, दिदी-बहिनी र दाजु-भाइहरू !

आदरणीय आमा-बुबा,
दिदी-बहिनी र दाजु-भाइहरू,
सधैं भिन्न हुन्छन हाम्रा
भनाई र गराइहरु ।

सराप्न मिल्ने संस्था पनि
छैन अब कसो गरुँ?,
हात जोड्छु सबै संग
आफन्त र पराईहरु ।

निल्नु न ओकल्नु भो
यो सत्ता पनि अब,
मिलाउन त गाह्रो रै’छ
हिमाल, पहाड तराईहरु ।

जादू गरि हाल्छु भन्ने
सोचेँथे पहिला त मैले,
झनै सबै चिढिंसके
हिन्दू, मुश्‍लीम ईसाईहरु ।

नया नेपाल बनाउन
परिवर्तन धेरै गरें,
सवालाखको विछ्‍यौना र
टोपी-टाई को लवाईहरु ।

भो बाबा! गाह्रो रै’छ,
देश चलाउने काम त,
बरु सत्ता कब्जा गर्छु
बन्द गरी सवाईहरु ।

*सवाई: लय हालेर गाउन मिल्ने एउटा नेपाली लोक भाका ।



January 26, 2009

सपथग्रहण: परमानन्द झा देखी ओबामा सम्म

हिन्दीमा सपथग्रहण गर्‍यो भनेर नेपालको सर्वच्व अदालतले जुलाई २८, २००८ का दिन उप-राष्ट्रपति झा र सरकारको नाममा लिखित स्पष्टिकरण को माग गरेको थियो । मच्चिने-मच्चिने थच्चिने (म जस्ता) नेपालीको बानी थाहा पाएर नै होला दौंतरीले एउटा काउन्टडाउन हुने (जवाफ फर्काउने समयको) घडी नै राखेको थियो साइटमा । मेरो पर्सनल कामको चपेटले गर्द बिचमा त्यो काण्डको कुरा के - कहां पुग्यो मलाई केही हेक्का नै भएन, लेख्ने त परै जावोस पढ्ने पनि सार मिलेन । आहिले ओबामा को सपथ ग्रहण हेरेपछी फेरी तेही पुरानो कुरा को झल्झली याद आयो ।

अमेरिकाको संविधान अनुसार हरेक ४ (वा ८) बर्षमा जनवरी २० का दिन दिउसो १२ बजे पछी नयाँ राष्ट्रपती को कार्यकाल सुरु हुन्छ । तेही समयमा नयाँ राष्ट्रपतीले आफ्नो कार्यलयको सपथ खान्छन । सपथ यस ब्यहोराको हुन्छ: I do solemnly swear (or affirm) that I will faithfully execute the office of President of the United States, and will to the best of my ability, preserve, protect and defend the Constitution of the United States.

यसपाली सपथग्रहणको बेला सपथ खुवाउने (सर्वच्व अदालतका मुख्य न्यायधिस) नर्वस भएर हो कि सपथका शब्दहरु अगाडि पछाडि पढे, ओबामा पनि झुक्किएर झन्डै - झन्डै त्यसै गरी नै पढे । पछी ओबामा फेरी सपथ लिएछन (सर्वच्व अदालतका मुख्य न्यायधिस बाटै), तर ५-१० ब्यक्ती का सामु । कमनसेन्स लगाउने भए फेरी किन लि राख्नु परेको होला जस्तो लाग्छ, तर संविधान र नियम कानुन भनेको कमनसेन्स भन्दा माथिका कुरा हुन । सबैले आ-आफ्नो सजिलो का लागि आफ्नै तरिकाले कमनसेन्स लागाउन र संविधानको व्याख्या गर्न थाले नियम कानुन भन्ने नै हुंदैन होला ।

मेरो यो पोस्ट को सार के हो भने: यदी चित्त बुझ्दो र समय सापेक्ष छैन भने कि त संविधाननै परिवर्तन गर्न सक्नु पर्‍यो, हैन भने जे लेखेको छ तेसको पालना गर्नु पर्‍यो ।