January 13, 2009

के भनु र खै?

आज नेपाली खबरमा त्यही छायो जस्ले सबैलाइ नरमाइलो बनायो। एउटा अबला नारी,वरीपरी दर्जनौं गुण्डा। कलम बोक्ने ती साहासी महिलाको खुकुरी बोकेका कायरहरुले जिबन खोसे। नेपालमा आजकाल मानब अधिकार त हराइसक्यो। आमाका कोख रित्तीने,पत्निका सिन्दुर पुछिने, दुधे बालक टुहुरिने दिनानु दिन भइरहन्छन, तर उमा सिंहको हत्याले हामीहरु पशु भन्दा पनि तल गयौं कि झस्काइरहेको छ। अब त शान्ती भयो कि भनेको हामी झुक्किएछौं। भोली कसैले अपराध गरेको आरोप लगाउला, कसैले कारबाही गर्ने बचन देला तर मर्ने मार्ने काम भुतपूर्व शान्ती क्षेत्र नेपालमा रोकिने भएन।

भोलीको नेपालका बाटा धेरै छन, सबैले भन्छन हामी झन अग्रगमन तिर लम्किदै छौं। कतै हामीले एकै फड्कोमा मानबताकै छलागं त पार गरेनौं? । देश बिकासको नाममा, नया नेपालको नाममा आज हामीलाइ बाच्न पनि मुश्किल भएको छ। घरबाट निस्के भरे फर्किने हो कि होइन पत्तो छैन,आज थाकेर सुतेको ज्यान भोली उठ्ने हो कि होइन ग्यारेन्टी छैन। हामी अनिस्चित नेपाल तिर लम्किदै छौं। जत्था जत्था झुन्ड झुन्डमा बाडिएको बर्तमान नेपाले त्यसै त हामीहरुलाइ हिनताबोध गराइरहेको छ, उमा सिहंको घटनाले त मुख नै बन्द गरायो। अनुहार नै कालो बनायो। के भनु र खै?



माघी, कमैया र कम्लरी

बसन्त-

प्रत्यक बर्ष माघे संक्रान्ती लाई नेपालका आदिबासी थारु समुदायले माघी पर्बको रुपमा मनाउछन। घर्-घरमा जाड-रक्सी बनाईन्छ। सुङुर काटिंछ र ढिक्री पकाईन्छ अनि नांच गान गर्दै रमाइलो हुन्छ।आफ्नै परम्परागत किसिमका बिशेष खानेकुरा पाक्छन। अनि कोसेली बोकेर नातेदारको घरमा गै शुभ-कामना आदान प्रदान गर्ने चलन छ। केहि बर्ष पहिले सम्म जाडले मात्तीएका र अतिहुदा बाटोमा लडीराखेका हुन्थे। र यो क्रम आजकल कम भएको हुनुपर्छ। यो महत्वपुर्ण सास्कृतिक पाटो सङै अरु दुईवटा पक्षहरु माघी सङ जोडीएर आउने गर्छन। पहिलो हो कमैया र कम्लरी प्रथा अनि दोश्रो हो अधीया प्रथा। माघी यो समुदायको नंया बर्ष पनि हो। धेरै बाचा-बन्धन र ब्यवहारीक कुराहरुको सुरुवात र अन्त्य यसै समयमा हुने गर्दछ। अन्य जात जातीले यो पर्ब आफ्नै तरिकाले मनाउछन्। थारु बस्तीमा हुर्केको, बढेको नाताले आफुले देखेका कुराहरुमात्रै यहा राख्ने जमर्को गरेको हुँ।


कमैया प्रथा अहिले त उन्मुलन् भैसकेको छ। उनिहरुको बिभिन्न मागहरु पुरा गराउन भलै अझै आन्दोलन् गर्न किन नपरोस। दश बर्ष अघि सम्म पनि यो नराम्रो प्रथा हो भनेर सायदै कमै मान्छेले लिन्थे होला। अझै पनि स्कुल जाने उमेरका केटीहरु कम्लरी बसेकै होलान-ठुला नेता देखी सहरियाहरुको मा। तर यो निकै कम् भैसकेको छ। मेरो बिचारमा कमैया र कम्लरी प्रथा दास प्रथाकै आधुनिक र अर्को रुप हो। श्रम शोषण त छदै छ। यो सङ सङै मानसिक, सामाजिक, कम्लरीहरुको यौन शोषण हुन्छ। न्युन पारिश्रमिकमा काम गर्ने, काम गर्ने समय निस्चीत नहुने-उठे देखी नसुते सम्म काम गर्नु पर्ने। बिरामी भयो भने उपचारको कुनै ब्यवस्था नहुने। लाउने खाने को त कुनै कुरै नहुने। कमैयाले बाहिरको काम गर्ने-खास गरि खेतिपाती सम्बन्धी काम। कम्लरीले घर भित्रको सबै काम-नानी बाबु हेर्ने देखी लिएर भान्साको काम गर्नु पर्ने।


मैले त्यति बेला देखे अनुसार हाम्रो गाउ तिरका थारुहरु तिन खालका थिए आर्थिक अनि सामाजिक हिसाबले पनि। सबै भन्दा तल त कमैयाहरु हुने नै भए । अनि त्यसपछि अरुको जग्गा अधिया जोत्ने र नम्बर एक आफ्नै जग्गा भएका अलि सम्पन्न। आफ्नै सम्पत्तीले खान लाउन पुग्ने। नम्बर एक समुहका अलि पढे लेखेका पनि। अनि केहि हल गोरु वा राङा भएकाहरुले अरुको जग्गा अधीया जोत्न पाउछन। गोरु भन्दा राङा नै जोत्ने। त्यसको फाईदा भनेको जोत्ने बेला सम्म जोत्यो अनि बुढो भयो भने मो:मो जिन्दाबाद। गोरुलाई त्यसो गर्न मिलेन। बिचरा एक हल राङा पनि नहुनेहरु कमैया बस्नु पर्ने। परिवार नै अरुको घरमा। बाउ कमैया, आमा ओर्गीनि, छोराहरु गोठालो, छोरिहरु कम्लरी। प्राय जसो लोग्ने मान्छे जुन घरमा कमैया बस्यो त्यही घरमा आइमाई ओर्गीनि हुने। छोरिहरु पोखरा, काठमान्डौ तिर। कतिपय त्यतै हराएर गए। मेरै छिमेकी परिवार आफ्नी हराएकी छोरि खोज्दै हिडेको देखेको छु। ओर्गेनी र कम्लरीको यौन शोषण पनि हुन्छ। त्यसको कुनै सुनुवाई नै नहुने। एकजना जमिन्दारको बिग्रेको छोराले बाबु आमाकै अगाडी छोरिलाई जबर्जस्ती बलात्कार गर्थे। त्यसको कसैले प्रतिकार गरेको मैले थाहा पाइन।


खुशीको खबर के छ भने यी प्रथा र बिकृतीहरू बिस्तारै कम हुदै छन। आशा गरौ यो माघीमा गत साल कमैया, कम्लरी र ओर्गिनि बसेकाहरुले पुन नयां सालमा नबिकरण गर्न नपरोस। बास्तवमा यो एककिसिमले दशकौ देखी चलि आएको हुदा जिबन पद्धति बनिसकेको थियो। अनि सामाजिक संरचनामा घुसेको थियो। अब आफ्नो काम आफैले गर्ने बानि बसाल्ने र आफ्नो जग्गा आफुले जोत्न सके मात्र राख्ने गर्‍यो भने यो प्रथा कम होला। अर्को तिर ति गरिबहरुको जीबन यापनको बैकल्पिक ब्यवस्था गर्नु पर्छ।

एकपटक फेरि: सखिए हो माघकी गुरि गुरि जांड



January 12, 2009

आकार पोष्टको ब्लग-यात्रा

कुरा कहाँबाट सुरु गरौँ आफैँ दुविधामा छु । म आफैँ अलमल मा छु, अनि यही अलमल र दुविधा का बिच पनि केही लेख्ने कसरत गर्दैछु । पेशाले म विद्यार्थी जो ब्याचलर लेभल दोश्रो वर्षमा पढ्दैछ, अनि यसो कहिलेकाँहि सोच्छु, ब्लग को नशा किन यस्तो विधि लागेको होला । नशा त नशा नै हो नि, नशाको प्रकार जस्तो भएपनि ।
जब जब नेपाल को सन्दर्भमा ब्लग को इतिहास, खोतल्न थालिन्छ तब म त्यही सबैले मानिआएको, शाहीकदम सम्म पुग्छु । मलाई थाहा छैन, कहिले देखि नेपाल मा ब्लग अस्तित्वमा छन्, तर सबैले भन्ने गरेका छन्, उही ज्ञानेन्द्र को पाला देखि त हो नि ।

यहाँहरु कतिजनालाई थाहा छ, ब्लग भन्ने कुरा प्राय: सबै सोसल नेटवर्किङ साइटमा राखिएको छ, भलै नाम जे राखिएको भएपनि । यति भुमिका बाँधिसकेपछि, भनौँ मेरो ब्लगिङ इतिहास जुलाई २००६ देखि सुरु भयो, याहु को ३६० डिग्री http://360.yahoo.com/aakar19 पेजबाट । पहिलोपटक ब्लग भनेर याहू को पेज मा देख्दा के गर्ने होला, भनेर केही समय त अलमल मा परीयो तर फेरी खै, कसरी आफैँ ब्लग भनेको त आफ्नो लेख्ने चिज पो हो त भनेर ज्ञान आयो । ब्लगमा केही कुरा त राखेँ तर कहिले पनि आफूले लेखिन, आफूले लेखिन भन्ना को मतलब कपि पेष्ट गर्दैबसेँ, भनौँ न मलाई मन पर्ने परिकारहरु को कलेक्सन थियो त्यो । अब ब्लगबारे चुरो कुरो नबुझी, यसको उपयोगिता नबुझि, ब्लग भन्दैमा लेख्ने कुरा त पक्कै आउँदैनथियो । हो, आएन, म कपी पेष्ट गर्दै रहेँ, याहू ३६० मा अनि साथीहरु बनाउँदै गए, कारण खासमा याहू को ३६० पेज, सोसल नेटवर्किङ पेज थियो ।

एकपटक कान्तिपुर दैनिक मा दिनेश वाग्लेको ब्लग बारे सानो जानकारी छापिएको रहेछ, अन्तिम पृष्ठमा, जसमा भनिएको थियो “ब्लग” भन्ने शब्द टाइप गरेर सर्च गर्नासाथ हजारौँ साइटहरु देखापर्छन्, अनि ब्लग का लागि हिजोआज स्पेश निशुल्क उपलब्ध छन् । त्यती भनेपछि के चाहियो र, सर्च गरे गुगलमा पहिले नै ब्लगर भन्ने साइटमा छिरियो, अनि यतै हराइयो । अनि त्यसबखत रजिस्टर गरिएका ब्लगहरु अस्तित्व मा पनि छैनन् । करिब डेढ वर्ष अगाडि जति, फेरी एउटा ब्लग बनाए आकारपोष्ट, अनि यसैलाई निरन्तरता दिइरहेकोछु । अनि मैले भन्न छुटाउन नहुने कुरा, ब्लगमा आफ्नै विचार लेख्न रुपेश सिलवाल http://nepal.mypodcast.com/ ले नहौस्याएका भए, सायद म अझै कपि पेष्ट गर्दैमा व्यस्त हुन्थेँ होला ।

कहिलेकाँहि गफ पनि, दिक्क लाग्दो हुन्छ । म बुझ्छु तपाईहरु यस्तै यस्तै सोच्दैहुनुहुन्छ होला ! तर अब हाम्रो नेपालियन जी ले फर्म्याट नै त्यस्तो दिनुभएको छ, आफ्नो ब्लगिङ इतिहास भनेर, भने म के गरौँ हैन र ?

आकार ले आफ्नो ब्लग “आकारपोष्ट” को चर्चा नगर्ने त कुरै भएन । खासमा भन्दा, म आकारपोष्टलाई सबैकुराको सम्मिश्रण भन्न रुचाउँछु । सायद घमन्ड गरेको पनि ठहर्ला तर ब्लगमा टेक्निकल विषय देखि लिएर राजनिति सम्म का कुरा गरिएकाछन् । अनि व्यङ्ग्य देखि लिएर खबर समेत अटाएका छन् ब्लगमा, त्यसमध्ये पनि प्राय: पोष्टहरु नेपाली मै लेखिएकाछन्, अत: आकारपोष्टलाई नेपाली ब्लग भन्दा पनि फरक नपर्ला । तर आकारपोष्ट मेरा दैनिक गतिविधि समेटिएका पर्सनल डायरी भने हैनन् ।

खासमा लेखाइ भनौँ या ब्लगिङ भनौँ यो पनि एक प्रकार को नशा नै रहेछ । यसो सोच्दा, लेख्ने कुरा के होला र जस्तो लाग्थ्यो ? स्तम्भकार ले पत्रिका मा कसरी लेख्न सकेका होलान् जस्तो लाग्ने गर्थ्यो ? तर अहिले थाहापाइसकेँ कि, लेख्न कोशिस मात्रै गर्ने हो भने, धेरै लेख्न सकिँदोरहेछ, आफ्ना मनलाई छताछुल्ल पारेर ब्लगमा राख्न सकिँदोरहेछ । मलाई पनि खासमा त्यस्तै लागिरहन्छ, हरपल अनि हरेक चिज आफ्ना लेखनीका विषयवस्तु बनाइहाल्छु तर मन मा आएका सबै भावना खै किन हो, लेख्न सकिरहेकोछैन । अनि मुटुमा हात राखेर भन्दा, भर्खरै लेखिएको पोष्ट “आक्रमण र विरोध” http://www.aakarpost.com/2008/12/blog-post_23.html भन्ने पोष्ट मलाई अहिलेसम्म चित्त बुझेको पोष्ट हो । भ्याएसम्म, ब्लगमा हाजिर भैरहेको हुन्छ, विभिन्न वाहाना मा । कहिले फोटो ब्लग को निहूँ गरेर त कहिले अडियो ब्लग को निहुँ गरेर । अनि अहिलेसम्म सन्तुष्ट छु, आफ्नो लेखाइबाट अनि अझै सुधार को प्रयास पनि गरिरहेको छु । अझ, ब्लगमा आउने कमेन्ट ले त जुरुक्कै उचाल्छ, अत: सम्पुर्ण ब्लगर मित्रहरुलाई यहीँ बाट नै हार्दिक धन्यवाद पनि दिन चाहन्छु यहाँहरुको ताली र गाली का लागि।

ब्लग मुख्यत: आफ्नै कुरा राख्ने ठाउँ हो । यस सिलसिला मा नेपाली ब्लगरहरु शिष्ट नै मानिन्छन् कारण प्राय: ब्लगरहरु मनपरी बोल्दैनन् । अनि कहिलेकाहीँ भाषिक ज्ञानको कमी या भनौँ टाइप मिस्टेक भएर, अर्थ को अनर्थ लागेका ब्लगहरु भने प्रशस्त नै भेटिएलान । साँच्चै, भन्दा, हामी व्याकरण मा चाँहि त्यति सारो चासो दिइरहेका छैनौँ । तर सकेसम्म म व्याकरण मा चाँहि ह्रस्व, दीर्घ को नियम भने पालना गर्ने कोशीस गर्छु, अरु कुरा त त्यस्तै हो, नेपालीमा अंग्रेजी भने सँगसँगै जोडिएर आइरहेकाहुन्छन्, प्रत्येक वाक्यमा ।

मलाई सँधै अचम्म लाग्ने कुरा के हो भने, कुनै ब्लगर ले केही कुरालाई आफ्नो तर्फबाट मात्रै विश्लेषण गरेको छ भने, हामी पनि हो मा हो नै मिलाइरहेका हुन्छौँ, प्राय: अधिकांश सन्दर्भमा । हामी विरलै मात्र हाम्रा ब्लगहरुमा अरुको फरक दृष्टिकोण पाइरहेका हुन्छौँ । सायद, ब्लगरहरु एकै किसिम ले सोच्न् कि जस्तो पनि लाग्ने गर्छ कहिलेकाँहि ।

अनि प्राय: म आफूले भ्याएका र जानेबुझेसम्मका सबै ब्लगहरु हेर्नेगर्छु । मलाई लाग्छ, लेखेर मात्र केही हुँदैन, अरुले लेखिएको पढिएन अरु को विचार बुझिएन भने, आफूले लेखेर मात्र पनि केही काम छैन । यहाँ नाम तोकेरै यही ब्लग हेर्छु भन्ने छैन, लिस्ट धेरै लामो छ । हुन त म पेशाले विद्यार्थी तर फुलटाइम ब्लगर जस्तो लाग्छ, आफुलाई किनभने म प्रत्येक पटक अनलाइन चहार्दा ब्लग मै डुलिरहेको हुन्छु ।

मैले सुनेको पहिले “ब्लगान” BLOGAN भन्ने एउटा समूह बनेको थियो रे, नेपाली ब्लगरहरु को । तर त्यसको बारेमा खासै थाहाछैन, अनि अहिले त्यो अस्तित्वमा पनि छैन । मैल जानेसम्म, त्यो समूह उही हाम्रा स्थापित ब्लगरहरुका इगोका कारण छिन्नभिन्न पुगेको हो । अनि अहिलेसम्म, ब्लगरहरुको कुनै पनि संगठित समुह गठन भएको छैन । बाहिर जति चर्चा अनि परिचर्चा हुन्छ, त्यती सहयोग गर्न ब्लगरहरु हिच्किचाइरहेकाछन्, यो मेरो अनुभव हो । जब मैले ब्लग सुरु गरेँ, तब मैले नाम चलेका केही ब्लगरहरुलाई ईमेल पनि गरेको थिँए, सहयोग को अपेक्षा राखेर तर अफसोच कतैबाट केही सल्लाह, सुझाव पाइएन । अनि अहिले, आकारपोष्ट जति साजसज्जा अनि तौर तरिका मा आएको छ, बिलकुल आफ्नै क्षमता का कारण हो । सायद यसैकारण ले होला, म भने नयाँ आउने या जोकोहीलाई पनि सहयोग गर्न हरदम तयार भएर बसेको छु । मैले जुन प्राविधिक कठिनाइ भोगेँ, त्यती अरुले भोग्नु नपरोस् भन्ने अपेक्षा मैल राखेको छु, अनि खुशी लाग्छ, महिना मा यस्तै १-२ वटा ब्लगसम्बन्धि जिज्ञासाहरु आइरहेका हुन्छन्, इमेलमा ।
सायद मैले, धेरै गफ गरेँ जस्तो छ । लौ, यस्तो मज्जा को प्ल्याटफर्म जुटाइदिने दौँतरीलाई त झन्नै भुसुक्कै बिर्सीएको । त्यो पनि नेपालियन जी को प्रश्न ले सम्झाइदियो । सायद मैले दौँतरी चिनेको ६-७ महिना भयो होला । हो त्यस्तै केहि समय भयो होला, जब यहाँ उपराष्ट्रपति ले हिन्दी मा सपथ खाएर बब्बाल मच्चाइरहेका थिए । हो त्यती नै खेर दौँतरीलाई चिनेको हुँ, या भनौँ पढ्न थालेको हुँ । दौँतरी खासमा नाम अनुसार कै काम गर्न सफल भएको छ । सायद नेपाली ब्लग इतिहास मा सहकार्य को उदाहरण दौँतरी भन्दा अरु कुनै ब्गलग मा पनि पाइँदैन होला । साँच्चै, धेरै मित्र कमाउन सफल भएको छ, दौँतरी । अझ, ब्लग भित्र ब्लग भन्ने नयाँ सन्दर्भ ले त, हामीलाई झनै हौस्याइरहेको छ, सबैको अनुभव पढ्न पाइएको छ । अनि मेरो पनि केही शब्द राख्नपाएको मा दौँतरी टिमलाई हार्दिक धन्यवाद दिन चाहन्छु । दौँतरीका दौँतरीहरु बढ्दै जाउन यही शुभकामना छ ।

फेरी पनि आफ्नै ब्लगको कुरा गरौँ, एउटा सुचना नै भनौँ न, साहित्य प्रेमी दौँतरीहरु अझ भनौँ गजल प्रेमीहरुलाई लक्षित गरेर, आकारपोष्टबाट “बुलबुल” नामक एउटा साहित्यिक रेडियो कार्यक्रम अनलाइन बज्नेगरेको छ । आशा छ, सुन्नुहुनेछ । धन्यवाद !!!
आकार पोष्ट हेर्न कृपया : http://www.aakarpost.com/ वा www.aakarpost.blogspot.com मा क्लिक गर्नु होला ।


बाडुल्कीको तरङगमा

प्रबिण थापा
धादिङ, हाल इटली
बाडुल्की लाग्छ भन्थ्यौ तिमीलाई मेरो सम्झाइमा
बिर्सीयौकी के हो कुनी थोरै दिनको बसाइमा
न कुनै खबर आयो न त बाडुल्की नै लायो
आशाहरु देखाएर निरास पारे जस्तो भयो
के थाहा कुनी अर्कै मनले ठुलै आशा छर्योकित
बाडुल्किको तरङगमा रङ नम्बर पो पर्‍योकित

किन हुन्छौ सिरीयस हास्न सिक भन्दै
मनभित्रको चाहानलाई पुर्ने खाडल खन्दै
छोडि गयौ इच्छाहरुलाई काडे तारले बारी
मलाई पार्यौ दोधरमा वारी जाउकी पारी
न सम्झनाले तिम्रो साम्झनाले अन्तै डेरा सर्योकित
बाडुल्किको तरङगमा रङ नम्बर पो पर्‍योकित

कहिलेसम्म रोइ बाच्ने पिरै पिर बोकी
बुझेर नि नबुझेको जस्तो गर्या हो कि
भनी हाल मनको कुरो किन पार्ने गाठो
प्रेम पनि हुँदै हो नि जीवनको एउटा पाटो
हिर्दयको कुन भित्र मेरो माया मर्योकित
बाडुल्किको तरङगमा रङ नम्बर पो पर्‍योकित


परिचय प्रभा आचार्यको कबिता संग्रह परदेशबाट

यो कबिता सङ्रह मेरो लेखनक्षेत्रको डेढ दसक पछी प्रकाशनमा ल्याएको हो यस्मा सबै कबिताहरु बिभिन्न पत्रीकामा प्रकाशित भएका छन र कत्ती भने अमेरिका भित्रिएपश्चातका छन यो कबिता सङ्रहमा देश प्रतिको माया,पर्देशको पीडा,नारिहरुको बेदना,मान्छे कसरी इछ्याहरुको कमारो बन्छ, मान्छेहरुमा किन अहमताले बास गर्दछ? अनी मनहरु किन र कसरी बिभाजित हुन्छन?, अनी कबिता के हो ?भन्ने कुराहरु जस्ता मैले समेट्न खोजेकी छु । २०६३ सालमा प्रकाशित सङ्रहको बिमोचन कार्यक्रम काठमाडौंमा भब्यताको साथ डा. गोविन्द राज भट्टराई को प्रमुख आत्तित्थ्यमा र बिष्णु बिभु घिमिरेको सभापतित्वमा बिमोचन भएको थियो। म परेदेशमा नै भए पनि आफ्नो देशबाट पलायन भएको आभास नहोस् भन्नकालागी मैले यो सङ्रह निकालेकी हुँ र यो सङ्रहको अमेरिकाको कोलोराडोको बोल्डरमा पनि प्रमुख अतिथी नेता बेनुप राज प्रसाइ र कोलोराडो च्याप्टरका नेपाली साहित्य समाजका अध्यक्ष ज्ञानेन्द्र गदालको सभापतित्वमा एक साहित्यिक कार्यक्रममा बिमोचन गरिएको थियो। यस भित्रका केही कबिताहरु:


१)'' पीडाको अर्को रूप नारी ''
ऊ स्वास्नी मान्छे
मुटुको दहबाट कसैलाई
एक अन्जुली माया उघाएर
दिन सक्छे ,
तर ---बदलामा उस्ले
स्वार्थिपनको उपहार पाउन सक्छे ।
ऊ स्वास्नी मान्छे,
आफ्नो शरीर पस्केर
कसैको भोक मेटाउन सक्छे
तर ---सट्टामा उस्ले
घ्रीणाको उपनाम पाउन सक्छे ।
मुटु रित्याएर माया दिनु
शरीर पस्केर भोक मेटाइदिनु
अन्त्यमा ---उस्ले
जीवनभरी अभिश्राप पाउनु र
जुठेल्नाको फ्याकिएको जुठो हुनु हो
अनी ---स्वास्नी मान्छे हुनुको अर्थ
पीडाको अर्को रूप हो ।

२)''मन बिभाजित भएपछी''
आगन एउटै भएर पनि मन बिभाजित भएपछी
छानो एउटै भएर पनी
बिचारमा फरक परेपछी
आफ्नो पनि बिरानो हुदो रहेछ ।
छहारि एउटै भएर पनि ब्यवहाँरमा फरक परेपछी
घरपनी भिन्न लाग्दोरहेछ
आकाश एउटै भएर पनि
स्वार्थ अनायस उब्जिए पछी
धर्ती एउटै भएर पनि
पाइला बेग्लै चालेपछी
माटो पनि बिभाजित हुदो रहेछ ।
देश एउटै भएर पनि
स्वार्थ अनेक भएपछी
भाषा एउटै भएर पनि शास्त्र अनेक भएपछी
आफ्नै मुलुक पराइ लाग्दो रहेछ ।

३)''पराइभूमिमा छट्पटाइ रहेछु''
दुखेका चोटहरुमा
शान्त्वनाको मल्हम लगाउदै
म,
आफ्नै देशको झझल्को
आँखामा टसाएर
पराइभूमिमा भौतारिरहेछु ।
शायद ---बिवस्ता नै हो कि ?
आफ्नी आमाको न्यानो स्पर्श
बिर्सनु पर्ने
कि ---बाध्यता थियो ?
मैले आफ्नो माटोबाट
बिस्थापित हुनुपर्ने ।
चाहे जे होस्
म सूर्योदयको बिहानिमा
आफ्नी आमाको सम्झनामा


एक अन्जुली पानी चढाउछु
म ,
रङिन क्षितिजलाई नियाल्दै
मनको बगैचाबाट स्वछ फूल चडाउछु ।
खोसिएका हासोहरुमा
आश्वासनको रङ पोत्दै
म आफ्नै देशको माया
छात्तिमा बोकेर
पराइभूमिमा छट्पटिइ रहेछु



January 11, 2009

कविता - तिम्रो बारे

बिजयकुमार श्रेष्ठ,
धादिङ्ग कटुन्जे (हाल ईराक)

गजल लेख्ने गजलकार होईन म, न त गितकार नै परे
अनयासैमा केवल दुई चार शब्दमा मनका तरङ्गहरु कोरे ॥
सोचेको थिएन हाम्रो भेटघाट यति छिटो हुन्छ भन्ने बारे
कसैबाट सुन्न थाले दौतरी ब्लग बनि गुगलमा छाको छ रे ॥
कम्प्युटरको सहारा लिई गुगल सर्चमा घुम्न थाले
दौतरीको माया पाउन गुगल सर्चमा आई डि फाले ॥
गुगल सर्चको माध्यमबाट तिमीलाई पाईकन छाडे
जानी नजानी तिम्रो लागी उपहार रुपी शब्दजाल बाडे ॥
साधुवाद छ दौतरी तिमीलाई हाम्रो मित्रताको बारे
रहि छौ तिमी मित्रताको शिखर चुम्न सिकाउने सितारे ॥