January 12, 2009

आकार पोष्टको ब्लग-यात्रा

कुरा कहाँबाट सुरु गरौँ आफैँ दुविधामा छु । म आफैँ अलमल मा छु, अनि यही अलमल र दुविधा का बिच पनि केही लेख्ने कसरत गर्दैछु । पेशाले म विद्यार्थी जो ब्याचलर लेभल दोश्रो वर्षमा पढ्दैछ, अनि यसो कहिलेकाँहि सोच्छु, ब्लग को नशा किन यस्तो विधि लागेको होला । नशा त नशा नै हो नि, नशाको प्रकार जस्तो भएपनि ।
जब जब नेपाल को सन्दर्भमा ब्लग को इतिहास, खोतल्न थालिन्छ तब म त्यही सबैले मानिआएको, शाहीकदम सम्म पुग्छु । मलाई थाहा छैन, कहिले देखि नेपाल मा ब्लग अस्तित्वमा छन्, तर सबैले भन्ने गरेका छन्, उही ज्ञानेन्द्र को पाला देखि त हो नि ।

यहाँहरु कतिजनालाई थाहा छ, ब्लग भन्ने कुरा प्राय: सबै सोसल नेटवर्किङ साइटमा राखिएको छ, भलै नाम जे राखिएको भएपनि । यति भुमिका बाँधिसकेपछि, भनौँ मेरो ब्लगिङ इतिहास जुलाई २००६ देखि सुरु भयो, याहु को ३६० डिग्री http://360.yahoo.com/aakar19 पेजबाट । पहिलोपटक ब्लग भनेर याहू को पेज मा देख्दा के गर्ने होला, भनेर केही समय त अलमल मा परीयो तर फेरी खै, कसरी आफैँ ब्लग भनेको त आफ्नो लेख्ने चिज पो हो त भनेर ज्ञान आयो । ब्लगमा केही कुरा त राखेँ तर कहिले पनि आफूले लेखिन, आफूले लेखिन भन्ना को मतलब कपि पेष्ट गर्दैबसेँ, भनौँ न मलाई मन पर्ने परिकारहरु को कलेक्सन थियो त्यो । अब ब्लगबारे चुरो कुरो नबुझी, यसको उपयोगिता नबुझि, ब्लग भन्दैमा लेख्ने कुरा त पक्कै आउँदैनथियो । हो, आएन, म कपी पेष्ट गर्दै रहेँ, याहू ३६० मा अनि साथीहरु बनाउँदै गए, कारण खासमा याहू को ३६० पेज, सोसल नेटवर्किङ पेज थियो ।

एकपटक कान्तिपुर दैनिक मा दिनेश वाग्लेको ब्लग बारे सानो जानकारी छापिएको रहेछ, अन्तिम पृष्ठमा, जसमा भनिएको थियो “ब्लग” भन्ने शब्द टाइप गरेर सर्च गर्नासाथ हजारौँ साइटहरु देखापर्छन्, अनि ब्लग का लागि हिजोआज स्पेश निशुल्क उपलब्ध छन् । त्यती भनेपछि के चाहियो र, सर्च गरे गुगलमा पहिले नै ब्लगर भन्ने साइटमा छिरियो, अनि यतै हराइयो । अनि त्यसबखत रजिस्टर गरिएका ब्लगहरु अस्तित्व मा पनि छैनन् । करिब डेढ वर्ष अगाडि जति, फेरी एउटा ब्लग बनाए आकारपोष्ट, अनि यसैलाई निरन्तरता दिइरहेकोछु । अनि मैले भन्न छुटाउन नहुने कुरा, ब्लगमा आफ्नै विचार लेख्न रुपेश सिलवाल http://nepal.mypodcast.com/ ले नहौस्याएका भए, सायद म अझै कपि पेष्ट गर्दैमा व्यस्त हुन्थेँ होला ।

कहिलेकाँहि गफ पनि, दिक्क लाग्दो हुन्छ । म बुझ्छु तपाईहरु यस्तै यस्तै सोच्दैहुनुहुन्छ होला ! तर अब हाम्रो नेपालियन जी ले फर्म्याट नै त्यस्तो दिनुभएको छ, आफ्नो ब्लगिङ इतिहास भनेर, भने म के गरौँ हैन र ?

आकार ले आफ्नो ब्लग “आकारपोष्ट” को चर्चा नगर्ने त कुरै भएन । खासमा भन्दा, म आकारपोष्टलाई सबैकुराको सम्मिश्रण भन्न रुचाउँछु । सायद घमन्ड गरेको पनि ठहर्ला तर ब्लगमा टेक्निकल विषय देखि लिएर राजनिति सम्म का कुरा गरिएकाछन् । अनि व्यङ्ग्य देखि लिएर खबर समेत अटाएका छन् ब्लगमा, त्यसमध्ये पनि प्राय: पोष्टहरु नेपाली मै लेखिएकाछन्, अत: आकारपोष्टलाई नेपाली ब्लग भन्दा पनि फरक नपर्ला । तर आकारपोष्ट मेरा दैनिक गतिविधि समेटिएका पर्सनल डायरी भने हैनन् ।

खासमा लेखाइ भनौँ या ब्लगिङ भनौँ यो पनि एक प्रकार को नशा नै रहेछ । यसो सोच्दा, लेख्ने कुरा के होला र जस्तो लाग्थ्यो ? स्तम्भकार ले पत्रिका मा कसरी लेख्न सकेका होलान् जस्तो लाग्ने गर्थ्यो ? तर अहिले थाहापाइसकेँ कि, लेख्न कोशिस मात्रै गर्ने हो भने, धेरै लेख्न सकिँदोरहेछ, आफ्ना मनलाई छताछुल्ल पारेर ब्लगमा राख्न सकिँदोरहेछ । मलाई पनि खासमा त्यस्तै लागिरहन्छ, हरपल अनि हरेक चिज आफ्ना लेखनीका विषयवस्तु बनाइहाल्छु तर मन मा आएका सबै भावना खै किन हो, लेख्न सकिरहेकोछैन । अनि मुटुमा हात राखेर भन्दा, भर्खरै लेखिएको पोष्ट “आक्रमण र विरोध” http://www.aakarpost.com/2008/12/blog-post_23.html भन्ने पोष्ट मलाई अहिलेसम्म चित्त बुझेको पोष्ट हो । भ्याएसम्म, ब्लगमा हाजिर भैरहेको हुन्छ, विभिन्न वाहाना मा । कहिले फोटो ब्लग को निहूँ गरेर त कहिले अडियो ब्लग को निहुँ गरेर । अनि अहिलेसम्म सन्तुष्ट छु, आफ्नो लेखाइबाट अनि अझै सुधार को प्रयास पनि गरिरहेको छु । अझ, ब्लगमा आउने कमेन्ट ले त जुरुक्कै उचाल्छ, अत: सम्पुर्ण ब्लगर मित्रहरुलाई यहीँ बाट नै हार्दिक धन्यवाद पनि दिन चाहन्छु यहाँहरुको ताली र गाली का लागि।

ब्लग मुख्यत: आफ्नै कुरा राख्ने ठाउँ हो । यस सिलसिला मा नेपाली ब्लगरहरु शिष्ट नै मानिन्छन् कारण प्राय: ब्लगरहरु मनपरी बोल्दैनन् । अनि कहिलेकाहीँ भाषिक ज्ञानको कमी या भनौँ टाइप मिस्टेक भएर, अर्थ को अनर्थ लागेका ब्लगहरु भने प्रशस्त नै भेटिएलान । साँच्चै, भन्दा, हामी व्याकरण मा चाँहि त्यति सारो चासो दिइरहेका छैनौँ । तर सकेसम्म म व्याकरण मा चाँहि ह्रस्व, दीर्घ को नियम भने पालना गर्ने कोशीस गर्छु, अरु कुरा त त्यस्तै हो, नेपालीमा अंग्रेजी भने सँगसँगै जोडिएर आइरहेकाहुन्छन्, प्रत्येक वाक्यमा ।

मलाई सँधै अचम्म लाग्ने कुरा के हो भने, कुनै ब्लगर ले केही कुरालाई आफ्नो तर्फबाट मात्रै विश्लेषण गरेको छ भने, हामी पनि हो मा हो नै मिलाइरहेका हुन्छौँ, प्राय: अधिकांश सन्दर्भमा । हामी विरलै मात्र हाम्रा ब्लगहरुमा अरुको फरक दृष्टिकोण पाइरहेका हुन्छौँ । सायद, ब्लगरहरु एकै किसिम ले सोच्न् कि जस्तो पनि लाग्ने गर्छ कहिलेकाँहि ।

अनि प्राय: म आफूले भ्याएका र जानेबुझेसम्मका सबै ब्लगहरु हेर्नेगर्छु । मलाई लाग्छ, लेखेर मात्र केही हुँदैन, अरुले लेखिएको पढिएन अरु को विचार बुझिएन भने, आफूले लेखेर मात्र पनि केही काम छैन । यहाँ नाम तोकेरै यही ब्लग हेर्छु भन्ने छैन, लिस्ट धेरै लामो छ । हुन त म पेशाले विद्यार्थी तर फुलटाइम ब्लगर जस्तो लाग्छ, आफुलाई किनभने म प्रत्येक पटक अनलाइन चहार्दा ब्लग मै डुलिरहेको हुन्छु ।

मैले सुनेको पहिले “ब्लगान” BLOGAN भन्ने एउटा समूह बनेको थियो रे, नेपाली ब्लगरहरु को । तर त्यसको बारेमा खासै थाहाछैन, अनि अहिले त्यो अस्तित्वमा पनि छैन । मैल जानेसम्म, त्यो समूह उही हाम्रा स्थापित ब्लगरहरुका इगोका कारण छिन्नभिन्न पुगेको हो । अनि अहिलेसम्म, ब्लगरहरुको कुनै पनि संगठित समुह गठन भएको छैन । बाहिर जति चर्चा अनि परिचर्चा हुन्छ, त्यती सहयोग गर्न ब्लगरहरु हिच्किचाइरहेकाछन्, यो मेरो अनुभव हो । जब मैले ब्लग सुरु गरेँ, तब मैले नाम चलेका केही ब्लगरहरुलाई ईमेल पनि गरेको थिँए, सहयोग को अपेक्षा राखेर तर अफसोच कतैबाट केही सल्लाह, सुझाव पाइएन । अनि अहिले, आकारपोष्ट जति साजसज्जा अनि तौर तरिका मा आएको छ, बिलकुल आफ्नै क्षमता का कारण हो । सायद यसैकारण ले होला, म भने नयाँ आउने या जोकोहीलाई पनि सहयोग गर्न हरदम तयार भएर बसेको छु । मैले जुन प्राविधिक कठिनाइ भोगेँ, त्यती अरुले भोग्नु नपरोस् भन्ने अपेक्षा मैल राखेको छु, अनि खुशी लाग्छ, महिना मा यस्तै १-२ वटा ब्लगसम्बन्धि जिज्ञासाहरु आइरहेका हुन्छन्, इमेलमा ।
सायद मैले, धेरै गफ गरेँ जस्तो छ । लौ, यस्तो मज्जा को प्ल्याटफर्म जुटाइदिने दौँतरीलाई त झन्नै भुसुक्कै बिर्सीएको । त्यो पनि नेपालियन जी को प्रश्न ले सम्झाइदियो । सायद मैले दौँतरी चिनेको ६-७ महिना भयो होला । हो त्यस्तै केहि समय भयो होला, जब यहाँ उपराष्ट्रपति ले हिन्दी मा सपथ खाएर बब्बाल मच्चाइरहेका थिए । हो त्यती नै खेर दौँतरीलाई चिनेको हुँ, या भनौँ पढ्न थालेको हुँ । दौँतरी खासमा नाम अनुसार कै काम गर्न सफल भएको छ । सायद नेपाली ब्लग इतिहास मा सहकार्य को उदाहरण दौँतरी भन्दा अरु कुनै ब्गलग मा पनि पाइँदैन होला । साँच्चै, धेरै मित्र कमाउन सफल भएको छ, दौँतरी । अझ, ब्लग भित्र ब्लग भन्ने नयाँ सन्दर्भ ले त, हामीलाई झनै हौस्याइरहेको छ, सबैको अनुभव पढ्न पाइएको छ । अनि मेरो पनि केही शब्द राख्नपाएको मा दौँतरी टिमलाई हार्दिक धन्यवाद दिन चाहन्छु । दौँतरीका दौँतरीहरु बढ्दै जाउन यही शुभकामना छ ।

फेरी पनि आफ्नै ब्लगको कुरा गरौँ, एउटा सुचना नै भनौँ न, साहित्य प्रेमी दौँतरीहरु अझ भनौँ गजल प्रेमीहरुलाई लक्षित गरेर, आकारपोष्टबाट “बुलबुल” नामक एउटा साहित्यिक रेडियो कार्यक्रम अनलाइन बज्नेगरेको छ । आशा छ, सुन्नुहुनेछ । धन्यवाद !!!
आकार पोष्ट हेर्न कृपया : http://www.aakarpost.com/ वा www.aakarpost.blogspot.com मा क्लिक गर्नु होला ।


18 Comments:

बेदनाथ पुलामी ( उमेश ) said...

la thik6 ajha dherai jankari paaine bhaiyo uhaako baremaa

Dilip Acharya said...

शुरु शुरुमा तपाईको ब्लग प्रतिको लगन र साजसज्जा हेर्दा तपाईलाई फुल टाईम बिद्यार्थी हैन फुल टाईम बल्गर ठानेको थिए मैले पनि! ।

तपाईको स्वअनुभव सबै नया पुराना ब्लगरकालागी यौटा गतिलै जानकारी हुनेछ जस्तो लाग्छ । बाँकी “उतै” कुरा गरौंला है त!

ठरकी दादा said...

आकारपोष्टको निरन्तरता र सफलताको कामना गर्छु । तपाईको मेहनत तपाईको ब्लगमा प्रष्ट झल्किन्छ ।

Panda said...

"मलाई सँधै अचम्म लाग्ने कुरा के हो भने, कुनै ब्लगर ले केही कुरालाई आफ्नो तर्फबाट मात्रै विश्लेषण गरेको छ भने, हामी पनि हो मा हो नै मिलाइरहेका हुन्छौँ, प्राय: अधिकांश सन्दर्भमा ।"

ठिक भन्नु भो शायद मान्छेले जहिले पनि आफुलाइ मन पर्ने कुरामा मात्रै आफुलाइ सहभागी गराउन खोज्छ । तर हो मा हो भन्दा पनि विश्लेषणात्मक वहसहरु बढि भयो भने ब्लग वा विषयको मजा पनि बेग्लै हुन्छ र निचोड पनि उत्कृष्ट निस्कन्छ ।

Happy Blogging!

Basanta Gautam said...

'आकार'का बारेमा 'आकार'कै मुखबाट सुन्न पाऊँदा साह्रै खुशी लाग्यो। धन्यबाद "दौतरी"!

साजसज्जा र प्राविधिक कुरामा त 'आकारपोष्ट' अब्बल छँदैछ, विषयवस्तुका दृष्टिमा पनि विविधतायुक्त र माथिल्लो स्तरको छ। विगत १५-१६ महिनाबाटै छु होला म 'आकारपोष्ट'को नियमित पाठकको रुपमा र 'आकार' को लेखनशैलीमा आएको परीवर्तनलाई नजिकबाट हेरिरहेको छु। पहिला विषयवस्तु राम्रै टिपेपनि लेखाई अलि रुखो र उत्तेजनात्मकमात्रै हुन्थ्यो। अहिले लेख्ने शैली पनि ज्यादै सुन्दर भएको छ। अझ प्रगति र सफलताको कामना गर्दछु।

यो 'वाह! क्या लेख्नुभयो! दामी छ!' जस्तो खाले एक हरफे प्रतिकृया मलाई पनि मन पर्दैन। म त सकेसम्म छूचो मुख पार्ने र जति राम्रो भएपनि आलोचना गर्न ठाऊँ खोज्ने कोशिश गर्छु त्यसैले:)

archana said...
This comment has been removed by the author.
archana said...

nice to read about your blogging life aakar.
all my best wishes for you.

Luna said...

आकार जि !
तपाईंको ब्लग पढ्नु मन लागेर क्लिक गरेको ' आकार' पोस्ट मा खोइ आउँदैन त ! ?
कि निर्माणधिन परिस्थितीमा पो हुनु हुन्थियो कि !
आकार ब्लग कसरी पढ्न सकिन्छ ? कृपया जानकारी दिनु भए आभारी हुने थिए ।
( म कप्युटर - प्राबिधिक तिर एकदम कम्जोर छु , कतै मैले नै पो जानिन कि ! )

ठरकी दादा said...

लुना जी,माथी यो पोष्टको अन्तमा उहाँको ब्लगको ठेगाना राखीएको छ । वा तपाईले सिधै यहीँ क्लिक गर्दा पनि हुन्छ । लिन्क राख्‍न सम्झाईदिनु भएकोमा धन्यवाद ।

Luna said...

ठ र कि दादा !
धेरै धन्यवाद है :)
निकै रोचक रहेच आकार को को ब्लग । अब बेला बेलामा फुर्सद निकालेर हेर्ने नै छु ।
( आकार जि को मेहनत प्रस्ट देख्न सकिन्छ त्यहा ,ढिलो किन नहोस् मेहनत को फल अन्तगोत्बा मिठो हुन्छ । तपाईंको मेहनत ले मिठो फल पाओस , हिर्दय देखी नै शुभ कामना )

archana said...

luna ji, do you have your blog?
if not, we expect you to set up blog.
I can see that you are extremely creative.

sorry to bother you but its just a suggestion. I want more and more female blogger to make our voice loud.

Luna said...

अर्चना जि !
हिर्दय देखी नै धेरै धन्यवाद यसरी सहयोग को प्रस्ता ब राख्नु भएकोमा ।
केही महिना अघी दिपक जि ( दिपक जडि त ) ले पनि 'ब्लग खोल प्राबिधिक समस्या मा म सक्दो सहयोग गर्ने छु ' भन्नु भएको थियो ।
आज तपाईंले भन्नु भो । तपाईंहरुलाई पुन्:हिर्दय देखी नै धन्यवाद ।
म्
मैले ब्लग नखोल्नुको कारण अब ब्लग बनाइ सके पछी त्यसमा बेला बेलामा सामाग्री पस्कनु पर्‍यो , यसको लागि यथेस्ट समय पनि दिनु नै पर्ने हुन्छ जस्तो लाग्छ । समय पनि प्रमुख समस्या भएकोले मैले ब्लग खोल्ने आट गरेकी छैन ।बरु साथीहरुको ब्लग मा कमेन्ट लेख्दै झगडा गरुला भनेर बसेकी छु :) ( कहिले काही त्यसतो पनि हुन्छ :) )
अहिले सम्म लेख पनि दिन सकिराख्या छैन ।( कहिल्यै लेखेको भए पो ! )तर कमेन्ट दिन चाँही खुब मज्जा आउछ । सजिलो पनि ( अल्छिले धेरै कुरा जान्या हुन्छ रे भन्छन म चाँही अल्छि नै भएर त होइन किनकी मैले समय निदाउने बेलामा मात्रै पाउछु ।) अब यतिका लेखी सके के लाज मा नि मा नि ढा ट्नु !मुख्य कुरा लेख्ने ढंगइ छैन मेरो !!!
१० हरफ लेख्न त सक्छु मज्जाले त्यो भन्दा बढी लेख्नु पर्‍यो भने ४ कक्षा पढ्ने जस्तो पो हुन्छु म त !
आ'त्यही भएर ब्लग नखोल्ने विचारमा छु ।यतिका ब्लग चौतारी - फूल्बारिहरु छन बरु उनैका फूल्बारिमा घास - फूल - काडा भएर बसिदिने बिचार गरेकी छु ।
मेरो मनले मानेन है पुन : तेस्रो पल्ट् धन्यवाद दिन मन लाग्यो तपाईं लाई अर्चना जि ,आफ्नो समय लाई थाती राखेर दुई छ्ण भने पनि मेरो लागि सहयोग को प्रस्तव राख्नु भएकोमा । तपाईंको उदार हिर्दय लाई स्बेत सलाम ।
लुना

Panda said...

अर्चनाजी, महिलाले चलाएका ब्लग धेरै हुनु भन्दा मात्रै पनि महिला सहभागिता वा महिलाहरुको लेख यथेष्ट पस्किन सके मात्र पनि राम्रो नि अहिले को लागि मात्र त। सहभागिता बढ्यो भने गुणस्तरीयता पक्कै बढ्नेछ । अनि बल्ल तपाइहरुले सोचेको कुरा हासिल गर्न सक्नु हुन्छ । मैले केहि महिला ब्लगरहरुको ब्लग हेर्ने गर्थे कहिले काहि, तर मुख्य समस्या बेला बेलामा अपडेटको कमी नै देखे। अर्थात धेरै ब्लगहरुमा नया कुराको आशामा धेरै दिन क्लिक गरिरहदा पनि पुरानै सामाग्री । तपाइको पनि म आकल झुकल हेर्ने गर्छु ।

अनि लुनाजी म आफै पनि १-२ वर्ष पहिले आफ्नो ब्लग राखु कि भन्ने सोचेको थिए । तर आफ्नै ब्लगलाई आँफुले नै न्याय गर्न सकिदैन कि जस्तो लाग्यो र चुपचाप बसें । अनि जब दौतरीको कन्सेप्ट साझाबाट फुर्यो तब बेला बेलामा आफुले टाकन टुकन लेख्न थाले। त्यसैले मेरो भनाई के हो भने एउटा स्पष्ट उद्देश्य भयो भने, जागर, टेक्निकल ज्ञान भयो भने र निश्चित समय दिन सकियो भने ब्लग चलाएको मर्म पुरा हुन्छ । नत्र हाम्रा नेताहरुले सरकार चलाए जस्तै होला !

लुनाजी लेख्ने बिचार छ भने दौतरी बाटै शुरु गर्नुस न यसो हामिले पनि तपाइको लेख पढ्न पाइयोस, ढंग त लेख्न थाले पछि आउंछ !

Postak_Shrestha said...

हो हो ल, लुनाजी ले लेख्नु पर्छ। तपाईको रचनामा हामीले पनि प्रतिकृया लेख्न पाऊं न।

Luna said...

पोस्तक जि ! लेख लेखेर पठाएकी छु तर कसरी कहाँ पठाउने थाहा नभएर कमेन्ट बक्स मा नै पठाएकी छु ।

Dautari Admin said...

लुना जि को लेख कमेन्ट बक्स बाट उडेर नया पोस्टमा छापिएको छ। लेख्ने पालो लुना जी को कमेन्ट गर्ने पाल हाम्रो।
दौंतरी एडमिन

Hamroblog said...

ब्लगान केही ब्लगरहरुको इगोको कारण निष्कृय भएको भन्ने आकारजिको भनाइप्रति चित्त बुझेन हो मेरो । मलाइ त त्यस्तो लाग्दैन त हो मित्र सामान्य रुपमा प्रारम्भका केही समय ब्लगरहरुविचको भेटघाट बाक्लीएको थियो ब्लगान मार्फत । त्यसले निरन्तरता नपाएको मात्र हो । यसलाइ जसले पनि निरन्तरता दिनसक्छ । ब्लगान सबै ब्लगरको साझा चौतारी नाम हो । यसमा कुनै एक ब्लगरको हक लाग्ने कुरै छैन । ल आकारजी ब्लगानलाइ मिलेर सकि्रय बनाउन सकिन्छ । यसमा इगो फिगोको कुरो हुन्न । पक्का ।

आकार said...

ब्लगान थियो भन्ने मात्रै सुनेको छु मैले, त्यसभन्दा धेरै त केही थाहा छैन । तरपनि केही का मुखबाट मैले सुनेको कुराहरु हुन्, यी माथि भनिएका कुरा, के पी जी !

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !