December 21, 2007

सवारी दूर्घटना पछि हुने तोडफोड र चक्काजाम कसरी कम होला?

राजनैतीक कारणले हुने बन्ध र चक्का जाम त छदै छ।त्यो बाहेक आजकल समाचारमा आँखा घुमाउदा सवारी साधनले मानिसलाई ठक्कर् दिएर ज्यान लिएको र पिडित पक्षले क्षतीपूर्तीको लागि चक्का जाम गरेको र, सवारी साधन नै तोडफोड गरेको र क्षतीपूर्ती रकममा डील भएपछि मात्र जाम खुलेको पढन पाइन्छ। एक् पटक ठक्कर् दिईसकेपछि ड्राइभरले गाडी ब्याक गरेर कुल्ची मारेको पनि बारम्बार सुनिन्छ। आखिर किन यस्तो भैरहेको छ त? दूर्घटनामा पर्ने, गराउनेको त क्षती भयो भयो तर चक्का जाम गरेर अनाहकमा अरुलाई पनि सास्ती दिने काम् हुन्छ।सडक दूर्घटना हुनु अवश्य पनि राम्रो होइन तर जतिसुकै ब्यबस्थित, बिकसित देशमा पनि दूर्घटना भएकै हुन्छ, तर त्यहाँ हाम्रो देशमा जस्तो चालकलाई हातपात गर्ने, गाडी तोडफोड गर्ने, जलाउने काम् हुंदैन। किन भने त्यहां सबै कुरा नियम कानून् अनुसार हुन्छ। प्रत्येक सवारी साधनको अनिवार्य बीमा गरिएको हुन्छ र दूर्घटनाद्वारा भएको क्षती बीमा कम्पनीले ब्यहोर्दछ। हाम्रो देशमा प्रत्येक सवारी साधन लाई अनिवार्य बीमा गर्नु पर्ने भन्ने कानून् किन नबनेको होला?
सरकार, सवारी धनी र बीमा कम्पनीहरु कसैले यस बिषयमा कुनै सोच् राखेको छ जस्तो लाग्दैन। हाम्रा नेताहरु, उच्च ओहदाका ब्यक्तिहरु बिदेश् सयर त खुब् गर्छन, तर त्यहा के कस्तो पद्धती रहेछ भनेर सिक्ने कुनै कोशीस गर्दैनन्। एक पटक प्रदीप नेपालले अमेरीका घुमेर गए पछि, यहाका मानिसहरुको ब्यस्तता बारे, वहांको भतिजी पर्नेले एक् छाक खान खुवाउन नसकेको बारे यस्ता फजूल बिषयमा लेख छपाए। कम्तीमा यहांको ट्राफिक ब्यबस्थापन बारे लेखेको भए त हुन्थ्यो नि।
त्यहाँ नेपालका बीमा कम्पनीहरुमा पनि बीमा सम्बन्धी सोच नै गलत छ जस्तो लाग्छ। म नेपालमा हुंदा ट्राभल ब्यबसायमा प्रयोग गर्न एउटा सेकेन्ड ह्यान्ड गाडी किनेको थिएं र त्यसको बीमाको लागि मैले एभरेस्ट इन्स्योरेन्स कम्पनीमा सम्पर्क गरें। त्यंहाको बीमा एजेन्टले बडो गजक्क परेर भन्यो, "हामी पुरानो गाडीको इन्स्योरेन्स गर्दैनौं"। त्यसपछि मैले अर्को कम्पनीलाई सम्पर्क गरिन। सायद बीमा कम्पनीहरु के सोच्छन् भने पुराना गाडीहरुले बढी दूर्घटना गराउंछन् र बीमामा उनीहरुले धेरै पैसा तिर्नु पर्ने हुनसक्छ।
संसद काम् नपाएर बसिरहेको छ र देश भने कानूनको अभावमा अस्तब्यस्त छ। यदि संपुर्ण सवारी साधनहरु अनिवार्यरुपमा बिमीत हुन पर्ने भन्ने कानून् बनेमा, बीमा कम्पनीहरुको ब्यबसाय पनि राम्रो हुन्थ्यो, दूर्घटनाको क्षतीपूर्ती बीमा कम्पनीले दिने भएपछि चक्काजाम् पनि गर्नु पर्ने थिएन र सवारी धनीको पनि एक्कै चोटी २-३ लाख चुना लाग्ने थिएन।कि कसो हो?


December 19, 2007

चिनी र मट्टीतेल शहिदको बाटो

दशैं तिहार हुँदी हाम्रा गाममा चिनी र मट्टीतेल हजुरामाका कथामा देउता जस्ता हुन्थें -- झिमिक्क गर्दा अन्तर्ध्यान। साथि साथि भेटदा अभिबादन नै "ए चिनी ल्यायो त्यो पसलाँ" हुन्थ्यो। अचेल चिनी र मट्टीतेल गणतन्त्र र लोकतन्त्र नामले बिख्यात छन हाम्रो सुन्दर शान्त र बिशालमा। सुन्दर शान्त र बिशाल भन्न पनि अलि बिस्तारै -- सके सम्म मनमनै भन्नु पर्ला जस्तो लाग्न थाल्यो। खोला नदीमा बाढी आउँछ पानी आउँदैन। डाँडा पाखाका रुखहरुलाई बिदाई समारोहमा बन्चराले हाने देखी रित्ता डाँडा पैरोले घाईते छन। भाँडन र बेच्न अहिले सम्म नभ्याएका र नसकेका सुन्दरहरु बाँकि छन तर तिनको पनि बन्दोबस्तको तयारीमा जुटेकै होलान देशका स्वघोषित ठेकेदारहरु। शान्त त अब धुन धान नै छ --यो भन्दा शान्त त उही मशानमा मात्रै होला। त्यो पनि रहँदा बस्दा बनाउलान। आशा गर्ने ठाम प्रशस्तै छ। बिशाल चै झन फेरी कुन गँजडीले के सनकमा जोडदेको हो थाह छैन। एका तिर चिन अनि अर्को तिर भारत अनि हामी बिचाँ बिशाल रे --- भो की अब? हाम्रो सुन्दर शान्त बिशाल नेपालको न्वारन सप्तदले पण्डीतले अब लोकतान्त्रिक संघिय गणतन्त्र नेपाल नामले गरीदिने हल्ला चलेको पनि निक्कै भयो। त्यो हल्ला उही फुल देखार यहाँ भित्र छ चल्ला भनेको मात्रै हो कि त्यो देखाको फुल ओथारै नबस्या खाले हो बुझ्नु पर्यो भनेर साथिलाई फोन गर्दें हालसालै

"गणतन्त्र-लोकतन्त्र-संघिय शासन अरु के के हो आयो? कि साँढे र स्यालको कथा जस्तै हुँदैछ?"
उस्ले भन्यो "एउटा मन्चमा साँढे र स्यालको कथा पनि मन्चन हुँदैछ अरु मन्चहरुमा पनि बिभिन्न खाले नाटकहरु मन्चन हुन्छन सधैं जस्तो। पिडादायक मनोरन्जनको चलन छ अचेल तर पनि बुझिस गणतन्त्र त अब रणतन्त्र भयो नी" उस्ले भन्यो।

"के रणतन्त्र?" मैले सोधें।

के हुनु नी -- खाली बाझेर मर्छन। एका तिर निरिह तर हुकीमी लालमोहरिया संसद छ, अर्को तिर बोली सक्दा नसक्दै के बोल्या हो बिर्सिने कामरेडासनमा बिभुसित छन। अझ अर्को तिर एउटा खुट्टो आर्जेघाटाँ अर्को सिंहदरबाराँ तेर्साएर एउटा गुरुजी इन्तु न चिन्तु अब निकास खुल्दै छ भन्दै बर्बराउँछन। उनलाई त बरु इँजार खोल्दे देखुन निकासमा सजिलो हुन्थ्यो कि -- तर बिचरा गुरुजीलाई पनि मुस्किल छ। नचढ्नु बौलाहा हात्ति चढीहाले -- अब ओर्ल्यो की सिताराम भन्ने बुझ्या छन त्यसैले जे गरेर टिकिन्छ हौदामा त्यस्मै लाग्या छन। एक थरी कामरेडाधिसलाई पनि अस्ति "हात्ति चढ्ने हो कामरेड?" भनेर सोध्देछन कस्ले हो --ए! भैंमा न भाँडा भएर त्यो ढुङ्गेधारा छेउको भट्टीमा सिलाबरे कचौरा रित्याएसी हुन्थेनम हामी? हो त्यस्तै भएर दुई चार दिन तमास गरे कामरेडाधिसले।

मधेस परदेश जस्तै भएछ भन्थ्यो सोल्टी अस्ति जनकपुर गएर आए पछि।

अनि गणतन्त्र कैले आउला जस्तो छ त? मैले कुरा छोट्याउदै सोधें।

जम्मै बाझेर गणतन्त्र रणतन्त्र भै रछ अचेल। गणतन्त्र आए पनि नआएपनि रणतन्त्र त आयो आयो अब। अरु कसैले सकेनन बरु यही रणतन्त्र एउटा आएर जे भा पनि जनआन्दोलन को धर्म थाम्ने भो।

"त्यस्तो दंगा भै रन्छ त्यता जिबन बिमा गराई राख" मैले साथिलाई सल्लाह दिएँ पछि घर परिबारलाई मुस्किल नपरोस भनेर।

उस्ले भन्यो "आ-- के को जिबन बिमा? -- त्यस्तै पर्यो भने एउटा संघिय लोकतान्त्रिक गणतन्त्र जिन्दाबाद -- प्रचन्डेस्वर जिन्दाबाद -- राजालाई फाँसी दे --मधेसको समस्या हल गर -- बाम एकता अमर रहोस -- भन्दै नारा लाउँदै ढुँगा मुढा गर्दिन्छु -- गोली हानी हाल्छ -- अनि त १० लाख त आयो आयो शहिद पनि हुन पाईन्छ। के को बिमा र सिमा? जिउँदो शहिदले निर्धक्क सुनायो।


December 18, 2007

कौडातन्त्र

हाम्रो गाम तिर अचेल दुइटा शब्दहरुको जगजगी छ। एउटा लोकतन्त्र अर्को गणतन्त्र। दुईटै शब्दका ठेक्का सातदलले लिएका छन।

भाराभुरी उमेरको कुरा हो--एक चोटी म घर छिमेकको ठुलो रुख पछाडी कौडा खेल्दै गर्या ठाममा पुग्या थें। त्यता बेला बेला जाने मेरो बानी बढ्दो थ्यो। त्यो कौडाको खेल प्रति मेरो आकर्षण थिएन बरु पैसा प्रति थ्यो। कौडा भल्ने खेलाडीको हातबाट भुईँमा पछारिनु अघि खेलाडीहरु तिया चौका छक्का यस्तै के के भन्दै कराउँथे अनि कौडा पछारिएर लडीबुडी गर्दा नगर्दै कैले मार्आ शब्दले कैले तिर तिर तिर शब्दले बाताबरण गुन्ज्यायमान हुन्थ्यो।

झिमिक्क गर्दा पैसाको कारोबार भैसक्या हुने। के भए मार्ने हो के भए तिर्ने मलाई केही थाह थिएन तर जित्ने सँग नोटको खात देखेर म दङ्ग पर्थे। एक दिन के चाड थ्यो कुन्नी मामाघर गाको थिएँ । टिका लाएर अलिकति पैसा देका थिए। त्यो पैसा लिएर त्यो कौडाको खालमा कैले पुगुँ जस्तो भाथ्यो आफुलाई।

घर आउना साथ पुगें त्यो रुख पछाडी। खेल चलेकै थ्यो। आफुलाई पैसा बढाउनु थ्यो तर के गरी थाह थिएन। टोलका कहलिएका बदमासदाईहरुको खेल थ्यो त्यो। बोलीको मात्रा नपुगे ज्यानले दु:ख पाउँथ्यो। हेर्दै थिएँ त्यो कौडा भल्नेले "के हेरीरा ए फुच्चे...च्याँखे राख्ने हो? भनेर सोध्यो। त्यो सोध्ने भक्तेदाई भनेको खुँखार थ्यो। उस्ले गस्तिमा आएका पुलिस कुटेर ढुट्टो पारेको धेरै भा थेन। त्यस्तो डेडली भक्तेदाईले सोधे पछि हैन भन्ने कुरा भएन। च्याँखे भन्या के हो त्यो पनि थाह थिएन। उनले "राख" भने पछि अघिको टिकाको रंग लाग्या दुई तिनटा नोट थिए सबै झिकें। शिबदाईले खोस्या झैं गरी "तियामा हो?" भने मैले "हो" भन्दें यत्तिकै। भक्तेदाईले भले कौडा। मार्आले खाल थर्कियो। झिमिक्क गर्दा अघि सम्म मेरो खल्तिमा सुरक्षित भाको पैसा त भक्तेदाईको हाताँ। दिक्क लाग्यो। "के भएर खायो दाई?" मैले आफ्नो पैसा गा भएर सोधें। खेलमा एक छिन सुनसान भो। पछि सबै हाँसे अनि भक्तेदाईले जित्या भएर होला अलि नरम सँगै भनें "त्यो तैले अहिले बुझ्दैनस।"

नेपालको लोकतन्त्र र गणतन्त्र अचेल त्यस्तै लाग्छ मलाई।


जय रक्तचन्दन, जय रक्तचन्दन तस्करी !!!!!

“रक्तचन्दन लैजान तिंकर नाका”

“प्रतिकिलो २०० सय रुपैया ज्यालामा करिब डेढ सय स्थानीयवासीलाई बोकाएर तिंकर पुर्‍याइएको एक भरियाले बताए । भरियालाई बोकाएको ज्याला मात्र २० लाख रुपैया“ तिरिएको थियो ।
सुनसेराबाट छाङ्रु हु“दै तिंकर पुग्न चार दिन लाग्छ । छाङ्रुमा पनि त्यो बेला चौतीस सुरक्षाकर्मी र वनको रेन्जर पोस्ट थियो । उक्त मार्ग हु“दै रक्तचन्दन ढुवानी गरी तिंकर पुर्‍याउन दर्ुर्ुइ साता लागेको ती भरियाले बताए । 'अत्यधिक जाडो बढेकाले ताक्लाकोट पुर्‍याउन सकिएन,' उनले भने- 'बाक्लो हिमपातका कारण तिंकरबाट फर्कियौं ।' उनका अनुसार रक्तचन्दन २ सय ६५ 'गेल' थियो । हरेक गेल ४०/५० किलोभन्दा बढी भएको अनुमान उनको छ ।“
कान्तिपुरमा मंगलवार प्रकाशित यो समाचार हेर्दा फेरी रक्तचन्दनमा ध्यान गयो। अहिले दार्चुलाबाट यो नयाँ बाटो हुँदै तिब्बत जान लागेको थाहा पाइयो। नेपालसँगको भारतको सिमामा बाक्लो रुप्मा सुरक्षा गार्ड तैनाथ हुँदा हुँदै र दार्चुला जस्तो नुन तेल किनेर ल्याउने मान्छेलाईपनि भारतीय पुलिसले सास्ती दिने ठाउँबाट अहिले रक्तचन्दन ओसारिनुको पछाडि भारत रक्तचन्दन बेच्न चाहन्छ र यस्को मुख्य बजार चाइना हो भन्ने कुरामा मलाई त शन्का रहेन।

कुनै बेला मैले साझाको रक्तचन्दन सँग सम्बन्धित पोस्टमा लेखेको कुरो फेरी पनि सान्दर्भिक होला:
“CITES (the Convention on International Trade in Endangered Species of Wild Fauna and Flora) भन्ने सम्झौता अन्तर्गत enlisted बस्तुहरुको बेच बिखन गर्नु गैर कानुनी हुने हुँदा भारत र नेपाल जस्ता CITES लाई अनुमोदन गरेका देशहरुले यस्ता बस्तुको ब्यापार र ओसार पसारमा प्रतिबन्ध लगाउनु पर्दछ। त्यसैले भारत चाहेर वा नचाहेर पनि यो बस्तुको ब्यापार गर्न सक्दैन। हुन सक्छ रक्तचन्दनको तस्करीलाई भारतले पूर्ण रुपमा सहयोग गर्दछ, नत्र तमिलनाडुको जङ्गलबाट हजारौ टन नेपालको राजधानी सम्म नियमित रुपमा आइपुग्दा सम्म पनि कुनै माइकालालले नरोक्नु एउटा सन्योग मात्र हुन सक्दैन। तसर्थ भारतले सजिलो रुपमा नेपालको भुभाग प्रयोग गरेर यस्को अपर्त्यक्ष ब्यापारमा जोड दिरहेको छ भन्ने कुरा नपत्याउने पर्ने आधार छैन । नत्र भारतले चाह्यो भने हाम्रा प्रधान मन्त्री लगायत सबै नेताहरु बनेपामा गएर आँफै रक्तचन्दन समाउन धर्ना दिएर बस्छन, सधैं हामीले उनिहरुको चालचलन बाट देखेकै हो ।“

मेरो भन्नुको आशय थियो देशमा पैसो आउछ भने भारतको रक्तचन्दन चाइना पठाउदा नेपाललाई केही हानी हुँदैन।

जे भये पनि कान्तिपुरको यो समाचारले भने मलाई खुशी तुल्यायो।
माओवादी द्वन्दले जर्जर पारेको गाउबाट गाबिसका अध्यक्ष समेत भारी बोक्न भारतीय भुमीमा शहरका गल्लीहरुमा रात गुजार्न बिवश भएका हाम्रा पश्चिम नेपालका दाजु भाईहरुले आफ्नै गाउमा काठको टुक्रो बोकेर मात्र हजारौ रुपैयाँ आम्दानी गर्नु पक्कै पनि खुशी लाग्दो कुरा हो।

२६५ गोलले समेत गाउमा २० लाख रुपैयाँ भित्र्याउन सक्छ त्यो पनि केही दिनमा भने तेत्रो काम त सरकार, NGO ब्यबसायीहरु, ग्रामीण ब्यापार आदीले दिने योगदान भन्दा बढी भएन र??

त्यसैले रक्तचन्दन तस्करीलाई प्रोत्साहन दिउ, गाडीमा होइन भरिया मार्फत बोकएर लैजाउं, कसैको नुन खाएका YCL तेसै चुप लाग्छन, सच्चा YCL आँफै भरिया मिलाउन हिड्छन !!

YCL किन रक्तचन्दन समाउन हिड्छ भन्ने कुरा कही हाम्रो उत्तर तिरको छिमेकीको बफादार बन्न त होइन जस्तो शन्का लाग्न लाग्यो, नत्र IUCN र CITES भन्ने कुरो त यि बबुरा हरुलाई के मत्लब। पक्कै पनि उत्तरका काम्रेड हरुले एसो गुहार मागे पैसो बाहिर गयो भनेर अनी हाम्रा काम्रेडहरुलाई पनि बफादारी देखौने मौका पनि यहाँ भन्दा अरु कहिले मिल्थ्यो।

जे भये पनि मलाई चाँही चामल को दाना देख्न गार्हो हुने ठाउका हाम्रा दाजु भाई हरुले अहिले हजार रुपैयाँ दरका नोठ गन्न पाये भन्ने सुन्दा खुशी लागेको छ।

जय रक्तचन्दन, जय रक्तचन्दन तस्करी !!!!!


December 15, 2007

के भारतले चाहे मधेशी समस्या एक् मिनेटमा समाधान हुन्छ?

बिभिन्न गुट, समुह बनाएर लडिरहेका, आन्दोलनरत रहेका मधेशी नेताहरुको केही समय पहिले भारतको पटनामा जमघट भएको र त्यसमा भारतीय बिदेशमन्त्रालयका नर्थ ब्लक हेर्ने प्रितीशरणको सेमत उपस्थिती रहेको पढ्न पाईएको थियो। केही महिना पहिले मधेशको मुद्धाहरुमा सबै जसो पार्टीका मधेशी सांसदहरु एकढिक्का भएका थिए। अहिले सरकारको बहालवाला मन्त्री महन्थ ठाकुर लगायत केही सांसदहरुको सांसद तथा आ-आफ्न पार्टीको पदबाट राजीनामा दिएपछी नेपाली राजनीतिमा अनेक शंका उपशंका छाएको छ।भारतले गिरिजा बाबूलाई तत्कालै नेपालमा गणतन्त्र घोषणा गर्न भनेको र सोही कारणले गिरिजा बाबूले नेपालको रास्ट्रियता खतरामा परेको कुरा गर्नु भएको भन्ने सुनिएको थियो। वहांले त्यसो गर्न नमानेपछि भारतले गिरिजा बाबूलाई मन पराउन छोडेको भन्ने कुरो आयो।बिरगन्ज स्थित भारतीय वाणिज्यदूताबासले मधेशी आन्दोलनलाई चर्काउन पैसा, हातहतियार पनि बांडिरहेको भन्ने कुरो पनि सुनिएको थियो। केही समय पहिले गिरिजा बाबूले प्वाक्क बोलिदिनु भयो, भारतले चाहेमा मधेशी समस्याको समधान एक् मिनेटमा हुन्छ भनेर। तर कुरो यत्तिकैमा सकिन्छ त? अहिले केही मधेशी सांसदहरुले राजीनामा दिएर नया पार्टी खोल्न लागिरहेका छन् र यसलाई पनि भारतीय इशारामा भैरहेको भन्ने भनिएको छ। प्रत्येक घटना परिघटनामा हामी खाली अर्कैको भूमिका देख्छौं र समस्याको जड के हो भन्ने तिर कहिले लाग्दैनौं।हामी कहिले दरबारको हात देख्छौं, कहिले भारतको, कहिले अमेरिकाको।
हालै अशान्त देशका शान्ती मन्त्रीज्यूले भाषण ठोक्नु भयो, तराईको समस्यामा भारत र दरबारको षडयन्त्र भनेर। अवस्य पनि क्षेत्रीय दादागिरी गरिरहेको भारत जहिले पनि धमिलो पानीमा माछ मार्ने ताकमा रहन्छ, दरबारपनि त्यही ताकमा रहन्छ, तर पानी धमिलो पार्ने त हामी नै हैनौं र?समस्याको कारणतिर नजाने, समस्याको पहल् गर्न नखोज्ने अनि अपजसजति भारत र दरबार तिर सरक्क थोपरेर आफू पानी माथिको ओभानो हुने?
मधेशी समुदायलाई जहिले पनि पहाडिय बर्गबाट हेयको द्रिष्टीले हेरिएको कुरा सांचो हो।टोकरीमा तरकारी बोकेर बेच्न आउने, हाम्रो कपाल काट्ने-दाह्री बनाउने, पुराना-कागज-खाली शीशी जम्मा गर्ने कर्मठ मधेशी दाजुभाईलाई हामीले कहिले नेपाली ठान्यौं? यिनीहरुलाई छोडिदिनुस्, पढेलेखेका, ठूला पदमा पुगेकासमेतलाई हामी गन्दैनौं। वास्तवमा भन्ने हो भने मधेशी समुदायलाई हामी पहाडीयाहरुले जहिले पनि दोस्रो दर्जाको नागरीकको रुपमा ब्यबहार गरिरहेका छौं। राजनैतीक पार्टीहरुले मधेशी समुदायको उत्थान, स्वाभिमान, राज्यको सबै तहमा समान अवसर र प्रतिनिधित्वको कुरा त गरे, तर कहिले गम्भीर रुपमा लिएर सो सम्बन्धी नीति, नियम बनाएर लागू गर्ने काम् गरेनन्। खाली चुनावका नारा मात्र बनाए। जब मधेशीहरु संघिय स्वसाशन अनि बढी अधिकारका कुरा लिएर जुर्मुराउन थाले, अनि त्यसमा दरबारको हात देख्नु, भारतीय हात देख्नु थूलो बिडम्बना हो।
जातीय स्वायत्तता, संघिय शासन जस्ता कुराहरु आफै अघि सार्ने माओबादी नेताले समेत तराइमा "नेपाली सेना" र "माओबादी सेना" संयुक्तरुपमा परिचालन गर्ने कुरा गर्नु दु:ख लाग्दो कुरो हो। त्यत्रा संघीय राज्यहरु भएका भएका भारत र अमेरीकाहरुमा कुनै बिखन्डन भएको छैन, तर नेपाललाई संघिय शासन प्रणालीमा लैजांदा नेपाल् टुक्रिन्छ भन्नु अचम्म लाग्दो कुरो हो।ठाकुर, त्रिपाठी, शुक्ला, यादवहरुले आ-आफ्ना पार्टी छोडेर नया पार्टी गठन गर्न लागेको कुरालाई हामीले सहज रुपमा लिन पर्छ र वहांहरुलाई भारतीय गोटीको रुपमा कदापी लिन हुन्न।म त यसमा सकारात्मक पक्ष नै देख्छु। देशका प्रमुख पार्टीहरुका खारिएका नेताहरु भएको कारणले वहांहरुले तराईमा बिभिन्न, गुट, उपगुटमा बिभक्त भै, हिंसाजन्य,प्रिथकताबादी आन्दोलनमा लागेकाहरुलाई वहांहरुले एकजुट पार्न सक्नुहुन्छ र हिंसाको बाटोमा लागेका हरुलाई शान्तीपुर्णा बाटोमा ल्याउन सक्नु हुन्छ।ठाकुर-त्रिपाठीहरुलाई नेपाली रास्ट्रियता, कुनै कोइराला-नेपालहरुलाई भन्दा कम् छ जस्तो लाग्दैन।मधेशको आन्दोलन भनेको नेपालको आन्दोलन हो र यसमा भारतीय संलग्नता कदापी हुनुहुन्न। नेपाल सरकारले पनि भारतले चाहे यो समस्या टुंगिन्छ भनी आफू चांहि अकर्मन्य भएर बस्न मिल्दैन। पहिला हामीले आफ्नो आंङको भैंसी देखौं अनि मात्र अर्काको टाउकाको जुम्राको कुरा गरौं।


नम्बर ७६

एकलव्य


हामी

नाप हुन्छ चाप हुन्छ समयको आफ्नै गति
पुण्य हुन्छ पाप हुन्छ मनुजको आफ्नै मति
दुख हुन्छ सुख हुन्छ जीवनको यही नियति
हात दिन्छन गोडा तान्छन आफन्तको यो प्रवृत्ति।

हेर्दै हाँस्नु पनि हुन्न जालझेलको बात लाग्छ
सभ्य भयो मनुज तर आडम्बरको साथ माग्छ
नजानेर हैन उस्ले , जानी जानी गल्ति गर्छ
सबै उसलाई चाहिन्छ नै, र त आफ्नै पेट भर्छ ॥

उन्मादको दम्भ पिउँदै , मद-मस्तिको नाच नाच्छ,
आफन्तिको पिठ टेक्दै उँभो उँभो लाग्छ, चढ्छ
बढ्छ , चढ्छ , एकदिन विश्रान्तिको थला पर्दा
सोच्दैन कहिलै पनि चाहिएला को मर्दा पर्दा ?

जति मान्छे जान्ने बन्यो, उति उस्को पतन किन?
मानवता छिन्न भिन्न, ‘मै खाऊँ’को राज किन ?
हिजो जस्तो आज छैन, अझै खराब आउने दिन
सल्किएको आगो सरि, फैलिरा’छ छिन छिन

सपनी त रमाइलो , कति फरक ? विपनीमा
सोचले कहिले के नै हुन्थ्यो ? झसङ्ग छु बिहानीमा
ब्यूँझँदाको अर्कै संसार तीखा लामा काँडा घोच्ने
बैरंगी यो चिठी सरि , नियतिको आयू भोग्ने ॥

कति राम्रो हुन्थ्यो होला सबै खुशी नाच्न पाए !
विपत्ति र पीडा नभै हाँस खेलमा नै बाँच्न पाए
हातमा हात समाउँदै प्रगतिपथ नाप्न पाए
जीवन जिउँदै जिन्दगिको मधुर गीत छर्न पाए॥