December 15, 2007

नम्बर ७६

एकलव्य


हामी

नाप हुन्छ चाप हुन्छ समयको आफ्नै गति
पुण्य हुन्छ पाप हुन्छ मनुजको आफ्नै मति
दुख हुन्छ सुख हुन्छ जीवनको यही नियति
हात दिन्छन गोडा तान्छन आफन्तको यो प्रवृत्ति।

हेर्दै हाँस्नु पनि हुन्न जालझेलको बात लाग्छ
सभ्य भयो मनुज तर आडम्बरको साथ माग्छ
नजानेर हैन उस्ले , जानी जानी गल्ति गर्छ
सबै उसलाई चाहिन्छ नै, र त आफ्नै पेट भर्छ ॥

उन्मादको दम्भ पिउँदै , मद-मस्तिको नाच नाच्छ,
आफन्तिको पिठ टेक्दै उँभो उँभो लाग्छ, चढ्छ
बढ्छ , चढ्छ , एकदिन विश्रान्तिको थला पर्दा
सोच्दैन कहिलै पनि चाहिएला को मर्दा पर्दा ?

जति मान्छे जान्ने बन्यो, उति उस्को पतन किन?
मानवता छिन्न भिन्न, ‘मै खाऊँ’को राज किन ?
हिजो जस्तो आज छैन, अझै खराब आउने दिन
सल्किएको आगो सरि, फैलिरा’छ छिन छिन

सपनी त रमाइलो , कति फरक ? विपनीमा
सोचले कहिले के नै हुन्थ्यो ? झसङ्ग छु बिहानीमा
ब्यूँझँदाको अर्कै संसार तीखा लामा काँडा घोच्ने
बैरंगी यो चिठी सरि , नियतिको आयू भोग्ने ॥

कति राम्रो हुन्थ्यो होला सबै खुशी नाच्न पाए !
विपत्ति र पीडा नभै हाँस खेलमा नै बाँच्न पाए
हातमा हात समाउँदै प्रगतिपथ नाप्न पाए
जीवन जिउँदै जिन्दगिको मधुर गीत छर्न पाए॥


1 Comments:

Nepalean said...

सपनी त रमाइलो , कति फरक ? विपनीमा
सोचले कहिले के नै हुन्थ्यो ? झसङ्ग छु बिहानीमा
ब्यूँझँदाको अर्कै संसार तीखा लामा काँडा घोच्ने
बैरंगी यो चिठी सरि , नियतिको आयू भोग्ने ॥
--------------------------
yo chhai mutu nai chune gari chitrit gariye jasto lagyo. dheari k lekhau, tinai pankti haru nai kafi chhan.

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !