December 19, 2007

चिनी र मट्टीतेल शहिदको बाटो

दशैं तिहार हुँदी हाम्रा गाममा चिनी र मट्टीतेल हजुरामाका कथामा देउता जस्ता हुन्थें -- झिमिक्क गर्दा अन्तर्ध्यान। साथि साथि भेटदा अभिबादन नै "ए चिनी ल्यायो त्यो पसलाँ" हुन्थ्यो। अचेल चिनी र मट्टीतेल गणतन्त्र र लोकतन्त्र नामले बिख्यात छन हाम्रो सुन्दर शान्त र बिशालमा। सुन्दर शान्त र बिशाल भन्न पनि अलि बिस्तारै -- सके सम्म मनमनै भन्नु पर्ला जस्तो लाग्न थाल्यो। खोला नदीमा बाढी आउँछ पानी आउँदैन। डाँडा पाखाका रुखहरुलाई बिदाई समारोहमा बन्चराले हाने देखी रित्ता डाँडा पैरोले घाईते छन। भाँडन र बेच्न अहिले सम्म नभ्याएका र नसकेका सुन्दरहरु बाँकि छन तर तिनको पनि बन्दोबस्तको तयारीमा जुटेकै होलान देशका स्वघोषित ठेकेदारहरु। शान्त त अब धुन धान नै छ --यो भन्दा शान्त त उही मशानमा मात्रै होला। त्यो पनि रहँदा बस्दा बनाउलान। आशा गर्ने ठाम प्रशस्तै छ। बिशाल चै झन फेरी कुन गँजडीले के सनकमा जोडदेको हो थाह छैन। एका तिर चिन अनि अर्को तिर भारत अनि हामी बिचाँ बिशाल रे --- भो की अब? हाम्रो सुन्दर शान्त बिशाल नेपालको न्वारन सप्तदले पण्डीतले अब लोकतान्त्रिक संघिय गणतन्त्र नेपाल नामले गरीदिने हल्ला चलेको पनि निक्कै भयो। त्यो हल्ला उही फुल देखार यहाँ भित्र छ चल्ला भनेको मात्रै हो कि त्यो देखाको फुल ओथारै नबस्या खाले हो बुझ्नु पर्यो भनेर साथिलाई फोन गर्दें हालसालै

"गणतन्त्र-लोकतन्त्र-संघिय शासन अरु के के हो आयो? कि साँढे र स्यालको कथा जस्तै हुँदैछ?"
उस्ले भन्यो "एउटा मन्चमा साँढे र स्यालको कथा पनि मन्चन हुँदैछ अरु मन्चहरुमा पनि बिभिन्न खाले नाटकहरु मन्चन हुन्छन सधैं जस्तो। पिडादायक मनोरन्जनको चलन छ अचेल तर पनि बुझिस गणतन्त्र त अब रणतन्त्र भयो नी" उस्ले भन्यो।

"के रणतन्त्र?" मैले सोधें।

के हुनु नी -- खाली बाझेर मर्छन। एका तिर निरिह तर हुकीमी लालमोहरिया संसद छ, अर्को तिर बोली सक्दा नसक्दै के बोल्या हो बिर्सिने कामरेडासनमा बिभुसित छन। अझ अर्को तिर एउटा खुट्टो आर्जेघाटाँ अर्को सिंहदरबाराँ तेर्साएर एउटा गुरुजी इन्तु न चिन्तु अब निकास खुल्दै छ भन्दै बर्बराउँछन। उनलाई त बरु इँजार खोल्दे देखुन निकासमा सजिलो हुन्थ्यो कि -- तर बिचरा गुरुजीलाई पनि मुस्किल छ। नचढ्नु बौलाहा हात्ति चढीहाले -- अब ओर्ल्यो की सिताराम भन्ने बुझ्या छन त्यसैले जे गरेर टिकिन्छ हौदामा त्यस्मै लाग्या छन। एक थरी कामरेडाधिसलाई पनि अस्ति "हात्ति चढ्ने हो कामरेड?" भनेर सोध्देछन कस्ले हो --ए! भैंमा न भाँडा भएर त्यो ढुङ्गेधारा छेउको भट्टीमा सिलाबरे कचौरा रित्याएसी हुन्थेनम हामी? हो त्यस्तै भएर दुई चार दिन तमास गरे कामरेडाधिसले।

मधेस परदेश जस्तै भएछ भन्थ्यो सोल्टी अस्ति जनकपुर गएर आए पछि।

अनि गणतन्त्र कैले आउला जस्तो छ त? मैले कुरा छोट्याउदै सोधें।

जम्मै बाझेर गणतन्त्र रणतन्त्र भै रछ अचेल। गणतन्त्र आए पनि नआएपनि रणतन्त्र त आयो आयो अब। अरु कसैले सकेनन बरु यही रणतन्त्र एउटा आएर जे भा पनि जनआन्दोलन को धर्म थाम्ने भो।

"त्यस्तो दंगा भै रन्छ त्यता जिबन बिमा गराई राख" मैले साथिलाई सल्लाह दिएँ पछि घर परिबारलाई मुस्किल नपरोस भनेर।

उस्ले भन्यो "आ-- के को जिबन बिमा? -- त्यस्तै पर्यो भने एउटा संघिय लोकतान्त्रिक गणतन्त्र जिन्दाबाद -- प्रचन्डेस्वर जिन्दाबाद -- राजालाई फाँसी दे --मधेसको समस्या हल गर -- बाम एकता अमर रहोस -- भन्दै नारा लाउँदै ढुँगा मुढा गर्दिन्छु -- गोली हानी हाल्छ -- अनि त १० लाख त आयो आयो शहिद पनि हुन पाईन्छ। के को बिमा र सिमा? जिउँदो शहिदले निर्धक्क सुनायो।


2 Comments:

ठरकि दादा said...

गणतन्त्र भन्दा भन्दै देश साँच्चै रणतन्त्रमा डुबीसकेको यथार्थ सुन्दर ढंगले दिनु भएकोछ ।

अनि शहिद भनेको पनि करीब करीब १० लाखको चेक जस्तै भएको छ । के कारण र के का लागी जनताले जिवन बलिदान गरे त्यसको मुल्याकंन गर्न नेतालाई फुर्सद छैन । बस १० लाख दियो आफ्नो काम पूर्बबत: गर्‍यो । को किन र के का लागी मरे कसलाई के मतलब हैन?

PB said...

What's happening? It's getting slow...

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !