July 16, 2009

संविधान, भींमसेनपूजा, माओवादी र महायज्ञ

Mao-Yagnya हिजोको नागरिकन्यूज डट कमको वेब संस्करणले माओवादीले हालै सम्पन्न गरेको विचित्र महायज्ञको समाचार छापेको छ ( हेर्नूस: http://nagariknews.com/news-highlights/139-highlights/2910-2009-07-15-05-19-11.html) । ‘धर्म अफिम हो’ भन्ने सिद्धान्त बोकेको कट्टर कम्युनिष्ट पार्टी स्वयंको आयोजनामा सम्पन्न भएको श्रीमद्भागवत महायज्ञको कुरा सुन्दा जति अचम्म लाग्न सक्छ त्यो भन्दा कैयौँ गूणा बढी, यो महायज्ञमा भएको दान दिने शैलिका बारेमा पढ्दा लाग्छ । हिजो जनताबाट ‘स्वेच्छिक’ चन्दा लिने अनौठा प्रविधिहरूको सफल परीक्षण गरी पारंगत बनेका माओवादीहरूले धर्म र दानको परिभाषालाई नै ‘चमत्कारी छलाङ’ प्रदान गरेको कुरा यो समाचार पढ्ने जो कोहीलाई बुझ्न गाह्रो पर्दैन । दान दिने पार्टी भक्त दाताहरूले जहाँ जसको जे जस्तो हालतमा भएको सम्पत्ति वा धनलाई यज्ञस्थलमा आएर ‘ लौ मैले यति बोलेँ’ भन्ने शैलिमा दान दिन मिलेको यो समाचार पढ्दा मलाई यो कतै गाउँ खाने कथाको पहेली जितेपछि ‘यति र यो गाउँ लैजा’ भन्ने खेल पो हो कि भन्ने भ्रम परिरहेछ। धार्मिक महायज्ञको यो नमूना प्रपञ्चबाट धर्म, दान, परोपकार, न्याय कानून र सभ्यताका अरू पनि पक्षहरूको उठान कहाँ र कति भयो , यो सम्बन्धित हरूले नै केलाऊन तर यही एउटा प्रकरणलाई हाम्रो नेपालमा बेलाबखत मञ्चन भैरहने विचित्रताहरूको शृङ्खला मध्येको एउटा प्रतिनिधि झलक भने ठान्न सकिन्छ ।

यो महायज्ञको अर्को अनौठो विशेषता के रहेछ भने कुनै बेला माओवादीद्वारा नै मारिएका भनिएका पण्डित नारायण प्रसाद पोखरेलका सहोदर छोरा दिनबन्धु पोखरेल नै यहाँ मूल पण्डित भएर मण्डपासीन भएका रहेछन् र एउटै यज्ञमा ५०औँ करोड रकम र जायजेथा उनले उठाइदिएका रहेछन् । एउटा यज्ञमा ५० औँ करोड उठ्नुको महानतालाई हेर्ने भने नेपाल जस्तो दानी दाताको बाहुल्यता भएको मुलुक संसारमा कमै होलान जस्तो लाग्छ । बालाजूमा टाट पल्टिन लागेको कुनै प्राइभेट अस्पताल चार्टर्ड एकाउण्टेण्ट नारायण बजाजबाट माओवादीले ३३ करोडमा किनेको थियो र पछि यसको नाम जनमैत्री अस्पताल राखिएको थियो । यही अस्पतालका लागि यो यज्ञ गरिएको रहेछ । यहाँ स्मरणीय के छ भने , ७,८ महिना अघि माओवादी सरकारका पालामा यो अस्पताललाई आर्थिक लगानी गर्न हुने विश्वस्त आधार नदेखेर बैँकहरू तयार नहुँदा, माओवादी सरकारले राष्ट्र बैँक मार्फत दवाब दिँदै नेपाली बैँकहरूको एउटा कन्सोर्टियम खडा गरी ३५ करोड रुपैयाँको बलजफ्ति ऋण प्रवाह स्वीकृति गराएर अस्पताल किनिएको थियो ।

आजको कान्तिपुरमा प्रकाशित अर्को समाचार छ “ संविधान निर्माणका लागि भिमसेन पूजा” (हेर्नूस: phalano_july16 http://ekantipur.com/kolnepalinews.php?&nid=204479) । महाभारत अनुसार भीमसेन बाहुबली र गदा युद्धका कुशल लडाकू थिए । तर्क र विचारले भन्दा मल्ल युद्ध र गदा रूपी फलामको मुङ्ग्रो चलाउन माहिर यी भीमसेनको पूजा गरेर नया संविधानको निर्माणमा कस्तो शिघ्रता आउने हो भक्तजनहरूले नै जानून । तर, भक्तजनहरूको यो पूजा र आराधनाको समाचार सुनेर म एउटा निष्कर्षमा भने पुगेको छु । त्यो के भने, भीमसेनका पूजक यी भक्तजनहरू अब नेपालको संविधान समयमा बन्नका लागि भगवान कै हस्तक्षेप जरूरी छ भन्ने निचोडमा पुगेछन् क्यार! अथवा, अब एकापसमा मिल्दै नमिल्ने दलहरूलाई एक ठाउँमा आउन र नया संविधानका लागि काम गर्ने बनाउन भीमसेन जस्ता बहादुर दैवी पात्र आएर तिनीहरूको टुप्पी समातेर एक ठाउँमा तान्नै पर्ने निस्कर्षमा पनि ती खोटाङका भीमसेन पूजक भक्तजनहरू पुगेका हुनसक्छन् ।

मैले दुई घटनाका आधारमा एउट ब्रम्हज्ञान पाएको छु । नया नेपालमा क्रान्तिकारीहरूको सोच र व्यवहारमा हुने असंगति, बिसंगति र विडम्बनाका बारेमा नराम्रो भन्न नपाइने हुँदा यसको सकारात्मक पक्ष खोज्नु जरूरी छ । यसो त नेपाली कम्युनिष्टहरूको धार्मिक रूझानका बारेमा भारतीय विद्वान कुलदिप नायरले पनि धेरै लामा लेख लेखिसकेका छन् । नेपालमा जति नै ठूलो कम्युनिष्ट क्रान्तिको कुरा गरिए पनि, हाम्रो रगत र चरित्रमा कम्युनिष्टहरूको त्यो धर्म बिरोधी राजनीतिक सोच भने घुसेको छैन कि जस्तो छ । यो कुरा स्वदेशी र बिदेशीले बेलाबखत चर्चा गर्ने गरेका छन् । यत्रो रक्तरंजित क्रान्ति पछिको यो बिन्दुमा आइपुगेर, जनगणतन्त्र स्थापना गर्नै लागेको यो मौकामा , माओवादीले ‘श्रीमद्भागवत महायज्ञ’ लगाएको छ । यो पुण्यको महारथ कति होला भोलि फल लागेपछि देख्न पाइएला । कतै हाम्रो यो महान क्रान्तिकारी पार्टीले विविध राजनैतिक प्रयोगहरूको अनन्त श्रृंखलाका क्रममा , धनी, बुर्जूवा र सामन्तीहरूलाई बढी भएको सम्पत्ति ‘स्वेच्छिक दान’ गर्न लगाएर समाजमा रहेको असमानता र गरीब धनी बीचको असन्तुलनलाई धार्मिक ढंगले समाधान दिन खोजिरहेको त छैन ? कामरेड प्रचण्डले बारम्बार भन्ने गर्नु भएको चमत्कारको राजनीति { धर्म, अर्थ (काम र मोक्ष बाहेक) र राजनीतिको फ्यूजन} यस्तै खालको त हैन ? जहाँ श्रीमद्भागवतले समाजवाद र भीमसेन पूजाले संविधान स्थापनार्थ भगवद् सामर्थ्य हासिल गर्छ ! भगवान भरोसा चलेको मुलुकका लागि यो भन्दा ठूला क्रान्तिकारी विम्वहरू के नै होलान र ?


21 Comments:

Anonymous said...

Excellent writing and nice content.
I am really amazed seeing maoist doing puja.

Rajan said...

पैसा देखेपछी महादेवको त तीन नेत्र भन्थे, अब माओवादीको त के कुरा गर्नु पर्‍यो र! ।

बरु माथीको ठेगाना गलत भएजस्तो छ तयो पेज खुल्दैन ।

Zero Hour (जिरो आवर) said...

जनता, बिचार र राजनीतिको नाममा यति ठुलो मजाक दुनियाको बारेमा त थाहा थिएन नेपालमा पहिल्यै कहिल्यै देख्न पाइएको थिएन । केहि वर्ष अगाडि मन्दिर भत्काउंदै, पुजारी पिट्दै र गाइ काटेर भोज खांदै हिटेका कामरेडहरु अझ धर्मलाई प्रगतिशिल विभेदयुक्त बनाउनुपर्छ भन्ने र सामाजिक कामका लागि महायज्ञ चलाउंदै हिड्ने पंडितलाई मारेर "साम्यबाद" ल्याउन खोज्ने कामरेडहरुले अहिले आएर फेरि आंफैले महायज्ञ गराउनु सामान्य हो ?

हो मैले अहिलेको अस्पतालका लागि गरिएको महायज्ञलाई उचित मान्न सक्छु तर के कामरेड महामहिम प्रचण्डले त्यतिबेला पण्डित मारेर गरेको "क्रान्ति" लाई गल्ति थियो भनेर भन्न सक्छन ? पैसाको लागि जे पनि गर्ने भ्रष्टचारी, व्यापारी र माओबादीमा के फरक भयो कसैले जवाफ दिन सक्छ ? अनि कामरेडको अर्को बलिदानीपुर्ण फोटो जसमा कुनै बेलाका बदमाश र भारतीय दलाल र पुलिसद्वारा कारवाही गर्न सिफारिश गरिएका ऋषि धमलालाई भव्य अभिनन्दन गर्दै गरेको दृष्य देख्न पाइयो । यो सबै देखेर के भन्ने ? कामरेडको सिद्दान्त "प्रचण्डपथ" नभएर "पागलपन" थियो ? जति बेला जे मन लाग्छ त्यहि बोल्ने र गर्ने भनेको नै "प्रचण्डपथ" हो ? नेपालमा जनताले पत्याउन खोजेका र छोटो समयमा नै स्थापित "नेता" यति छिटो धरातलमा पछारिएको शायद यो नै पहिलो होला ।

Anonymous said...

पक्लाहा नेता, बेवकुफ जनता !

Anonymous said...

Ram Ram Ram k sunnu paryo yesto? Gai kater khane le mahayagya......shiba shiba shiba shiba

Nepalean said...

एकलव्य जी ले अजब गजब समाचार पढ्नुभएछ ।
बिचार जती त तपाइले पोखिहालनुभयो। माओबादीले आफैले मारेको मान्छेका छोराबाट धर्म कर्मको माहायज्ञ गरेको निकै हास्यस्पद लागेको छु। हुन त तिनीहरुले मारेको मान्छेको छोरो उनिहरुसंग काम गर्नै नहुने या माओबादीले धर्मकर्म गर्नै नहुने भन्ने खोजेको त हैन। तर पनि संयोग भन्ने की संयोजनको यथार्थता भन्ने, तर पत्यार लाग्दो चाहीं छैन।
भिमसेन पूजा किन गर्छन त्यो चांही थाहा छैन। अनिष्ठ टार्न त हुनुमान पूजा गरेको थाहा छ, तर भिमसेनको पूजा सायद पराक्रम चांहिदा गर्छन कि जस्तो लाग्यो। सायद संबिधान बनाउने पराक्रम कसैसंग नभएर सांसदहरुलाइ पराक्रम मिलोस भनेर पनि पूजा लगाएका हुनसक्छन।
तर कुर जे सुकै होस,संबिधान बने हामी सबैलाइ राम्रो हुने हो। २ बर्षमा बनाउने भनेको संबिधान को स पनि नलेखेर हाम्रा नेताले गर्नुसम्म बेज्जत गरेका छन, यो भने पक्का हो।

ठरकि दादा said...

उर्दूमा एउटा ‘कहावत’ छ: "सौ चूहे खाकर बिल्ली चली हज को"

भनीन्छ, एकचोटी नांगीन मात्रै लाज हुन्छ रे, एकचोटी नांगी सकेको मान्छेलाई फेरी फेरी जत्ती चोटी नांगीन परे पनि अदम्य साहस हुन्छ र ऊ बीच सडकमा बेधक नांगीन सक्छ । माओवाद भित्र यज्ञ, हवन र पूजा कसरी अटाउँछ उनै जानुन तर सबैले बुझेको कुरा भने यो पनि जबरजस्ती गरेर लिईने ‘स्वेच्छिक चन्दा’को अर्को रुप मात्रै हो ! ।

------------------------------------------------------------
राजनजी र अरु साथीहरु नागरिक न्यूजले माथिको समाचार आफ्नो सर्भरबाट हटाएको रहेछ, त्यसैले सो समाचार माथीको लिन्कबाट अहिले खुल्दैन ।

नागरिकले के कती कारणबाट सो समाचार हटाएको हो थाहा भएन, तर अहिलेको प्राविधिक युगमा एक पटक यो ईण्टरनेटको संसारमा राखिसकेको कुरा एक ठाँउबाट डिलिट गर्दैमा ‘गाएब’ हुँदैन । हाल पनि गुगल वा याहुका पुराना cache पेजमा सो समाचार यहाँ र अन्त पनि भेटन सकिन्छ ।

यदि कुनै cache पेजमा नभेटिएमा सबैको सजिलोको लागि हाल सो पेजको “clone screenshot” यहाँ पनि होस्टीङ गरेर राखीएको छ । कृपया यिनै लिन्कहरुमा प्रवेश गर्नुहोला ।

Anonymous said...

Absolutely right it is सौ चूहे खाकर बिल्ली चली हज

Nepal! said...

तलको हरफ पढेर थाहा भयो दान हैन कति जमीन जालझेल गरेर "दान" को नाममा लुट्न खोजिएको रहेछ :

"पुराण वाचनका क्रममा काठमाडौं जितपुरफेदी गाविस ९० र वालुवा गाविसको नाममा ७० रोपनी जग्गादानको घोषणा गरिएको छ । त्यसैगरी सल्यान थारमारे र जिमाली २ सय ५० रुकुम तकसेरा १ सय ५० र दाङ पुरनधारा गाविसले ५ बिगाहा जग्गा दानको घोषणा गरेका थिए । गाविसको नाममा दान घोषणा गरिए पनि त्यसको जानकारी दिन महायज्ञस्थलमा माओवादी स्थानीय नेता र कार्यकर्तामात्र आएका थिए । आफ्नो गाउँको सरकारी जग्गा दान दिइसकिएकोबारे अरु दलका नेता÷कार्यकर्ता मात्र हैन गाविस सचिवसमेत बेखबर छन् । "

"'गाविसभित्र कुनै सरकारी जग्गा दान दिइएको छैन', सचिव वासुदेव फुयाँलले भने- मलाई मात्र हैन कांग्रेस एमाले मालेका प्रतिनिधिलाई पनि औपचारिक जानकारी छैन ।' सामुदायिक वनको जग्गा दिने अधिकार उपभोक्ता समिति हैन मन्त्रीलाई पनि नभएको भन्दै वन कार्यालयले आपत्ति प्रकट गरेको छ । 'दान दिएर धर्म कमाउन खोज्नेले आफ्नो सम्पत्तिबाट दिन सक्नुपर्छ सरकारी जग्गा ताक्ने हैन', जिल्ला वन अधिकृत वृजकुमार यादवले भने- वन क्षेत्रमा कोही भोगचलन गर्न आउँछ भने हामी बल प्रयोग गरेर हटाउँछौ ।"

एकलव्य ( Eklavya) said...

धन्यवाद ठरकीजी , लिंक खोजीदिनुभएकोमा । हिजो माथिको राजनजीको कमेण्ट पढेपछि, कतै झूट भइएछ कि भनेर माओवादी यज्ञका बारेमा नागरिकन्यूजको त्यो समाचार रिपोर्ट खोजेँ , पत्तै लागेन । म त ट्वाल्ल परेँ । ओठमाथि मुठे जूंगा धारण गरेका धोतीपाटा पहिरेका अनि साथमा बन्दूक पनि तेर्साएर केही थान लालबुक साथमा लिएर अग्निकुण्डमा हवनका लागि बसेका प्रचण्ड जस्ता देखिने कर्ता भएको यज्ञस्थल जहाँ केही भक्तहरू डालोमा धान दिन खोज्दैछन् र कर्ता दान हैन जग्गा नै दिन जोडदार अनुरोध गर्दैछन् । यस्तो फोटो कार्टूनसहितको त्यत्रो समाचार रिपोर्ट नागरिक न्यूजले कसरी लुकाउन सकेको होला भनेर म पनि व्यग्र बनेका बेला त्यो देखाउन मद्दत गरिदिनुभएछ , यसका लागि विशेष धन्यवाद ।

नेपालियन said...

ठरकी सरलाइ कस्ले सक्ने? पत्रिकाले हटाए पनि उंहाले खोजखाज गरेर निकाल्निहाल्नु भयो।
तर पत्रिकाले लेख या कार्टुननै निकाल्नुपर्ने कारण चाही के रहेछ? भन्न मात्र पत्रिका हुन, सबै आफ्नो आफ्नो इन्ट्रेस्टमा लेख्छन।

ठरकि दादा said...

नेपालका पत्रिकालाइ पनि नेताकै रोग लागे जस्तो छ। नेताहरु पनि आज बोल्छन र भोलिपल्ट "मैले हिजो बोलेको कुरा फिर्ता लिएँ" भन्छन । पत्रिका पनि आज छाप्यो, भोली मेट्यो -- यस्तै छ ।

गाँठि कुरा त के हो थाहा छैन, तर यो समाचार र कार्टुन समेत डिलिट गर्न 'माथि' बाट दबाब आएको हुनसक्ने अनुमान लगाएको छु मैले ।

मैले पनि सो समाचार र कार्टुन हेरेको थिएँ (एकलव्यजीले यस बारेमा नलेख्‍नु भएको भए म पनि केहि लेख्‍ने सोचमा थिएँ)। तर पछि भने दौँतरीमा छापिईसकेपछि 'त्यो' समाचार भेटिएन भन्ने सुनेपछि टेन्सन भो । (छिनमै छाप्ने र फेरी टिक्न नसक्ने कमजोर पत्रिका देखेर टीठ र रीस दुबै लागे)

अनी 'अण्डरग्राउण्ड सर्च' गर्नु बाहेकको बिकल्प नभएपछि खोज-खाज गरेर निकालें --लज्जा!, आज त कार्टुन समेत रिकभर गरेर टाँसिदिए-- ! पत्रिकाले पनि अब देखी टिक्न नसक्ने कुरा नलेखुन भनेर ।

प्रबिण थापा said...

ठकरी दादाको यो योगदान साँचिकै सर्हानिय छ । हाम्रो देशका नेता र पत्रिका उस्तै भन्ने ठहराई भने सार्है चित्त बुझ्दो लग्यो।
एकलब्य जि लेख उत्कृठ लाग्यो, नाममा कम्युनिस्ट काम चाँही यो अनर्थको भिमशेन पूजा र महायज्ञ यो भन्दा बढि के कुरा गर्नु।

Biplab said...

Thanks for tharki dada for finding out those deleted materials.

Rajan said...

हैन झिक्नु नै थियो भने त्यो न्यज राखेकै किन होला ? , कि नेपालियनजीले भन्नु भएजस्तै त्यो खबर लेख्‍नुमा कुनै इन्ट्रेस्ट थियो होला, इन्ट्रेस्ट पुरा भयो खबर पनि झिकियो !

Anyway, thanks Eklavya for this post and thanks Tharaki Dada and Dautari team for this effort !

नेपालियन said...

कर्टुन पनि गज्जबकै बनाउछन। सारै मिनिगंफुल लाग्यो त्यो कार्टुन। तर के गर्ने प्रकाशित हुन पाएको छैन मेटीहाल्दा रहेछन।
समचार हटाएको भने म पनि छक्क परेको छु। पत्रकार कुन चांही श्रेणीमा पर्छन रे?

Jotare Dhaiba said...

'जन'युद्ध लड्नेहरूको परिभाषामा 'जनता' भनेका को-को परे अहिलेसम्म भन्ने कुरो कोट्याउँदा नै थाहा हुन्छ माओवादीको द्रव्यसोहोर शैलीमा पीडित बनेकाहरूको आम परिचय र माओवादी नियत । एकलव्य जीले धुरन्धर कलम चलाउनुभएको छ । विगतका आफ्नो पाप चोख्याउन र नयाँ 'क्रान्ति'को शुभ साइत बनाउने तारतम्य हुन सक्छ यो महायज्ञ ।

अरू कम्कयुनिस्टहरूले त जात फालिसकेकै थिए नेपालमा, क्रान्तिकारी हुँ र सर्वहाराको लागि पाखुरीबलले केही गर्छौँ भन्ने एउटा क्रान्तिकारी कम्युनिस्ट पार्टी माओवादी रहेकोमा त्यो पनि कर्म र कसरतमा होइन, धार्मिक उत्सवबाट सायद नयाँ 'विद्रोह'को थालनी गर्न अग्रसर भएछ । राम्रै हो, जोगीको जात बिस्तारै चिनिँदै छ ।

पत्रिकाको गाईजात्रे चरित्र पनि हाम्रो नेपालमा नौलो होइन । जता मल्कु उतै ढल्कु र जता ईख उतै बिख छर्ने त यिनको प्रयोगात्म तौरतरिका नै हो । नाममै नागरिक भएको प्रकाशनले त्यसो गर्छ भने यो भन्दा ठूलो विडम्बना अरू के हुन सक्छ ? नेपालियनजी, पत्रकार यसो हेर्दा श्रेणीमै नपर्नुपर्ने हो हिसाबकिताबमा, ती श्रेणीरहित सम्मानित श्रेणी हुनुपर्ने हो, तिनले सोझै पेसागत जिम्मेवारीमा जनतासँग नाता जोडेर काम गर्नुपर्ने हो, तर यिनकै विवादास्पद व्यवहारले पत्रिकाको क ख ग श्रेणी छुट्याएर प्रेस काउन्सिलले त्यहीअनुरूप सेवा र सुविधा दिए जस्तै पत्रकारको पनि वर्ग छुट्याउनुपर्ला जस्तो छ अब !

नेपालियन said...

मैले त माओबादीको जबरजस्ती स्वच्छेक चन्दाकै एक रुप हो जस्तो लागेको थियो यो मायायज्ञ। तर धाइबाजीले त धार्मिक उत्सवबाट सायद नयाँ 'विद्रोह'को थालनी गर्न अग्रसर भएछ भनेर धर्मको बलमा नया अध्यायको थालनीका निम्ती पो यो यज्ञ गरेका हुन भन्ने कुरो कोट्टाउनु भयो। अब किन हो त्यो त प्रचण्डले नै भुटी फुट्ने गर्ने भनिहाल्छन। रुने हास्ने नेताले पेटमा लुकाउन त केही सक्दैनन तर यत्रो बर्ष भुमीगत चाहीं कसरी भए कुन्नि?

मैले पत्रकारको श्रेणी भन्ने कुरो गर्दा पत्रकार राष्ट्रको चौथो अंग भन्ने कुरो ठ्याक्कै भुलें के । त्यही भएर सोधेको। भन्दा चांहै चौथो अंग (चौथौ हो कि जस्तो लाग्छ) रे काम भने त्यस्तो कच्चो गरे पछी पत्रकारलाइ हेप्दैनन त?

हावा The Wind said...

नबोलु भन्दा नि नहुने, साथीहरुलाई किन तेतिबिधी उखरमाउलो भको होला..हन कमुनिसम र धर्म मा के फरक छ मलाई बताइदिनुपर्यो... म त केही नि बिरोधाभास् देख्दिन हौ

एकलव्य ( Eklavya) said...
This comment has been removed by the author.
एकलव्य ( Eklavya) said...

यो अग्रलेखको विषयसंग मेल खाने विस्तारित चर्चा नेपाल साप्ताहिकको पछिल्लो अंकमा छापिएको छ । यो लिंकमा गएर माधव वस्नेतको सो रिपोर्ट पढ्न सकिन्छ:
http://www.kantipuronline.com/Nepal/article.php?&aid=22

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !